Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

कमलकोटी बन्न प्रेरक अनुभूति‘सिकाउने शैली’

मंगलबार, ०८ माघ २०७५

‘बुलिङ् जहाँ पनि हुन्छ, जसरी पनि गर्न सकिन्छ तर विद्यालयमा हुने बुलिङ्ले बालमस्तिस्कमा नकारात्मक असर पारिरहेको हुन्छ । त्यसैले यस्ता कुरा रोक्न शिक्षक–अभिभावकले सचेत हुनु आवश्यक छ ।’ (पृ. १८)

‘यति लामो समयमा पनि विद्यालय स्तरमा सिक्ने–सिकाउने प्रक्रियामा खासै सुधार नआएकोमा मन खिन्न भयो ।’(पृ. ८२)

‘सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने र साधारण शिक्षा हाँसिल गर्ने सबै बालबालिकालाई उद्यमशील शिक्षा उपलब्ध गराउनु पर्ने आवश्यकता मैले देखेको छु ।’(पृ.२४१)

प्रत्येक संस्मरणात्मक लेखहरु नीति कथा जस्तो सन्देशमूलक लाग्ने र हरेक पाठको अन्त्यमा पाठकका लागि मार्गदर्शकवाक्यांश पस्कन सफल ‘सिकाउने शैली’ नेपाली शैक्षिक अभ्यासमा गिजुभाईको ‘दिवास्वप्न’ जस्तै छाप छोड्न सक्ने सम्भावना बोकेको देखिन्छ । सिन्धुपाल्चोक जिल्लामा २०६८ ताका जिल्ला शिक्षा अधिकारी रहँदा मैले उक्त पुस्तक सबै विद्यालयमा अध्ययन गर्नका लागि व्यवस्थापन गराएको थिएँ । प्रारम्भमा यो जिशिअ व्यापारी हो कि के हो ? भन्ने मित्रहरुले पुस्तक पढे पछि प्रशंसा गर्नुृ भएको थियो । अहिले पनि म ढुक्कले भन्न सक्दछु सिकाउने शैली सबै विद्यालयमा पुग्नु पर्दछ । शिक्षक, अभिभावक, शैक्षिक नीति निर्माता र शिक्षा क्षेत्रमा सुधारको अपेक्षा गर्ने सबैलाई मार्गदर्शक खुराक बन्न सक्ने क्षमता देखिन्छ यो संस्मरणात्मक कृतिमा ।

लेखक खगराज बराल पेशाले नेपाल सरकाका बहालवाला सचिव हुनुहुन्छ । उहाँसँग शिक्षा क्षेत्रको लामो अनुभव छ र अहिले शिक्षा क्षेत्रकै नेतृत्वमा रहनु भएको छ । वास्तवमाशक्तिको अभ्यास, पदाधिकार र लेखन सिप जीवनका फरक विधा  हुन् । यी तीनै पक्षहरुबीच सन्तुलन मिलाउने खुवी थोरैसँग मात्र हुनसक्दछ । कामको व्यस्तता बीच लामो अनुभवको सहज अभिव्यक्तिलाई लिपिवद्ध गर्ने समय व्यवस्थापन र अभिलाषा आफैमा स्तुत्य छ । यस कृतिले पढ्दै जाँदा पाठकलाई आफ्नो बाल्यकालमा फर्काउँछ । 

बुलिङ्को पीडा पहिलो र मर्मस्पशी संस्मरण हो । अतीतका नमिठा भोगाइ, आत्मग्लानी, खुशी, साथ सहयोग र अगुवा साथीहरुका व्यवहार सम्झिदै गर्दा लेखकका अनुभूतिहरु आफैलाई सोधेर लेखिदिए जस्तो लाग्दछ ।  विगतका कतिपय घटना सम्झेर आँशु नथामिने मात्र होइन कलिला बालबालिकाहरु माथि हामीबाट जानेर वा नजानेर गरिएका बुलिङ् सम्झेर आत्मालोचना गर्न कर लाग्दछ ।

विद्यालयमा ज्यामितिका साध्यहरु घोकेका क्षण, ऐच्छिक विषय छनोटका अलमल, परीक्षाफल प्रकाशनमा हुने परिवर्तनले ल्याउने पीडा, जीवनभर आफ्नो नाम नै विग्रिएर दुखाएका चित्तदेखि पाइको मान सधँै समान कसरी जस्ता सबै हाम्रा आफ्नै भोगाइ हुन् । प्रारम्भमा जीवनवृत्ति खोज्दै पहिल्याएको हाम्रो जागीरे पदचाप विस्तारै कर्तव्य र दायित्वको मार्गमा माझिनु पर्दछ र कार्य सम्पादन उज्यालिनु पर्दछ । यो दायित्व अझ विद्यालयका शिक्षक, जसले कलिला बालबालिकाको सुन्दर सपना गोडमेल गर्ने कर्तव्य बोकेका हुन्छन्, का लागि झनै आवश्यक छ । 

वास्तवमा २५, ३० वर्ष पहिले अपनाइएको शिक्षण पद्धति र अहिलेको शिक्षण अभ्यासका बीच देखिने गरी अन्तर नआउने हो भने सरकारले गरेको लगानी, नीतिले गरेको कसिकसाउ, सुधारका प्रयत्नहरु र आम अपेक्षामा आएको परिवर्तन त्यसै खेर गएको जस्तो लाग्नेछ । पुस्तकमा व्यक्त धेरै अनुभूतिले यो विषयमा सोच्न बाध्य बनाउँछ ।

शिक्षक तालिममा निरन्तर सिकाइ मूल्याङ्कन प्रयोग, पाठ्यपुस्तक विना शिक्षण शीर्षकमा रामनरेश सरको शैली, सिकाउने काइदा शीर्षकमा डमर मिसको प्रयोग, सिकाउने शैली शीर्षकमा चन्द्र सरको प्रयास अनुकरणीय लाग्छन् । बाल सुलभ जिज्ञासा र सिकाइमा कुखुरी काँ बालगीतको लाक्षणिकता, तालिम प्रतिको मनोवृत्तिको उजागर गर्दा एक प्रधानाध्यापकको कविता, मसिना कुरा सिक्न बाँकिमा रहेको न्युन सिकाइ स्तर र अध्ययन नगर्ने बानी हामीले सुधार गर्नु पर्ने पक्षहरु हुन् । 
यसै गरी प्रतिभायुक्त शिक्षक शीर्षकमा प्राथमिक शिक्षक रामचन्द्र थापाको मूर्तिकला, बालाराम अधिकारीको बहुमुखी प्रतिभा अनि मसिना बयलकोटीको ओरिगामी सीपलाई उपयोग गर्ने तरिका शिक्षाकर्मीका लागि अनुकरणीय प्रसंग रहेका छन् । त्यसै गरी सूर्य घोताने जस्ता प्रतिभाशाली शिक्षक पेशाबाट बाहिरिनु परेको अवस्थाले शिक्षक छनोट प्रक्रियामा नै सुधारको अपेक्षा राख्दछ । यस्तै अनुगमनमा नौलो अनुभव शीर्षकमा अर्घाखाँचीको चिट प्रविधिले अर्को सुधार अपेक्षित विषय औँल्याइएको छ ।

उच्च स्तरको जनशक्ति विकास गर्ने विश्वविद्यालय शिक्षाको शिक्षक विकास गर्ने संकायमा शिक्षण अभ्यासको कर्मकाण्डीपनामा सुधारको मार्ग र न्युनतम तयारीको अपेक्षाले शिक्षक विकासकोे जग नै बलियो हुनु पर्ने सन्देश दिएको छ ।  
शिक्षक आफैँ सक्षम शीर्षकले ‘तालिम दिनु महत्वपूर्ण तर तालिममा सिकेका ज्ञान र सिप कक्षाकोठामा कार्यान्वयन गर्नु झन् महत्वपूण हुन्छ’ भन्ने सन्देश दिएको छ ।

लेखक आफैँ नियन्त्रक रहँदा एसएलसी परीक्षाको नतिजा प्रकाशनमा ल्याएको सुधार सूचना र प्रविधिको उपयोग गर्न प्राप्त गरेकोे सफलताको उदाहरण बनेको छ । यससँगै नतिजामा त्रुटि हुनुमा जिम्मेवार पक्षहरुको भूमिका, अभिभावक र विद्यार्थीका पिडा र व्यथाहरु सधैँका लागि सम्वेदनशील विषय रहेका छन् ।

यसैगरी सबैका आँखा पाठ्यक्रममा शीर्षकमा विभिन्न विषय सम्वद्ध संस्था तथा विद्वानहरुबाट हिमोफिलियादेखि कानुन र छुुवाछुतसम्मका विषयवस्तु पाठ्यक्रममा समेट्नु पर्ने प्रयास, बाध्यता र आवश्यकताको सन्दर्भ खुलाइएको छ । 

बालविवाह र यसको असर, अंग्रेजी पढ्ने रहर, शिक्षक आफैँ सक्षम, फरक भुगोल परक परिवेश, शिक्षाशास्त्र : सिद्धान्त बढी अभ्यास कम, प्रश्न ः बनाउन सजिलो उत्तर लेख्न गाह्रो, स्तर अनुसार सिकाइ, मेहनती स्कुल जस्ता शीर्षकहरु हरेकमा हामीलाई चाहिने सन्देश छ र सुधारको भोक जगाउन सक्ने आकर्षण छ ।

पुस्तकको प्रारम्भका संस्मरणहरु छोटा र अनूभूतिमा केन्द्रित हुनाले ज्यादै मन छुने र मार्मिक छन् । अन्यतिरका संस्मरणहरु भने लामा र विवरणत्मक समेत हुनाले तुलनात्मक रुपमा कहिले सकिन्छ जस्तो पनि लाग्न सक्छ । तर सबै शीर्षकको सन्देश पाठकमा सुधारको प्यास जगाउने अनुभूतिको खिचडीका रुपमा रहेका छन्, जिब्रोमा स्वाद र तनमा शक्तिवर्धक भोजन जस्तै । 

मान्छेले जो जहाँ रहन्छ त्यहीँबाट सुधारका लागि कमलकोटी बन्नुपर्ने सन्देशपुञ्ज छर्न सफल यस पुस्तकले ‘शैक्षिक क्षेत्र सुधारका लागि पनि अनेक सपना र सम्भावना बोकेको छ ।’ त्यसैले यो पुस्तक संग्रहणीय र अनुकरणीय संस्मरण त हुँदै हो साथै एकजना सिद्धहस्त नीति निर्माताको व्यक्तित्व विकासको सुविचारित आत्म कहानी पनि हो ।

प्रतिक्रिया