Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

विद्यालयमा बम राखेर आतंक मच्याउँदै चन्दा असुल्न सक्रिय २ जना पक्राउ

शनिबार, ०६ कार्तिक २०७३

काठमाडौं ६ कात्तिक / राजनीतिक दलको आवरणमा विद्यालयमा बम राखेर आतंक मच्याउँदै चन्दा असुल्न सक्रिय माओवादी कम्युनिस्ट केन्द्रका २ जना पक्राउ परेका छन् । एक महिनाअघि काठमाडौं उपत्यकाका ११ विद्यालयमा बम राखेर आतंक मच्चाएको घटनाका योजनाकार मीन देवकोटा भनिने विनोद थापा र केशव दाहाल पक्राउ परेका हुन ।

सशस्त्र द्वन्द्वताका तत्कालीन नेकपा माओवादीमा संलग्न रहेर हतियार चलाउन दक्ष भएका यी दुवै जना महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त अपरेसनमा काभ्रेमा पक्राउ परेका हुन् । थापा पार्टीको विद्यार्थी संगठनका प्रमुख हुन् भने दाहाल पार्टीका महासचिव ।
गत असोज ४ मा काठमाडौंका ९ र ललितपुरको १ विद्यालयमा बम फेला परेको थियो । काठमाडौंका २ वटा विद्यालयमा राखिएको बम भने विस्फोट भएको थियो । घटनालगत्तै थापाले सञ्चारमाध्यममा फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए ।
पक्राउ आरोपितलाई सार्वजनिक गर्न शुक्रबार महानगरीय प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एआईजी प्रतापसिंह थापाले अनुसन्धानमा विद्यालयमा आतंक मच्याएर चन्दा असुल्ने योजनाअनुसार घटना गराएको खुलेको बताए । घटनालगत्तै प्रहरीले बम राख्न संलग्न रहेको भन्दै २ जना पक्राउ परेका थिए । अनुसन्धानका क्रममा अन्य २ जना सहयोगीसमेत पक्राउ परे तर मुख्य योजनाकार प्रहरीबाट उम्कँदै आएका थिए । प्रहरी अनुसन्धानमा बम राख्न मात्रै १५ जना संलग्न देखिए पनि अहिलेसम्म ६ जना मात्रै पक्राउ परेका छन् । पार्टीका अध्यक्ष माओवादीका पूर्वकमान्डर देवेन्द्रसिंह महत लगायतकाहरू फरार छन् ।
टोखामा बनेको थियो योजना
प्रहरीका अनुसार एनप्याब्सन र प्याब्सनलाई ज्ञापनपत्र दिए पनि कुनै प्रतिक्रिया नआएपछि महतको नेतृत्वमा भदौ २५ मा बसेको बैठकले विद्यालयमा बम पड्काउने योजना बनाएको थियो । महत टोखामा डेरा बस्दै आएका थिए । बैठक उनकै कोठामा भएको थियो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सोही बैठकले कामको बाँडफाँड गर्दै बम राख्ने विद्यालयको चयन गरेको थियो । प्रहरीका अनुसार मुस्ताकिम अन्सारीले बम बनाउने कच्चा पदार्थ सिलिन्डर जम्मा पारेका थिए ।
दिउँसो बम पडकाउने योजना बनाए पनि पक्राउ पर्न सक्ने जोखिम भएकाले बेलुका बम राख्ने योजनाअनुसार शंकर लाखे र चन्द्रबहादुर तामाङले बौद्ध क्षेत्रका विद्यालयमा बम राखेका थिए । ललितपुर क्षेत्रमा बम राख्नेको नाम अझै खुल्न सकेको छैन । बम बनाउन संलग्न देखिएका अन्सारी र विष्णु पौडेलको पक्राउपछि प्रहरीले घटनाको योजनाकारबारे सूचना पाएको थियो ।
काकाको घरमा योजनाकार
काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार थापा र दाहाल काभ्रेको सिमथलीमा आफन्तको घरमा रहेको सूचनापछि खोजीमा महाशाखा र परिसरको टोली खटिएको थियो । महाशाखाका डीएसपी रमेश थापाको नेतृत्वमा गएको टोलीले उनीहरू लुक्न सक्ने घरको सूची बनाएर बुधबार बेलुका छापा मारेको थियो । छापा मार्दा थापाको काका पर्नेको घरमा सुतिरहेका बेला दुवै फेला परेका थिए ।
अनुसन्धानमा खटिएका डीएसपी थापाका अनुसार फरार भएदेखि नै थापा र दाहालले काठमाडौंमै मोबाइल बन्द गरेर हिँडेका थिए । उनीहरू केही समय सिन्धुपाल्चोकमा बसे । लामो समय बस्दा पक्राउ पर्न सक्ने भन्दै एक हप्ता अगाडि उनीहरू सिन्धुपाल्चोकबाट काभ्रे पुगेका थिए ।
‘काभ्रेमा पुगे पनि उनीहरू गाउँमा धेरै हिँडडुल गर्दैनथे,’ डीएसपी थापाले भने, ‘बिहानै घरबाट उठेर नजिकैको एकान्त स्थानमा गएर बस्थे र झिसमिसेमा फर्कन्थे ।’
दाहाल पटके अपराधी
प्रहरीका अनुसार दाहाल यसअघि ७ पटक पक्राउ परिसकेका थिए । प्रहरी विवरणअनुसार उनी २०६६ मै सुरेन्द्र लम्सालको अपहरणको अभियोगमा पक्राउ परेका थिए । काठमाडौंको नयाँपाटीमा २०६६ मा बम विस्फोट भएको घटनामा समेत उनी पक्राउ परेका थिए । २०७० मा गैंडाको खाग र चितुवाको छाला तस्करीमा पक्राउ परेका उनी कलंकीमा यार्चागुम्बु लुटेको घटनामा पार्टीका अध्यक्ष महतसँगै पक्राउ परेका थिए । उनी अधिकांश घटनामा धरौटीमा मुक्त भएर पुन: अपराधमा संलग्न हुने गरेको काठमाडौं परिसरका एसएसपी थापाले जानकारी दिए ।
अझै छ हतियार
सशस्त्र गतिविधि गर्दै आएको केन्द्र एसएमजीसहित ५३ प्रकारको हतियार बुझाएर सरकारसँग वार्तामा आएको थियो तर सो समूहसँग अझै हतियार रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको सम्बन्धित अधिकारीले बताए । केन्द्रमा द्वन्द्वताका माओवादीमा संलग्नहरू छन् । केही द्वन्द्वताका नै हतियार लिएर भागेकाहरू छन् ।
कान्तिपुरमा केपी ढुंगानाले लेखेको खबर ।

प्रतिक्रिया