Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

टहराबाट दरबारमा सरे बालबालिका

विहीबार, १३ बैशाख २०७५

काठमाडौं १३ बैशाख / भुकम्पले विद्यालय भत्काएपछि टहरामा पढ्न बाध्य रुद्राक्षेश्वर मावि मुगिटार रामेछापका बालबालिकाहरु बुधबारदेखि आधुनिक विद्यालय भवनमा पढ्न थालेका छन् ।
भुकम्प गएको ठिक तीन वर्ष पुगेकै दिन (वैशाख १२ गते ) हेर्दा कुनै राणाकालिन दरबार झै लाग्ने आधुनिक शौचालय सहितको भवन अनि लोभलाग्दा डेक्सबेन्चमा उनीहरुले अध्ययन गर्न थालेका हुन् ।

टहराको धुलो र जाडोयामको शीत छल्दै कष्टका साथ ३ वर्ष गुजारेका बालबालिकाहरुले अब उक्त विद्यालयमा अध्ययन गरुञ्जेल कुनै पूर्वाधारको कमी महसुस गर्ने छैनन् ।
‘हामीले आफ्नो घरमा भन्दा धेरै राम्रो भवनमा अध्ययन गर्ने अवसर पायौँ ’ उक्त माविको कक्षा १० मा अध्ययनरत मुक्तीबहादुर माझीले भने । सडक छेउकै टहरामा तीन वर्षसम्म खाएको धुलोबाटमुक्त भएकोमा उनले खुसी व्यक्त गरे ।

छात्र र छात्राहरुका बेग्ला बेग्लै शौचालय, पुस्तकालय, चमेना गृह, प्रयोगशाला भवन , प्रअ र शिक्षकको बेग्लाबेग्लै कार्यालय, लेखाशाखा र प्रयाप्त कक्षा कोठा भएका ७ वटा भवनहरु एकै साथ निर्माण भएपछि स्थानीय समेत गद्गद् छन् ।

‘भुकम्पले विद्यालय भवन ध्वस्त गरेर तीन बर्षमा यति धेरै भवन बन्लान् भन्ने कल्पना समेत गरेका थिएनौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर माझिले भने,‘अहिले दंग छौँ ।’ उनले सबैको चासो अब भवनमा नभै सिकाइ उपलब्धिमा हुनुपर्ने बताए ।

एसियाली विकास बैंकको ८० र नेपाल सकारको २० प्रतिशत लगानीमा जिल्लामा निर्माण भइरहेका १९ मध्ये रुद्राक्षेश्वर मावि लगायत विभिन्न ५ वटा विद्यालय भवन बुधबार विद्यालय व्यवस्थापन समितिलाइ हस्तान्तरण गरिएका छन् ।

संघीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामांङले रुद्राक्षेश्वर मावि भवनको बुधबार नै उद्घाटन गरी व्यवस्थापन समितिलाइ हस्तान्तरण गरे । निर्माण व्यवसायी रत्न गौतमका अनुसार रुद्राक्षेश्वर बाहेक नागकन्य मावि मन्थली, भैरवि मावि सुनारपानी, प्रशुन कँडेल मावि रजगाउँ, नवदर्शन मावि तिल्पुङंको समेत निर्माण कार्य सम्पन्न भएको छ । मन्त्री तामांङले बुधबार नै अन्य विद्यालयहरुका साँचो समेत हस्तान्तरण गरेका छन् ।
उनले भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणलाइ सरकारले प्राथमिकतामा राखेको बताए ।

भुकम्पले रामेछापका ४ सय १९ वटा विद्यालयहरु क्षतिग्रस्त भएका थिए । ति मध्ये अधिकांशको पुर्ननिर्माण कार्य सुरु भएको छ ।

विद्यालय भवन निर्माण तथा मर्मत कार्यका लागि जिल्लामा स्थापित जिल्ला आयोजना कार्यान्वयन इकाई ( शिक्षा ) का आयोजना प्रमुख हेमन्तकुमार बुढाथोकीका अनुसार निर्माण व्यवसायी मार्फत २१, गैरसरकारी संस्था मार्फत ७६ र अन्य जिल्ला शिक्षा कार्यालय र व्यवस्थापन समिति मार्फत विद्यालय पुर्ननिर्माणको काम हुँदै आएको छ ।

अबको एक वर्षभित्र जिल्लाका अधिकांश विद्यालय भवनहरु पुर्ननिर्माण भइसक्ने गरी काम भइरहेको उनले बताए ।

कान्तिपुरमा टीकाप्रसाद भट्टले लेखेका छन् ।

प्रतिक्रिया