Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

हुँदै नभएको विद्यालयमा छात्रवृत्ति रकम

शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं ४ जेठ / वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएको विद्यालयमा अध्ययन गर्ने छात्र÷छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाइएको छ। जिल्लामा हुँदै नभएको विद्यालय र सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत कुमार बस्नेत, कक्षा ४ मा अध्यनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका नाममा आएको छात्रवृत्ति रकम अलपत्र परेको छ।

वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका वा पूर्ण रूपमा अंगभंग भएका अभिभावकका सन्तानलाई उपलब्ध गराइने छात्रवृत्ति रकम चण्डी ब्राइट फ्युचर बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकाका लागि आएको हो। चण्डी ब्राइट फ्युचर नामको बोर्डिङ स्कुल जिल्लामा नभएकाले तोकिएको छात्र/छात्रालाई रकम पठाउन नसकिएको शिक्षा कार्यालयले जनाएको छ।

बोर्डले तीन छात्र/छात्राले जनही ८ हजारका दरले पाउने गरी २०७४ साल असोज ८ मा जिल्ला शिक्षा कार्यालयलाई चेक पठाएको थियो। रकम लिनका लागि दाबी गर्ने छात्र/छात्रा नआएको र जिल्लामा चण्डी ब्राइट फ्युचर बोर्डिङ स्कुल नभएकाले बोर्डले पठाएको छात्रवृत्ति रकम जिल्ला शिक्षा कार्यालयकै खातामा छ। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका वा पूर्ण रूपमा अंगभंग भएका अभिभावकका २८ बालबच्चालाई छात्रवृत्तिका लागि सिफारिस गरिएकामा २२ जनाले जनही ८ हजारका दरले छात्रवृत्ति पाइसकेको वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दैआएको सुरक्षित आप्रवासन परियोजनाको सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले बताइन्। ‘हामीले २८ बालबालिकाका लागि बोर्डमा सिफारिस गरेका थियौं,’ उनले भनिन्, ‘तीमध्ये २५ जनाको नाममा छात्रवृत्ति आयो। त्यसमध्ये विद्यालय नै नभएपछि तीनजनाले छात्रवृत्ति पाउन सकेका छैनन्।’ हुँदै नभएको विद्यालयका नाममा छात्रवृत्ति रकम आएको विषयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई जानकारी गराइए पनि सोधखोज नभएको बताइएको छ।

नागरिकबाट

प्रतिक्रिया