Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

जेठो विश्वविद्यालय भनेर मात्र त्रिविको साख बाँकी रहन्छ ?

सोमबार, २१ फागुन २०७४

बुहसंख्यक नेपालीका छोराछारीले उच्च शिक्षा हासिल गर्ने एउटा मात्र केन्द्रिय विश्वविद्यालयले मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गरिरहेको छ ? प्रश्न गम्भिर छ । त्रिभुवन विश्वविद्यालय किन बुहसंख्यक नेपालीको रोजाईको गन्तब्य हो ? यसका विविध कारण होलान् यो छुट्टै बहसको विषय हो । तर, यहाँ प्रवेश गरी अध्ययन पुरा गर्ने अपेक्षा बोकेर आएका विद्यार्थीले उपयुक्त शैक्षिक प्राज्ञिक वातावरण प्राप्त गरेका छन् ? यो अर्को पेचिलो प्रश्न हो ।

राजनीतिक संरचनाका हिसावले नयाँ युगमा प्रवेश गरेको देशको संविधानले सार्वजनिक शिक्षालाई केन्द्रमा राखेको छ । अर्थात् शिक्षाको अधिकार मौलिक हक अन्र्तगत छ । यस्तो अवस्थामा सार्वजनिक संस्थाको गिर्दाे शाख संविधानको प्रतिकुल हुन्छ । विश्वविद्यालयको शैक्षिक वातावरण  संविधानले परिकल्पना गरेको दिशामा अग्रसर छ त ? यो अर्को चुनौती पूर्ण प्रश्न छ ।

विद्यार्थी राजनीतिको भुँवरीमा  

विश्वविद्यालयमा अध्ययनरत सचेत युवा विद्यार्थीले समाज र शैक्षिक क्षेत्रमा खेल्ने भुमिकाले वौद्धिक र विशेष महत्व राख्ने गर्दछ । शैक्षिक रुपान्तरणमा विश्वविद्यालयका युवा विद्यार्थीले खेल्ने रणनीतिक भुमिका उच्च हुन सक्नु पर्दछ ।  स्वाधिन र समृद्व राष्ट्र निर्माणमा विशेष पहरेदार हुनु पर्दछ । मुलुकको आर्थिक, सामाजिक रुपान्तरणको मुल धारणा खडा हुनु पर्दछ, शिक्षा क्षेत्रको विकाश र परिवर्तन गर्न वहु आयामिक रुपमा क्रियाशिल हुनु पर्दछ ।

वि.स २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र सबैभन्दा ठुलो केन्द्रिय विश्वविद्यालय हो । केहि बर्ष अघि सम्म विद्यार्थीको भर्नाको आधारमा यो विश्वविद्यालय विश्वको नवौ स्थानमा पर्दथ्यो तर अहिले त्रिभुवन विश्वविद्यालयको अवस्था त्यस्तो छैन ।

विद्यार्थी संख्याको भर्नाको कमीले गर्दा प्राय अहिले त्रिवि सुनसान नै हुने गर्दछ । उपस्थित हुने विद्यार्थी पनि प्राय कहिँ न कहिँ विद्यार्थी संगठनहरुबाट परिचालित छन् । ती प्राय क्याण्टिनमा घुम्ने त्रिविका कर्मचारीहरुलाई थर्काउने त्रि.विमा चन्दा आतंक मच्चाउने र खास पढ्न भनि प्रवेश गरेका विद्यार्थीलाई प्रयोग गर्ने र माफीया करणमा प्रोत्साहन गर्ने गर्दछन् । त्यस्ता प्रवृतिका विद्यार्थीले आफुलाई त्रि.विको अब्वल विद्यार्थी ठान्दछन् ।

हामी एकांकी रुपमा धारणा बनाउन छाडेर अलिकति खुला भएर विश्लेषण गरौं त – त्रि.विको शैक्षिक गुणस्तर खस्कनुमा त्रि.वि.लाई राजनीतिक थलो बनाउने विद्यार्थी नेताहरुको भूमिका कम देखिदैंन । यो विषयलाई  विद्यार्थीले अनुसन्धानको विषय बनाउनु पर्ने भईसकेको छ ।

विद्यार्थी राजनीति भनेको विद्यार्थीको हक हित र अधिकारको लागि कपषा कोठा र डेक्स, बेञ्चबाट आवाज बुलन्द हुनु पर्दछ, तब मात्र वाास्तविक विद्यार्थी अधिकार प्राप्तिको लागी प्रेरित हुने गर्दछन् । तर यहाँ माथि यल्लेख गरिए जस्तो प्रवृत्ति हावी हुँदै छ । जुन शैक्षिक क्षेत्रको लागि चिन्ताको विषय हो ।  

यो अवस्थाले चिन्ता बढाउँदै लगेको छ – विश्वविद्यालयको शैक्षिक भविष्य कता जादँैछ ? किन निजी क्याम्पसहरुमा विद्यार्थीको भर्ना दर प्रत्येक बर्ष बढ्दैछ । यो प्रश्नको खोजि गर्न अब विश्वविद्यालयमा राजनीतिक थलो बनाउने विद्यार्थी नेताहरु अग्रसर हुनु पर्दछ । अन्यथा विद्यार्थी राजनीतिक अस्तित्व र विश्वविद्यालयको गरिमा डरलाग्दो संकट मडारिनेमा दुई मत छैन ।

प्राध्यापक कि नीजिका रखवाला वा दलका कार्यकर्ता

अर्को चुनौतीपूर्ण पक्ष भनेको दक्ष प्राध्यापकको छनौटमा भएको हेलचेक्रयाँई हो । शैक्षिक गुणस्तर निर्माणका लागि दक्ष प्राध्यापकहरु छनौट गर्न गठित त्रि.वि सेवा आयोगले निश्चित ब्यक्ति र पार्टिका कार्यकर्ताहरुलाई सेवा गरी रहेको छ । अझ त्रि.वि भित्रका धेरै जसो प्राध्यापकहरु नियमित क्याम्पस नआउने, आफ्ना निजी क्याम्पसहरु खोलेर बढि समय विश्वविद्यालय भन्दा बाहिर खर्चिने र विश्वविद्यालय भित्र आराम गर्न आउने गर्दछन् । जसले गर्दा विश्वविद्यालयका विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित हनु पर्ने वाध्यता छ ।

विश्वविद्यालयको कमजोर र फितलो प्रशासनले प्रध्यापकहरुलाई ठगि खान झनै सहज वनाएको छ । वास्तवमा आहिले त्रि.वि. मा आशिंक शिक्षकहरुले केहि मात्रामा नियमित पढाउने हुँदा २–४ घण्टा विद्यार्थी कक्षाकोठा भित्र रहने वातावरण निर्माण भएको हो । स्थायी प्राध्यापकहरुको मुख्य जिम्मेवारी त्रिविका कक्षा कोठा हुन सकिरहेका छैनन् ।

सेमेष्टर गुणस्तरलाई कि शुल्क बढाउन ?

शैक्षिक प्रणालीलाई विश्व बजारसँग समयानुकुल गराउने भन्दै सेमेष्टर प्रणाली शुरु भयो तर त्यो पनि नाम मात्रको हुँदै छ । समयमा परिक्षा नहुने, परिणाम समयमा नआउने, विश्वविद्यालयका आन्तरिक कारणले गर्दा पढाइ निरन्तर नहुने, ब्यवस्थित क्यालेण्डर बनाएर प्रयोगमा ल्याउन नसक्ने, उत्तर पुस्तिका परिक्षणमा लापरवाही गर्ने, प्रत्येक वर्ष सेमेष्टरको नाममा शुल्क मात्रै बढाउने जस्ता कार्यले गर्दा सेमेष्टर प्रणालीमै प्रश्न उब्जिएको छ ।

त्रि.वि समक्ष उत्पन्न भएका थप प्रश्न :

–    त्रि.वि ओरालो लाग्नुको कारण विद्यार्थी राजनीति हो कि राजनीतिको आवरणमा जारी माफियाको चलखेल ?

–    जनताको पहँुचमा रहेको विश्वविद्यालयको ऐतिहासिकतालाई जोगाई विकास गर्ने वा सो मान्यतालाई विघटन गरिदिने ?

–    त्रि.वि.लाई जनताको छोराछारीले पढ्ने विश्वविद्यालयकै रुपमा अगाडी बढाउने वा निजीमा जस्तै अति महङ्गो बनाएर अभिजात वर्गको मात्र पहुँचको थलो बनाउने ?

–    उच्च शिक्षाको भार थेगेको त्रि.वि.लाई राज्यको दायित्व भित्र पार्ने कि स्वायत्तताको नाममा सरकारी क्याम्पसहरुलाई समेत निजीकरण गर्ने ?

–    मुलुकका महत्वपुर्ण पब्लिक कलेजलाई आङगिक बनाउदै जाने वा हाल भईरहेको आङ्गिक कलेजहरुलाई विदेशी दातृ संस्थाको निर्देशन र प्रलोभनमा स्वायत्तता प्रदान गरी पव्लिक बनाउदै अन्तत ः निजीकरण तर्फ लैजाने ?

–    त्रि.वि. पदाधिकारीहरु सरकारको निर्णय मान्ने की विश्व वैंकहरु जस्ता दातृ संस्थाको आदेशमा चल्ने ?

–    त्रि.वि प्राज्ञकि संस्था की शैक्षिक माफियाको थलो ?

–    सार्वजनिक शिक्षा अफाप सिद्व हो भन्ने कान्यतालाई बढावा दिने की गुणस्तरलाई केन्द्रमा राखेर शैक्षिक उन्नयन गर्ने ?

–    राजनीतिक भागवण्डामा पदाधिकारी चयन गरिरहने की प्रतिष्पर्धाको आधारमा सक्षम र क्षमतावान ब्यक्तिलाई नियुक्ति गर्ने ?

–    हाजिर र सेवा नगरी कनै तलब खान पाईन्छ की पाईंदैन ?

–    त्रि.वि. का प्रध्यापकहरु आफ्नो संस्थाको सेवामा रहनु पर्छ वा निजी कलेजको ?

–    त्रि.वि ले यथास्थितीमा रहेको अस्तव्यस्त पुरानै परिक्षा प्रणाली र शिक्षण विधि कायम गर्ने वा चुस्त दुरुस्त बैज्ञानिक पद्वति अंगाल्ने ?

–    आफ्नो मुलुकको सापेक्षतामा आवश्यकता बमोजिमको मौलिक र समयानुकुल पाठ्यक्रम निर्माण गर्ने वा सतही रुपमा अरुको नक्कललाई निरन्तरता दिने ?

–    विद्यार्थी वर्गले शैक्षिक उन्ययनको निम्ति रचनात्मक भुमिका निर्वाह गर्ने की फगत दलीय राजनीतिक तथा व्यक्तिगत स्वार्थको पक्षरोपण गर्ने ?

–     एकेडेमिक क्यालेण्डर कार्यान्वयन गर्ने की नगर्ने ?

बदलिदों समाजको चरित्र र प्रविधिले सिकाइमा ल्याएको चुनौतीलाई आत्मसात गर्न सकिएन, देश भित्र तथा बाहिर रहेका प्रतिष्पर्धि विश्वविद्यालयका अघिल्तिर आफूंलाई अब्बल कायम राख्न सकिएन भने  देशकै जेठो विश्वविद्यालय भनेर मात्र त्रिविको साख बाँकी नरहने पक्का छ । त्यही जेठोको रतीमा रमाईरहने हो भने ओरालो लागी रहेको त्रिभुवन विश्वविद्यालय भड्खालामा खस्ने निश्चित छ ।  

ढिलो भएको त अवश्य हो तर बेला वितिसकेको छैन । सुधारका लागि हरेक समय उत्तिकै महत्वपूर्ण हो ।  शैक्षिक उन्नयनका लागि सकृयता पूर्वक कृयाशिल तर ओझेलमा परेका योग्य प्राध्यापक, विश्व वजारसँग प्रतिस्पर्धा गर्ने हिम्मत बोकेर त्रिवि छिरेका जेहेन्दार विद्यार्थी, सानो संख्यामा रहेका ईमान्दार कर्मचारीले एकै पटक एकै स्वरमा त्रिवि सुधार हाम्रो एक मात्र अभिष्ट हो भनेर आवाज निकाल्ने र कदम बढाउने हो भने अहिले सतहमा देखिएका गलत प्रवृत्ति निरुत्साही हुनेमा शंका छैन ।

शर्मा त्रिविका विद्यार्थी हुन् ।

प्रतिक्रिया