शिक्षामा सिकाइ : एक शब्द चित्र


५ महिना अघि एडुखबरमै सिङ्गापुरको सिकाइ यात्रा लेखेको थिएँ । त्यो यात्रा व्यवहारिक प्रयोजनमा जाँदा शैक्षिक पक्षमा आफ्नो रुचीको खोज थियो ।

पढ्नुहोस् उक्त आलेख : एक सिकाइ यात्रा

यस पटकको भ्रमण मूलतः शैक्षिक प्रयोजनका लागि नै गरिएको थियो । काठमाडौंबाट दिल्ली हुँदै भारतीय राज्य तेलाङ्गनाको हैदराबाद हवाइ जहाजमा गएर, कनटिक राज्यको यादगिर र हस्पेट जस्ता शहर हुँदै गाडीमा बेङ्गालुरु पुगी फेरि हवाइजहाजमा दिल्ली हुँदै काठमाडौं फर्किएको हो । यो यात्राका क्रममा खास गरी अजिम प्रेमजी फाउण्डेशनले सुधारमा सहयोग गरेका सरकारी विद्यालय र तिनीहरुको संयन्त्रको अध्ययन अवलोकन गरियो । 

यात्राको विस्तृत विवरण उचित ढाँचामा पछि प्रस्तुत गरिने छ । यहाँ त्यो यात्रामा अनुभव गरिएका मुलभूत गैर प्राविधिक पक्षहरु सम्बन्धित अवलोकनहरू प्रस्तुत गरिएको छ ता कि ती आफ्ना मानसपटलबाट नै नहराउन् !

कतै जाँदा पहिलो ठोक्किने विषय स्वाभाविक रुपमा भाषा हो । यी सबै विद्यालयको माध्यम भाषा कन्नड थियो । यात्राका सहभागी भारतको कर्मचारीतन्त्रबाट निवृत्त भएका र विशेष गरी त्यहाँको एकलव्य संस्थाका संस्थापक मध्येका एक शरद बेहार थिए । उनले राम्रो निरीक्षकको काम गर्थे । केटाकेटीमा विज्ञान र गणितको विषयगत ज्ञान राम्रो अनुभव गरियो । उनीहरुको कन्नड भाषाको ज्ञान पनि राम्रो थियो । यस प्रसङ्गमा दुइ वटा सन्दर्भको याद आयो : 

पहिलो, भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले आफ्नो गणित विज्ञानको ज्ञान उच्च हुनुमा विद्यालयमा आफूले आफ्नो मातृभाषा तमिल माध्यममा अध्ययन गरेको एक कारण रहेको बताएका थिए । उनले विभिन्न सन्दर्भमा यसको उल्लेख गरेका छन् । ती विद्यालयका विद्यार्थीको गणित र विज्ञानको उच्च ज्ञानको कारण मातृभाषामा अध्ययन नै देखियो । 

अर्को प्रसङ्ग, नेपालको चिकित्सा शिक्षाका अभियन्ता डा. अर्जुन कार्कीको थियो । उनी, हामी राष्ट्रियताको कुरा गर्ने हो भने पुर्खा वीर थिए भनेर पुग्दैन, अब हाम्रो ज्ञानको स्तर हाम्रा छिमेकीको भन्दा अब्बल हुनु प¥यो भन्छन् । कन्नड भाषा र गणित बलियो रहेका ती कन्नड विद्यार्थी हेर्दा त्यो कुरा याद आयो । नेपाली केटाकेटीहरुको ज्ञान तती कन्नड बालबालिका कै जस्तो हुनुपर्यो नि ! नत्र अन्ध राष्ट्रवादले मात्र कति टाढा पुर्याउला ? 

प्राथमिक विद्यालयको कुरा गर्दा मातृभाषा त छँदैछ उनीहरु पर्याप्त रुपमा एकीकृत सिकाइको प्रक्रियामा गइसकेका रहेछन् । उनीहरुलाई ए फर एप्पल जस्ता कुरा पढाइएको थिएन तर उनीहरुको परिवेशको ज्ञान औपचारिक बनाइ सकिएको थियो ।

यी मसिना केटाकेटीहरु आफू वरिपरिका बालीनालीको नाम र प्रयोग राम्ररी जान्दथे । धेरै केटाकेटीले भने उनीहरुको घरमा पनि करेसाबारी छ । यद्यपि यो कुरा चाहिँ भन्नु पर्छ कि उनीहरुको दिवा खानामा तरकारी थिएन । दाल र तिहुन (अन्ना साम्बर) अनि महि र अण्डा चाहिँ थियो । शायद व्यवस्थापकीय हिसाबले यसो गरिएको होला ।

पूर्व प्राथमिक कक्षाका बारेमा बेहारजीको स्पष्ट धारणा थियो : यति बेला प्रत्यक्ष सिकाएर सिक्ने होइन । सिकाइ अप्रत्यक्ष रुपमा केटाकेटीले आर्जन गर्ने हुनुपर्छ ।

एकदम खट्किने कुरा चाहिँ शिक्षकको स्थिरता र स्पष्टता हो । वेतनको कुरा पनि छ तर त्यहाँ छनौट प्रक्रिया निकै कडा छ र कमसेकम विषयगत रुपमा अयोग्य शिक्षक आइपुग्दैनन् । सरकारी विद्यालयमा ठूलो मात्रामा शिक्षक अनुपस्थित रहने अवस्था नरहेको एक अध्ययनले देखायो । एक अन्तरक्रियामा फाउण्डेशनले काम नगरेका केही विद्यालयहरुका प्रधानाध्यापकहरुको रवैया भने अल्छी लाग्दै थियो । तर जे भने पनि भारतमा नेपालमा जस्तो यत्तिकै कामका लागि जनशक्ति पलायनको उति असर छैन । जनशक्तिको भण्डार ठूलो छ । त्यस अर्थमा हाम्रो देशमा शिक्षक स्तरीय राख्न थप मेहनत गर्नुपर्ने हुन्छ ।

अर्को विषय विद्यालयको खाना हो । त्यहाँ राज्य धनी छ । पैसा खर्चन सक्छ तर बन्दोबस्तको कुरा पनि हो । हाम्रो देशमा शिक्षक नै विद्यालयमा खाजा खाँदैनन् । अनि उनले केटाकेटीको भोक बुझ्न पनि गाह्रै छ ।  

ग्राउण्ड मै नभेटिएको तर यसै प्रसङ्गमा आइपरेका दुइ उल्लेखनीय कुरा परे जसमा एउटाले हाम्रो सम्पूर्ण शिक्षाको आधार नै हल्लाइ दिन्छ । बङ्गालुरुमा दिल्लीका लागि चढेको हवाइ जहाजमा समाचार पढियो : बदमासका २ गोली खाएर पनि एक जना बाबुले छोरीलाई परीक्षा स्थल पुर्याएर मात्र अस्पताल गए ।

यसबाट शिक्षामा बाबु आमाको प्रतिबद्धता एक हिसाबले देख्न सकिन्छ । अर्को हिसाबले यो लगानीको दबाब पनि होला तर नौ कक्षा पढेकी छोरीले आफ्नो परीक्षा भन्दा बाबुको जीवन बहुमूल्य ठान्नु पर्ने होइन र ? यसले हाम्रो शिक्षाको बुझाइ र परीक्षाको आतङ्क स्पष्ट पार्छ । त्यस मानेमा कर्नाटक र नेपालमा शिक्षाको विरासत उस्तै पनि छ । हामी यति असम्वेदनशील नरही शैक्षिक उच्चता हासिल गर्न सक्दैनौ ? त्यो नाथे हामीले निर्माण गरेको परीक्षा पद्धतिको यत्रो आतङ्क ?

अर्को चाहिँ भारतीय पाठय पुस्तकमा नेपालको चित्रण । ( हेर्नुहोस् सबै भन्दा माथिको फोटो ) यो चित्रण धेरै नेपालीहरुले भारत प्रति सोच्ने गरेको स्वचित्रण भन्दा निकै फरक छ : कक्षा ९ को राजनीति शास्त्रको पाठ्यपुस्तकमा नेपालको जन आन्दोलनका बारेमा लेखिएको छ बोलिभिया सँगै । कसैले तिम्रो अनुमति नलिई तिमीलाई हेप्न सक्दैन भन्थे रुजवेल्टले । यो हेरेर यो कुरा कताकता सही नै लाग्यो । नेपालीहरु आफैँ लघुताभाष बोकेका त होइनन् ?

कति बेला फेरि कति नेपालीहरु भारत र नेपालको बूताको तुलना गर्छन् । गर्न योग्य कुरा त हाम्रो क्षमता र असलियत मात्र हो नि, हैन त ?

- भट्टराई सार्वजनिक शिक्षाका क्षेत्रमा सकृय शिक्षाकर्मी हुन्, उनी गैह्र सरकारी संस्था 'शिक्षा नीति तथा अभ्यास केन्द्र'सँग आवद्ध छन् ।