Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

प्राविधिक शिक्षाको लहर

बुधबार, २८ कार्तिक २०७५

काठमाडौं २८ कात्तिक /  पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान(फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीन वर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सव–ओभरसियर, प्लम्बर, कम्प्युटर लगायतका सीपमूलक विषय पठन–पाठनका लागि स्थापित बहुप्राविधिक शिक्षालयले स्थापनाको पहिलो वर्ष फरेस्ट्री कक्षाबाट पढाइ सुरु गरेको हो।

सातवटै प्रदेशमा एक÷एकवटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकार (आर्थिक वर्ष २०७३÷०७४) को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा महुरेगढी नमूना बहुप्राविधिक शिक्षालय स्थापना गरिएको हो।

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलस्थित सरस्वती माविले पनि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान (जेटिए) कक्षा सुरु गरेको छ । सिटिइभिटीको सम्बन्धनमा प्राविधिक एसएलसीतर्फ १८ महिने कोर्सको उक्त कक्षामा ४० विद्यार्थी भर्ना भएका छन् । ६६ जनाको आवेदन परेकामा प्रवेश परीक्षा गराई कोटाअनुसार भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले जानकारी दिए । बीस प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक परीक्षाका माध्यमबाट कोर्स पूरा गरिने विद्यालयले जनाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले पनि पशु विज्ञान विषयको १८ महिने कक्षा सञ्चालन गर्ने भएको छ।

खोटाङमा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटिए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मत लगायतका प्राविधिक विषयका अध्ययन तथा तालिममा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अहिले जताततै सरकारी र निजी पहलमा प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्ने लहर नै चलेको छ । सामान्य शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेको यथार्थलाई मध्यनजर गरी प्राविधिक शिक्षालयको लहर चलेको जालपा माविका शिक्षक हेमविक्रम राईले बताए । ‘हाम्रो शिक्षा पद्धतिले अहिलेसम्म बेरोजगार जनशक्ति मात्र उत्पादन गरे,’ महुरेगढी नमूना बहुप्राविधिक शिक्षालय स्थापनामा भूमिका खेलेका शिक्षक राईले भने, ‘त्यही भएर स्वरोजगार जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको आवश्यकता महसुस गरिएको हो।’

दिक्तेलकै पञ्च माविले आर्थिक वर्ष २०६९–०७० देखि मावि तहमा बाली विज्ञान विषय पठन–पाठन गर्दै आएको छ । यस्तै, साकेला गाउँपालिकाको रतन्छास्थित साकेला माविले तीन वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययनको अनुमति पाएको छ । प्राविधिक जनशक्ति उत्पादनमा दिक्तेलको अस्पताल चोकमा २०७१ सालमा खुलेको दिक्तेल प्राविधिक कलेजको योगदान पनि उल्लेखनीय छ । जिल्लामै प्राविधिक शिक्षा सञ्चालन हुन थालेपछि अब यस्ता विषय पढ्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्।

रोजगार पाउन सहज हुने तथा ‘स्कोप’ भएकाले प्राविधिक शिक्षामा आकर्षण बढेको ज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष राईले बताए । ‘अबका शिक्षालाई सीपमूलक बनाउनुपर्छ भन्ने चेतना विकास भएको छ,’ अध्यक्ष राईले भने, ‘प्राविधिक शिक्षा हासिल गरेपछि जागिरमा प्रवेश गर्ने वा आफ्नै निजी फर्म खोलेर व्यवसाय गर्ने बाटो खुल्ने भएकाले पनि यसप्रति आकर्षण बढेर गएको हो।’

नागरिकमा प्रकाशित । 

प्रतिक्रिया