विदेश जाने नेपाली विद्यार्थीको संख्या बढ्दो : पढ्न जान्छन् की कमाउन ?


काठमाडौं–राजधानीको नाम चलेको उच्च माविमा विज्ञान संकायमा अध्ययन गरिरहेका रिकेस लामा आफ्नो पढाइबाट सन्तुष्ट छैनन् । ‘प्लस टुमा आइसके पछि अलि बुझ्न थालियो । तर, शिक्षकलै भनेकै अनुसार चल्नुपर्ने, केही फरक गर्न खोज्दा गाली खानुपर्ने र अनुशासन उल्लंघन गरेको भन्दै सजाय भोग्नुपर्ने, यसरी हामी आफ्नो विकास कसरी गर्न सक्छौ र ?’ उनको असन्तुष्टि छ ।

पढाइको क्रममा जे कुराको पनि सिद्धान्त/सिद्धान्त मात्र पढ्नुपर्दा उनी पढाइबाटै दिक्क छन् । ‘केही व्यावहारिक चाहियो नि । प्रयोग, अनुसन्धान, अवलोकनको नै कमी छ ।’ यही वातावरणको कमीले प्रतिभाशाली विद्यार्थी ओझेलमा पर्न बाध्य भएको उनको बुझाई छ ।

लामाका कुरामा सहमत छन्, व्यवस्थापन संकायमा पढिरहेका एलिस श्रेष्ठ पनि । उनी घोकाइ र पुस्तकमा मात्रै सीमित शैक्षिक प्रणालीप्रति असन्तुष्ट छन् । ‘घोकेर पढ्यो । राम्रो नम्बर ल्यायो । तर, प्रयोग गर्ने कहाँ ? रोजगारीको अवसर नै कहाँ छ र ?’ उनी भन्छन् । अहिले भनिएको प्रयोगात्मक शिक्षा पनि कम्युटरको साटो कम्प्युटरको चित्र देखाई पढाउने खालको भएको उनको भनाइ छ ।

‘जीवन व्यवहारमा प्रयोग हुने विषय किन पढाइ नभएको होला ?’ उनलाई लागिरहन्छ ।

त्यस्तै विज्ञान संकायमै अध्ययनरत सुशील खड्काको पनि उस्तै गुनासो छ । ‘कलेजमा प्रयोगशाला छ नि । तर, कुनै नयाँ कुरा परीक्षण गर्न पाउने होइन । पुस्तकालयमा आवश्यक पुस्तक नै हुँदैन । इन्टरनेट त छ नि, तर त्यसलाई प्रयोग गर्ने कोर्स नै छैन,’ उनी भन्छन् ।

यस्तै कारणले नयाँ पुस्ता विदेश जानुलाई भरपर्दो विकल्प मानिरहेका छन् । ‘कति गुनासो मात्र गरिरहनु, यो भएन त्यो भएन भनेर बरु सिधै विदेश गयो, आनन्द ।’ विदेश जाने सोचले केशरमहलमा भेटिएकी विराटनगरकी एञ्जल पौडेलले भनिन् ।

परम्परागत शिक्षण प्रणाली र त्यसको उपादेयहीनताका कारण नयाँ पुस्ता विदेशतिर आकर्षित भएका छन् ।

‘पढिसकेपछि रोजगारी मिल्ने शिक्षा छैन । त्यस्तो शिक्षाको खोजी गर्न विदेश नगई सुखै छैन,’ सुशील भन्छन् । व्यवस्थापन विषय पढ्यो भने धेरै अवसर पाइन्छ भन्ने सुनेर पढिरहेका एलिसको बिदेसिने मनसायको कारण अर्कै छ । ‘यहाँ रोजगारीको अवसर छैन । कमजोर आर्थिक अवस्थाका कारण विदेश जानु बाध्यता भइसक्यो ।’

नेपालकै शिक्षा राम्रो भइदिए हुन्थ्यो भन्ने कामना गर्ने विद्यार्थी पनि छन् । रिकेस भन्छन्, ‘हाम्रो सरकारले पनि जापानमा जस्तो कम खर्चमा बढी प्रभावकारी हुने खालका शिक्षा दिए नेपालमै पढ्दा आनन्द आउँथ्यो नि ।’ तर,एलिसजस्ता विद्यार्थी पनि धेरै छन् । जो यहाँको शिक्षाबाट केही लछारपाटो नलाग्ने निष्कर्षका साथ विदेशै उड्ने सपना देख्छन् ।

विद्यार्थीलई परामर्श दिदैं आएका कन्सल्टेन्सीहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ(इक्यान)का अध्यक्ष प्रकाश पाण्डे पछिल्लो समयमा नेपाली विद्यार्थी अध्ययनका लागि विदेशीने क्रम बढेको बताउँछन् । विद्यार्थीले आफूले पढिरहेको पढाइप्रति बढेको असन्तुष्टिको कारण विदेश पढ्न जानेहरुको संख्या बढेको निश्कर्ष निकाले पनि परामर्शदाताहरु भने त्यो बाहेक सरकारको अस्थिर राजनीतिलाई मुख्य कारकको रुपमा लिन्छन् । ‘राजनीतिक अस्थिरता हुँदा यहीँ केही गरौं भन्ने भावनाका विद्यार्थी समेत दिक्क भएका छन् ।’ पाण्डेले भने ।

शिक्षाविद् विद्यानाथ कोइराला भने विदेश जानुको मुख्य कारणमा नयाँ पुस्तामा बढेको पैसा मोहलाई मान्छन् । ‘विदेश जाने २० देखि २५ प्रतिशतले मात्र आफ्नो पढाइलाई प्राथमिकता दिन्छन्, बाँकी त पढाइ भनेर पैसा कमाउनै लागेका हुन् ।’

विदेश जाने विद्यार्थीलाई आवश्यक अनुमतिपत्र उपलब्ध गराउने शिक्षा मन्त्रालय अन्र्तगतको शाखाका अनुसार वैदेशिक अध्ययन अनुमति लिनेको संख्या हरेक वर्ष बढ्दो छ । वि. सं. २०६८ मा जम्मा १० हजार ३ सय २३ विद्यार्थीले अनुमति पत्र लिएकोमा २०६९ मा उक्त संख्यामा  ६ हजार १ सय ८० ले बढेर १६ हजार ५ सय ४ पुगेको थियो । २०७० सालमा २८ हजार १  सय २६, २०७१ म ३० हजार ६ सय ९७ जनाले र गत वर्ष अर्थात् २०७२ मा ३२ हजार ४ सय ८९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएको शाखाको तथ्यांकमा उल्लेख छ ।

शाखाका अनुसार चालु आर्थिक वर्षमा उक्त संख्यामा अझ वृद्धि हुने सम्भावना रहेको छ । चालू वर्षको साउनदेखि कात्तिकसम्म मात्र कूल १२ हजार ४ सय ५ जनाले अध्ययन अनुमति पत्र लिइसकेका छन् । शाखाले यो वर्ष करिब ४० हजार माथिको संख्याले अनुमति पत्र लिने आंकलन गरेको छ ।