Edukhabar
आइतबार, ०६ साउन २०८१
बहस

शिक्षा नबिग्रेको भए देश त बिग्रदैं बिग्रदैंन

हाम्रा विद्यालयहरु खुसी उत्पादन गर्ने थलो बने कि बनेनन् ?

आइतबार, ०१ पुस २०८०

संस्कृतमा एउटा उक्ति छ :

शिक्षा विकारे सकलो विकारः शिक्षा सुधारे सकलो सुधारः

शिक्षा बिग्रियो भने सबै विग्रन्छ र शिक्षा सुध्रियो भने सबै सुध्रन्छ । 

शिक्षाको कुरा गर्नु भनेको सबै क्षेत्रमा कुरा गर्नु हो । शिक्षा जत्तिको बहुआयामिक विषय अरु छैन । शिक्षाका सन्दर्भमा गरिएको ठूला ठूला गल्तिको फल आज भोग्दैं छौं । जस्तो कि बालबालिका, युवायुवती देशमा बस्न चाहँदैनन् ।  हाम्रा अभिभावकले हाम्रो देशलाई माया गरेका छन् भन्ने अनुभव गर्न सकिरहेका छैनन् । बिस्तारै बिस्तारै हामीले सबै भन्दा राम्रो जनशक्ति यो देशबाट गुमाउँदै छौं । गुमाई नै सक्यौं । हामीले राजनीतिक रुपमा धेरै ठूला ठूला फड्को मार्यौं तर ती फड्को समाजको विभिन्न आयाम, अर्थतन्त्र र जीवनको गुणस्तरमा मार्न सकेका छैनौं । 

राजनीतिले गर्दा हो भन्ने कुरा गर्न त सजिलो हुन्छ तर मेरो भूमिका के हो हरेक व्यक्तिले पत्ता लगाउनु गाह्रो हुन्छ । केही बर्ष यता अन्य विषयमा राम्रो प्रगती भयो होला, तर राम्रो प्रगतीका पछिल्तिर केही गल्ति पनि गरेका छौं । कुनै बेला विद्यालयमा नेपाली बोल्यो भने बालबालिकालाई दण्डित गथ्र्यौं । अहिले नेपाली बोल्नै नपर्ने देशमा गए वा बोल्नै नपाईने देशमा गए । आफ्ना बच्चाबच्ची जिब्रो बटारेर अँग्रेजी बोल्न सक्ने भए सफलता भन्ने जुन कुरा ठानेका थियौं, तीनीहरु हामी नेपाली बोल्नेलाई मन नै नपराउने गरी भागे । 

सामान्य संरचनाको परिवर्तन मात्रै हैन सोचको परिवर्तन माग गरेको छ शिक्षा क्षेत्रले । यस्ता सयौं उदाहरण हुन सक्छन् तर आज म समस्याको कुरा कम र आध्यात्म र शिक्षाका सवालमा केही कुरा गर्न चाहन्छु । 

शिक्षा भन्ने वित्तिकै मानव सभ्यताले जन्माएको सबै भन्दा प्रभावकारी व्यक्ति याद आउँछ । मानव सभ्यताले जन्माएको सबै भन्दा प्रभावकारी व्यक्ति हो महाभारतको अर्जुन । सबैको आआफ्नो दृष्टिकोण होला तर मेरो दृष्टिकोणमा ती उद्भुत व्यक्ति याद आउँछ । ती राजकुमार थिए, रणकौशल त्यस्तै राम्रो थियो, कार्य प्रगती उस्तै राम्रो थियो । युद्धको मैदानमा अवसाद हुँदा भगवान कृष्ण जस्तो गुरु पाए, गुरु त्यस्तै प्रकारको पाईन्छ जस्तो प्रकारको म छु । मेरो तह भन्दा राम्रो गुरु कहिल्यै पाईदैन । अर्जुनले द्रोणाचार्यको गुरुकुलमा हुँदा राती आवाज आयो, सबै शिष्यहरु समयमै सुत्नु पर्छ तर राती के आवाज आयो त ? रातको अध्यारोँमा अर्जुनले बाँण अभ्यास गर्दै थिए । किन राती गुरुले सोधे अर्जुन भन्छन् तपाईले दिउँसो सिकाउनु भयो रातीमा कसरी हान्ने सिकाउनु भएन तर मैले रातमा बाँण हान्ने सीप सिक्दै छु । एक जना गुरुका लागि यो कति खुसीको कुरा हो । आउट अफ द बक्स सोच्ने ती विद्यार्थी देख्दा कति खुसी लाग्यो होला । हजारौं शिष्यलाई शिक्षित गर्दै जाँदा एउटा कुनै शिष्यले समाज र देशको मुहार फेर्न सक्ने हैसियत देखाउँछ कि भन्ने कत्रो आशा हुन्छ शिक्षकलाई ।  

शिक्षण पेशालाई शिक्षण भनिएन भने आशावादी पेशा भने पनि हुन्छ । हजारौंलाई हामी पढाउँछौं ती मध्ये कोही एउटा अर्जुन, कृष्ण, राम वा अल्वर्ट आईन्सटाईन जस्तो बनिदियो भने कत्रो सन्तुष्टि होला विचार गर्नु त । 
द्रोणाचार्यले अर्जुनलाई आफ्नो अब्बल शिष्य बनाउने बताए । तर त्यो भन्दा पहिला अर्जुनलाई खुसी बन्न सिक्न भने । जो व्यक्ति खुसी छैन उसको न क्षमताको विकास हुन्छ, न शान्तिका विकास हुन्छ, न आफ्नो लागि न अरुको लागि राम्रो गर्न सक्छ ।

हाम्रा विद्यालयहरु खुसी उत्पादन गर्ने थलो बने कि बनेनन् ? 

जुन दिन सम्म विद्यालय जान विद्यार्थी हिचकिचाउँछन् त्यस दिन सम्म विद्यालय सरस्वतीको मन्दिर बन्न सकेका छैनन् भन्ने बुझ्नु पर्छ । विद्यालय विदा हुने भयो भन्दा विद्यार्थी खुसी भएको देख्दा हाम्रो हृदय रोएको छ कि छैन ? विद्यार्थी विद्यालयमा खुसी र जीवनमा खुसी भएको प्रमाण त विद्यालय आउँदा हाँस्दै हाँस्दै आएको छ छैन बाटै थाहा हुन्छ । यो खुसीयालीको जगमा निर्माण गर्न सक्छौं कि सक्दैनौं ? 

विद्यालयलाई खुसी उत्पादन गर्ने कारखाना बनाउन ध्यान दिनु होला । सुख, सुविधा पैसाले किन्न पाईन्छ तर खुसी किन्न पाईदैंन । खुसी आन्तरिक हो ।

खुसी उत्पादन गर्नका लागि विद्यालयमा काम गर्ने सबै खुसी हुन पर्छ । यसमा समयको महत्व महत्वपूर्ण हुन्छ । कक्षामा एउटा पनि शिक्षक ढिलो पुग्छ भने पछि त्यो विद्यार्थी पछि प्रधानमन्त्री हुँदा उसले सक्छु भनेको काम समयमा सकेन भने गाली गर्ने नैतिक हैसियत शिक्षक सँग हुँदैन । खुसी उत्पादन गर्नका लागि पुरै विद्यालय तयार हुनु पर्छ । विद्यालयका सबै जना वास्तवमा खुसी छन् कि छैनन् ?

शिक्षाका ५ लक्ष्य 

पहिलो हो, खुसी । खुसी उत्पादन गर्न सिकौं । आफ्ना बालबालिका भित्रैबाट खुसी छन् कि छैनन् ? ध्यान दिनु होला । रोग मात्रै हैन खुसी पनि सर्छ । सरुवा रोगको कुरा गर्यौं सरुवा खुसीको कुरै गरेको छैन । खुसी धेरै बाँड्नु पर्छ । मेरा विद्यार्थी खुसी छन् भने शिक्षाको पहिलो लक्ष्य पुरा भयो । 

दोश्रो लक्ष्य सृजनशीलता हो । बालबालिका सृजनशील भएका छन् कि छैनन् ? सृजनशीलता के हो ? हेर्ने बुझ्ने कुरा फरक होला तर भनिन्छ सबै भन्दा धेरै सृजनशील भनेको परमात्मा हो रे । उसले जे सोच्छ त्यही पुग्छ । सृजनशीलताको अन्तिम परिभाषा त्यही हो । कर्म नगरी सोच्दा मात्रै पुरा हुने सृजनशीलता हो । हिन्दु उपनिषद् भन्छ एक दिन भगवानले म एक्लै भएँ अब धेरै हुन्छु भने त्यसै दिन सृष्टि भयो, त्यसैलाई विग ब्याँग पनि भनिन्छ । त्यो सृजनशीलताको उच्चता हो । दिव्यता हो । त्यो परमात्माको सृजनशीलताबाट हाम्रो तहको सृजनशीलता के हो भने पुराना समस्याको नयाँ समाधान हो । त्यो सृजनशीलता बालबालिकामा छ कि छैन ? त्यो महत्वपूर्ण हो । 

यदी सृजनशील विद्यार्थी छन् भने पेशाको चिन्ता छैन । सामान विक्दैन, न समाना न बस्तु न सेवा यहाँ किब्ने भनेको सृजनशीलता हो । यसका लागि विद्यालयमा समस्या प्रतिको आँखा कस्तो छ ? जहाँ खुसीयाली छैन त्यहाँ सृजनशीलता हुँदैन । 

तेश्रो लक्ष्य, जिम्मेवारी पन हो । बालबालिकाले जिम्मेवारी सिकेको छ कि छैन ? विद्यालयमा दिईएका सबै काम समयको वरीपरी व्यवस्थित गरेका छौं कि छैनौं ? आज समय अनुसार जिम्मेवारी पुरा भएन भने भोली उसले पाउने जिम्मेवारी कसरी पुरा होला ? आज जो पनि सचिव मन्त्री भएका छन् ति सबै हाम्रो हातबाट बनेका हुन् । यदी देश विग्रिएको हो भने, हाम्रो हातबाट बचेका व्यक्तिले देश विगारेका हैनन्, हामीले बनाएका मान्छेले देश विगारेको हो । शिक्षकले बनाएका छौं भनेको त बिगारेर पठाएका रहेछौं भन्ने बुझे हुन्छ । कुनै पनि राजनीतिक दलले बनाएको चुनावी घोषणापत्रमा उल्लेख बाचा पुरा भएन भने हामीले बुझ्नु पर्छ पक्का पनि कक्षा कोठामा केही न केही गडबडि छिरेको छ । शिक्षामा काम गर्छु अनी म राजनीतिलाई गाली गर्छु भनेर हुँदैन, यो कुनै सम्भावनै छैन । हामीसँग नैतिक अधिकार नै छैन कसैलाई गाली गर्ने । शिक्षामा काम गर्न थालेको दिन बाटै हामीले अरु कसैलाई गाली गर्ने नैतिक अधिकार गुमाईसकेका छौं । अब हरेक कुराको जिम्मेवारी आफूले लिन सक्ने हुनु पर्छ । 

आफ्ना विद्यार्थी अह्राउन पनि सक्ने र अह्राएको पनि मान्ने छन् कि छैनन् ? यत्ति कुरा कक्षा कोठामा ध्यान दिनु होला । 

चौथो लक्ष्य, समूह कार्य हो । जब जिम्म्ेवारी पन आउँछ नी अनी टिम वर्क शुरु हुन्छ । खुसी नभई सृजनशील हुँदैन, सृजनशील नभई जिम्मेवार हुँदैन, जिम्मेवार नभई समूहमा काम गर्न सक्ने हुँदैन । बालबालिकालाई विद्यालयमा जति पनि कुरा सिकाउँछौं सबैमा समूहमा काम गर्न कत्तिको सिक्छन् ? हरेक शिक्षकले याद गर्नु पर्छ । १० जना विद्यार्थीको समूहमा काम दिनु भएको छ भने सबै मिलेर काम गरेका छन् ही छैनन् ? मेरो टिममा जो छन् ती म भन्दा फरक छन् भन्ने सोच छ कि छैन विद्यार्थीमा ? मल्टिनेशनल कम्पनी बन्न किन सकेको छैन ? पक्कै पनि हाम्रा विद्यार्थी मिलेर काम गर्न सक्ने छैनन् की । 

पाँचौ लक्ष्य, व्यक्ति भित्रको दिव्यता जगाउनु हो । हरेक व्यक्ति भित्र दिव्य ज्ञान हुन्छ । तीन बर्ष सम्मका बालबालिकामा त ईगो नै हुँदैन । उनीहरुलाई लोभी बनाउने त हामीले हो ।  बालबालिकाको त्यो दिव्यतालाई जगाउने शिक्षा छ कि छैन ? अहिले वातावरण, पर्यावरण विग्रियो के बालबालिकाले त्यसमा मेरो पनि भूमिका छ भन्ने बुझेको छ ? 

यी लक्ष्यमा काम गर्न सक्ने विद्यार्थी बनाउन विद्यालयहरुले कुन कुन तयारी गर्नु पर्छ ? यस बारेमा धेरै अनुसन्धान भएका छन्, त्यसलाई अभ्यास गराउन जरुरी छ । पाठ्यक्रममा कसरी लैजाने ? दैनिक व्यवहारमा कसरी लैजाने जीवन विज्ञान मार्फत् हामी काम गर्दै छौं । नवप्रतिभा विज्ञान अन्र्तगत बालबालिकासँग यो ज्ञान कसरी पुर्याउने भनेर हामीले काम गरिरहेका छौं । हामीले करीव छ लाख विद्यार्थीलाई नवप्रतिभा विज्ञानमा सामेल गरिसकेका छौं । संयौ विद्यालयहरु सहभागी छन् । नेपालमा मात्रै नभएर विभिन्न देशमा हामीले केही अभ्यास गरेका छौं । विद्यालयमा आध्यात्मिक वातावरणको निर्माण कसरी गर्ने ? आध्यात्मिक भनेको धार्मिक हैन । व्यक्ति भित्रको आध्यात्म जगाउने कुरा हो । धेरै विद्यालयहरुले असाध्यै राम्रो काम गर्नु भएको छ । 

समाजमा आध्यात्मिक चेतना नआए सम्म देशले खोजे जस्तो मान्छे बन्दैन । यसको शुरुवात विद्यालयबाटै गर्नु पर्छ । आर्थिक विकास गरेर राम्रो गर्यौं भने पनि आध्यात्मिकता विना आर्थिक प्रगती हुन्छ भने सबै भन्दा बढि कुलत जन्मन्छ । शिक्षा नबिग्रेको भए देश त बिग्रदैं बिग्रदंैन । 

कसरी गर्ने त ? 

पहिलो, पाठ्यक्रमबाट गर्न सकिन्छ । पाठ्यक्रममा नभए पनि अतिरिक्त कृयाकलाप गर्न सक्छौं । शिक्षा मन्त्रालयले नगरे पनि शिक्षकहरुले पाठ्यक्रम निर्माण गर्न सक्ने ठाउँमा हाम्रा शिक्षक छन् । शिक्षकले नै उही पाठ्यक्रमलाई नयाँ ढंगको बनाईदिन सक्ने ल्याकत राख्छन् । माथि उल्लेख गरिएका पाँच लक्ष्य पुरा गर्ने पाठ्यक्रममा शिक्षक केन्द्रित हुन जरुरी छ । यसका लागि सामुहिक प्रयास गरौं । 

दोश्रो शिक्षक कर्मचारी तालिम । पाठ्यक्रम बनाएर मात्रै भएन, उनीहरुलाई योग्य बनाउने र त्यो ज्ञान वितरण गर्ने तालिमको ढाँचा तयार गर्नु पर्छ । माथि उल्लेख पाँच लक्ष्यका लागि शिक्षकलाई सक्षम बनाउन जरुरी छ । आध्यात्मिक शिक्षाको तालिम कसरी दिने त ? आधुनिक हुँ भन्ने विद्यालयहरुलाई आध्यात्मिक भनेको रुढिवादी, पुजा पाठ, जनै लगाउने कुरा सिकाउने हो कि भन्ने पर्न सक्छ । अध्यात्म भनेको आधुनिकको पनि आधुनिक कुरा हो । जतिसुकै नविनतम् कलेवरमा पनि आध्यात्मिक बन्न सकिन्छ । शिक्षक कर्मचारीको तालिममा यस्ता विषय समेट्नु पर्छ । 

तेश्रो कुरा, कक्षाको दिन कसरी प्रारम्भ गर्ने ? परेड, एसेम्ब्लि मात्रै गर्ने कि ध्यान पनि सिकाउने ? ध्यान नसिकाईकन आध्यात्मिक शिक्षा तर्फ जान सकिदैंन । ध्यान सिकाउन हरेक कर्मचारी र शिक्षकले ध्यान सिकेको हुनु पर्छ । हामीले संयौं विद्यालयमा प्रयोग गरेर हेरेका छौं । 

विद्यालयमा विहान पहिलो काम पाँच देखि १० मिनेट ध्यान गर्दा विद्यालयमा विद्यार्थी अनुपस्थित हुने क्रम नै भएन । ध्यान सिकाउने बित्तिकै बिगारेर हैन बनाएर खुसी हुने बालबालिका बन्दै छन् । विद्यालयमा जे गर्छ बालबालिकाले जीवनभर त्यही गर्छ । बालबालिकाको लागि विद्यालय रोल मोडल हुन्छ । 

चौथो कुरा, कक्षाको दौरानमा के गर्ने ? यसमा पनि ध्यान दिन जरुरी छ । अमेरिकाको एक अनुसन्धानले के पत्ता लगायो भने सिकाइको एउटा मात्रै अवरोध भनेको आन्तरिक सञ्चारको कमी हो । व्यक्ति भित्रको नकारात्मक वृत्ति कसरी तोड्ने ? आन्तरिक रुपमा मन भित्र भित्र सृजना हुने अनावश्यक कुराकानीलाई तोड्ने महत्वपूर्ण कुरा ध्यान हो । कक्षा चलिरहँदा पनि बालबालिकाको लागि छोटा ध्यानमा केन्द्रित गर्न सक्छौं । यस्ता बालबालिकाले बम बनाउँदैन, बनायो भने पनि कलम बनाउँछ । अरुलाइृ दुख दिएर खुसी हुने कुरा सोच्नै सक्दैन । 

पाँचौ, कक्षा सकिने बेलामा के भन्ने ? आज दिनभरी कक्षामा के सिक्यौ धन्यवाद दिन सिकाउँ । बालबालिकालाई अनुग्रहको भाव विकास गराउँ । आमा बाबु, देश, हजुरबा, हजुर आमा प्रति अनुग्रह छ कि छैन ? दिनको अन्त्यमा के गर्ने ? कमसेकम धन्यवाद दिने सोचको विकास गराउँ । नास्तिकै भए पनि ईश्वरको हाईपोथेसिसले काम गर्न सक्छ । यस तर्फ केन्द्रित गराउँ । 

विद्यालयहरुलाई आध्यात्मिक शिक्षामा केन्द्रित गर्ने हो भने देशको कुल ग्राहस्थ उत्पादन मै वृद्धि हुन्छ । विदेशमा भएका नेपालीका सन्ततीलाई नेपाल चिनाउन, संस्कार संस्कृती चिनाउन पनि यहीँ पढाउने क्रम बढेको देखिएको छ । यसले विदेशीलाई पनि आर्कषित गर्ने सम्भावना प्रवल छ । यसले नयाँ सम्भावना देखिन्छ । 

जीवन विकास विशेषज्ञका रुपमा परिचित शर्माले निजी विद्यालयहरुको संगठन प्याब्सनले आयोजना गरेको सम्मेलनमा व्यक्त गरेको विचारको मुख्य अँश । २० बर्ष सम्म शिक्षणमा रहेर हाल जीवन विज्ञानका संस्थापकका रुपमा सकृय शर्माको अभियान हाल ६० देशमा सञ्चालनमा रहेको बताईन्छ । १५ सय प्रशिक्षक मार्फत् प्रत्येक दिन ५० हजारले अध्यात्म र योगको लाभ लिएको संस्थाको दावी छ । 

प्रतिक्रिया