शिक्षकले राजनीतिलाई उपयोग गर्नुपर्नेमा दलले शिक्षकलाई गरे


- प्रा. डा. विद्यानाथ कोइराला, शिक्षाविद्

शिक्षकले गर्ने दलगत राजनीतिकै कारण सार्वजनिक शिक्षाको गुणस्तर खस्किएको निचोड धेरै ठाउँमा सुनिन्छ । सत्ता साझेदार हुन् वा अन्य दल तीनका नेताले समेत सरकारी विद्यालय बिग्रनुमा कक्षाकोठामा भन्दा बढी राजनीतिक कार्यक्रममा ब्यस्त हुने शिक्षकलाई नै ठम्याएका छन् । शिक्षा ऐनको आठौं संशोधनमा शिक्षक कुनै पनि दलको कार्यकारिणी पदमा बस्न नपाउने ब्यवस्था पनि यसैको प्रतिविम्वन हो । सार्वजनिक शिक्षा सुधार गर्न शिक्षक नै मुख्य पात्र हो भन्ने निश्कर्ष सहित अभियानमै संलग्न छन् शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला । शिक्षक र राजनीति केन्द्रित रहेर  सार्वजनिक शिक्षा सुधारका सन्दर्भमा हरिसुन्दर छुकांले कोइरालासंग गरेको कुराकानी  :

- शिक्षक शिक्षक नभएर दलका कार्यकर्ता हुँदा सार्वजनिक शिक्षाको गुणस्तर खस्कियो भन्ने धेरै चर्चा सुनिन्छ, पढाउनुपर्ने शिक्षक किन राजनीतिमा लागेका होलान् ?

शिक्षकमा मोटिभेसन, इमान्दारिता र सीपको पनि समस्या छ । यी तीन विषयले शिक्षकलाई नै अफ्ठ्यारो बनाएको छ । यसले गर्दा उनीहरु राजनीतिक दलको शरणमा गए । राजनीतिक दलसँग टाँसिए । राजनीतिमा लागेर शिक्षकलाई फाइदा पनि छ । फाइदा जेमा हुन्छ, त्यसैमा लाग्ने हो, यसैले शिक्षक पनि त्यतातिर लागे । राजनीतिमा लागेकै कारण शिक्षकको प्रमोसन हुन्छ, नेतालाई थर्काउन पाइन्छ, नेताको आडमा आफूले जे गर्न नि पाइन्छ, पैसा त्यतैबाट कमाउन पाइन्छ भने किन अन्ततिर लाग्ने ? भन्ने सोच शिक्षकमा छ । यसले गर्दा उनीहरु राजनीतितिर बढी आकर्षित छन् ।

- समग्रमा हाम्रा शिक्षकहरु कस्ता देख्नुभएको छ तपाइँले ?

शिक्षकको मनस्थिति अलि बेग्लै पनि रहेछ । कसैले हेरिदिएदेखि गर्ने, नत्र भए मतलबै नराख्ने मनस्थिति छ । यसैले हाम्रा शिक्षकलाई गोठालो चाहिँदो रहेछ । गोठालो पनि कमजोर छ । त्यसो भन्दा सरकारी तवरबाट लाग्ने गोठालोका कारण सरकारै कमजोर, विद्यालय व्यवस्थापन समिति पनि कमजोर, सरकार त झन् मतलबै नराख्ने प्रवृत्तिको भएको छ ।

- यस्तो बेलामा राजनीतिक दलले के गर्नुपथ्र्यो र के गरिरहेका छन् ?

शिक्षक नै राजनीतिज्ञ हो, राजनीतिज्ञ नै शिक्षक हो । शिक्षक संघ, संगठनहरुले अहिलेसम्म माओवादीहरुले मान्छे मार्दादेखि अहिलेसम्म पनि गाउँगाउँमा टिकेको तागत भनेको दलको तागत नै हो । पेशाको तागतले  होइन । शिक्षालाई यसरी लानुपर्छ भन्ने कुरोको अभिमुखीकरण राजनीतिक दलले कहिल्यै गरेनन् । दलहरु कार्यकर्ता मेरो भन्न पनि नछोड्ने, यो फलानो मेरो दलको शिक्षक संगठन भन्न पनि नछोड्ने तर उसले पढाएन भनेर जिम्मेवारी भने नलिने हुँदा राजनीतिक दल बदमास भए । बदमासीको विरोध शिक्षकहरुले गर्न सकेनन् ।

- गर्ने शिक्षकहरु पनि छन् नि हैन र ?

केही शिक्षक स्वयम्बाटै पनि केही पहल हुँदै नभएको भने होइन, त्यही शिक्षक जो राजनीतिक दलसँग पनि सम्बन्ध राख्छन्, राजनीतिमा लागेर पनि त गरिराखेका छन् । जस्तो बाबुराम थापा, एमालेको खाँटी मान्छे, राम्रै गर्नुभएको छ, बुटवलको कालिका स्कुलका पाठक सर, माओवादीका मान्छे राम्रै गर्नुभएको छ, गेहेन्द्र दाहाल खाँटी कांग्रेस नै हो तर शिक्षामा केही नयाँ गर्नु नै भएको छ । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी आवद्ध शिक्षकहरुले शिक्षाको गुणस्तर बढाउनका लागि बल गरेका छन् । उहाँहरुले गर्नुभएको कुराकानी र अभ्यासलाई नकार्नुपर्ने स्थिति छैन, कम्तीमा अन्य दलमा पनि त्यो खालको भावना आउनुपर्छ ।

एकथरी दलले अलिकति चासो लिँदा वा दलको मान्छे हुँदाहुँदै पनि ‘शिक्षामा हामीले केही गर्नुुपर्छ है’ भन्ने सोच लिँदा हुँदो रहेछ । दलकै मान्छे भए पनि मेरो जिम्मेवारी गुणस्तरको निम्ति हो भनेर भन्यो भने सुध्रिदो रहेछ । तर दलले त्यो किसिमको संस्कार विकास गर्न सकेको छैन, जसकारण पनि दललाई दोष लाग्ने गरेको छ ।

- शिक्षकलाई राजनीतिमा भन्दा बढी शिक्षणमा चाहिँ कसरी संलग्न गराउने त ?  

दलहरुले पनि ‘ए, तिमीहरुको पहिलो काम पढाउनु नै हो है’ भन्न सक्नुपर्छ । यसको लागि तीनवटा बाटाहरु समाएको खण्डमा अधिकांश शिक्षकहरु त्यतातिर मोडिन्छन् । एक, राजनीतिक बाटो, दुई प्राविधिक बाटो र अर्को उस्काउने (विकल्प दिने) बाटो ।

राजनीतिक बाटो भनेको के हो भने,  ‘कोही शिक्षक यदि कांग्रेससँग निकट छ भने उसलाई ‘तपाइँ कांग्रेसको हुनुहुन्छ, कांग्रेसको समर्थकको स्कुल बिग्रियो भने यो कांग्रेसको इज्जत हो, त्यसैले गर्दा तपाइँले गर्नुपर्छ’ भनेर कांग्रेसले अभिमुखीकरण गरिदिने हो भने बन्छ । त्यसरी अभिमुखीकरण ग¥यौं भने शिक्षक जिशिअसँग पनि बाझ्दैनथे, सरकारको नीति भएन भनेर  पनि कराउँदैनथे । अनि उनलाई के बाध्य हुनुपर्ने परिस्थिति आउँछ भने भक्तपुरमा नेमकिपाले गरिरहेको जस्तो स्थिति आउँछ । भक्तपुरमा नेमकिपाले ‘हाम्रो बेइज्जत हुन्छ है’ भनेरै शिक्षामा त्यसरी जिम्मेवार भएर लागिरहेको छ । एउटा त्यो किसिमको छोटकरी बाटो नै राम्रो बाटोको रुपमा मैले लिएको छु । त्यो बाटो अपनाउन सकियो भने एमालेले त्यसै गर्ला, माओवादीले त्यसै गर्ला, फोरमले त्यसै गर्ला, राप्रपाले त्यसै गर्ला । त्यो कार्यका लागि ती दलहरुको प्रतिस्पर्धा गराइदिने । यसो गर्दा शिक्षकहरुलाई जिम्मेवार बनाउन सकिन्छ ।

दोस्रो, बाटो भनेको मजस्ता मान्छेहरुले अहिले जे गरिरहेको छु । शिक्षकहरुलाई मैले शिक्षकले चाहेमा गर्न सक्छन् अभियान भित्र समेटेको छु । यो अभियानमा शिक्षकहरुलाई भेटिरहँदा उहाँहरुसँग सोध्ने गर्छु ?, ‘के भएन ?’ के भएन भन्दा उनीहरु ‘नीति भएन भन्छन् ।’ ‘के नीति भएन?’ भनेर सोध्दा, ‘यो सरकारको नीति, पाठ्यपुस्तक भएन’ भन्छन् । मैले पनि ‘ठीक भन्नुभयो’ भन्छु । ‘पाठ्यपुस्तक त भएन त्यो बुझियो, पाठ्यक्रमै पनि भएन, त्यो पनि बुझियो । तर पाठ्यक्रम र पाठ्यपुस्तक दुबै जिउँदा हुन् कि मरेका हुन् ?’ भनेर सोधेँ । ‘ती त मरेका हुन्’ भनेर भने । ‘मरेको चिज चल्छ र ?’ भनेर भन्दा ‘चल्दैन’ भने । ‘कसले चलाउने त?’ भनेर फेरि सोधेँ, ‘शिक्षकले’ भने । त्यसो भए ‘तपाइँ मरेको हो?’ भनेर सोधेँ, धेरैले भने, ‘होइन ’। ‘त्यसो भए गर्नु न त ।’ त्यसो भन्दा उनीहरु चुनौति हुँदो रहेछ । त्यस्तो किसिमको प्राविधिक हिसाबले शिक्षकलाई चुनौती पनि गर्ने र सघाउने पनि गर्दा त्यसले काम गर्दो रहेछ । त्यो मेरो महसुस गराइ हो ।

त्यही प्राविधिक बाटोमा अर्को पनि उपाय के हो भने एउटा शिक्षकले राम्रो गरिरहेको छ, स्कुल बनाउनका लागि मरेर काम गरिरहेको छ । त्यो मरेर गरेको शिक्षकको सम्मान छैन । त्यस्ता शिक्षकलाई ‘तपाइँले गर्नुभएको जनपरिचालनको काम राम्रो लाग्यो, परीक्षा व्यवस्थित गर्नका लागि गरेको यो पक्ष राम्रो लाग्यो, कक्षा कोठा सुधार्नलाई यो कुरा राम्रो गर्नुभयो, केटाकेटीलाई पढाउने सीपको लागि यो राम्रो गनुर््भयो, सिपसँग जोड्नलाई यो राम्रो गर्नुभयो’ भनेर उसलाई सम्मान गर्ने, उसको कामको प्रशंसा गर्ने प्रक्रिया गर्नुपर्छ । त्यसले पनि राम्रो गर्ने रहेछ ।

त्यतिमात्र होइन, शिक्षकले आफूले दैनिक गरेको शिक्षण क्रियाकलाप देखियोस्, उसले सो दिन गरेका नयाँ काम बाहिर आओस्, त्यसो हुँदा उसले थुर्पैबाट सकारात्मक, नकारात्मक प्रतिक्रिया पाउँछ, त्यसले उसलाई नै उत्प्रेरणा मिल्छ । त्यो किसिमको प्रक्रियाबाट हामीले शिक्षकको मोरल पनि बढाउन र अघि ल्याउन सक्छौं । उसलाई मैले गर्नुपर्ने रैछ भन्ने किसिमको बनाउन सक्छौं । त्यो भएपछि अरुले पनि त्यसको अनुशरण गर्छ ।

तेस्रो, शिक्षकहरुलाई विकल्प दिने ः विकल्प दिन हामी जान्दा रहेनछौं । विद्यार्थीलाई पिट्न हुँदैन भन्न जान्ने, नपिटीकन के गरी पढाउने भन्न चाहिँ नजान्ने । मातृभाषामा शिक्षा दिनुपर्छ भन्ने चैं जान्ने, उही दशवटा मातृभाषा भएको केटाकेटी कक्षामा आयो भने पढाउन नआउने, उनीहरुलाई कसरी पढाउनुपर्छ भन्ने सीप भने नहुने । विज्ञान पढाउनुपर्छ भनेर जान्ने तर ओखलमा धान कुट्दा पनि विज्ञान नै छ, भात  पकाउँदा पनि विज्ञान नै छ भनेर भन्न नसक्ने ।

केटाकेटीले कम्प्युटरमा मात्र पढे, किताव पढेनन् भनेर दोष लगाउन भने जान्ने । त्यो प्रवृत्तिका शिक्षक भयौं । यो किसिमका हुँदा शिक्षकलाई सम्भावना रहेछ, केटाकेटीले पढ्दै पढेन, आजभोलि बाबुआमाले पनि पढाउँदैनन्, भनेर बाबुआमालाई दोष दिन जान्ने, तर विकल्प दिन भने नसक्ने शिक्षकहरु छन् । होमवर्क गर्नुपर्छ भन्ने जान्ने, तर होमवर्कलाई क्रियटिभ बनाउन विद्यार्थीलाई प्राजेक्ट वर्क ढंगको डिजाइन नगरिदिने । यसैले हामीले शिक्षकलाई विकल्प जतापनि हुँदो रहेछ, केटाकेटी घरैमा बसे पनि जान्दो रहेछ, मोबाइलै, कम्प्युटरै हेरे पनि थाहा पाउँदो रहेछ, भन्न र भनाउन जानिएन । त्यो भन्ने बित्तिकै शिक्षकले किताव मेलैसित पढाउने चिज त होइन रहेछ, कितावलाई त मैले कसरी पढाउने भन्ने कुरालाई विद्यार्थीसँगको ज्ञानसँग जोडिदिए पछि उ आफैले पढिहाल्दो रहेछ भन्ने कुरा सिकाउन सकिएन । मलाई लाग्छ, यति कुरो गर्न जानियो भने शिक्षा जरुक्क उठ्छ ।

- नयाँ शिक्षा ऐनमा शिक्षकले राजनीति गर्न नपाउने भनी गरिएको ब्यवस्थाले यसलाई नीयमन गर्ला त ?

शिक्षा ऐन आठौं संसोधनमा शिक्षकले राजनीति गर्न पाउँदैन भन्नु त देखावा हो । किन देखावा हो भने राजनीतिक दलका मान्छेले त्यो पदमा नबस्ने भनेको न हो । तर शिक्षा ऐेन आएपछि कति जनाले राजिनामा दिए त ? एक जनाले पनि दिएका छैनन् । त्यसो भएपछि उनीहरुले पत्याएनन् भन्ने कुरा प्रष्ट छ ।

राजनीतिलाई माइनस गरेर शिक्षामा जान सकिन्छ भन्ने मेरो विश्वास होइन ।  किनभने शिक्षा र राजनीति भनेको टाँसिने र टाँस्नुपर्ने चीज पनि हो । शिक्षामा ज्यान दिने त राजनीतिले नै हो । तर उसलाई के भन्नुपर्यो भने तपाइँ पढाइलाई वैज्ञानिक, व्यवहारिक, जनवादी बनाउनुपर्छ भनेर भन्नुहुन्छ, जनवादी कसरी बनाउने है ?, व्यवहारिक कसरी बनाउने है, तपाइँ यसको लागि के गर्नुहुन्छ ?, अब उसलाई त्यसरी जिस्काउनु पर्यो । त्यो जिस्काउँदा जिस्काउँदै उसले बुद्धि ल्याउन सक्छ ।

- यही सन्दर्भमा शिक्षा मन्त्रालयलाई तपाइँको सुझाव के छ ?

अहिलेका शिक्षा मन्त्रीलाई मैले भनिरहेको छु, ‘तपाइँ त एकदम क्रान्तिकारी मान्छे, म त शान्तिकारी मान्छे । तर सिप सिकाउनका लागि तपाइँले राख्नुभएको तरिका भएन ।’ प्रत्येक विद्यार्थीलाई एउटा न एउटा सिप सिकाउने डिजाइन बनाउन भनेर भनेँ मैले । उहाँले ‘कसो गर्ने?’ भनेर भन्नुभयो । मैले भनेँ, ‘तपाइँले भन्नुभएजसो गरी सकिँदैन, पैसो पनि छैन । विनापैसो सिप त हुँदैन ।’ ‘त्यसो भए हुन्छ र ?’ भनेर भने ।
मैले ‘हुन्छ, विना पैसा हुन्छ भनेर भनेँ । ‘कसरी?’ भनेर भन्नुभएपछि मैले भनेँ, ‘त्यसको लागि तपाइँले के गरिदिनुस भन्दा युट्युबमा सारा देशका सिपहरुलाई राखिदिनोस् । फेसबुक, गुगलमा हाल्दिनु्, वा मान्छेहरुसँग जे सुविधा छ, रेडियोमा हाल्दिनुस् त, टेलिभिजनमा हाल्दिनुस् । तपाइँ त्यो सक्नुहुन्न ?’ भनेर भन्दा उहाँले एकदमै क्रान्तिकारी रहेछ भन्नुभयो । मैले फेरि तपाइँले भन्नुभएको कुरा त लागू गर्न सकिने चिज हो नि त भनेँ ।

यसहिसाबले राजनीतिक दललाई कसरी भन्नुपर्यो भने तपाइँले भनेको ढंगले गर्न सकिन्छ, गर्ने पनि तपाइँ नै हो, कसरी गरौं है, यसरी गर्दा के होला ? भन्दै गयो भने बन्दो रहेछ ।

नवलपरासीमा १३० वटा सरकारी स्कुलहरु एकठाउँमा आवद्ध भएर गुणस्तर बढाउने भनेर कस्सिएर लागिरहेका छन् । राजनीतिक उर्जालाई शिक्षाप्रति धकेल्ने हो । त्यसो गर्ने बित्तिक्कै शिक्षा र व्यवहार जोड्नुपर्छ भने किताव नपढाउनु होला, कितावको सट्टा पहिलो व्यवहार बुझ्नुहोला । जनवादी, व्यवहारिक र समाजवादी, वैज्ञानिक शिक्षा चाहिन्छ भनेका शिक्षकहरुलाई तपाइँकै कुराकानीलाई व्यवहारसँग यसरी जोडे के होला ? भनेर सोध्यौं भने हुन्छ ।

अब किताव पढेको भरमा शिक्षा विश्वस्तरीय हुँदैन, नेपाली कांग्रेसले भन्दै आएको विश्वस्तरीय शिक्षाका लागि त व्यवहारै चाहियो । शिक्षकले पाएको ज्ञानलाई थोरैमात्र फेरबदल गयौं भने पनि शिक्षकले पनि मेरै पार्टीले भनेको, मेरै आस्थाको पार्टीको आदर्श बमोजिमको शिक्षा दिन यही कितावबाट पनि दिन सक्छु भन्ने सन्देश भने जान्छ । शिक्षकले कितावमा भएको ज्ञानलाई व्यवहारमा जोड्यो भने त राजनीतिलाई गाली गरिरहनै पर्दैन । त्यसलाई त दुहुनो गाई बनाउनुपर्ने हो तर कसरी दुहुने भन्ने जानिएन । उसलाई ठाडठाडै मुर्दावाद मात्र भनेर त केही हुन्न तर दलले बद्मासी गरेको छ भने त्यसमा सम्झौता त हुन्न नै ।

तर हाम्रोमा शिक्षकले पढाउनुपर्छ भनेर कहिले भनेनन्, हड्ताल गर्नुपर्छ भनेर सँधै भनिरहे । यसले शिक्षा क्षेत्रमा विकृति झांगिएको हो । यो विषयमा शिक्षकले राजनीतिलाई नै उपयोग गर्नुपर्नेमा राजनीतिक दलले शिक्षकहरुलाई उपयोग गरिरहे ।