Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

एसईईमा प्रश्नपत्र बैंक बनाइने

विहीबार, ०३ साउन २०७५

काठमाडौं ३ साउन / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो ।

विश्वविद्यालयका विषय विज्ञहरूले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् । सन् २०२० देखि एसईईमा प्रश्नपत्र बैंकबाट सोध्ने गरी तयारी अघि बढेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । ‘गुणस्तरीय मूल्यांकन प्रणाली विकास गर्न विशेषज्ञको रायसुुझाव लिएर मापदण्ड बनाउँदैछौं,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख विनोद फुयालले प्रश्नपत्र निर्माणमा शिक्षककै संलग्नता हुनुपर्नेमा जोड दिए । परीक्षा नियन्त्रण कार्यालयले आफूनिकटका सीमित शिक्षकहरूबाट प्रश्नपत्र निर्माण गरेको भन्दै प्राध्यापकहरूले असन्तुष्टिसमेत जनाएका थिए । शिक्षकलाई सक्षम बनाए मात्र एसईई सुधारिन सक्ने फुयालले औंल्याए ।

प्रश्नहरू पाठ्यक्रमले निर्दिष्ट गरेको उद्देश्यबाहिरका हुने, हरेक वर्ष एउटै दोहोरिने र प्रयोगात्मक परीक्षामा पूर्णाङ्कको शतप्रतिशत नम्बर दिने गरिएको भेटिएको छ । त्रिविका प्राध्यापक राजेन्द्र तिमिल्सिनाले प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रम र पाठ्यपुस्तकमा केन्द्रित हुन जोड दिए ।

पहिलो चरणमा अंग्रेजी, गणित र विज्ञान विषयको प्रश्नपत्र बैंक बनाइने सदस्यसचिव अर्यालले बताए । ‘बैंकमा हजारौं प्रश्नपत्र हुन्छन्, तीनैमध्येबाट एसईईमा प्रश्न सोधिन्छ,’ उनले भने । अर्यालयका अुनसार बैंकमा राख्ने प्रश्नहरू विषय विशेषज्ञको संलग्नतामा तयार पारिनेछ । प्रश्नपत्र विद्यार्थीमाझ नमुना परीक्षणपछि मात्रै बैंकमा राखिनेछ । पहिलो वर्ष सोधेको प्रश्न कम्तीमा ५ वर्षसम्म नसोध्ने गरी मापदण्ड तय गरिने उनले जनाए ।

बोर्डले एसईईको गुणस्तरीय मूल्यांकनका लागि त्रिवि प्राध्यापक गणेशबहादुर सिंह र नेदरल्यान्डका प्रोफेसर स्टेफन बेकरलाई अध्ययन प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो । उनीहरूकै सुझावका आधारमा गुणस्तरीय मूल्यांकन विधि तय गर्न लागिएको हो । एसईई नतिजा ग्रेडिङ पद्धतिबाट ९ वटा ग्रेड श्रेणीमा प्रकाशित हुँदै आएको छ । गत वर्ष कक्षा १० मा नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिइएको थियो ।

प्राध्यापकहरूले प्रश्नपत्र, परीक्षा प्रणाली, उत्तरपुस्तिका परीक्षण र प्रयोगात्मक परीक्षा सञ्चालनमा मापदण्ड बनाएरमात्र सुधार गर्न सकिने जनाएका थिए । उनीहरूले प्रयोगात्मक परीक्षाको प्रणालीमाथि नै प्रश्न उठाएका थिए । एसईईको प्रयोगात्मकमा अधिकांश विद्यार्थीलाई पूर्णाङ्कबराबरै २५ नम्बर दिने गरिएको छ । कतिपय विद्यालयका शिक्षकले एउटै वाक्यमा ‘परीक्षामा सहभागी सबै विद्यार्थीले २५ नम्बर ल्याए’ लेखेर परीक्षा नियन्त्रण कार्यालयलाई जानकारी दिएका थिए ।

सोही आधारमा नम्बर ग्रेडसिटमा ‘ए प्लस’ दिइएको थियो । प्रयोगात्मक परीक्षाको विकृति सुधार्न विशेषज्ञको रायसुझावमा मापदण्ड बनाइने बोर्डले जनाएको छ ।

कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् ।  

प्रतिक्रिया