Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

सरकारी भवनमा निजी विद्यालय !

आइतबार, ०४ चैत्र २०७४

काठमाडौं ४ चैत / जिल्ला शिक्षा कार्यालय र सरोकारवलाहरूको लापारबाहीका कारण पर्साको बहुदरमाइ नगरपालिका–८ मा रहेको रामनगरीस्थित नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयको भवन बिगत ५ वर्षदेखि कब्जा गरी निजी विद्यालय सञ्चालन गरिएको छ।

देवनन्दन देवराज माध्यमिक विद्यालयसँग टासिएर रहेको सिंचाइ कार्यालयको १० कोठे भवनमा २०६९ सालदेखि श्री दुर्गा एकेडेमी सञ्चालन गरिएको हो। पीजीदेखि कक्षा तीनसम्मको पठन पाठन हुँदै आएको उक्त निजी विद्यालयमा एक सय ९२ जना विद्यार्थी रहेको पाइएको छ। विद्यालयले पीजी र नर्सरीका विद्यार्थीबाट ३ सय, एल केजीका विद्यार्थीबाट ३ सय २५, यूएकेजीका विद्यार्थीबाट ३ सय ५०, कक्षा एक विद्यार्थीबाट ३ सय ७५, २ कक्षाबाट ४ सय र कक्षा ३ का विद्यार्थीबाट ४ सय २५ रुपियाँ मासिक शुल्क लिँदै आएको स्थानीय अभिभावकहरूले जानकारी दिएका छन्।

दुर्गा एकेडेमी नामको कुनै पनि निजी विद्यालयले अनुमतिपत्र नलिएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले बताए। नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले रामनगरीमा रहेको सिंचाइ कार्यालयको पुरानो भवनमा निजी विद्यालय सञ्चालनका लागि स्विकृती नदिएको जिकिर गरेका छन् तर विद्यालय भने सञ्चालनमा छ। उनले विद्यालय भवन कब्जा भएको पाइए खालि गराइने बताए।

दुर्गा एकेडेमीका प्रिन्सिपल रञ्जनकुमार शर्माले वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको सिंचाइ कार्यालयको भवनका १० वटा कोठा रंगरोगन गरी विद्यालय सञ्चालन गरेको बताए। स्थानीयहरूको चाहनालाई ध्यानमा राखेर आफूले विद्यालय सञ्चालन गरेको उनले दाबी गरेका छन्।

सरकारी भवनमा निजी विद्यालय सञ्चालन शिर्षकमा नेपाल समाचारपत्रमा कृष्णउदास खनालले लेखेका छन् ।

प्रतिक्रिया