Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

विद्यालय शिक्षामा निरीक्षक र श्रोत व्यक्तिको औचित्य : एक सवाल

सोमबार, २३ असार २०७६

औपचारिक रुपमा नेपालमा १९१० मा अंग्रेजी पाठशाला स्थापना भए पश्चात विद्यालयको निरीक्षण गर्नका लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले रोसलाई नियुक्ति गरेसंगै शैक्षिक सुपरिवेक्षणको इतिहास श्रीगणेश भयो । १९९८ मा चिफ इन्स्पेक्टर अफ स्कूलको स्थापना भएपछि २००४ मा जनकपुर र पाल्पामा डेपुटी इन्सपेक्टर अफ स्कूल तथा २०१० मा धनकुटा, जनकपुर, काठमाडौ, कपिलवस्तु, नेपालगञ्ज र डोटी गरी ७ क्षेत्रमा डिभिजन इन्स्पेक्टर अफ स्कूल अफिसको स्थापनासंगै विद्यालय निरीक्षणले गति लियो । राशिपयो २०२८ ले प्रत्येक जिल्ला शिक्षा कार्यालयमा विद्यालयको अनुपातमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक विद्यालय निरीक्षक रहने व्यवस्था गर्यो । २०३० सालमा प्राथमिक र माध्यमिक निरीक्षक मात्र रहने व्यवस्था गरियो । तत्पश्चात परीक्षणको रुपमा निरीक्षण एकाइ परियोजना लागू गरियो । २०५६/०५७ मा आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम सञ्चालन भईसकेपछि विद्यालय निरीक्षक पद सिर्जना गरेर देशभर ४१७ जना विद्यालय निरीक्षकको दरबन्दी कायम गरियो । जिल्लाको वर्गीकरण अनुसार निरीक्षकको संख्या एकिन गरियो । शिक्षा नियमावली, २०५९ को छैटौं संशोधनको दफा १७ ले निरीक्षकका काम, कर्तव्य र अधिकारहरु १७ बुँदामा निर्धारण गर्यो ।  संघीय संरचनानुसार सबै नगरपालिकाहरुमा उपसचिवहरुको नेतृत्वमा र गाउँपालिकाहरुमा शाखा अधिकृतको नेतृत्वमा दरबन्दी समावेश गरिए अनुसार समायोजन र कथित प्राविधिकको नाममा शिक्षा सेवाका कर्मचारीहरुलाई काम विहिन र अन्यायपूर्ण ढंगले स्थानीय र प्रदेश तहमा पठाइयो ।

२०३६/०३७ देखि ग्रामीण विकासका निम्ति सेती शिक्षा परियोजनाले सेती अञ्चलका पाँचवटा जिल्लामा विद्यालयहरुको एउटा समूह बनाई निरीक्षण गर्ने र समूहभित्रको श्रोत साधनयुक्त माध्यमिक विद्यालयलाई श्रोतकेन्द्र बनाइ निरीक्षण गर्ने व्यवस्था मिलाएर नेपालमा स्रोत केन्द्र र स्रोत व्यक्तिको अवधारणाको सूत्रपात भयो । विभिन्न परियोजना र कार्यक्रम सञ्चालनसंगै श्रोतकेन्द्र र श्रोत व्यक्तिको व्यवस्थापनको फरक फरक मोडालिटीहरु प्रयोगमा ल्याइए । कतिपय समयमा स्रोत व्यक्तिको रुपमा काम गर्न नयाँ मान्छेहरु भर्ना गरियो । कतिपय ठाँउमा शिक्षा सेवाका अधिकृतहरुले स्रोतव्यक्तिको काम गरे भने कतिपयमा शिक्षकबाट काजमा ल्याएर स्रोत व्यक्तिको रुपमा काममा लगाइयो । शिक्षा ऐन २०२८ को कुनै पनि संशोधनमा श्रोतव्यक्तिको औचित्य अट्न सकेन । सेवा सर्त शिक्षकको तर काम गर्ने प्रणाली फरक भयो । २०६१ माघमा तत्कालिन राजाको अध्यक्षतामा गठन भएको सरकारले स्रोत व्यक्तिको व्यवस्था हटायो । २०६२।०६३ को आन्दोलन पश्चात श्रोतव्यक्तिलाई पुर्नबहाली गरियो । साविकको जिल्ला शिक्षा कार्यालयको निर्देशनमा श्रोतकेन्द्रहरुको व्यवस्थापन गरेर विद्यालयको तथ्यांक संकलनदेखि शिक्षक र कर्मचारीको क्षमता विकाससम्मका कार्यहरुमा श्रोतव्यक्तिहरुलाई काममा लगाइयो ।

तितो सत्य

स्रोत केन्द्रको मुख्य काम शिक्षकलाई पेडागोजिकल सहयोग प्रदान गर्नु हो । नेपालमा भने यसको शुरुवात नै शिक्षकलाई पेसागत सहयोग प्रदान गर्ने भन्दा पनि तालिम सञ्चालन, तथ्याङ्क सङ्कलन, बैठक सञ्चालन, अतिरिक्त क्रियाकलाप, शिक्षक नियुक्ति, सामाजिक परीक्षण, व्यवस्थापन समिति गठन, प्रतिवेदन पेश गर्ने र परीयोजनाका विभिन्न क्रियाकलाप सञ्चालन गर्नेतर्फबाट बढी निर्देशित भयो । श्रोत व्यक्तिको मुख्य भूमिका किटानै नगरी लामो समय काममा लगाइयो । तोकिएको भूमिका भन्दा फरक काममा पनि लगाइयो । तत्कालीन शिक्षा विभागले सन् २०११ मा गरेको अध्ययनले ७५ प्रतिशत स्रोत केन्द्रको भूमिका प्रभावकारी नभएको भनी उल्लेख गर्यो । सेरीडले सन् २००४ मा गरेको अध्ययनले श्रोतव्यक्तिलाई जिम्मेवारी र उत्तर दायित्वविनाको आरामदायिक जागिरको संज्ञा दियो ।

विद्यालय निरीक्षक र स्रोत व्यक्तिका बीचको भूमिकामा दोहोरोपन देखियो । स्रोत व्यक्ति विद्यालय निरीक्षकले गर्ने प्रशासनिनक काममा आर्क्षित भए । विद्यालय निरीक्षकलाई जिम्मेवारी र अधिकारविहिन वनाइयो । कतिपय आलोचकहरुले त निरीक्षकहरुलाई घरज्वाइँको संज्ञा पनि दिए । शिक्षा ऐनमा समेत लामो समयसम्म निरीक्षकको अधिकार क्षेत्र साँघुरो, परम्परागत र अवैज्ञानिक भयो । कतिपय स्थानमा निरीक्षक र श्रोतव्यक्तिबीच द्वन्द्व समेत सृजना भयो । श्रोतव्यक्ति र निरीक्षकलाई पर्यायवाची पदको रुपमा बुझ्न थालियो ।

सवालहरु

सरकारले विद्यालय शिक्षाको अनुगमन तथा निरीक्षणका क्षेत्रमा ठूलो धनराशी खर्चिदै आएको छ । शिक्षा व्यवस्थापन र त्यसको प्रभाव आम नागरिकको चासोको विषय हो । प्रशासनिक व्यवस्थापन र आर्थिक लगानीको व्यवस्था गर्दैमा सकारात्मक नतिजा प्राप्त हुन्छ भन्ने विद्यालय निरीक्षणको ऐतिहासिक अनुभवबाट देखिँदैन । कुनै पनि कुराको नतिजा सेवाग्राहीको सन्तुष्टि र काम गर्नेको पेसागत सन्तुष्टि र गर्वमा आधारित हुन्छ । सक्षम र नतिजामूलक विद्यालय सुपरीवेक्षण प्रणालीको अभाव छ । विद्यालय सुपरीवेक्षण र शिक्षकलार्ई प्रदान गरिने प्राज्ञिक (शैक्षिक) टेवालाई जोड्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिइएको छैन । विद्यार्थीले हासिल गरेको न्यून उपलब्धिको एउटा कारक तत्व विद्यालय सुपरीवेक्षण पद्धतिको अभाव बनिरहेको छ । विद्यालय सुपरिवेक्षण गर्ने कार्य हाल आएर विद्यालय अनुगमनमा परिणत भईरहेको छ ।

विद्यालयको तुलनामा निरीक्षकको दरबन्दी अत्यन्तै कम छ । विषयगत निरीक्षकको अभाव छ । बढुवावाट निरीक्षक भएका जनशक्ति र खुलाबाट निरीक्षक भएका जनशक्तिबीच तात्विक अन्तर छैन । उनीहरुलाई सीपमूलक तालिमको व्यवस्था छैन । निरीक्षणलाई नतिजामूलक बनाउन सकिएको छैन । उपचारात्मक बनाउन सकिएको छैन । कथित रुपमा प्राविधिकको संज्ञा दिइएको छ । शिक्षण सिकाइमा सुधारका लागि एक महत्वपूर्ण औजार बनाउन सकिएको छैन । विद्यालय निरीक्षणलाई सामान्यतः लगियो । १०५३ वटा श्रोतकेन्द्र र ४६ वटा अगुवा श्रोतकेन्द्रहरुलाई विना विकल्प हटाइयो । विद्यालय निरीक्षक पद कागजी मात्र बनाइदैछ । प्रदेश र स्थानीय तहमा विद्यालय निरीक्षकको दरबन्दी कुनै संगठन संरचनाको तेरिजभित्र अट्न सकेन । यसको कुनै औचित्य महशुस गरिएन । बरु शिक्षा सेवामा कार्यरत जनशक्तिलाई सार्वजनिक सेवा प्रवाहमा अयोग्य र असक्षमको विल्ला लगाइयो । शिक्षा सेवाप्रतिको नकारात्मक मनोविज्ञानले संघीय निजामती सेवा समेत पूर्वाग्रही र विभेदपूर्ण बन्दै गयो । गम्भीर सवाल तेर्सिएको छ । के साच्चिनै विद्यालय सुपरिवेक्षणको औचित्य समाप्त भएकै हो ?

भावी सोंच

शिक्षा क्षेत्रसंग सम्बन्धित गतिविधिहरु जिल्लाको एउटा कार्यालयबाट गरिने गतिविधिहरु स्थानीय तहको एउटा कोठामा थन्किएका छन् । एक जना कर्माचारी विना पनि शिक्षाका गतिविधिहरु सञ्चालन भइरहेको अनुभूतिहरु सबैले गरेको भान भइरहेको छ । एक बर्षदेखि थन्किएका शिक्षकका कासमुहरु कुन दराजमा छन् कसैको खोजीको विषय भएको छैन । संघीय शिक्षा ऐन विना स्थानीय तहले धमाधम शिक्षा ऐन र नियमावली बनाई आफ्ना गतिविधिहरु अगाडि बढ्नुपर्ने बाध्यताहरुलाई कसैले बुझेको छैन । शिक्षकका नियुक्ति, सरुवा र बढ्वा जस्ता सवालहरुलाई अलपत्रै पारेर शिक्षामा संघीयताको गलत अभ्यास गर्न खोजिदैछ । संविधानमा प्रदत्त अधिकारहरुको गलत अभ्यास गरिदैछ । भागवण्डा झै अधिकारहरुलाई तानातान गरिदैछ । अभिशिष्ट अधिकारको नाउँमा केन्द्रीकृत सोंचको बाहुल्यता बढ्दै गइरहेको छ । विद्यालयका गतिविधिहरुः सामाजिक परीक्षण, विद्यालय व्यवस्थापन समितिको गठन, विद्यालय सुधार योजना निर्माण, शिक्षक र विद्यार्थीको नियमितता, कक्षा अवलोकन, नमूना पाठ प्रदर्शन जस्ता कार्यहरु सम्पन्न गर्दे आएका विद्यालय निरीक्षकको पदलाई शाखा अधिकृत बनाउने कार्य अगाडि बढिसकेपछि निरीक्षणको आवश्यक्ता र औचित्यतामाथि नै प्रश्न चिन्ह खडा भइरहेको छ ।

अनुगमन विना नत कक्षा कोठामा हुने पठन पाठनमा सुधार ल्याउन सकिन्छ नत तालिम सञ्चालनबाट सकारात्मक प्रभाव पार्न सकिन्छ । शिक्षक तथा प्रधानाध्यापकहरुको पेशागत विकासले उनिहरुको कार्य सम्पादनमा फरक पारेको हेर्न र परिमार्जन गरी पृष्ठपोषण गर्न योग्य र सक्षम सुपरिवेक्षकबाट निरन्तर सुपरिवेक्षण हुन जरुरी छ । शिक्षा सेवामा नवप्रवेशीलार्ई कम्तीमा ३ महिनाको सेवाप्रवेश तालिम र पुनर्ताजगी तालिमको व्यवस्था गर्नुका साथै विषयगत सुपरीवेक्षणका लागि आवश्यक संयन्त्रको विकास र प्रयोग आवश्यक छ । नतिजामा आधारित सुपरिवेक्षण पद्धतिको सुरुवात गरिनुपर्दछ ।

संघीयताको कार्यान्वयनसंगै तीन तहका सरकारहरु क्रियाशील भइरहेको वर्तमान परिप्रेक्ष्यमा उपचारात्मक सुपरिवेक्षणलाई कार्यान्वयनमा ल्याइनुपर्दछ । विद्यालय निरीक्षक पद हटाइनुको सट्टा यो पद र यस पदले गर्ने कार्यहरुलाई समयको माग र आवश्यक्तासंगै विशिष्टिकृत र परिष्कृत गर्नुपर्दछ । नितान्त शिक्षकको पेशागत विकासको लागि विद्यालय निरीक्षकलाई पूर्ण रुपमा जिम्मेवार बनाइनुपर्दछ । तालिम प्रदान गरिनुपर्दछ । क्षमता विकासमा विशेष जोड दिइनुपर्दछ । प्रतिस्पर्धात्मक प्रक्रियाबाट स्रोतव्यक्तिको नियुक्ति गर्ने र शिक्षाशास्त्रमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेको व्यक्ति मात्र विद्यालय निरीक्षक, स्रोतव्यक्ति र प्रशिक्षक हुन पाउने व्यवस्था मिलाउन जरुरी छ । सुपरीवेक्षणलाई शिक्षण सिकाइको अभिन्न अंग बनाइनु पर्दछ ।

अन्त्यमा,

नेपालको शिक्षा क्षेत्रको सम्पूर्ण अवस्थाको विश्लेषण गरी उपयुक्त मार्ग प्रशस्त गर्न जरुरी छ । शिक्षा सेवामा देखिएको अव्यावहारिक, अवैज्ञानिक र पुरातनवादी सोंचलाई समयानुसार परिष्कृत गर्नुपर्दछ । शिक्षा सेवाको संगठन तथा व्यवस्थापनलाई आवश्यकतानुसार यथार्थ, वस्तुगत र न्यायोचित ढंगले पुनरावलोकन गरिनुपर्दछ । कार्य विवरणविना जनशक्ति व्यवस्थापन गरिनु हुँदैन । मन्त्रालयले मौजुदा जनशक्तिको उचित व्यवस्थापनको लागि योजना निर्माण गर्नु पर्दछ । दशकौदेखि विद्यालय शिक्षामा सुपरिवेक्षणले पारेको सकारात्मक प्रभावलाई निरन्तरता दिन जरुरी छ । अनुगमनका नाममा विभिन्न नाम र समूहका हूलले गर्ने विद्यालय भ्रमणले कुनै प्रकारको शैक्षिक सुधारको अपेक्षा गर्न सकिदैन ।

स्थानीय  तहको शिक्षासंग सम्बन्धित काम गर्ने शाखालाई शिक्षकको तलब भत्ता, छात्रवृत्ति र पाठ्यपुस्तक वितरण गर्ने गोदाम घर बनाइनु हुँदैन । स्थानीय तहलाई संघ, प्रदेश र गैर सरकारी संस्थाहरुले गरेको काममा साँची बस्नुपर्ने संज्ञा दिने घीनलाग्दो प्रवृत्ति बदलिनुपर्दछ । संविधान प्रदत्त अधिकारको उचित रुपमा अभ्यास गर्ने मार्ग प्रशस्त गर्नुपर्यो । शिक्षकका भविष्य र वृत्ति विकाससंग जोडिएका पक्षहरुमा सम्बन्धित पक्ष चनाखो हुन जरुरी छ । शिक्षा सेवाका कर्मचारीहरुका अतिरिक्त श्रोतव्यक्ति र श्रोतकेन्द्रको अवधारणालाई परिष्कृत ढाँचामा अगाडि बढाउनुपर्दछ । नितान्त शिक्षकको पेशागत विकास तथा विद्यालयका यावत समस्याहरुसंग नजिक रहि प्राविधिक सहायता प्रदान गर्ने कार्यमा लगाउन श्रोत व्यक्तिको व्यवस्थापन जरुरी छ । प्रत्येक स्थानीय तहमा विषयगत निरीक्षकको व्यवस्था गरिनुपर्दछ । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई समेत अनुगमनको पाटोमा जोडेर विद्यालय निरीक्षणलाई सहभागीता मूलक र नतिजा मूलक बनाउन आवश्यक छ ।

शर्मा, भेरीगंगा नगरपालिका सुर्खेतका उपसचिव हुन् ।

प्रतिक्रिया