Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
विचार / विमर्श

शिक्षक साथीहरु ! अरुको कमजोरी खोतल्ने मात्रै कि आफूलाई पनि हेर्ने ?

शुक्रबार, १६ चैत्र २०७४

सार्वजनिक शिक्षाको गुणस्तर खस्क्यो र खस्किने क्रममा छ भन्ने विषयले नेताका भाषण देखि कर्मचारीका चर्चा परिचर्चा सम्म स्थान पाईरहेको छ । शिक्षाका कुनै पनि कार्यक्रममा प्रस्तुत कार्यपत्र वा छलफलको हट केक हुन्छ सार्वजनिक शिक्षाको खस्कदोँ गुणस्तर !

शिक्षा मन्त्रालयका कर्मचारी, शिक्षा क्षेत्रमा काम गर्ने गैह्र सरकारी संस्थाका प्रतिनिधिहरु त भै गए,  विभिन्न बैठक, गोष्ठी, सेमिनार, तालिम, नेताहरुको भाषण, विद्यालयमा हुने बैठक, भेला, सभा तथा शिक्षकहरुको जमघट देखि चिया पसलहरुमा समेत सार्वजनिक शिक्षाको खस्कदोँ गुणस्तरको विषयले प्रवेश पाईरहेको छ ।

यस्ता छलफल र चर्चा परिचर्चामा शिक्षाको गुणस्तर खस्किनुका पछाडी एकले अर्कालार्ई दोष मात्रै दिएको फेला पर्छ । शिक्षा क्षेत्रसंग सरोकार राख्ने सबै निकाय तथा व्यक्तिहरुले अरुलाई भन्दा पहिले आफूलाई मात्रै हेर्न सकेको भए शायद नेपालको सार्वजनिक शिक्षाको अवस्था यहाँ आईपुग्थेन होला । सबै भन्दा आश्चर्यको कुरा त शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण पक्ष हामी शिक्षकहरु समेत अरुलाई नै औंला तेर्स्याईरहेका छौं !
सार्वजनिक शिक्षाको गुणस्तर खस्कनुको पछाडी शिक्षकहरुले बताउने कारणहरुको चिराफारा गर्ने प्रयास स्वरुप यो आलेख तयार पारिएको छ ।

पढाइ लेखाइ प्रति विद्यार्थीको घट्दो रुची

सार्वजनिक विद्यालयका अधिकाँश शिक्षकको पहिलो गुनासो हुन्छ, हिजो आजका विद्यार्थीलाई पढाइ प्रति चासै छैन !

यो समस्या छ तर कमजोरी कसको हो ? किन हामी शिक्षकहरुले विद्यार्थीलाई पढाइ लेखाइ प्रति रुची जगाउन सकेनौ ? हाम्रो शिक्षणमा के त्रुटि भयो जसको कारण हाम्रा विद्यार्थीलाई पढ्नै मन लाग्दैन ? यस्ता प्रश्नको उत्तर खोज्न शिक्षकहरु तयार छौै ?

विद्यार्थीको रुची चाहना र क्षमता अनुसारको शिक्षण गर्नु हामी शिक्षकको धर्म हैन ? तसर्थ विद्यार्थीमा शिक्षण सिकाइ प्रति रुची नहुनुमा कहीँ न कहीँ हामी शिक्षकहरुको दोष छ भन्ने कुरा कति शिक्षकले आत्मसा तगर्न सक्लान् ?

विद्यार्थीको अनियमितता

विद्यार्थी नियमितरुपमा विद्यालयमा उपस्थित नहुनुमा अभिभावक तथा विद्यार्थीसंग छुट्टा छुट्टै कारण होला, तर यसमा शिक्षक दोषी छैन भन्न मिल्छ ? अनियमित विद्यार्थीलाई नियमित गराउन कति जना शिक्षकले के के प्रयास गर्यौं ? विद्यँर्थी विद्यालय नआउनाको कारणबारे कति जना शिक्षकले सम्बन्धित विद्यार्थीको अभिभावकलाई भेटेर कारण बुझ्ने प्रयास गर्यौं ?
 
विद्यालय आएर पनि पुरा अवधि कक्षामा नबस्ने क्रम

सिकाइ उपलब्धि काम हुनुको अर्को कारणमा शिक्षकरुसँग रेडिमेट उत्तर छ –  विद्यार्थीले कक्षा छोडेर भाग्छन् । विद्यार्थी कक्षाबाट भाग्नुको पहिलो कारण कतै आफ्नो शिक्षणकला पट्यारलाग्दो भएर तहैन ? कहिल्यै यो कोणबाट शिक्षकले सोच्ने जाँगर गरेको छ ? विद्यार्थीलार्ई पुरा समय कक्षामा रोक्ने प्रमुख जिम्मेवारी त हामी शिक्षकको होइन र ?

अनुशासनहिन विद्यार्थी

विद्यार्थी स्वभावैले शिक्षकका अनुयायी हुन्छन्, हामी शिक्षकहरुले जे जे गर्छौ, विद्यार्थीले पनि त्यसको अनुशरण गर्छन् । विद्यार्थी अनुशासित नहुनुको पछाडी कहीँ न कहीँ हामी शिक्षकहरुको पनि कमी होला । विद्यार्थीलाई अनुशासित बनाउनु र उनीहरुमा सामाजिक सीपहरुको विकास गराउनु हामी शिक्षकहरुको जिम्मेवारी हो । तसर्थ विद्यार्थीका अनुशासन तथा त्यस्ता सामाजिक सिपको विकास नहुनुमा हामी शिक्षकहरुको पनि हात रहेको छ भन्ने कुरा हामीले बिर्सेका छौं ।

पढाइ, लेखाइ, बोलाई जस्ता आधारभूत सिप नभएका विद्यार्थी

मेरो दावी छ– कक्षा पाँच सम्मको सक्षमता भएको विद्यार्थी म कहाँ पठाएमा निमावि तहमा सतप्रतिशत शैक्षिक उपलब्धी दिनेछु । त्यस्तै कतिपय शिक्षकहरुले विद्यार्थीलार्ई पढ्न, लेख्न र बोल्न नै आउँदैन भने कसरी सिकाउने ? भन्ने गरेको सुनिन्छ । विद्यार्थीलाई पढ्न, लेख्न र बोल्न सिकाउने कसले हो ? हामी शिक्षकले होइन ? यसमा हामी शिक्षक दोषी कि विद्यार्थी ?

विद्यार्थीसंग कापी, किताब, कलम नहुनु

कतिपय सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले कापी, किताब, कलम लगायतका सामग्रीहरु नबोकी विद्यालय आउने जस्ता समस्याहरु छन्, कतिपय शिक्षकहरुले यसलार्ई पनि शिक्षाको स्तर खस्किनुको कारण बताउने गरेका छन् । यसमा सत्यता छैन भन्न त मिल्दैन तर यो कारणले शिक्षाको स्तर खस्किएको हो भन्नु वहानावाजी बाहेक अरु केही होइन । विद्यार्थीले आफूसंग कापी, कलम किताब जस्ता सामग्री नराख्दा हामी शिक्षकहरु के हेरेर बस्ने गरेका छौं र के सिकाउछौं ।

विद्यार्थी शिक्षक भन्दा बढी अभिभावकसंग हुन्छ भन्ने तर्क

कतिपय शिक्षकहरुले त विद्यार्थी शिक्षक भन्दा बढी समय अभिभावकसंग हुने भएकोले शिक्षाको गुणस्तर खस्किनुमा अभिभावक आफै जिम्मेवार रहेको पनि बताउने गरेका छन् । विद्यार्थी विद्यालय भन्दा घरमा बढी समय बस्ने भएता पनि विद्यालयमा शिक्षकहरुको प्रत्यक्ष निगरानीमा रहेको जस्तो घरमा अभिभावकको निगरानीमा हुँदैनन् । यदि अभिभावकहरुले नै सबै कुरा गर्ने हो भने बालबालिकाहरुलाई विद्यालय किन पठाउनु पथ्र्यो त ? यो पनि शिक्षकहरु आफ्नो जिम्मेवारीबाट भागेको भन्दा बाहेक अरु केही होइन ।

शिक्षण सामग्रीको अभाव

कतिपय शिक्षकहरुले शिक्षण सामग्रीको अभावका कारण शिक्षाको स्तर घटेको बताउने गरेका छन् । शिक्षण सामग्रीको संकलन, निर्माण तथा खोज गर्ने जिम्मेवारी हामी शिक्षकहरुको होइन र ? के बजारबाट खरिद गरिएका सामग्रीहरु मात्र शिक्षण सामग्री हुन् ? हामी शिक्षकहरुले पहिलो चरणमा शिक्षण सामग्रीका रुपमा स्थानीय स्तरमा उपलब्ध सामग्रीहरु संकलन गर्न सक्छौ, आफै बनाउन सक्ने शिक्षण सामग्री आफै बनाई वा विद्यार्थीलार्ई बनाउन लगाई कक्षाकोठामा प्रयोग गर्न सक्छौं तर पाठ्यक्रम र शिक्षक निर्देशिका समेत नपल्टाइ कक्षा कोठामा प्रवेश गर्ने हामी शिक्षकहरुले शिक्षण सामग्रीको अभावमा शिक्षाको स्तर खस्किएको भन्नु आफ्नो कमजोरी ठाकछोप गर्नु भन्दा बाहेक केही होइन ।

पाठ्यपुस्तक समयमा उपलब्ध नहुनु

हामी मध्ये कतिपय शिक्षकहरुले त शिक्षाको स्तर खस्किनुमा समयमा पाठ्यपुस्तक उपलब्ध नहुनुलार्ई समेत बताउँदै आएका छौं । पाठ्यपुस्तक त विद्यार्थीका लागि तयार पारिएको स्वध्ययनको सामग्री हो । न यो अध्यापन सामग्री हो न शिक्षण सामग्री । हमीलाई अध्यापनका लागि चाहिने प्रमुख अस्त्रशस्त्र पाठ्यक्रम हो भनेर हामीलाई कसले सम्झाउने ?

शिक्षा प्रति अभिभवकहरुको कम जागरुकता र चासो

आजका अभिभावकहरु हिजोका विद्यार्थी नै थिए र आजका विद्यार्थी भोलीका अभिभावक हुनेछन् । विद्यार्थीमा शिक्षा प्रतिको जागरुकता तथा चेतनाको विकास गराउन नसक्नु र अभिभावकहरुलाई अभिभावक शिक्षा प्रदान गर्नु नसक्नु पनि शिक्षककै जिम्मेवारी होइन र ? जुन जिम्मेवारीबाट हामी शिक्षकहरु पन्छिएका छौं । त्यस्तै हामी शिक्षकहरुबाट शिक्षा प्राप्त व्यक्तिहरु र शिक्षा अप्राप्त व्यक्तिहरुको व्यवहारमा त ठूलै अन्तर देखिनु पर्ने हो, अभिभावकहरुले त्यस्तो अन्तर नदेखएकाले पनि उनीहरुको शिक्षा प्रति सकारात्मक सोचको विकास पनि नभएको हुन सक्छ भन्ने कुरा तर्फ हामी शिक्षकहरुले चिन्तन नगरेर अभिभाकलाई मात्र दोष दिएका छौं ।

अशिक्षित अभिभावक

आजका शिक्षित भनाउँदा हामी कतिपय शिक्षकरुका अभिभावहरु पनि अशिक्षित थिए होलान्, तर त्यही कारणले त्यति बेलाको शिक्षाको गुणस्तरमा खासै प्रभावित नभएकै कारण आज हामी आफुलार्ई शिक्षित व्यक्तिको श्रेणीमा राख्न सफल भएका छौं भने आज समस्या किन ? कहीँ न कहीँ समस्या हामी शिक्षकहरुमा नै छ ।

विद्यालयमा अभिभावक नआउँदाको समस्या

यदि यही कारणले सार्वजािक शिक्षाको स्तर खस्किएको हो भने हामी शिक्षकहरुले नै अभिभावकहरुलाई समय समयमा विद्यालयमा ल्याउने प्रयास गर्नु परेन र ? अभिभावकहरुलाई विद्यालयमा बोलाउँ, नआउनेलाई खोजी गरौं, उनीहरु जहाँ छन् त्यहीँ पुग्न केले छेक्यो र ? समस्या अभिभावक विद्यालय नआएर हैन, मलाई नमस्कार गर्न विद्यालमै आउनु पर्छ भन्ने सोच राख्ने हामी शिक्षक संग छ ।

अभिभावकको कमजोर आर्थिक अवस्था

कहिले काहीँ अभिभावकहरुको आर्थिक अवस्था कमजोर भएका कारण पनि शिक्षाको स्तर खस्किएको बताइन्छ । आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण अभिभावकहरुले आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा पठाउने गरेको मान्यता हामी शिक्षक नै स्थापित गर्दै छौं ।  ल मानौं कमजोरआर्थिक अवस्था भएकै अभिभावकको सन्तान रैछ रे तर के अभिभावकहरुको आर्थिक अवस्था कमजोर छ भन्दैमा हामी शिक्षकहरुले शिक्षाको गुणस्तरसंग सम्झौता गर्नु आवश्यक छ ? आजका अभिभावकहरु हिजोका विद्यार्थी नै हुन्, गुणस्तरीय शिक्षा प्राप्त गरेको भए आज तिनीहरुको आर्थिक अवस्था बलियो हुन्थ्यो होला । यदि हामी शिक्षकरुले आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुका बालबालिकालाई गुणस्तरी शिक्षा प्रदान गर्न सकेनौ भने तिनीहरुका आगामी पुस्ताको जीवनस्तर पनि उस्तै बनाई राख्ने ?

राजनीतिमा सकृय शिक्षक

कतिपय शिक्षकहरु आफ्ना सहकर्मी शिक्षकले राजनीति गरेकै कारण शिक्षाको स्तर खस्किएको दावी गर्छन् । शिक्षकरुले यसो भनीरहँदा हामी शिक्षकहरुले आफूले आफूलार्ई शिक्षकका रुपमा हेर्दैनौ र अरुलाई मात्र राजनीति गर्ने शिक्षकका रुपमा हेर्नै गरेका त छैनौं ?
तत्कालीन स्वार्थको लागि राजनीतिक दल र नेताहरुको शरणमा पुग्ने र तिनीहरुको झोला बोकेकै कारण हामीहरु विद्यालय भन्दा तिनीहरु प्रति बढी जिम्मेवार हुन पुगेका त छैनौं ?

गैह्र जिम्मेवार शिक्षाका कर्मचारी तथा प्रशासक

हामी मध्ये कतिपय शिक्षकहरुले त शिक्षक भन्दा बाहेकका शिक्षा क्षेत्रका जनशक्ति जिम्मेवार नभएकै कारण शिक्षाको स्तर खस्किएको हो भन्ने निष्कर्ष सुनाउँछन् । ति शिक्षाका शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी, शिक्षा प्रशासक तथा नीति निर्माता तथा शैक्षिक कार्यक्रहरुको समन्वय तथा कार्यान्वयन गर्ने जनशक्ति हामी शिक्षकहरुले नै तयार पारेका होइनौं र आफ्नो पेशा प्रति जिम्मेवार नागरिक तथा जनशक्ति उत्पादन गर्न नसक्नु हामी शिक्षकहरुकै कमजोरी होइन र ?

समाज र समुदायमा पढाइ लेखाइको वातावरण भएन

कतिपय शिक्षकहरुले समाज तथा समुदायमा पढाइ लेखाइको वातावरण नभएकाले शिक्षाको स्तर खस्किएको पनि बताउँछन् । विद्यालय समाजको एउटा महत्वपूर्ण अङ्ग भएकोले त्यो वातावरण विद्यालयले बनाउने र शिक्षकका नाताले त्यो जिम्मेवारी हामी शिक्षकहरुको होइन र ? तसर्थ समाज तथा समुदायमा पढाइ लेखाइको वातावरण नबन्नुमा दोष हामी शिक्षकहरुको पनि छ भनेर आत्मसात गर्न सक्नु पर्दछ ।

विद्यालय प्रति चासो नराख्ने समुदाय

समाज तथा समुदायको प्रतिनिधित्व गर्ने मानिसहरु पनि यही विद्यालयले तयार पारेका गएका व्यक्तिहरु हुन् । यदि समाज तथा समुदायले विद्यालय प्रति चासो नराखेको र सोही कारणबाट शिक्षाको स्तर खस्किएको कुरा साँचो हो भने यसमा हामी शिक्षकहरुको कम दोष छैन । हामी शिक्षकहरुले तयार पारेका व्यक्तिहरुमा विद्यालय प्रतिको चासो र चिन्ता नहुनु पक्कै पनि हाम्रो कमजोरी हो ।

अनुगमन, सुपरिवेक्षण र निरीक्षण प्रभावकारी भएन

सामुदायिक विद्यालयका धेरै जसो शिक्षकहरुका अनुसार सामुदायिक शिक्षा कमजोर हुनुका कारणहरु मध्येको एउटा प्रमुख कारण प्रभावकारी अनुगमनको अभाव हो । प्रश्न उठ्छ शिक्षक जस्तो विशिष्ठ ब्यक्तिलाए गोठालो राख्नै पर्ने हो र ? हामी शिक्षकहरु आफैमा समाजको एउटा जिम्मेवार तथा अनुकरणीय व्यक्ति हौं भने हामीलाई अनुगमन, सुपरिवेक्षण र नीरिक्षण किन चाहियो ?

निजी विद्यालयको प्रभाव

उत्कृष्ट, प्रतिभाशाली तथा राम्रा विद्यार्थी  निजी विद्यालयमा पढ्ने र कमजोर विद्यार्थी मात्र आफूहरुले पढाउनु पर्दा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्किएको बताउने शिक्षकहरुको संख्या कम छैन । यस सम्बन्धमा पहिलो कुरा हामीले सामुदायिक विद्यालयको शिक्षकको रुपमा कार्यरत आफू र आफ्नो सामुदायिक विद्यालय प्रतिको विश्वसनीयतालाई कायम राख्न नसकेको कारण नै अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई निजीमा भर्ना गर्न बाध्य भएका छन् । दोस्रो उत्कृष्ट, प्रतिभाशाली तथा राम्रा विद्यार्थी भन्दा पनि कमजोर विद्यार्थीलाई सिकाइको बढी आवश्यकता छ । उत्कृष्ट विद्यार्थीलार्ई सिकाउनु भनेको त पाकेको खाने कुरा पस्केर खानु जस्तै हो । कमजोर विद्यार्थीलाई असल तथा गुणस्रीय शिक्षा प्रदान गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउने अवसरलार्ई हामी शिक्षकहरुले सकारात्मक रुपमा लिएमा शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आउने निश्चित छ ।

अन्त्यमा भन्नै पर्छ, सार्वजनिक विद्यालयका शिक्षकहरु सबै खराब छन् भन्ने कुनै तथ्य छैन । तर, केही खराव नियतका शिक्षकहरुको कारण मात्र सार्वजनिक शिक्षा प्रतिको चासो र विश्वास खस्किएको भने पक्कै हो ।

आफ्ना त्रुटीहरु पहिचान भईसक्दा पनि अरुलाइ मात्र दोष लगाउने प्रवृत्तिका शिक्षकका कारण शिक्षण पेशा बदनाम त भएको छ नै समग्र सार्वजनिक शिक्षाको अवस्था चिन्ताजनक मोडमा उभिएको छ ।
 

ओझा, श्री प्रसाद सिंह माध्यमिक विद्यालय, औरही महोत्तरीका शिक्षक हुन् ।

[email protected]

प्रतिक्रिया