Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

तीन घण्टा हिँडेर स्कुल

शुक्रबार, १३ फागुन २०७३

काठमाडौं १३ फागुन/गिम्दीकी मञ्जु सञ्जेल तीन घन्टा हिँडेर स्कुल पुग्छिन् । उनी दक्षिण ललितपुरको गिम्दीस्थित नारायणी माविमा पढछन् । कक्षा ५ मा अध्ययनरत सञ्जेललाई १० बजे स्कुल पुग्न बिहान सातै बजे घरबाट निस्कनुपर्ने अवस्था छ ।

‘गाउँमा स्कुल छैन, पढ्न यहाँसम्म आउनुपर्छ’, उनले भनिन्, ‘बिहानै घरबाट निस्कनुपर्ने भएकाले बेलुकी राखेको खाना खाएर स्कुल हिँड्छु तर बाटोमै भोक लागिसक्छ ।’ घर टाढा भएकै कारण हाफ छुट्टीमै घर फर्किने गरेको उनले बताइन् । ‘पूरै पढे त घर पुग्दा रात पर्छ’ उनले भनिन् ।
सञ्जेल जस्तै घण्टौं हिँडेर स्कुल जाने अर्का विद्यार्थी हुन्, प्रेम सिगार । ‘एक दिन स्कुल आए दुई दिन बिरामी हुन्छु’, सिगारले सुनाए । मकवानपुरदेखि जंगलको बाटो हुँदै स्कुल आउने उनी कहिलेकाहीँ बाटामा पर्ने आफन्तकहाँ बस्ने गरेको सुनाउँछन् । ‘अब त स्कुल नजिक कसैको घरमा कोठा लिएर बस्ने सोचेको छु, सधैं हिँडन गाह्रो भयो’ उनले भने । नारायण उच्च माविमा पढ्ने ३५ प्रतिशत विद्यार्थी घरनजिक स्कुल नभएकाले घन्टौं हिँडेर स्कुल आउन बाध्य भएको प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताए । ‘अधिकांश विद्यार्थी बिहान ११ बजे स्कुल आइपुगेर २ नबज्दै घर फर्किहाल्छन्’, उनले भने ।
ललितपुरको दक्षिणी क्षेत्र गिम्दी, थुम्की, स्यालभञ्याङ, बालुवाडाँडा जस्ता विकट गाउँबाट यहाँ पढ्न आउँछन् । छिमेकी जिल्ला मकवानपुरको मन्थली र बेतिनीका विद्यार्थी पनि आउने गरेको शिक्षक भीमसेन घिमिरेले बतााए । टाढाबाट आउने विद्यार्थी कक्षामा ढिला हुने भएकाले उनीहरूको पढाइ खस्किँदै गएको पौडेलले सुनाए । ‘विद्यार्थी थाकेर आउँछन्, तिनले पढाएको के बुझ्नु र पास हुनु,’ उनले भने । ललितपुरको विकट क्षेत्रमा पर्ने नारायण उमाविमा कक्षा १ देखि १२ सम्म ५ सय विद्यार्थी छन् । कमसेकम एउटा गाडी किन्न सकेको भए विद्यार्थीलाई सास्ती हुने थिएन प्रअ पौडेलले भने । जिल्ला शिक्षा कार्यालयको लापरबाहीका कारण ग्रामीण क्षेत्रका विद्यालयको स्तर खस्किएको उनको गुनासो छ । आफ्नो गाउँमा विद्यालय नभएका कारण धाएर टाढा धाउनु परेको विद्यार्थीले गुनासो गरे । सरकारले दुर्गमका विद्यालयलाई लक्षित गरेर विशेष कार्यक्रम नल्याएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए । गत वर्षको भूकम्पका कारण लडेको विद्यालय अहिलेसम्म पुनर्निर्माण हुन नसकेकोमा पौडेलले गुनासो गरे । ‘टहरामै पठनपाठन गराउन बाध्य छौं’ शिक्षक घिमिरेले भने ।

कान्तिपुरमा फातिमा बानुले लेखेको खबर ।

प्रतिक्रिया