Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

‘ए प्लस’ र ‘सी’ ग्रेड बीचको अन्तर !

शनिबार, १० असार २०७४

गत असार २ गते माध्यमिक शिक्षा परीक्षा कक्षा १० अर्थात् एसईईको नतिजा प्रकाशित भयो । ग्रेडिङमा नतिजा प्रकाशित भएपछि नतिजाले ल्याएको खुसी, दिएको पीडा प्रत्येक अभिभावक र विद्यार्थीसँग अझै पनि ताजै छ । विशेषत : सामुदायिक विद्यालयहरुमा अहिले हुँदा खाने वर्गका अभिभावकका सन्तानहरु पढ्ने देखिएका छन् । त्यस्ता विद्यार्थीको दिनचर्या, बसाइ  पनि वास्तवमै विद्यार्थीको जस्तो लाग्दैनन् । सानो बेलादेखि दुःखमा हुर्किएका, दुःख बुझेका बालबालिकाहरुले पढाइमा मिहीनेत गरेर पढेपछि वा भनौं एसईईमा राम्रो अंक ल्याएपछि उसलाई हेर्ने दृष्टिकोणमा कस्तो बद्लाव आउँछ ? हाम्रो समाजको एउटा यथार्थ लुघकथाकार मणि भट्टराईले आफ्नो लघुकथा ‘सी परीक्षा’ मा देखाएका छन् । सोही कथा साताको शिक्षा साहित्यमा ।

आफ्नो छोरो ‘सी’ ग्रेड र एउटा कोठामा ४/५जनाको सिंगो परिवार बस्दै आएको भाडावालको छोरो ‘ए प्लस’ ग्रेडमा पास भएको सुनेपछि घर मालिकले पहिलो पटक आफ्नो घर बाहिर उभिएर आफ्नो बडेमाको घरलाई धेरै बेर नियालिरह्यो । घरभित्र पसेर छोरालाई र बुढीलाई हेर्यो । सबै कुरालाई अनौठो पाराले हेरिरह्यो र अन्ततः बाथरूममा गएर आफ्नो अनुहार हेर्यो । चिट्चिट् पसिना आइरहेको थियो ।

पल्ला कोठामा छोरालाई पढ्न डिस्ट्रिब हुन्छ भनेर बेलैमा टिभी निभाएर सुतेको सम्झ्यो । भाडावालका छोराछोरीको संगत नगर भनेर छोरालाई हप्काएको सम्झियो । उसले छोरालाई पढाउन गरेका हर मेहनत सम्झेर ल्यायो । त्यसपछि भाडावाल इन्द्रजीत र उसको एउटा सानो कोठा, टिभी त्यही, भान्सा कोठा त्यही, दुई–दुई वटा बेडहरू त्यही, पाहुना आउँदा खाटमुनि आफू सुतेर पाहुनालाई खाटमाथि सुताउनु पर्ने उसको अवस्था पनि सम्झियो । आफ्नो पटक–पटक श्रीमतीसँग झगडा परेको तर इन्द्रजीत र उसकी श्रीमती एक अर्कोमा कहिल्यै चर्को स्वरले बोलेकोसम्म नसुनेको एकसाथ सम्झियो । आफ्नो अधिकृतको जागीर र इन्द्रजीतको सामान्य मजदुरी पेसा पनि एकै चोटी सम्झियो । त्यो अस्तव्यस्त सानो कोठाभित्र पढेर पनि ‘ए प्लस’ ग्रेड ल्याउने इन्द्रजीतको छोरा सुन्दरलाललाई सम्झिने धेरै कोसिस गर्यो । भाडावालका छोराछोरी भनेर उस्ले उति ध्यान पनि दिएको रहेनछ !

ऊ आज इन्द्रजीत र उस्को परिवारलाई सम्झेर पहिलोपल्ट भावुक मात्र भएन, भित्रैबाट श्रद्धाले भरिएर आयो । फटाफट् तल झर्यो, इन्द्रजीतसँग पहिलोपल्ट हात मिलायो र सुन्दरलालको हातमा बधाईस्वरूप केही थमाइ दियो । उसले निक्कैबेर सुन्दरलाललाई हेरिरह्यो । ‘मलाई टाढाको नसम्झनु, हामी एउटै घरमा बसेको धेरै भयो ।’ इन्द्रजीततिर फर्केर भन्यो,  ‘मलाई दाजु जस्तैसम्झिए हुन्छ, ‘’म तिम्रो बडाबा हुँ’ सुन्दरलालको टाउको सुम्सुम्याउँदै भन्यो । त्यसपछि ऊ माथितिर गयो । इन्द्रजीत र उनको परिवार छक्क परेर हेरिरहे ।

घर मालिक्नीले यो सबै संवाद सुनिछन् क्यारे ! ऊनी आफ्नो लोग्नेसँग चर्को–चर्को स्वरमा बोलिरहेकी थिइन् । घर मालिक पनि जंगिरहेको सुनिन्थ्यो ।

 

प्रतिक्रिया