Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

फेरि पनि सुध्रिएन ‘ग्रेडिङ’

आइतबार, ०३ भदौ २०७५

काठमाडौं ३ भदौ / विद्यार्थी, अभिभावक र शिक्षाकर्मीलाई समेत अलमलमा पारेको एसईई परीक्षाको नतिजा अक्षरांकन पद्धति (ग्रेडिङ) मा सरकारको अपरिपक्वता फेरि देखिएको छ। अन्नपूर्ण पोष्टका अनुसार ग्रेडिङलाई आफूखुसी व्याख्या गर्ने सरकारी निकायकै कमजोरीले बारम्बार परिवर्तन भइरहेको यो पद्धतिमा फेरि परिवर्तन भएको छ।

परिवर्तित व्यवस्थाअनुसार कक्षा ११ र १२ को परीक्षामा डी र ई ग्रेड ल्याएका विद्यार्थीले पनि ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने भएका छन्। ग्रेडिङ पद्धति कार्यान्वयन निर्देशिकाको व्यवस्थाविपरीत राष्ट्रिय परीक्षा बोर्डले डी प्लस ल्याउने विद्यार्थीलाई मात्र ग्रेडवृद्धि परीक्षामा बस्न दिने निर्णय गरेको थियो।

नयाँ व्यवस्थाअनुसार कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षामा बस्न पाउने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले बताए। उनका अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को शुक्रबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो। परिषद्को अध्यक्ष शिक्षामन्त्री रहने व्यवस्था छ।
ग्रेडिङ पद्धति कार्यान्वयन निर्देशिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षामा सी वा त्यसभन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिने उल्लेख छ। ‘कक्षा ११ र १२ को नतिजा एसईईकै मोडेलअनुसार ग्रेडिङबाट प्रकाशन गर्ने, तर मौका परीक्षा भने निर्देशिकाविपरीत व्यवस्था गर्नु अव्यावहारिक देखियो’, उनले भने, ‘नयाँ व्यवस्था विद्यार्थी हितमा छ। पुरानो व्यवस्थाले विद्यार्थी मर्कामा परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।’

निर्देशिकाअनुसार कक्षा ८, १० र १२ कक्षामा यही व्यवस्थाअनुसार मौका परीक्षा सञ्चालन हुनेछ। नयाँ व्यवस्थाअनुसार ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या पहिलाको तुलनामा दोब्बर हुने अनुमान केन्द्रको छ। यसअघि करिब ६५ हजार विद्यार्थीले यस्तो अवसर पाउनेमा नयाँ निर्णयपछि ५० हजार विद्यार्थी थपिने काप्रीले बताए।

ग्रेडवृद्धि परीक्षामा बस्न पाउने भएपछि धेरै विद्यार्थीले यही वर्ष स्नातक तहमा अध्ययन गर्ने अवसर पाउनेछन्। राष्ट्रिय परीक्षा बोर्डले भदौ १६ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। बोर्डले साउन १७ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो तर नतिजा प्रकाशनको दुई सातापछि मात्र मौका परीक्षा दिन पाउने निर्णय गरेकाले विद्यार्थी तनावमा परेका छन्। मौका परीक्षाको फाराम भर्ने समय भदौ १० गतेसम्म मात्र छ।

अन्नपूर्ण पोष्टमा सुर्यप्रसाद पाण्डेले लेखेका छन् । 

प्रतिक्रिया