Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

मुख्यमन्त्रीले दुई बालबालिकालाई माविसम्मै पढाउने

सोमबार, ०३ बैशाख २०७५

काठमाडौं ३ बैशाख /प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई बालबालिकालाई १० कक्षासम्म पढाउने जिम्मा लिएका छन् । आइतबार ‘विद्यालय भर्ना महाअभियान’अन्तर्गत ती दुई बालबालिकालाई उनले महानगरको मासवारस्थित कृष्ण माविमा भर्ना गरेका हुन् ।

दोलखाको वैद्यखर गाउँपालिकाकी ५ वर्षीया शिखा जिरेल र पोखरा–७ घारीपाटनका अभिषेक नेपालीलाई विद्यालय भर्ना गर्दै मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीदेखि सरकारी उच्च ओहोदामा रहेकाले कम्तीमा एक बालबालिकालाई भर्ना गर्ने अभियानअन्तर्गत यो काम गरेको बताए ।

भूकम्पपीडित जिरेलका बाबु पोखरामा इलेक्ट्रिसियनको काम गर्छन् । नेपालीका बाबु बिरामीले थला परेका छन् । आमाले अरूको घरमा काम गरी परिवारको गर्जो टारिरहेकी छन् । दुवै बालबालिकालाई नर्सरीमा भर्ना गरिएको थियो । मुख्यमन्त्री गुरुङले दुवै बालबालिकाको अभिभावकत्व लिएको बताए ।

शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्दै उनले गरिब र विपन्न समुदायले पनि पढ्न पाउनुपर्नेमा जोड दिए । ‘बालबालिकाको जन्मदर्ताका आधारमा अभिभावकका नाममा बाबुआमा रहे पनि मुख्यमन्त्री आजैबाट स्कुलको अभिभावक बन्नुभयो,’ विद्यालयका प्रधानाध्यापक केदारनाथ अधिकारीले भने, ‘हाम्रो स्कुलको पनि गौरव बढेको छ ।’

मुख्यमन्त्रीले अभिभावक बनेर विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा मताधिकारसमेत प्रयोग गर्न पाउनेछन् ।

जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूले समेत एक/एकजना विद्यार्थी भर्ना गर्ने अभियानअन्तर्गत यहाँ पनि मुख्यमन्त्रीले भर्ना गराएको बताए ।

कान्तिपुरबाट

प्रतिक्रिया