Edukhabar
आइतबार, ०६ साउन २०८१
अभिभावक / विद्यार्थी

'म स्कूल जान चाहन्न'

बुधबार, २४ बैशाख २०७७

एउटा घटनावाट शुरु गरौं । सन् २०१६ मा स्वीजरल्याण्डको एक शहरमा त्यहाँका राष्ट्रपतिबाट समुद्घाटित पेशागत तथा व्यावसायिक शिक्षा एवं तालीम सम्वन्धि एक अन्तरराष्ट्रिय कार्यक्रममा एउटी एक्काइस वर्षीय युवतिले “म स्कूल जान चाहन्न” भन्दा सभाहल तालीको गड्गडाहटले गुञ्जायमान भएको थियो ।

स्कूल नै सबै थोक हो र स्कूलमा मात्र शिक्षा आर्जन हुनसक्छ भन्ने परम्परागत मान्यताको एकोहोरो विश्वासमा हुर्केका तथा वढेका हामीहरु जस्ता धेरै सहभागिहरु यो विचारलाई पचाउन अत्यन्तै असमञ्जसमा परेका थियौं । यो वास्तवमा अप्राकृतिक कथन थियो हामीहरुका लागि । स्कूलमा नगए पनि शिक्षा हासिल गर्न सकिन्छ भन्ने कुरा नै अनौठो लाग्थ्यो । यो लेखमा शिक्षा के हो ? शिक्षा प्रदान गर्ने विधिहरु के के छन्? यी विधिहरुका वारेमा हाम्रो उपस्थिति तथा प्रगति के कस्तो छ? यसैका वारेमा चर्चा गरिने छ।

प्राकृतिक तथा अप्राकृतिक तरिका

प्राणीहरुका लागि जीवन सञ्चालन तथा चलायमान बनाउन उर्जाको आवश्यकता पर्दछ । यो उर्जा आराम, खाना तथा ज्ञानका माध्यमवाट हासिल हुन सक्छ । खाना तथा आरामका माध्यमवाट हासिल हुने उर्जाले जीवन सञ्चालन गर्नका लागि सहयोगी हुनुका साथै यसवाट प्राप्त हुने तन्दुरुस्तीले केही हदसम्म शारीरिक वल प्रदान गर्छ जसले भौतिक सुरक्षामा सहयोग पुग्न सक्छ । तर जीवन चलायमान गराउन ज्ञानको पनि थप आवश्यकता पर्दछ । मानव जातीको जीवन चलायमान गराउन यथास्थितिको ज्ञान अपर्याप्त हुन जान्छ । तर यो अपर्याप्तता सहजै र सवै मानिसहरुले महशुस नगर्न पनि सक्छन् । यो अपर्याप्तता भनेको हालसममको ज्ञान अपुरो र धेरै थप तथ्यहरु जान्न वाँकि रहेको कुराको स्वीकारोक्ति सहितको मनन नै हो । यसैलाई अज्ञानताको स्विकारोक्ति पनि भनिन्छ । यो अज्ञानताको स्विकारोक्ति त्यति सहज छैन । आम मानिसहरु यो कुरालाई मान्दै मान्दैनन् । त्यसैले यो अप्राकृतिक कुरा हो ।

धर्मभिरुहरुका जमानामा धर्मग्रन्थमा लेखिएको कुरा वा धर्मका अधिकारीहरुको अभिव्यक्ति वा आदेशलाई मात्र सत्य मानिन्थ्यो । यस भन्दा पर तर्क तथा विज्ञानका माध्यमवाट सत्य देखिएका कुराहरु वर्जित थिए । यिनीहरु विद्रोही वा पापी सम्म पनि मानिन्थे । सुकरातको हेमलक विषपान पनि त्यसैको एउटा उदाहरण हो । त्यतिवेलाका विद्वानहरुले उपलव्ध ज्ञानको पर्याप्तताकावारेमा अज्ञानता स्वीकार गरेको भएर मात्र नयाँ तथ्यहरुको अन्वेषण गर्न उनीहरु सक्षम पनि भए र अरुहरुलाई प्रेरित गर्न पनि सके । सामान्यतया प्रचलित शासन परम्पराको विपरित कुरा गर्नेहरु विरोधी वा अवैधानिक मानिन्छन् । यो मान्यता प्राकृतिक पनि छ । त्यसैले नयाँ विचार तथा नयाँ तथ्य खोज्नकालागि प्राकृतिक तरिका सहज छैन । त्यसैले यसलाई अप्राकृतिक पनि भनिन्छ । एउटा प्रचलित मान्यता तथा तथ्यवाट अर्को नयाँ प्रमाणित मान्यता तथा तथ्यमा प्रवेश गर्ने वातावरण निर्माणको काम अप्राकृतिक नै हो । यसैलाई मनोक्रान्ति पनि भन्ने गरिन्छ ।  

शिक्षाको वुझाई

माथि नै भनियो जीवन सञ्चालन तथा चलायमान बनाउनकालागि शिक्षा पनि आवश्यक अवयव हो । अर्काेतिर जिवन चलायमान बनाउनकालागि  हामीहरुले गर्ने प्रयासहरु तीनवटा आयामहरुलाई  केन्द्रमा राखेर मनन गर्नुपर्छ । ती हुन्, समय स्थान र उर्जा । यहाँ उर्जा भनेको त अप्रत्क्ष्य रुपमा शिक्षालाई मान्न सकिन्छ । यसको समय र स्थानसंग पनि सम्वन्ध हुनुपर्ने हुँदा शिक्षालाई सोही अनुरुप व्याख्या गर्नुपने हुन्छ । त्यसैले शिक्षाको उद्देश्य उत्पादन तथा सामाजिक पुस्तान्तरण भनिएको हो । यो पुस्तान्तरण समय र स्थानसंग सम्वन्धित भएकाले नै यो सर्वकालिक पनि हुन्छ त्यसैले तीनवटा आयामसंग यसलाई जोड्न खोजिएको हो । फेरि पुस्तान्तरण डार्विनको विकासवादी सिद्धान्तवाट समेत निर्देशित हुने हुँदा यसले जैविक विविधतालाई समेत समाहित गनुपर्ने हुन्छ । यसकालागि सोही वमोजिमको ज्ञान (नलेज), कौशल (स्कील) तथा मनोवृति (एट्टिच्युड) आवश्यक पर्दछ ।

यी तिनवटै अवयवहरु शिक्षाको परिभाषाभित्र पर्दछन् । ज्ञान सामान्यतया वौद्धिक सूचना तथा तर्कशीलतामा आधारित हुन्छ । प्रविधि तथा कालीगढीलाई सीप अथवा कौशल भन्ने गरिएको छ । अघिल्ला दुवै थरीका ज्ञान तथा कौशल हासिल गर्न आवश्यक पर्ने लगाव, व्यक्तिगत तथा सामाजिक अभिरुचि (टे«ट) लाई मनोवृत्ति भनिएको हो ।  प्रकृति तथा विकास यिनीहरुको समन्वयात्मक अनुशिलन तथा प्रगतिवाट मात्र अघि वढ्न सक्दछ । साधारण तथा प्राविधिक शिक्षामा दुईवटा अवयवहरु ज्ञान तथा कौशल मात्र सिकाइएको हुन्छ भने व्यासायिक शिक्षामा तीनवटै अवयवहरु सिकाइएको हुन्छ । त्यसैले सवै प्रकारका शिक्षाहरुको मान्यता एउटै हुनुपर्छ । सवै प्रकारका शिक्षाहरु मूलप्रवाहका शिक्षा हुन् त्यसैले वैकल्पिक तथा परिपुरक जे भने पनि सवैलाई अन्तमा मूलप्रवाहमै समायोजन गर्नुपर्छ । आगामी हरफहरुमा तिन वटै अवयवमा आधारित व्यावसायिक शिक्षामा केन्द्रित रहेर चर्चा गरिनेछ ।   

शिक्षण प्रशिक्षण विधि

शिक्षण प्रशिक्षणमा शिक्षक तथा शिक्षण स्थल प्रमूख रहेका हुन्छन् । आप्mनो काम कुशलतापुर्वक सम्पादन गर्न सक्ने अध्यापक होस् वा पेशागत कालीगढ दुवैले जानेको सीप हस्तान्तरण गर्न सक्छन् । त्यसैले दुवैलाई शिक्षणको कार्य सम्पादनमा उपयोग गर्ने अन्तरराष्ट्रिय प्रचलन नै रहेको छ । शिक्षक शिक्षालयमा केन्द्रित रहेको हुन्छ भने कालीगढ व्यावसाय स्थलमा । स्वभावैले शिक्षण संस्था र व्यावसाय स्थल दुवै शिक्षण प्रशिक्षणका लागि उपयोग गर्न सकिने स्थलहरु हुन जान्छन् । परम्परागत शिक्षण संस्थामा कक्षा कोठा तथा प्रयोगशालाहरुका माध्यमवाट शिक्षण प्रशिक्षण हुने गर्दछ । यहाँ गरिने प्रयोगात्मक अभ्यासहरु कृत्रिम हुने हुँदा वास्तविक कामको संसारसंग कति स्वभाविक वातावरण निर्माण गर्न सकिन्छ र कति जिवन्त सिकाई हुन्छ ? त्यो विवेचनाको मुख्य विषय हो । अर्कोतर्फ व्यवसाय स्थलमा हुने शिक्षण प्रशिक्षण त्यहाँको उत्पादन तथा सेवासंग सम्वन्धित हुने हुँदा यो चाँहि जिवन्त नै हुन्छ । अघिल्लो विधि वास्तविक कामसंग टाढा हुने हुँदा यसलाई टाढाको सिकाई (अफसाइट लर्निङ्ग) र पछिल्लो सिकाई वास्तविक कामसंगै जोडिएकाले यसलाई स्थलगत सिकाइ (अनसाइट लर्निङ्ग) भनिन्छ । स्थलगत सिकाईलाई कार्यगत सिकाइ तथा कार्यस्थलको सिकाइ पनि भनिन्छ । काममा आधारित सिकाइ तथा कार्यस्थलमा आधारित सिकाई समेत भन्ने गरेको पनि पाइन्छ । कार्यस्थलमा गराइने सिकाईमा कालीगढले गरेको कामको अवलोकन, कालीगढको निर्देशनमा कार्य सम्पादन र स्वतन्त्र कार्य सम्पादनका माध्यमवाट प्रशिक्षार्थीहरु दक्ष हुन्छन् । त्यसैले यी विधिहरुलाई कुन कुन माध्यमवाट विद्यार्थीको पहुँचमा पु¥याउन सकिन्छ भन्ने विषय त्यति धेरै महत्वको हुँदैन । यसमा प्रशिक्षार्थी स्वयं संलग्न हुनैपर्छ ।

कार्यस्थलको सिकाइमा हाम्रो अनुभव

प्रविधिको उपलव्धता र यसमाथिको पहूँचलाई भावनात्मकताले घेरेको पाइन्छ । नीति निर्माता, व्यवस्थापक, शिक्षक प्रशिक्षक, अविभावक तथा विद्यार्थी सबैले आफ्नो समझलाइ निरपेक्षतामा हेर्ने गरेको पाइन्छ । अर्को पक्षको क्षमता र पहुँचलाई उती धेरै ध्यान दिएको पाईदैन । कुनै पनि प्रविधि तथा उपक्रमको उपयोगकालागि यसको पूर्वाधार विकास (ईञ्जिनियरिङ्ग), सञ्चालनको सहजता (एजुकेशन) तथा व्यवस्थापन (इनफोर्समण्ट) को क्रमिक आवश्यकता हुन्छ । यो चक्रलाई “तिन ई” पनि भनिन्छ । हामीहरुले हाम्रा प्रयासहरुलाई के पहिल्यै व्यवस्थापकिय पक्षवाट हेर्ने गरेका त छैनौं? नीति निर्माता तथा व्यवस्थापकले नयाँ उपक्रम शुरु गर्नुलाई क्रन्तीकारी कदम ठानेर शिक्षक प्रशिक्षक तथा विद्यार्थी अविभावकको क्षमतालाई नजर अन्दाज त गरेका छैनौं ? हामीले अर्को पक्षको वारेमा उसको क्षमताको आंकलन नगरी निरपेक्ष निर्णय त लिने गरेका छैनौं? अव हामीले कार्यस्थलको सिकाइका वारेमा गरेका प्रयासहरुलाई यिनै तथ्यहरुको सेरोफेरोमा रहेर विचार गरौं ।

हामीले पूर्व व्यावसायिक शिक्षाका नाममा दशम कक्षासम्म विगतमा राखेको पाठ्यक्रमको लेखाजोखा गरेर त्यसमा नौ वाह्रको अवधारणा थप्यौं कि तुगलकी फर्मानका आधारमा? विश्व विद्यालयहरुमा रहेको कार्यस्थलसंग प्रतक्ष्य सरोकारको विषय तथा पाठ्यक्रममा उल्लेखै भएको राष्ट्रिय विकास सेवाको अवधारणालाई के का आधारमा परिवर्तन गर्नु पर्यो र अहिले फेरी थप्नु पर्यो ? त्यसै गरी व्यावसायिक शिक्षाको टिएसइइमा रहेको कार्यगत तालीमलाई किन अन्य तहका छोटो तथा लामो अवधिका तालीममा जोड्न सकेनौं ? व्यावसायिक शिक्षाको तह दुइको तालीममा हाल कार्यगत तालीमलाई अनिवार्य गरिएको छ । त्यसै गरी केही विषयहरुमा कार्यस्थलमै सिकाइने औद्योगिक प्रशिक्षार्थी तालीम सञ्चालन गरिएको छ । यसमा बीस प्रतिशत सैद्धान्तिक कक्षा शिक्षालयमा हुने गरेको छ भने वाँकी अशी प्रतिशत उद्योग व्यावसायमै त्यहीँका कालीगढहरुवाट हुने गरेको छ ।

तालीमको निरन्तरता तथा स्वामित्व सुनिस्चित गर्नकालागि उद्योग व्यावसायी संघ संस्था मार्फत मातहतका उद्योग व्यावसायीहरुवाट तालीम सञ्चालन गरिएको छ । यसले संस्थागत अनुगमन, सफलतापूर्वक तालीम सम्पन्नता तथा गुणस्तरिय तालीमको प्रत्याभुतिमा सघाउ पु¥याएको छ । यसरी कार्यस्थलमै सिकाइने हँुदा र प्रशिक्षार्थीहरु उत्पादन प्रक्रियामै संलग्न हुने हँुदा प्रशिक्षार्थीहरुको अभिरुचिमा उच्चतम उपलव्धि देखिएको छ भने कामका सिलसिलामा हुने सहकार्य तथा अन्तरसंवन्धले दुवै पक्षको विश्वासको स्तरमा अत्यन्तै उत्साहवर्धक अभिवृद्धि देखिएको छ । यसले प्रशिक्षणमा संलग्न विद्यार्थीहरुलाई तालीम सम्पन्न भए पछि रोजगारीमा संलग्न गर्ने तथा निजको कार्य सम्पादनका आधारमा अन्य उद्योग व्यावसायमा सिफारिस गर्ने गरेको पनि पाइएको छ । उद्योग व्यावसायी तथा प्रशिक्षार्थीहरुको सन्तुष्टीको दरलाई हेर्दा तथा तिनीहरुको कार्यक्रम निरन्तरताकालागि अभिरुचिका आधारमा यो अत्यन्तै सफल देखिने गरेको छ । कार्यस्थलको तालीम तथा सिकाईकाका सन्दर्भमा यो प्रयास अत्यन्तै महत्वपूर्ण अनुभव रहेको छ । अझै महत्वपूर्ण पक्ष त हाम्रो परम्परागत गुरुकुल शिक्षण पद्धति तथा आवासीय विद्यालयको अवधारणा पनि यही कार्यस्थलको सिकाईको अवधारणामा आधारित रहेकाछन् ।

अबको बाटो

जे काम गर्ने हो त्यसैमा संलग्न भएर प्राप्त गरिने शिक्षा विद्यार्थी शिक्षक तथा शिक्षा प्रदान गर्ने संस्था (शिक्षण संस्था तथा औद्योगिक प्रतिष्ठान) सबैका लागि लाभप्रद हुने त माथिको विवरणवाट प्रष्टै हुन आउँछ ।  उद्देश्यका दृष्टिले पनि यो सवै पक्षकालागि जीत जीतको खेल हुन जान्छ । उद्योग व्यावसायमा कार्यरत दक्ष कालीगढलाई शिक्षकको रुपमा तथा कार्यशालालाई प्रयोगशालाको रुपमा प्रयोग गरी शिक्षालाई शिक्षणकै दौरानमा उत्पादनसंग जोडिने हुँदा सीपयुक्त जनशक्ति निर्माणमा लगानी अत्यन्तै कम हुन जाने देखिन्छ । यो प्रक्रियावाट तयार भएका जनशक्तिहरुले सिकेको सीप माथि आत्म विश्वास उच्च हुने भएकाले उत्पादनमा मात्र वृद्धि हुने नभई व्यक्तिको आवेगमा पनि शान्तभाव, परिवारमा आत्मियता तथा सामाजिक सद्भाव अभिवृद्धि हुन जाने देखिन्छ ।  

अर्को तिर परम्परागत ज्ञान तथा सीपलाई समाजशास्त्रीहरुले पनि उच्च महत्व दिने भएकाले सबै भन्दा पहिला त ती ज्ञान तथा सीपहरुलाई हाम्रो शिक्षाको मूलप्रवाहमा ल्याउनु एकदमै जरुरी भईसकेको छ । यिनीहरुलाई अर्को समूह तथा पुस्तामा हस्तान्तरण गर्न विगतमा कुनै पनि शैक्षिक संस्थाहरु स्थापित गरिएका थिएनन् । यिनीहरु यसै गरी कार्यस्थलवाटै प्रसारित, प्रवाहित र हस्तान्तरित भएका हुन् । त्यसै गरी आर्थिक तथा अन्य कारणले स्कूल वाहिर रहेको युवाहरुको समूहकालागि पनि व्यावसायिक शिक्षा उपयुक्त माध्यम हुनसक्छ । यी युवाहरुलाई व्यावसायिक शिक्षाको प्रवाहमा समाहित गर्न सक्ने यही प्रक्रियालाई संस्थागत गर्न सकेमा व्यावसायिक शिक्षाको विस्तारमा मात्र सघाउ पुग्ने नभई स्कूल जानै पर्ने अवस्थालाई पनि समाधान गर्न सकिन्छ । त्यसैले कार्यस्थलमा आधारित व्यावसायिक शिक्षा आत्म निर्भरतामा अभिवृद्धि गर्दै मर्यादित काम र सम्मानित रोजगारको प्रक्रियामा कारगर सिद्ध हुने र “म स्कूल जान चाहन्न” भन्नेहरुका लागि उत्तम “अप्राक्रितिक उपाय” हुन जान्छ ।

भट्टराई, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटिका निर्देशक हुन् ।

प्रतिक्रिया