भर्चुअल क्लास


काठमाडौं २७ पुस/एक दशकअघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । गाउँ–गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खोज्न सक्छन् । यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले यस वर्षबाट प्रविधिमैत्री कक्षा सुरु गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्यान्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् ।

केन्द्रले आइतबारदेखि यस्तो ‘भर्चुअल’ कक्षा सुरु गरेको हो । सानोठिमीस्थित केन्द्रको कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाएको हो । भूकम्पबाट अति प्रभावित काठमाडौं उपत्यकाबाहेक ११ जिल्लाका एक सय विद्यालयमा भर्चुअल कक्षा सुरु गरेको केन्द्रकी कार्यकारी निर्देशक देवकुमारी गुरागाईंले बताइन् । ‘भर्चुअल कक्षामार्फत माध्यमिक तह विशेषगरी कक्षा १० को अंग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य लिएका छौं,’ उनले भनिन् । यो कक्षा फागुन अन्तिमसम्म सञ्चालन हुनेछ । सिन्धुपाल्चोकका १२, गोरखाका १०, सिन्धुलीका १०, मकवानपुरका ९, रामेछापका ८, ओखलढुंगामा ७, दोलखाका ८, नुवाकोटका १०, धादिङका ११, काभ्रेपलाञ्चोकका १३ र रसुवाका २ सामुदायिक विद्यालयमा भर्चुअल कक्षा सुरु गरिएको छ ।
एक सय सामुदायिक विद्यालयमा टेलिभिजन सेट र आवश्यक उपकरण जडान गरिएको छ । सानोठिमीको स्टुडियोबाट ११ बजे विषय शिक्षकले पढाउन सुरु गर्छन् । कक्षा सुरु हुनुअघि नै विद्यार्थीहरू भर्चुअल कक्षामा बस्छन् । जुन विषय हो, त्यो विषय शिक्षक पनि सँगै बस्छन् ।
काठमाडौंमा बसेर पढाउने शिक्षकसँग दोहोरो कुरा गर्न नमिल्ने भए पनि विद्यार्थीले आफूले नबुझेको कुरा आफ्नै विद्यालयका विषय शिक्षकलाई सोध्न सक्छन् । ‘यसरी पूरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने प्रयास गरिएको छ । सफल विद्यालयका शिक्षकहरूले पढाउने भएकाले विद्यार्थीको आत्मविश्वास पनि वृद्धि हुने अपेक्षा लिएका छौं,’ शिक्षामन्त्री धनीराम पौडेलले भने, ‘शिक्षकहरूले पनि यसलाई तालिमका रूपमा उपयोग गरी आगामी दिनमा नियमित शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।’
चैत पहिलो सातादेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर भर्चुअल कक्षा सुरु गरेको गुरागाईंले बताइन् ।
अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा बिदाबाहेक अन्य दिन नियमित पढाइ हुन्छ । शिक्षकले पढाएको नोट र किताबको भरमा कक्षा १० को परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूले भर्चुअल कक्षामार्फत मनोरन्जन लिएर सिकिरहेको सिन्धुपाल्चोक थाङपालधापका प्रधानाध्यापक राधे बन्जाराले बताए । ‘विद्यार्थीमा उत्साह देखिएको छ,’ उनले भने ।
गोरखाको हंसपुरस्थित ज्ञानज्योति उमाविका अंग्रेजी शिक्षक विष्णुदत्त अधिकारीले कक्षामा पढिसकेको पाठ फेरि भर्चुअल कक्षाबाट हेर्न पाएपछि विद्यार्थीहरूले नयाँ ढंगबाट सिक्ने अवसर पाएको बताए । ‘भर्चुअल कक्षामा पढाएको पाठ मैले पढाइसकेको थिएँ । विद्यार्थीले सहज रूपमा लिएका छन्,’ उनले भने, ‘मैले पढाउने र त्यहाँ पढाउने तरिका फरक छ । विद्यार्थीले मात्रै होइन, मैले पनि नयाँ कुरा सिकिरहेको छु ।’
भर्चुअल कक्षाले विषयगत शिक्षक अभावलाई समेत पूर्ति गर्ने केन्द्रका उपनिर्देशक शिवकुमार सापकोटाले बताए । शिक्षक बिदामा बसेका बेला पनि विद्यार्थीहरू त्यत्तिकै बस्नु पर्दैन । सोमबार गोरखाको ज्ञानज्योति माविमा विज्ञान शिक्षक अनुपस्थित थिए । भर्चुअल कक्षाबाट विज्ञानको तत्त्वहरूको वर्गीकरण पढाइएको थियो । ‘विषयगत शिक्षक बिदा बस्दा पनि विद्यार्थीहरूले सबै कक्षा भएजस्तै ठान्छन् । यसले विद्यार्थीलाई थप सहयोग भएको छ,’ अधिकारीले भने ।
यस वर्षको बजेट भाषणमा ग्रामीण र दुर्गम क्षेत्रका एक सय सामुदायिक विद्यालयहरूमा परीक्षणका रूपमा ब्रोडब्यान्ड इन्टरनेटका माध्यमबाट अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन सुरु गर्ने घोषणा गरिएको थियो । यो प्रविधि लागू गर्न १८ करोड ९४ लाख रुपैयाँसमेत व्यवस्था गरिएको थियो । केन्द्रका अनुसार एउटा विद्यालयमा पाँच लाख रुपैयाँ खर्च गरेर भर्चुअल कक्षा सुरु भएको हो । आउँदो वर्षमा माध्यमिक तहमा शून्य र न्यून शिक्षक दरबन्दी भएका थप एक सय विद्यालयमा भर्चुअल कक्षा सुरु गरिने मन्त्री पौडेलले बताए । केन्द्रले यसअघि रेडियोमार्फत शिक्षक तालिम, घरमा बसेर एसएलसी
तयारी गर्नेलाई श्रव्यदृश्य सामग्री उत्पादन गर्दै आएको थियो । गत वर्ष तराई आन्दोलन र नाकाबन्दीले विद्यार्थीले पढ्न नपाएपछि टेलिभिजन र रेडियोमार्फत एसएलसी तयारी कक्षा गरेको थियो ।
गत वर्षको प्रभाव न्यून
गत वर्ष तराईका आठ जिल्लाका विद्यार्थीलाई लक्षित गरेर सुरु गरेको टेलिभिजन कार्यक्रमको प्रभावको बारेमा कान्तिपुरले अध्ययन गरेको थियो । सरकारले गत वर्ष नेपाल टेलिभिजन र टीभी टुडेबाट कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर टेलिभिजनबाट एसएलसी तयारी कक्षा गराएको थियो । सर्वेक्षणमा सहभागी आठ सय ५१ विद्यार्थीमध्ये दुई सय ३३ ले मात्रै आमसञ्चार माध्यम (रेडियो, टीभी र मोबाइल एप) बाट पढेको पाइएको थियो । दुई सय ३३ मध्ये ४० जनाले मात्रै टेलिभिजन हेरेर अध्ययन गरेको पाइएको थियो । यो संख्या जम्मा सर्वेक्षणमा सहभागी ८ सय ५१ को ४.७० प्रतिशत मात्रै हो ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेको खबर ।