अँग्रेजी माध्यम प्रति शिक्षकको भोगाइ : दाहिने गोरु देब्रे नारे जस्तो !


सामुदायिक विद्यालयको गुणस्तर खस्क्यो, त्यसैले अभिभावकको रोजाई निजी विद्यालय भए !

निजी विद्यालयमा अँग्रेजीमा पठनपाठन हुन्छ, त्यसैले विद्यार्थीको आर्कषण त्यता बढ्यो !

सामुदायिकका शिक्षकमा पढाउने ढंग छैन त्यसैले त्यस्ता विद्यालयमा पढाएर जानी जानी सन्तानको भविष्य विगार्न कसलाई मन लाग्छ र !

आम रुपमा व्यक्त यी धारणा कै बिचमा माध्यमिक तह सम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भएको छ । संविधानले अधिकार दियो, माथि ब्यक्त धारणा दिन दिनै सुन्दै आईरहेको अवस्थाका बिचमा सामुदायिक शिक्षा सुधारको हुटहुटी बोकेका स्थानीय सरकारका अधिकाँश जनप्रतिनिधिले सामुदायिक शिक्षा सुधार्ने उपाय खुट्याए – पठनपाठनमा अँग्रेजी माध्यम !

तर, उनीहरुले तय गरेको दिशा ठिक छैन भन्ने एक अध्ययनको निश्कर्ष छ ।  अँग्रेजीमा त पढाउने तर न शिक्षक सक्षम छ, न विद्यार्थीको सिकाइ त्यही रुपमा विकास हुँदै आएको छ ! यो बाटो शिक्षक विद्यार्थी दुवैका लागि हिँसाको रुपमा उभिएको उक्त अध्ययनको निश्कर्ष छ । ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौंकी मावि तहकी अँग्रेजी विषय शिक्षक अञ्जु लामाले एमफिल अध्ययन प्रयोजनका लागि काठमाडौं र मकवानपुरका विद्यालयमा गरेको अध्ययनका क्रममा शिक्षकले भनेछन्  – शुक्रबार आए पछि भोली त पढाउन पर्दैन भनेर, बल्ल आनन्द लाग्छ, अरु बार त रात भरी निन्द्रै लाग्दैन ।  

अँग्रेजी माध्यम भनेको दाहिने गोरु देब्रे नारे जस्तो भो !

विद्यार्थीले भनेछन् – सर मिससँग कति बोल्न र सोध्न मन लाग्छ तर सोध्नै सक्दिन !

प्रश्न सोध्दा नमिलेर साथीहरु शायद हाँस्छन् की !

यसबाट पुष्टि हुन्छ अँग्रेजी माध्यममा हुने शिक्षण सिकाइ शिक्षक विद्यार्थी दुबैका लागि तनाव बनेको छ । यही सन्दर्भमा लामासँग श्रीधर पौडेलले गरेको कुराकानीको सम्पादित अँश :

अध्ययनका लागि तपाईले किन यही विषय छनौट गर्नु भएको ?

म २०७२ सालमा माविमा स्थायी भएको । मकवानपुरको भिमफेदी स्थित महेन्द्र माविमा जब शिक्षक भएँ शुरु शुरुमा जसरी हुन्छ कक्षामा अँग्रेजी माध्यममा पठन पाठन हुनु पर्छ, अँग्रेजी वातावरण हुनु पर्छ भनेर कक्षा कोठामा अँग्रेजी भन्दा अरु बोल्नै नपाउने गराएँ ।

काठमाडौं सरुवा भएर ज्ञानोदयमा आएपछि आफू पनि अझै पढौं जस्तो लाग्यो, उता हुँदा थिएन, पछि फेरी कता पुगिएला यही बेलामा पढौं भनेर त्रिभुवन विश्वविद्यालयमा एमफिल कक्षामा भर्ना भएँ । त्यहाँ 'मल्टि लिङ्वालिजम' विषय पढ्नु पर्छ । भाषामा विविधता हुनु पर्छ, सबैको महत्व र प्राथमिकता उस्तै हो भन्ने अवधारणा त्यो विषयमा पढ्नु पर्छ । त्यो विषय पढ्न डा. प्रेम फ्याक सरको कक्षामा बसे पछि मलाई यस्तो अनुभूत भयो की मैले कक्षा कोठामा अँग्रेजी मात्रै बोल्न लगाएर, नेपाली वा विद्यार्थीका आफ्नो भाषामा बोल्नै नदिएर अपराधै पो गरेको रहेछु भने जस्तो भयो ।

यस्तो अनुभूति भएपछि विद्यार्थी र शिक्षकको अवस्था के छ त ? कतै विद्यार्थीले आफ्ना मनका कुरा भन्नै सकेका पो छैनन् की ! यस्ता विद्यार्थीलाई शिक्षकले कसरी पढाईरहेका होलान् भन्ने जान्न मन लाग्यो । आफैंले अस्थायी, निमावि स्थायी हुँदै मावि सम्म पढाएको मकवानपुरको अवस्था देखे भोगेकै थिएँ र शहरी क्षेत्रमा कस्तो रहेछ भनेर राजधानीको अध्ययन गरेको हुँ ।

अध्ययनका शिलशिलामा तपाईले विद्यार्थीको मनोभावना र अवस्था चाँही कस्तो फेला पार्नु भयो ?

एक जना विद्यार्थीको डायरी पढ्दा त मलाई यस्तो रुन मन लाग्यो । तपाईले कल्पना पनि गर्न सक्नुहुन्न । सर मिससँग कति बोल्न र सोध्न मन लाग्छ तर सोध्नै सक्दिन ! भन्छन् ।  कक्षामा अँग्रेजी भन्दा अरुमा बोल्न सोध्न नपाईने भनिएको छ बरु भो नभनौं भनेर चुप लाग्ने, प्रश्न सोध्दा नमिलेर शायद साथीहरु हाँस्छन् की ! भन्ने चिन्तामा हुँदा रहेछन् ।

प्राय कक्षामा शिक्षकहरुले कितावबाट नेपालीमा अनुवाद गरेर अँग्रेजी पढाउँछन्, अहिले सम्म पढेको छ नेपाली माध्यमबाट, तर परीक्षामा नेपाली बाहेकका अरु विषय अँग्रेजमै लेख्नु पर्ने ! जे होला होला भनेर रोमनमा लेख्दा रहेछन् । अक्षर त अँग्रेजी भयो नी ! जस्तै एम ए – म, वी एच ए टी – भात, के एच ए एन सी एच एच यु – खान्छु ! यस्तो तरिकाले अँग्रेजीमा पढिरहेका छन् विद्यार्थीले । न उसले नेपाली राम्रोसँग जान्यो, न उ अँग्रेजीमा नै पोख्त भयो । न उसले आई ईट राईस भन्न जान्यो, न म भात खान्छु भन्न सक्यो । अवस्था यस्तो विकराल छ । परीक्षा आए पछि यति धेरै हिंसा महशुस गर्दा रहेछन् म त उनीहरुको कुरा सुनेर रुनै आयो ।

शिक्षकहरुले पढाउनु पर्यो नी त ! के गर्छन् हाम्रा शिक्षकहरु ?

अचम्मको कुरा शिक्षकहरु झन् धेरै पिडामा पो फेला पारें मैले त । अहिले सम्म नेपाली माध्यममा पढाउँदै आएका, नेपाली मै पढाउँछु भनेर पेशामा छिरेकाहरुलाई एक्कासी अँग्रेजीमा पढा भनेर त जादुको छडि जस्तो त हुन्न नी ! तुरुन्ताको तुरुन्तै भाषा बदल्ने, जिब्रो बदल्ने भन्ने त सम्भव छैन नी । नानी देखि लागेको बानी त छुटदैन । यो विषयमा ध्यान पुगेको छैन । बरु उल्टै हेडसरहरु, ब्यवस्थापन समितिका पदाधिकारीहरुले अनी सरकारले नै पनि अँग्रेजी माध्यम गर गर चाँही भन्ने तर, उनीहरुलाई त्यसरी तयार नगर्दा त हुने यही हो नी !

कति सम्म छ शिक्षकको पिडा भने शुक्रबार आए पछि भोली त पढाउन पर्दैन भनेर, बल्ल आनन्द लाग्छ, भन्नु हुन्छ । भोली पढाउने कुरा सम्झेर अरु बार त रात भरी निन्द्रै लाग्दैन रे ।

उहाँहरु भन्नुहुन्छ अँग्रेजी माध्यम भनेको दाहिने गोरु देब्रे नारे जस्तो भो ! खेतबारी जोत्ने बेलामा जुन गोरु जुन छेउको हो त्यतै नार्नु पर्छ अनी बल्ल हलो जोत्दा मिल्छ, तर हाम्रा कतिपय शिक्षकहरु आफूहरु नमिल्दो अवस्थामा रहेको अनुभूति गर्दैछन् ।

पढाउन भनेर नियुक्ति लिएका शिक्षकले पढाउनै नसक्ने भने पछि त हाम्रा शिक्षक योग्य रैन्छन् है ?

म शिक्षकलाई मात्रै दोष दिन चाहन्न । राज्यले पनि त हेर्नु पर्यो नी । एकै चोटी अँग्रेजी माध्यम मात्रै भन्दिने की त्यसका लागि आधार तयार गरिदिने ? खै तालिम ? जसरी अँग्रेजी माध्यम भनिएका छ त्यसका लागि चाहिने अन्य वातावरण खै ?

देशका ९७ प्रतिशत धेरै शिक्षक तालिम प्राप्त भएको संघीय सरकारको दावि छ, तपाई भन्नुु हुन्छ तालिम नै भएन कसरी मिल्यो त कुरा ?

त्यो तथ्याङ्क सहित होला । तर अँग्रेजी माध्यमबाट पठनपाठन गर्न कस्तो तालिम त ? पहिलाको नेपाली माध्यमको लागि ठिक थियाृ, तर अहिले पठनपाठनको माध्यम अँग्रेजी भन्न्े तर तालिम पुरानै देखाएर त कहाँ हुन्छ ?

शिक्षक भनेको त विशिष्ट प्रकारको पेशा हो, शिक्षक भए पछि केही कुरा त विशेष क्षमताको हुनु पर्यो, लगाए अह्राए, सिकाएको मात्रै गर्ने शिक्षक त के कामको ?

हो तपाईले ठिक भन्नु भयो । प्राथमिक तहको शिक्षक अलराउण्डर हुनु पर्छ त भनेको छ । तर त्यसमा भाषा अँग्रेजी नै गर त भनेको छैन ।

तर, शिक्षकहरु नै नसुध्रिकन भएन भन्ने नै मेरो तर्क हो ...

हो, शिक्षकहरुले भित्रै बाट अनुभुत गर्नु पर्यो । २० बर्ष अघि जुन तरिकाले पढाउँदै थिएँ । अब पनि त्यही तरिकाले गर्छु भनेर त हुँदै हुन्न । समय अनुसार शिक्षकमा सिकाउने तरिकामा परिवर्तन आएन भने जो सुकै भए पनि टिक्न सक्दैन ।

बजारको माग, त्यही अनुसार समाजको आवश्यकता र अभिभावकको चाहनासँग जोडिएर आएको छ नी त अँग्रेजी भाषा ।  कोही पनि अभिभावकले आफ्ना सन्तान गरीखाने होस् भन्न् चाहन्छ, त्यसका लागि अँग्रेजी भाषाको पठन पाठन हुनु पर्छ भन्ने समाजको माग छ, त त्यही अनुसार पठन पाठन गर्नु भनेर शिक्षकलाई भनिएको हो नी हैन र ?

म अँग्रेजीको विरोधी हैन, म आफैं अँग्रेजी विषय शिक्षक हो । अँग्रेजी भाषा चाहिन्छ भन्न्े कुरामा मेरो असहमती हैन । तर बच्चाको अवस्था के छ त्यो अनुसराको ब्यवहार गर्ने हो की ? बोल्नै सकेको छैन केही बुझेकै छैन भने अँग्रेजीमा दवाव दिएर खाए खा नखाए के भन्या जस्तो त ठिक भएन नी । त्यसैले पहिले आधार निर्माण गर्नु पर्छ राज्यले ।

संविधानले माध्यमिक तह सम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीइ सरकार मातहत गरेको, छ कतिपय स्थानीय सरकारका जनप्रतिनिधिहरुमा सावजनिक शिक्षा सुधार गर्ने हुटहुटि पनि छ, उनीहरुले आँग्रेजी माध्यम नै सुधारको बाटो देखेका छन्, यस विषयका बारेमा तपाईको अध्ययनमा के फेला पर्यो ?

मेरो अध्ययनले यति मात्रै भन्छ कि सबै विद्यार्थीले आँग्रेजी माध्यमबाट पढ्न सक्दैनन् र सबे शिक्षकले पढाउन सक्दैनन । राजनीतिक दलका नेताहरुले आँग्रेजी माध्यमबाट पठन पाठन गर्ने घोषणा गर्नु भयो, म उहाँहरुलाइ यत्ति मात्रै भन्छु की घोषणा गर्नु धेरै राम्रो हो, त्यस अघि अवस्था हेरेर, एउटा आधार तथा पृष्ठभूमि बनाएर घोषणा गर्नु भयो भने त्यसको प्रतिफल अझै राम्रो हुन्छ ।

विना योजना र अध्ययन घोषणा मात्रै गर्ने हो भने, बाहिर देखाउनका लागि मात्रै हुन्छ । न विद्यार्थीले राम्रो सँग पढ्नु न शिक्षकले पढाउन सक्नु भयो भने, आधि बाटो गयो, न पछाडी फर्कन सकिन्छ, न अघि बढ्न नै, त्यो लथालिंङ्ग पाराको हुन्छ ।