काठमाडौं - पूर्व शिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । मोरङको विराटनगर स्थित आमगाछीका उपाध्यायको ९२ बर्षको उमेरमा उपचारका क्रममा गएराती ह्याम्स अस्पतालमा निधन भएको हो ।
तत्कालिन सत्ताधारी दल नेपाली कांग्रेसको आन्तरिक किचलोका बेला नेता कृष्णप्रसाद भट्टराईलाई हटाएर प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा उपाध्याय शिक्षा तथा खेलकुद मन्त्री थिए । २०५९ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद भंग गरेर दरवारमा बुझाएपछि उनी पनि पदमुक्त भएका थिए ।
उपाध्याय मन्त्री भएका बेला शिक्षा क्षेत्रमा केही दुरगामी प्रभाव पर्ने काम भएका थिए । नक्कली प्रमाणपत्र पेश गरेर शिक्षक बनेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत् कारवाही शुरु गर्ने क्रम उनकै कार्यकालमा भएको काम हो । खासगरी भारतीय शहरका विभिन्न विश्वविद्यालयका नामका नक्कली प्रमाणपत्र पेश गरेर शिक्षक बन्ने क्रमलाई निरुत्साहित पार्न उनले आयोग मार्फत् कारवाही शुरु गर्न पहल गरेका थिए । नक्कली प्रमाणपत्रका भरमा नियुक्ति लिएर राज्य श्रोतको दोहन गर्ने एवं बालबालिकलाई योग्य शिक्षकबाट सिक्ने अवसरमा अवरोध गर्ने क्रम निरुत्साहित पार्ने उनको पहललाई आयोगका तत्कालिन प्रमुख सूर्यनाथ उपाध्यायले सकारात्मक साथ दिए पछि झण्डै तीन हजार त्यस्ता शिक्षक स्वतः अवकासमा गएका थिए ।
शिक्षा ऐनको सातौं संशोधन पनि उनकै पालामा भएको थियो । उक्त ऐनमा शिक्षण पेशामा भित्रन ईच्छुक जनशक्तिले अनिवार्य लाईसेन्स लिनु पर्ने प्रवन्ध गरिएको थियो । यसैगरी सामुदायिक विद्यालयका व्यवस्थापन समितिमा अभिभावक अनिवार्य हुनु पर्ने प्रवन्ध गर्ने नीतिगत व्यवस्था पनि उक्त संशोधनले गरेको थियो । जसले गर्दा सामुदाय र विद्यालयको सम्बन्ध जोडिएको थियो । जिल्ला शिक्षा अधिकारीले राजनीतिक निकटता एवं विभिन्न स्वार्थका आधारमा व्यवस्थापन समिति गठन गर्ने विकृती रोकेको जस पनि उपाध्यायलाई जान्छ ।
ऐनको उक्त संशोधनले नै निजी विद्यालयलाई कम्पनीका रुपमा स्थापना गर्ने प्रवन्ध गरेको थियो । व्यापार गर्ने तर कर नतिर्ने निजी विद्यालयहरुको अभ्यासलाई व्यवस्थित गरेर कर संकलन गर्ने उद्देश्यले उक्त प्रवन्ध गरिएको थियो । तर, निजी विद्यालयहरुले कर नतिर्ने बरु नाफामूलक व्यापार निरन्तर गर्ने शैली रोक्न राज्य असफल हुँदै आएको छ । सार्वजनिक शिक्षालाई वढावा दिने राज्यको दायित्वलाई वेवास्ता गरेर शिक्षामा निजीकरणलाई प्रोत्साहन गरेका कारण कालान्तरमा उक्त प्रवन्ध प्रत्युत्पादक बनेकोले त्यसको अपजस पनि उपाध्यायलाई नै जान्छ ।
त्यतिखेर सकृय रिपोर्टिङ गरेका पत्रकार सुदर्शन घिमिरे नेपालको शिक्षा प्रणालीलाई व्यवस्थित गर्न उपाध्यायले गरेको कार्य स्मरणीय रहेको बताउँछन् ।
'नेपालका धेरै शिक्षामन्त्रीहरुको कामलाई नजिकबाट नियालियो, रिपोर्टिङ गरियो, तर उपाध्याय जत्तिको शिक्षामन्त्री अर्को आएन' उनले भने 'कुरा सुन्ने धैर्यता, काम गर्ने स्पष्टता र पदीय दम्भ नगर्ने उनको गजपको शैली थियो ।'
शिक्षा सुधारका लागि राम्रो अवधारणा लिएर आएका जो कोहीका कुरा सुन्ने र त्यसका सकारात्मक पक्षलाई तत्कालै आत्मसात गरी नीतिगत रुपमै सम्बोधन गर्न पछि नपर्ने उनको स्वभाव घिमिरे स्मरण गर्छन् ।
'त्यतिखेर राज्यले कर उठाउनु पर्छ भन्ने न्यारेटिभ बलियो थियो, कम्पनी नभई कर उठाउन सकिँदैन भन्ने थियो' घिमिरे स्मरण गर्छन् 'शिक्षा भनेको पब्लिक गुड हो, नाफा मूलक बनाउनु हुँदैन भन्ने बारेमा उनलाई स्पष्ट पार्न सकेको भए सम्भवत आज शिक्षा क्षेत्रको नाफामूलक व्यापारको यो स्वरुप विस्तार हुँदैन थियो की !'
२०५६ सालको उपनिर्वाचनमा मोरङ्बाट निर्वाचित उपाध्याय पहिलो संविधान सभा निर्वाचन २०६४ मा पनि विजयी भएका थिए । निर्वाचनमा माओवादीको अत्यधिक प्रभाव रहेको त्यो समयमा मोरङमा नेपाली कांग्रेसबाट निर्वाचन जित्ने उनी एक मात्रै नेता थिए ।
उनी २०५१ सालमा राष्ट्रिय सभा सदस्य थिए ।
भारतबाट राजनीति शास्त्रमा स्नातक गरेका उपाध्यायका दुई छोरा र एक छोरी छन् । दोश्रो संविधान सभा निर्वाचन पछि श्रीमतीको निधन भए देखि नै उनले सकृय राजनीतिबाट विश्राम लिएका थिए ।
प्रतिक्रिया