शिक्षा मन्त्रीका २ महिना, गर्नैपर्ने ४ काम


सिंहदरवार स्थित कुनै पनि मन्त्रालय भवनको कोठाको भित्तामा मन्त्रीको नेम प्लेट झुण्ड्याउन गोपालमान श्रेष्ठलाई कुनै आईतबार कुर्नु पर्थेन ! त्यसमाथि आफ्नै पार्टिका सभापति शेरबहादुर देउवाको क्याविनेटमा उनी छुट्ने कुरै थिएन ।

गिरिजाप्रसाद कोइरालासँग असन्तुष्टि जनाउँदै पार्टि विभाजन गर्ने टुङ्गोमा पुगेका बेला ठूलो आड भरोसा दिएका स्याङ्जाली यी पाका नेताले राजाको शासनकालमा सभापति थुनामा पर्दा पनि पार्टिको कमान सम्हालेर देउवाको मन थप जितेका थिए । त्यसैले त जेठ २४ गते बुधबार आफूले सपथ खाए लगत्तै देउवाले उपप्रधानमन्त्रीका रुपमा शिक्षा मन्त्रालय समेत सम्हाल्ने गरी श्रेष्ठलाई सपथ खुवाए ।

श्रेष्ठ, शिक्षा मन्त्रीका रुपमा सिंहदरबार छिरेको मंगलबार २ महिना पुरा हुँदै छ । यो बिचमा उनीबाट स्मरणीय काम हुन सकेको छैन ।

सिंहदरवार छिर्न कुनै कसरत गर्नु नपरे पनि शिक्षा मन्त्रीका रुपमा सफल हुन उनलाई ठूलै मेहनत गर्नु पर्ने छ । अन्य मन्त्रालयको अनुभव संगालिसके पनि शिक्षा मन्त्रीका रुपमा उनी कत्तिको सफल हुन्छन् भन्ने कुरा चाँही उनको कार्यशैलीले निर्धारण गर्ने छ ।

संघीयता संगै माध्यमिक शिक्षा सम्मको अधिकार स्थानीय तह मातहत ब्यवस्था भएको छ । शिक्षालाई थितीमा सञ्चालन गर्न उनका अघिल्तिर चुनौती सँगै अवसर पनि उत्तिकै छ ।

तत्काल गर्नु पर्ने शिक्षक र कर्मचारी व्यवस्थापन, चिकित्सा शिक्षा विधेयक पारित र उच्च स्तरीय शिक्षा आयोग गठन उनका लागि काम गरेर देखाउने स्वर्णीम अवसर हो । यत्ति काम फत्ते गरे उनको कार्यकाल सफल हुने छ ।

गणतन्त्र आगमन पछिका १० बर्षमा १० वटै सरकार परिवर्तन भएका छन् । यो विचमा ११ जना शिक्षा मन्त्रीले मन्त्रालयमा नेम प्लेट झुण्ड्याई सकेका छन् । तर ठोस उपलब्धी मुलक काम एक जनाले बाहेक अरुले गर्न नसकेको विगत छ । सन्त रुपधारी सर्वहारा स्वभावका गिरीराजमणी पोखरेल मात्रै जिम्मेवारी बोध गरेका मन्त्री बनेका छन् । अरुले नेम प्लेट झुण्ड्याउन बाहेक खासै केही गर्न नसेकेको विगत छ ।

राजनीतिक शिखर पुरुष वीपी कोईरालाको सामीप्य र संगतबाट राजनीतिमा हुर्किएका वर्तमान शिक्षा मन्त्री श्रेष्ठले यो उमेरमा पाएको जिम्मेवारी देश र जनताका लागि सार्थक तुल्याए राजनीतिक जीवन थप सफल हुने छ । नभए निरर्थकको विकल्प छैन ।

मन्त्रालयका कर्मचारीलाई यताउता गराउन र हनुमान शैलीका कार्यकर्ताको वशमा नपरि वास्तविक र समस्याको धरातलमा पुगेर काम गर्न आवश्यक छ । त्यसो गर्न सके संकटका बेला देउवाका सारथी श्रेष्ठको यो कार्यकाल सार्थक सावित हुनेछ ।

बोलेको कुरा नगर्ने र नगरेको कुरा गरेँ भनेर झुट बोल्ने पूर्व शिक्षा मन्त्री धनिराम पौडेल जस्तै बन्ने हो, भने केही भन्नु छैन । उनी धेरै बोले काम सिन्को पनि नभाची गए । जाँदा जाँदै पारितै नभएको नियमावली पारित भएको झुटो सन्देश प्रवाह गरेर विदा भए ।

गणतन्त्र आएपछि शिक्षा मन्त्री बन्ने भाग्यमानीहरुमा मंगलसिद्धी मानन्धर, रामचन्द्र कुशवाह, सर्वेन्द्रनाथ शुक्ल, रेणु कुमारी यादव, गंगालाल तुलाधर, दीनानाथ शर्मा, गिरीराजमणि पोखरेल, चित्रलेखा यादव, धनिराम पौडेल, लगायतका रहे । वर्तमान समयमा गोपालमान श्रेष्ठ पनि भाग्यमानी बन्न आएका छन् । ती मध्ये स्मरण योग्य काम गर्ने पोखरेल बाहेक अरुले खासै गर्न नसकेको विगत छ । त्यसो त मान्नधर, तुलाधर, शुक्ल  र रेणु  लगायतले नराम्रा काम नगरे पनि उल्लेख्य काम गर्न सकेनन् । त्यसो त तुलाधरले केही गर्न चाहँदा चाहँदै अन्तिम समय रिक्त ७ विश्वविद्यालयका उपकुलपति नियुक्ति गरे । भागवण्डामा भएकाले त्यो पनि विवादास्पद बन्यो ।

बाँकी अन्य मन्त्रीले गरेका काम कार्यकालमा विवादस्पद रहे । कुशवाह जनक शिक्षा सामाग्री काण्ड मच्चाएर कुर्सीबाटै विदा भए । शर्माले जनमैत्री र पिपुल्स नामका प्रस्तावित मेडिकल कलेलाई विवादास्पद तरिकाबाट एलओआई दिएर आर्थिक उपार्जनको खेती गरेको कलंक बोकेर विदा भए । स्वकीय सचिव बनेका छोरा छोरीको चलखेल पनि कम रहेन विगतमा । चित्रलेखा कार्यकाल श्रीमान्का कारण विवादास्पद बन्यो । उनकै कार्यकालमा नियुक्त साझा प्रकाशनका महाप्रवन्धक डोलिन्द्र शर्माको काम कारवाही यतिखेर विवादको उत्कर्षमा छ । उनको कार्यकालमा भएका  अन्य कतिपय निर्णय विवादास्पद नै बने । मेडिकल कलेजलाई शुल्क निर्धारण महत्वपूर्ण उदाहरण हो । धनिरामको कार्यकाल साझा प्रकाशनमा बहीनीलाई जागीरे बनाउनमा बित्यो । गरेको प्रतिवद्धताको ३३ प्रतिशत पनि काम पुरा नगर्ने धनिराम आया राम गया राम मन्त्री मात्र बने ।

तर उनकै राजनीतिक गुरु पोखेलले संयुक्त सरकार रहँदा रहँदै पनि एमाले जस्तो शिक्षामा व्यापारिक लगानी गर्ने पार्टीका नेता तथा सासंदलाई रिझाएर नयाँ शिक्षा ऐन पारित गराए । साथै निहीत आम्दानी हुन सक्ने अन्य शिक्षा सम्वन्धी निर्णयलाई पनि वेवास्ता गर्दै आफ्नो छवि बचाउन सफल रहे । त्यसैले यस अवधीमा अन्य मन्त्रीको कार्यशैलीको तुलनामा पोखरेलको नाम सम्झन योग्य छ । अन्य मन्त्रीहरुको कामको समीक्षा गर्ने हो भने असल काम गर्ने विरलै रहे ।

कार्यकाल सफल भनी चर्चा पाएका पोखरेलका चेला मानिएका पौडेलले मन्त्रालय सम्हालेको ४२ औं दिनमा ६ महिने कार्ययोजना सार्वजनिक गरेका थिए । साथै १९ बुँदे कार्यक्रम । महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरे पनि खासै उल्लेख्य काम विनै नौ महिना विताएर उनी विदा भए । त्यसैले मन्त्री पोखरेल पछि सफल सावित हुन मन्त्री श्रेष्ठले शिक्षामा काम गर्न आवश्यक छ । मन्त्रीले माथि उल्लेख गरिएका काम कसैको निहीत स्वार्थको प्रलोभन र वसमा नपरी आर्थिक मोहबाट विमुक्त रहेर गर्न सके भने शिक्षा जगतका लागि उनको नाम स्मरणीय हुनेछ । त्यसको फल विरासतको पुस्तालाई पनि हुनेछ ।

अघिल्ला मन्त्री पौडेलले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने शिक्षक र शिक्षा मन्त्रालय मातहतका कर्मचारीहरुलाई पुरस्कारको ब्यवस्था गर्ने कार्य योजना पनि सार्वजनिक गरे । आफ्ना बच्चालाई आफैं सिकाऔं, सिकाउन हामी सक्षम छौ भन्ने उनको नाराले केही समय मिडियामा राम्रै चर्चा पायो । आफ्ना छोरा छोरीलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने शिक्षक र शिक्षा मन्त्रालय मातहतका कर्मचारीहरुको आन्तरिक वृतिविकासमा सहयोग पुग्नेगरी पुरस्कारको व्यवस्था गरिने लगायतका कार्ययोजना सार्वजनिक गरेका थिए ।

कात्तिक २५ गते भित्र शिक्षानियमावली बनाईसक्ने प्रतिबद्धता समेत जनाएका पौडेलले त्यो पनि गर्न नसकेको विगत छ । उनले प्रतिवद्धता गरेका काम मात्र गर्दा पनि वर्तमान शिक्षा मन्त्रीलाई जस लिन सक्ने प्रशस्त स्थान छ । उनका सल्लाहकार यी विषयमा कति जानकार छन्, कुन्नी ?

यो पनि पढ्नुहोस् : शिक्षा मन्त्रीलाई प्रश्न : रोजेर शिक्षा मन्त्री हुनु भएको की आईलागेको ?