Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

२२ वर्षपछि भण्डारीको फुर्सद

मंगलबार, २४ फागुन २०७३

लिटिल एन्जेल्स स्कुलका संस्थापक तथा प्रिन्सिपल उमेश श्रेष्ठले एकाविहानै फोन गरेर भनेका थिए, ‘तपाइँलाइ भेट्नु पर्यो र आजै भेट्नु पर्यो । यस्तो त सारै नमज्जा भयो ।’

उनलाई लागेको नमज्जाको कारण थियो, लिलिट एन्जेल्स स्कुलले अर्कैको नामको प्यान प्रयोग गरेर नयाँ शैक्षिक सत्रमा विद्यालयमा पाठ्यपुस्तक बेचेको समाचारको विषय । जुन मैले कान्तिपुरमा लेखेको थिएँ । समाचार त्यही दिन छापिएको थियो । श्रेष्ठ तनावमा थिए र भन्दै थिए, ‘विहानदेखि जवाफ दिएर म हैरान भइसकेँ । त्यसमा हाम्रो केही मिस्टेक पक्कै भएको हो, तर मैले जानी जानी गरेको होइन ।’

जवाफमा मैले भनेको थिएँ, ‘समाचारमा सरको त्यो कुरा पनि आएकै छ । र पनि फेरि भेट्नै पर्ने भए मेरै अफिस आउनुस् यतै भेटौंला ।’

‘अफिसमा होइन, पुलचोकको नांग्लो बेकरीमा भेटौं,’ अफिसमा भेट्ने कुरा इन्कार्दै उमेश सरले भने ।

त्यसमा मलाई कुनै आपत्ती थिएन ।

उनी प्याब्सनका अध्यक्ष थिए र उनीसहितको सरकारी टोलीको वैठकले निजी विद्यालयले विद्यालय हातामा जबरजस्ती उनीहरुले भनेकै प्रकाशकको किताब नबेच्ने सहमति जनाएका थिए । तर उनकै विद्यालयले अर्काको प्यान प्रयोग गरेर सरकारी कारबाही र ब्ल्याक लिस्टमा परेको सत्याल पब्लिकेसन्सको किताब खुलेआम बेचेर आम अभिभावकलाई ठगेका मात्रै थिएनन्, नियमको धज्जी उडाएका थिए । सत्याल पब्लिकेसन्सले नयाँ वानेश्वरको एउटा पुस्तक पसलको प्यान नम्बर प्रयोग गरेर विद्यालयमा धमाधम पुस्तक बेचेको थियो ।

जसको जानकारी अरु मिडियाले पनि पाएका थिए तर कसैले समाचार लेखेनन् । मैले उमेश सर सितै कुरा गरेर, बेच्ने, प्यान प्रयोग हुने समेतलाई समेटेर समाचार बनाएको थिएँ ।

समाचारका लागि फोन गरेको बताएपछि उमेश सरले अघिल्लो दिन बेलुकानै भनेका थिए, ‘मेरो स्कुलको नेगेटिभ समाचार अहिलेसम्म आएको छैन, अनमोलजी । मिल्छ भने आजलाई समाचार रोकिदिनुस् । मैले अरु मिडियाका साथीहरुसित पनि कुरा गरेको छु । कहिले काहिँ गल्ती हुन्छ । हामी बसेर कुरा मिलाउँला ।’

समाचार रोक्ने कुरामा कुनै टसमस नभएपछि उनले भनेका थिए, ‘म कैलाश जी (कैलाश सिरोहिया) र रामेश्वरजी (रामेश्वर थापा) सित पनि कुरा गरौँला नि त ।’

मैले ‘हस्, सरको पहुँच छ, कुरा गर्नु होला म समाचार रोक्दिनँ’ भनेर फोन राखेको थिएँ । उनले यस विषयमा कुरा गरे गरेनन् मलाई थाहा भएन । कम्तीमा मलाई लिटिल एन्जेल्सको त्यो समाचार रोक्नु पर्छ भनेर समाचार कक्षमा कसैले दवाव दिएन । सम्पादक सुधीर शर्मालाई मैले उमेश सर सितको कुरा जानकारी चाहिँ गराइ सकेको थिएँ । र अन्त समाचार नछापिन सक्छ भनेर आफै संयोजक रहेको भ्याली ब्युरोको पृष्ठ ४ मै समाचार राख्न भनेर अबेर घर हिंडेको थिएँ ।

र, समाचार छापिएको थियो ।

त्यो दिन मलाई एक्लै उमेश सरलाई भेट्न जान मन लागेन । कुनै डरले होइन, श्रेष्ठ निजी विद्यालयका सञ्चालक हुन् र उनले ‘मसित पैसा माग्न आएको थियो’ वा ‘मैले फलानोलाई यति पैसा दिएँ’ भन्लान् भन्ने लागेर साथमा भरपर्दो एउटा साथी चाहिएको थियो । म दोधारमा थिएँ, कसलाई भनौँ र लैजाउँ ।

मेरो दिमागमा एक्कासी एउटा नाम फुर्यो, सुप्रभात भण्डारी । जो अभिभावक संघ स्थापना कालदेखिका अध्यक्ष थिए ।

उनलाई मैले फोन गरेँ, भेट्नु पर्ने कारण बताएँ । उनी मसित जान राजी भए ।

बेकरीको माथिल्लो तलामा उमेश सर आइसकेका थिए । उनले हामी दुवैलाई स्वागत गर्दै भण्डारी दाइलाई भने, ‘ओहो तपाइँ पनि कसरी ?’

‘मैले नै बोलाएको सर, साहुजीहरुसित बस्दा केही भर हुन्न भनेर’, भने पछि उमेश सरले भनेका थिए, ‘अनमोलजी तपाई मात्रै एउटा त्यस्तो व्यक्ति हो जो सधैँ निजी विद्यालयको खेदो खन्नु हुन्छ । अरु मिडियाका साथीहरुले को अपरेट गरेका छन् । तपाइँ हामीप्रति अलि नेगेटिभ हुनुहुन्छ ।’

त्यसपछि कुरा समाचारमा गयो । उनले स्वीकारे, ‘त्यो सत्याल समस्यामा छ, उपचारमा पैसा छैन भनेपछि मैले स्कुलमा पुस्तक बेच्न स्वीकृति दिएको हो । ५, ६ लाख रुपैयाँ भए पनि मेरो उपचार हुन्छ भनेर रोइ कराइ गरेपछि लौ उद्दार होस् भनेर हो । त्यो अर्कैको प्यान प्रयोग गरेको चाहिँ मलाई थाहा छैन । त्यो नाफा स्कूलले एक पैसा लिएको छैन । अब चाहिँ समाचार नलेखिदिनुस् ।’

मैले उमेश सरलाई भनेको थिएँ, ‘यही कुरा सार्वजानिक रुपमा भन्नुस् न त विज्ञप्ति निकालेर ।’

त्यो चाहिँ उनले इन्कार गरे ।

बरु उनले मलाई प्रलोभन दिएका थिए केही पत्रकारको नाम लिएर, ‘मैले फलानोलाई घडी दिएँ, फलानोको अफिसको सोफा किनिदिएँ । फलानोलाई बेला बेला यसरी सहयोग गर्छु । तपाइँमात्रै एउटा व्यक्ति हो जसलाई मैले आजसम्म केही सहयोग गरेकै छैन । सहयोग माग्नु भएको छैन । एउटा समाचारले केही हुन्न । यहीँ बस्नु पर्छ मिलेरै बसौँ । तपाइँलाई के सहयोग गर्नु पर्छ म गरौँला ।’

मैले यही कुरा समाचारमा लेख्ने र थप फलो अप समाचार छापिने बताएपछि उनले भनेको थिए, ‘तपाइँ किन यति धेरै बाउँठिनु हुन्छ ? एलएको नेगेटिभ समाचार अहिलेसम्म कसैले लेखेको छैन, तपाइँनै पहिलो हो जसले हाम्रो नेगेटिभ समाचार छाप्नु भयो । अब भन्नुस् मैले के गरे तपाइँ समाचार छाप्नु हुन्न ?’

मैले उमेश सरलाई विनम्र भनेको थिएँ, ‘एलएको नाममा गल्ती भयो भन्ने स्वीकारोक्तिको एउटा स्टेटमेन्ट दिनुस्, केही गर्नु पर्दैन । माफी मागेर सानो भइँदैन ।’

उमेश सरले त्यो दिन विज्ञप्ति पनि लेखिदिन, छापिदिन र त्यसवापत कति लाग्ने हो छापिदिन भनेका थिए । मैले त्यो कुरा पनि इन्कारेपछि सुप्रभात दाइले भनेका थिए, ‘अनमोलजीले त्यसो गरेर फाइदा वा पारिश्रमिक लिनु हुन्छ जस्तो मलाई लाग्दैन सर । गल्ती विद्यालयले गरेकै हो । गल्ती भयो भनेर स्टेटमेन्ट निकाल्दा केही फरक पर्दैन ।’

त्यसपछि उमेश सरले ‘मैले स्टेटमेन्ट लेखिदिनुस् र त्यसवापत कति लाग्छ लिनुस् भनेको कुरालाई अन्यथा नसोच्न’ आग्रह गर्दै स्टेटमेन्ट निकाल्ने बताएका थिए । हामी एक एक प्लेट चिकेन मःमः खाएर छुट्एिका थियौँ ।

मैले प्रतिवद्धता अनुसार फलोअप समाचार लेख्न छाडिनँ । एलएलले त्यसको तेस्रो दिन ‘भुलवस गल्ती भएको’ विज्ञप्ति कान्तिपुरको अन्तिम पृष्ठमा क्वाटर साइजमा छाप्यो । थाहा छैन त्यो विज्ञप्ति कुनै पत्रकारले लेख्यो वा एलएकै कोही जागिरेले ?

त्यो मेरो चासोको कुरा भएन । चासो यति थियो उमेश सरले प्रतिवद्धता अनुसार विज्ञप्ति निकाल्नु भएको थियो ।

---

त्यस अघि र पछि पनि सुप्रभात भण्डारसित मेरो नजिकको उठबस थियो । स्वार्थ थियो, सार्जजनिक शिक्षाको सुधार र निजीको दादागिरी माथि प्रहार ।

भण्डारीसितको यो सहकार्य म ‘खबर पत्रिका’ मा (मंगलबार छापिने तिनताकाको त्यो रंगीन साप्ताहिक २०५८ मंसिर १८ देखि सधैलाई बन्द भयो र म नेपाल समाचारपत्रको भक्तपुर संवाददाता भएँ)  काम गर्दादेखि सुरु भएको थियो । मैले शिक्षामा पूर्णकालीन रिपोटिंग थालेकै थिइनँ । शिक्षा पत्रकार समूह स्थापना भइसकेको थिएन । त्यो २०००̸२००१मा स्थापना भएको हो ।

सम्पादक तारानाथ दाहालले निजी विद्यालयको शुल्कबारे रिपोर्टिग गर्न भनेपछि पहिलो पल्ट मेरो भण्डारीसित कुराकानी भएको थियो । (मोबाइल थिएन, मलाई उनको घरको ल्याण्ड लाइन अहिले पनि कण्ठ छ) । त्यतिबेला भण्डारी तथ्यांकमा यस्तो सार्प थिएनन् बोदाबोदानै थिए ।

शिक्षा पत्रकार समूह स्थापना भएपछि उनीसित बाक्लै भेट हुन थाल्यो । शिक्षाका विषयमा विरलै हुने छलफल समूहले नियमित रुपमा थालेको थियो, त्यसकारण पनि भेट बाक्लियो । एउटा शैक्षिक फिचर सेवा पनि थियो । र समूहले चलाउने त्यो बहस गरमागरम हुन्थ्यो । एसएलसी नतिजा बाहेकको समाचार कहिल्यै समाचार नबन्ने मूलधार भनिएका दैनिक पत्रिकामा पनि शिक्षाको बिट बनिसकेको थिएन । हिमालय टाइम्समा देवेन्द्र भट्टराई र देशान्तर साप्ताहिकमा सुदर्शन घिमिरेले बेला बेला शिक्षाका समाचार लेख्थे । अरु दैनिकमा शिक्षाको विषय प्राथमिकतामा थिएन । शिक्षाको पनि समाचार हुन्छ र विट हुन्छ भन्ने धेरैले ठानेकै थिएनन् ।

त्यही खबर पत्रिकामा काम गर्दा मैले सुप्रभात भण्डारीलाई भेटेको थिएँ जसको नेतृत्वमा २०५१ साल चैत १० गते अभिभावक संघ गठन भएको थियो । अभिभावक संघ गठन भेलाको सूचना चाहिँ देशान्तर पत्रिका भित्री पृष्ठमा सानो बक्समा छापिएको मलाई याद छ ।

संघ स्थापनाको २२ वर्ष पुग्न १९ दिन बाँकी रहँदासम्म अध्यक्ष रहेका भण्डारी यस सातादेखि अभिभावक संघबाट बाहिरिएका छन्, केशव पुरीले त्यो जिम्मेवारी सम्हालेका छन् । केशव पुरी पनि स्थापना कालमा रहकै मध्येका एक हुन् । (उनका बारेमा छोटो टिप्पणी पछि । )

भण्डारी बाहिरिनु खासै ठूलो समाचार होइन तर भण्डारी नेतृत्वले बनाएको संघ र संघमा टेकेर भण्डारीले बनाएको उचाइ चाहिँ पक्कै चर्चा योग्य विषय हो ।

विद्युत् प्राधिकरणका सामान्य जागिरे भण्डारीलाई शिक्षामा काम गर्ने जो कोहीले राम्ररी चिन्दछन् । अझ २०५९ साल अघिसम्म त अभिभावक संघ एउटै थियो र त्यसको निर्विकल्प विकल्प भण्डारीमात्रै थिए, मिडियालाई अभिभावकको भर्सन दिन । सरकारलाई अभिभावकको प्रतिनिधित्व देखाउन । दातालाई अभिभावकका कुरा सुन्न । २०५९ पछि वांग्छे शेर्पा र वामदेव गौतमहरुले वामपन्थी धारका अभिभावकहरु समेटिएको राष्ट्रिय अभिभावक संघ खोलेपछि पनि भण्डारीको चर्चा र शैक्षिक कार्यक्रमहरुमा उनको सक्रिय सभागिता कम भएन । उनले अभिभावकको नयाँ संगठनलाई कहिल्यै प्रतिस्पर्धीका रुपमा हेरेनन् । संघ र भण्डारीसितको प्रतिस्पर्धामा अभिभावकका नयाँ नेता सधैँ पछिनै परिरहे । यद्यपि वांग्छे शेर्पाको तथ्यमा टेकेर बोल्ने कला बेजोड थियो । थाहाछैन पछि उनीहरुको गतिविधि कता सीमित भयो । यद्यपि २०६० मा शिक्षा मन्त्रालयले नियमावलीमार्फत दुवै अभिभावक संघलाई मान्यता दियो र हरेक काम, कार्यक्रमहरुमा दुवै अभिभावक संघको सहभागिता सुरु भयो ।

आखिर सुप्रभात भण्डारीसित के त्यस्तो चिज थियो जसले उनलाई २२ वर्षसम्म संघको अध्यक्ष बनाइ राख्यो ?

तीन वर्षपछि गएको पुस पहिलो साता भेट्दा पनि सुप्रभात भण्डारी उस्तै हस्यांग फस्यांगमै थिए । विहानदेखि शैक्षिक भेटघाट, मिटिंग र कार्यक्रममा अतिथि वा वक्ताको जिम्मेवारी निभाउन उनलाई भ्याइ नभ्याइ थियो । त्यही वीचमा प्रमिला भाउजु (उहाँकी श्रीमती) अमेरिका जाने तयारीमा हुनु हुन्थ्यो । उहाँ आफै पनि कार्यालयीय कामका लागि हप्ता दिन भारत जानु पर्ने थियो । हतारकै मेसोमा डिसेम्बर १७ को विहान हामी भेटिएका थियौँ लगनखेलको एउटा क्याफेमा ।

उही पुरानो स्पेलेण्डरमा चीसोमा स्युस्यु गर्दै फिलिली बत्तिएर आएका उनले भनेका थिए, ‘उस्तै छ भाइ, केही बदलिएको छैन । हामी कुदेका कुद्यै छौं । बोलेका बोल्यै छौं । तर केही बदलिएको छैन ।’
र हामी केही घण्टा गफिएका थियौँ ।

उनले भनेका थिए, ‘म केही बर्षदेखि संस्थाको नेतृत्वमा नबसौँ भनिरहेको छु । साथीभाइको करबलले छाड्न सकेको छैन ।’

शायद धेरैले उनलाई आजीवन अध्यक्ष भनेर उडाउने गरेको कुरामा उनी अनविज्ञ थिएनन् । मैलेनै पनि पटक पटक उनलाई संस्था छाड्न सुझाएको थिएँ । तर उनले संस्था छाड्न नपाउनुको एउटा कारण थियो, संस्था स्वयं सेवामा चलेको थियो । मलाई लाग्छ पछिल्लो समय अभिभावक शिक्षाका लागि शिक्षा विभागसित गरिएका डेढ दुई लाखको सहकार्य बाहेक संस्थामा बेजेट पनि छैन । बजेट नभएको, आफ्नै खल्तीको पैसा हालेर संस्थाको नेतृत्व दिन चाहनेहरु कमै भेटिन्छन् । यद्यपि उनको त्यो उचाइ भने संघलेनै बनाइदिएको हो ।

२०४६ पछि हरेक क्षेत्र संगठित हुँदै थियो । शिक्षामा पनि शिक्षक, कर्मचारीहरुको छुट्टा छुट्टै संगठन बनिरहेको थियो । निजी विद्यालयका साहुहरुको संस्था प्याब्सन पनि अस्तित्वमा आइसकेको थियो र उच्च माध्यमिक विद्यालय संघ पनि । निजीको दादागिरी सुरु भइसकेको थियो । त्यसविरुद्ध व्यक्तिगत रुपमा आवाज उठे पनि संस्थागत रुपमा अभिभावकको आवाज कसैले उठाएको थएन र सुनेको थिएन । यही बेला निजी विद्यालयको दादागिरी र व्यापारिकरणको अन्त्य तथा सामुदायिक शिक्षाको सवलीकरण गरी विभेदयुक्त शिक्षाको अन्त्य गर्ने उद्देश्य संघको थियो ।

स्थापनाको २२ वर्षमा संघले त्यो उद्देश्य पूरा गर्यो कि गरेन अर्को बहसको विषय हो ।

संघ स्थापना पछि निजी शिक्षालयको दादागिरीमाथि कडा टिप्पणी आइरह्यो र संघले त्यो आवाज बोलिरह्यो । जब मिडियामा पचासको दशकको अन्त्यदेखि विट पत्रकारिता सुरु भयो भण्डारीले कम्तीमा लोभ लालच बिना विषयलाई मिडियामा ल्याउने काम गरिरहे । राज्यले लुकाउन चाहेका विषय हुन् वा निजी विद्यालयले बाहिर नआओस् भनेका विषय दुवैलाई उनले उजागर गरिरहे र उनी जतिनै आलोचना गरिए पनि पत्रकारका प्रिय भइरहे ।

हरेक मिटिंगको सूचना जतिनै मध्य रात भए पनि उनले सबैलाई बाँडे ।  लोभलालचहीन, आर्थिक अनुशासनमा प्रतिवद्ध, सहच पहुँच र शैक्षिक सूचनामा अपडेट रहने भण्डारीको स्वभावले उनलाई सधैँ सबैको सम्पर्कमा राखिराख्यो । सहज पहुँच र सूचना सेयरले उनलाई सस्तो पनि बनायो । कतिले उनका कुरालाई गम्भीर रुपमा लिएनन् पनि । तर उनी जुन जुन आयोगमा बसेर काम गरे त्यसको रिपोर्ट उनले कहिल्यै लुकाएनन् ।

जयराम गिरी आयोगले तयार पारेको पाठ्यपुस्तकमा ७३ करोड रुपैया अनियमितताको रिपोर्ट त तिनताका मेरो हातमा मात्रै थियो । यस्ता कैयन रिपोर्ट थिए जो मैले मात्रै पाएँ र समाचार बनाएँ ।
उनले संघको विस्तार ५८ जिल्लामा त गरे तर त्यसलाई प्रभावकारी बनाउन सकेनन् । सुप्रभातको विकल्पमा को भन्ने केन्द्रीय समिति समेत देखिएन । अभिभावकको जुन हस्तक्षेपकारी उपस्थिति हुनु पर्ने हो त्यो उपस्थिति उनको नेतृत्वको अभिभावक संघले गर्न सकेन । परिणाम अहिले पनि अभिभावक संघ भनेको एउटा सदस्य संख्या थप्नका लागि हो भनेजस्तो भइरहेको छ । सुप्रभात भण्डारीले शिक्षाका मुद्दाहरुको प्रचारात्मक आन्दोलनमा भने उच्च भूमिका खलेका छन् ।

संघमा अरु नभएका होइनन् । तर उनीहरुले आफूलाई भण्डारीले जति अपडेट र सहज पहुँचको बनाउनै सकेनन् । भण्डारी पत्रकारले लिन नसकेको सूचना लिन्थे र बाँड्थे ।

उनी धेरै पत्रकारका खुला स्रोत थिए । व्यक्तिगत रुपमा जति कुराकाटे पनि पत्रकारहरु दिनमा एक पल्ट भण्डारीको मोबाइल बजाउँछन्, अपडेट हुन । र उनी आफै पनि सबैजसो पत्रकारलाई फोन गरेरै सूचना दिन्छन् । यसमा एउटै स्वार्थ छ, कम्तीमा शिक्षाको एउटा विषय बाहिर आइदेओस् । उनले दिएको सूचना भेरिफाइ गरेर अध्ययन र खोजबिन गर्ने काम कति पत्रकारले गरे समाचारमा देखिएकै छ ।

शिक्षाका विषयमा बहस र तर्क गर्न, शिक्षाको तथ्य विश्लेषण गर्न भण्डारी नेपालका चलेका कुनै शिक्षाविद् भन्दा कम छैनन् । नेपालका एकादुई शिक्षाविद् मात्रै विषयवस्तुको विश्लेषण गर्न सक्छन् र विषयमा अपडेट हुन्छन् धेरैजसो चाहिँ खल्तीमा वर्षौ पुरानो डायरीको चिरकट्टो बोकेर पाउलोको सिद्धान्तकै वरिपरि उँघिरहेका हुन्छन् ।

शिक्षा सरोकारवालाहरुवीचको वैठक, छलफल, समस्या समाधानका लागि जुट्नु पर्ने झण्झट, रातविरात सञ्चारकर्मीलाई गराइरहनु पर्ने अपडेटबाट अब भण्डारी औपचारिक रुपमा एक हद सम्म मुक्त भएका छन् ।
थाहा छैन संघ स्थापना कालका संग्राम सिंह हमाल, कुमार केसी, पूर्ण निरौला कता छन् ? रमेश बखती सिटइभीटिमा सदस्य सचिव भएका छन् । भण्डारीलाई विस्थापित गर्न पुगेका केशव पुरीले भण्डारीको झल्को मेटाउन धेरै काम गर्नु पर्नेछ । उनी शिक्षामा चासो राख्ने, आद्यात्मिक र संघको स्थापना कालकै व्यक्ति हुन् । अब उनले डोलेश्वर महादेवको स्थापनाका लागि मात्रै होइन स्वयंसेवा गरेर संघ मार्फत सयौँ हजारौँ अभिभावकको आवाज पनि बोल्नु पर्नेछ । त्यसमा उनी कति सफल हुन्छन् भविष्यले देखाउला ।

---   

आलोचना मात्रै होइन कहिले काँहि सकरात्मक सन्देश दिने काम व्यक्तिगत रुपमै पनि गर्नु पर्ने हुन्छ ।

जस्तो, अखिल क्रान्तिकारीले बन्द निजी शिक्षालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो । दुई दिनसम्म पनि देशभरका निजी शिक्षालय बन्द थिए ।

सुप्रभात दाइले फोनमा भने, ‘भाइ जतिनै ठग भए पनि शिक्षालय त शिक्षालय हो । व्यवस्थित बनाउने राज्यको कुरा हो । निजी र क्रान्तिकारीको वार्ता गराउन पहल गर्न पर्यो ।’

त्यसपछि सुप्रभात दाइ र म उमेश श्रेष्ठको सानेपा स्कुलसँगैको निवासमा भेला भएर राजेश खड्का, लक्ष्यबहादुर केसी सहितको टोलीसित वार्ता गर्नेबारे छलफल गरेका थियौँ । ‘ल मिलाउनुस् हामी बस्न तयार छौं,’ प्याब्सन अध्यक्ष समेत रहेका उमेश श्रेष्ठले भनेपछि हिमाल शर्मालाई फोन गरेर वार्ताको समय मिलाउने जिम्मा मैले पाएको थिएँ ।

त्यहाँबाट छुट्टिएर दाइ र मैले हिमाललाई फोन गरेका थियौँ । उनीहरु सेफ ल्याण्डिंगका लागि तयार थिए । शिक्षा मन्त्रालयले कुनै चासो नदिइरेका बेला हामी दुई भाइले सानेपामा वार्ताको वातावरण मिलाएका थियौँ ।
शिक्षा मन्त्रालयमा लवप्राद त्रिपाठी प्रवक्ता थिए । मलाई थाहा छ, सुप्रभात दाइकै करबलमा त्रिपाठी सरले मन्त्रालयमा छलफल गरेर वार्ताको विज्ञप्ति निकालेका थिए । हिमाल शर्मा र मैले पुतली सडकको कुमारी क्याफेमा बसेर निजीको बेइमानीमाथिको आन्दोलन जारी राखे पनि निजीको बन्द किन खोल्नु पर्छ र उनीहरु वार्तामा बसेर समाधान खेज्नु पर्छ भनेर छलफल गरेका थियौँ । निजीका साहुजीहरुले त्यसबावत हामीलाई धन्यवादनै दिएका थिए ।

ठूल्ठूला घटना भइरहने मुलुकमा हुनलाई यी झिनामिसना विषय हुन् ।

थाहा छैन यो कुरा कतिले सम्झिन्छन् र महत्व दिन्छन् ।

---   

सामाजिक सञ्जालहरु मार्फत थाहा पाएँ, २२ वर्षपछि अध्यक्ष पद छाडेर सुप्रभात दाइ हल्का मात्रै भएका छैनन् नयाँलाई चुनौतिको सामना गर्ने मौका पनि दिएका छन् । पुरीका लागि यो जुन अवसर हो, सुप्रभात भण्डारीका लागि पनि यो त्यति नै अवसर हो । पुरीले अब अभिभावक संघको अध्यक्ष भएर देशको सामुदायिक शिक्षाको सुधार र निजीको दादागिरी तथा चरम व्यापारीकरण विरुद्ध आवाज उठाउन सक्छन् भने भण्डारीले एउटा इमान्दार नागरिक भएर ।

प्रतिक्रिया