Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

चुहिने भवनमा पढाइ

शुक्रबार, ११ चैत्र २०७३

काठमाडौं ११ चैत/‘घाम लागेको दिन त ठीकै हुन्छ, पानी पर्‍यो भने विद्यार्थीलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनुपर्छ । अब त भित्ता पनि चर्किसकेको छ, कक्षाकोठामा जानै डर लाग्छ', डोटी बडाकेदार गाउँपालिका–२ बरउ (साविकको बर्छैन गाविस–२) स्थित शिशु दर्पण आधारभूत विद्यालयका प्रधानाध्यापक बेचन चौधरीको दुखेसो हो यो ।

स्थानीय स्रोतसाधनबाट ०४६ सालमा स्थापित उक्त विद्यालय भवन पूर्ण रूपमा जीर्ण भएपछि पठनपाठनमा बाधा भइरहेको प्रधानाध्यापक चौधरीले बताए । उनले भने, ‘०४६ सालमै बनेको भवन, त्यसै पनि पुरानो भएको थियो, त्यसमै गत वर्ष रूख ढलेर छतमाथि परेपछि त पूरै चुहिने भएको छ ।' कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ६४ विद्यार्थी छन् । भवन अभावका कारण पठनपाठनमा समस्या भएको चौधरीले बताए । ‘यसपालि त झन् पानी बढी परिरहेको छ', वार्षिक परीक्षाको तयारीमा रहेका चौधरीले भने, ‘कतै वार्षिक परीक्षाकै दिन पानी पर्‍यो भने फेरि परीक्षा पनि प्रभावित हुन सक्छ ।'

०४६ साल चैतमा स्वीकृति पाएको विद्यालयमा हालसम्म जिल्ला शिक्षा कार्यालयबाट दुईकोठे एक भवन मात्र निर्माण भएको चौधरीले बताए । उनले भने, ‘प्रत्येक वर्ष मैले विद्यालय भवनका लागि स्रोतकेन्द्रमार्फत जिल्ला शिक्षा कार्यालयमा माग त गर्ने गरेको छु तर कार्यक्रम पर्दैन ।' यस वर्ष पनि आफूले भवन माग गरेको भए पनि जिल्ला शिक्षा कार्यालयबाट शौचालयको कार्यक्रम परेको उनले बताए ।

‘शौचालय पनि आवश्यक हो हुन त तर भवन अत्यावश्यक छ', उनले भने । विद्यालय व्यवस्थापन समिति पनि भर्खर गठन भएको जानकारी दिँदै चौधरीले भने, ‘अब पुरानै भवन मर्मतका लागि भए पनि व्यवस्थापन समितिसँग छलफल गर्छु ।' कक्षाकोठा अभावका कारण काठले बेरेर एउटा कोठा जोडिएको छ ।

जीर्ण भवनमा अध्ययन/अध्यापन गराउनु जोखिपूर्ण रहेको सामाजिक कार्यकर्ता मुना मतेली बताउँछिन् । उनी भन्छिन्, ‘त्यो भवनमा जानै पनि डर लाग्छ भने कसरी बालबालिकालाई राखेर पढाउने ? ' ‘विद्यालय भवन सबै विद्यालयलाई मिलाएर दिइरहेका छौं', जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले भने, ‘कुनै विद्यालयमा भवन अभाव छ भने हामी तुरुन्तै सम्बोधन गर्ने प्रयास गर्नेछौं ।'
खगेन्द्रबहादुर सिँहले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया