Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा

विहीबार, १६ मंसिर २०७३

काठमाडौं १६ मंसिर देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ । एक वर्षअघि प्रधानमन्त्रीस्तरको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि ४ अर्ब रुपैयाँ विनियोजन गर्नेे शैक्षिक सुधार प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्णयमा भएको दरबन्दी कार्यान्वयन योजना समयमा अघि बढ्न सकेको छैन । मुलुकभर कतिपय विद्यालयको आधारभूत तहमा शिक्षक अभाव छ ।

सरकारले विनियोजित ४ अर्बबाहेक आधारभूत तहका शिक्षकको तलबका लागि नियमित रूपमा चालू आर्थिक वर्षमा ४७ अर्ब १९ करोड ७४ लाख विनियोजन गरेको छ । यसैगरी माध्यमिक तहका लागि १२ अर्ब ३९ करोड ८९ लाख छुट्याएको छ ।

प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार मन्त्रालय र विभागले काम अगाडि बढाउन सकेका छैनन् । प्रतिबद्धतामा शिक्षकको आवश्यकता पहिचानका लागि जिल्ला शिक्षा कार्यालयमार्पmत द्रूत सर्वेक्षण गरी संख्या यकिन हुनुपर्ने जनाइएको थियो ।

यसरी शिक्षक–विद्यार्थी अनुपात कम भई जगेडा देखिएका १० हजार प्रावि दरबन्दी माथिल्लो तहमा तत्काल समायोजन गर्ने र अपुग १३ हजार दरबन्दी सिर्जना प्रक्रिया सुरु गर्ने निर्णय भएको थियो । मन्त्रालयले प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार शिक्षक दरबन्दी र व्यवस्थापनको काम आंशिक तयारी रूपमा मात्र भइरहेको जानकारी दिएको छ । विद्यालय तहको शैक्षिक गुणस्तर सुधार गर्न २३ हजार शिक्षक आवश्यक भएको सुझाव आएपछि शिक्षक दरबन्दी र व्यवस्थापन मिलानपछि अपुग रहने १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने सरकारी योजना थियो ।

मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएअनुसार विषय शिक्षक, विद्यालय र संख्याका आधारमा शिक्षक व्यवस्थापनको काम भइरहेको बताए । “शिक्षक दरबन्दी तल–माथि भइरहने हुनाले यसको व्यवस्थापन नियमित प्रक्रिया राखिने गरिएको छ,” प्रवक्ता लम्सालले भने, “विद्यालय, शिक्षक र विद्यार्थीका आधारमा मिलान गरिँदै आएको छ ।”

शिक्षा विभागले प्राथमिक तहमा कार्यरत शिक्षकलाई कानुनले तोकेअनुसार मावि र निम्न माविमा रूपान्तरण गर्ने योजना रहेको जनाए पनि यसको फाइल मन्त्रालयमा रहेको जनाएको छ ।

प्रधानमन्त्रीको प्रतिबद्धतापछि प्राथमिक तहमा बढी भएको र शैक्षिक योग्यता भएका शिक्षकलाई रिक्त रहेका माथिल्लो तहमा लैजाने सम्बन्धमा छलफल भएको एक कर्मचारीले जानकारी दिए । भने, “यस सम्बन्धमा फाइल मन्त्रालय पठाएका छौं, मन्त्रालयले के निर्णय गर्छ ?”

सरकारले यो अभियानलाई अघिल्लो वर्ष नै कार्यान्वयन गर्ने योजना बनाए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । शिक्षा मन्त्रालयले ऐनअनुसारको नियमावली र कार्यविधिअनुसार कसरी शिक्षक व्यवस्थापन गर्ने टुंगो लाग्ने जनाएको छ । सरकारले २०७३/७४ को बजेट कार्यक्रममै प्रावि तहमा कार्यरत शिक्षकलाई योग्यताका आधारमा माथिल्लो तहमा लैजाने कुरा सार्वजनिक गरेको थियो ।

हाल देशभर प्राथमिक तहमा स्वीकृत दरबन्दीमा ८० हजार १ सय ७१ र राहत दरबन्दीमा २१ हजार ८ सय ८९ जना शिक्षक कार्यरत छन् । निम्न माध्यमिक तहमा १६ हजार २२४ र राहततर्फ ९ हजार ६१२ रहेको विभागले जानकारी दिएको छ । त्यसैगरी, माध्यमिक तहमा १२ हजार ७१८ र राहतमा ६ हजार ९१९ दरबन्दी छन् ।

शिक्षा ऐन २०२८ आठौं संशोधन २०७३ एवं शिक्षा नियमावली २०५९ आठौं संशोधन २०७१ समेतलाई आधार मन्दा प्रारम्भिक बालविकास केन्द्रमा १ जना शिक्षक हुनुपर्छ । प्राथमिक विद्यालयमा ५० जनासम्म विद्यार्थी भए कम्तीमा २ जना र सोभन्दा बढी भए कम्तीमा ३ जना शिक्षक हुनुपर्छ ।

कक्षा १ देखि ८ सम्म सञ्चालित आधारभूत तहको विद्यालयमा प्राथमिक तहका कम्तीमा ३ जना र निमावि तहका कम्तीमा ४ जना गरी ७ जना शिक्षक दरबन्दी रहने व्यवस्था गरेको छ ।
कारोबारमा गोपाल संग्रौलाले लेखेका छन् ।

प्रतिक्रिया