Edukhabar
आइतबार, ०६ साउन २०८१
बहस

विद्यालय शिक्षामा सिद्धान्तको विश्लेषण

के विद्यालय शिक्षामा ज्ञानको भण्डारण र रुपान्तरण सिद्धान्त गलत छैन ?

बुधबार, २३ जेठ २०८१

विद्यालय शिक्षाको ज्ञानको भण्डारण र रुपान्तरण सिद्धान्त वास्तवमै गलत छ । मलाई त लाग्छ– परम्परा देखि अहिले सम्मकै  विद्यालय शिक्षाको सिद्धान्त जो छ त्यो शिक्षा भनेको शिक्षकमा ज्ञान र कुशलताको एउटा विशाल भण्डार छ जुन शिक्षकले विद्यार्थीसम्म पुर्याउँछ वा विद्यार्थीलाई स्थानान्तरण गर्छ र विद्यार्थीले ग्रहण गर्छ भण्डारण गर्छ, सिक्छ र  त्यसमा पोख्त हुन्छ भन्ने मान्यता छ । 

विद्यार्थीले के पढ्नुपर्छ ? के पढ्नु पर्दैन ? के सिक्नु पर्छ के सिक्नु पर्दैन ? के जान्नु आवश्यक छ के जान्नु आवश्यक छैन ? भन्ने कुराको निर्णय वयस्कले गर्ने हो ? पूर्व निर्धारित हुने, समय गतिमा छ भन्ने, परिवर्तन निश्चित  छ भन्ने अनि पूर्व निर्धारित र संरचित गर्ने ! यो मिल्छ ? यो कस्को अधिकार हो गहिरो गरि सोच्नुहोस् त !

विद्यालय ज्ञान हस्तान्तरण गर्ने वातावरण निर्माणको सर्जक हो भन्ने मान्यता छ । के साँच्चै विद्यालयमा ज्ञानको भण्डार हुन्छ ? र यसको ट्रान्सफर हुन्छ ? त्यसैको लागि यो सारा व्यवस्था गरिएको हो ? मलाई त यस्तो हुन्छ भन्ने पटक्कै लाग्दैन ।

ज्ञान त बालकले निर्माण गर्ने कुरा हो । बालकले सिर्जना गर्ने कुरा हो । उसले आफूमा सिप विकास गर्ने कुरा हो । ज्ञानको भण्डार हुन्न । ज्ञान हस्तान्तरण हुन्न । सिप हस्तान्तरण हुन्न । निर्माण हुन्छ । 

प्रत्येक ज्ञान मौलिक तथा व्यक्तिगत हुन्छ । विश्वव्यापी, सर्वव्यापी केही हुन्न । औसत हिसाबले यो हासिल हुन्न । कक्षा कोठाको अवधारणा सिद्धान्तः गलत छ । व्यवहारीक हिसाबबाट त कुरै नगरौँ । जसरी कोही एक व्यक्ति अर्कोसँग मिल्दैन । फरक हुन्छ त्यस्तै । यो मिल्दै मिल्दैन ।

विद्यालयले अपनाएको शिक्षाको जुन सिद्धान्त छ जो अत्यन्तै थोत्रो काम नलाग्ने भएको छ । त्यसो भए अब शिक्षा, सिद्धान्त कस्तो अवलम्बन गर्ने ? कस्तो प्रणाली ? विद्यालयको व्यवहार कस्तो हुने ? के काम गर्नुपर्छ विद्यालयले ? उसो भए विद्यालय शिक्षाको सही सिद्धान्त के हो त ?

के शिक्षकलाई थाहा छ अबको पाँच वर्ष पछाडि के हुन्छ ? एउटै ज्ञान सीप दिएका विद्यार्थी एकै हुन्छन् ? त्यही बन्छन् ? ज्ञानको कति विष्फोटन हुन्छ ? सिपहरु के के विकास हुन्छन् ? समाजको गति के हुन्छ ? प्रविधि कहाँ पुग्छ ? बालकले के को लागि तयारी गर्नुपर्छ ? थाहा छ तपाईँ हामी शिक्षकलाई ? छ भने भन्नुहोला.....कमेण्ट मार्फत ।

त्यसैले म जोड दिएर भन्छु – यो हाम्रो विद्यालयले अपनाएको शिक्षाको जुन सिद्धान्त छ जो अत्यन्तै थोत्रो काम नलाग्ने भएको छ । त्यसो भए अब शिक्षा, सिद्धान्त कस्तो अवलम्बन गर्ने ? कस्तो प्रणाली ? विद्यालयको व्यवहार कस्तो हुने ? के काम गर्नुपर्छ विद्यालयले ? उसो भए विद्यालय शिक्षाको सही सिद्धान्त के हो त ? 

प्रारम्भ 

कक्षा कोठालाई पढाउने, सिकाउने, पढ्ने, सिक्ने औपचारिक रूपमा भन्दा पनि कार्य गर्ने स्थलको रूपमा तथा रुची अनुसार कार्य गर्ने ठाउँको रूपमा उपयोग गरिनु पर्छ । जुन औपचारिक कक्षा कोठाको दायरालाई भत्काएर, शिक्षा, कक्षा कोठा, शिक्षक, विद्यालयको पुनः परिभाषीकरण तथा विनिर्माण गरेर, जुन पुरानो अर्थात अंग्रेजी  सिद्धान्त तथा मान्यता भत्काएर मात्रै सम्भव हुन्छ । अर्थात् धेरै पुरानो हिसाबमा हेर्दा हाम्रो वास्तविक तथा मौलिक पद्धति उत्कृष्ट  थियो त्यसकै खोजी र त्यसकै आधार र त्यसकै अनुरुप अगाडि बढ्नु बान्छनीय हुन्छ । त्यसको लागि विद्यालयले, सरोकारवालाहरुले धेरै नै विचार र विवेक पुर्याउनु पर्छ र सावधानी पूर्वक खोजी गर्नुपर्छ ।

शिक्षक सिकाइ सहजीकरणको एउटा सहजकर्ता मात्रै हो । त्यो भन्दा ठूलो उसको भूमिका हुँदैन । सिकाइ तथा गराइको एक सहयोगी, मार्गदर्शक, वातावरणको निर्माण कर्ता, छलफल कर्ताको एउटा भूमिका र सहसिकारू मात्रै हो । जसले बालकलाई सृजनशील बन्न, स्वयं उसको ज्ञान निर्माण गर्ने कुरामा रचनात्मक हिसाबले सहयोगी बन्न सक्ने व्यक्ति मात्रै शिक्षक हो ।

विद्यालयले जोगाइदिने र उजागर गर्ने भनेको बालबालिकाको गहिरो र विस्तृत जिज्ञासा,  कुरा बुझ्न सक्ने उसको क्षमता, कल्पना क्षमता, उसको विश्वास, उसँग भएकै ज्ञानको आन्तरिकरण, दिन प्रतिदिन समाजसँग प्रकृतिसँग साथीभाइसँग गरेको अन्तरक्रियाबाट सिर्जित ज्ञान र अनुभव,  उसको मौलिकपना, उसको उत्तम खालको सोच्ने तरिका आदिलाई हो । उसलाई आत्मविश्वासले युक्त भएको अनुसन्धान तर्फ उन्मुख गर्ने जोस बढाइदिने कार्यमा विद्यालयले भूमिका खेल्नुपर्छ ।

साँच्चै विद्यालयले सिकाउने नै हो भने बालकलाई मौलिकता, सृजनशीलता, सोच्ने तरिका, प्रेम, प्रोत्साहन, मूल्य, तत्परता, जोश, शाहस, कार्य प्रति लगनशीलता, उत्प्रेरित हुने कुरा सिकाउनु पर्छ । कल्पना, परिकल्पना, गति, परिवर्तन, सम्भावना, सिक्ने हुटहुटी सिर्जना गरिदिनु पर्छ ।  जीवनको पूर्ण तयारी गराउनु पर्छ ताकी उसको भावी  जीवन र भविष्य सुन्दर र सुरक्षित होस् ।

अहिले चर्चा छ–  TRT को अर्थात् प्रसारण / सम्प्रेषण, सुधारात्मक र रूपान्तरित पद्धतिको । साथै चर्चा छ – CRT को क्रिटिकल पेडागोजी, रिफ्लेक्टिभ पेडागोजी, ट्रान्स्फर्मेटिभ पेडागोजीको मतलब  समालोचनात्मक सिकाइ, प्रतिविम्वात्मक सिकाइ र रूपान्तरित सिकाई विधिको । 

मलाई लाग्छ– शिक्षकको ज्ञान विद्यार्थीमा रुपान्तरण हुँदैन तर विद्यार्थीले सिकेको, जानेको, भोगेको अनुभव गरेको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न सक्छ ।

शिक्षा स्वयं आर्जन गरिने, आत्मनुभूति हुने, अनुभव र अनुभूतिबाट प्राप्त हुने चिज हो जुन पढाइ र सिकाइबाट होइन, गराइबाट प्राप्त हुने अत्यन्तै परिवर्तनशील, सान्दर्भिक, मूल्यवान जीवनकै सर्वाधिक महत्वपूर्ण र पूर्ण अङ्ग हो । पूर्ण जीवन नै शिक्षा हो । शिक्षा नै पूर्ण जीवन हो । शिक्षा र जीवनलाई शिक्षक र विद्यालयले जोडले र पूर्ण बनाउने कुरामा रचनात्मक हिसावले लाग्नुपर्छ ।

बालबालिबालाई निर्देशित, नियन्त्रित, संरक्षित र सूत्रवद्ध बनाउनु हुँदैन । त्यसले उसलाई आफ्नो जीवनमा कुनै पनि काम गर्न दिँदैन, काम लाग्दैन तथा सफल हुन पनि सक्दैन । शिक्षक र विद्यालयले ज्ञान, पढाइ, सिकाइ, गराई र बालकको जिन्दगीलाई  जोड्नुपर्छ । त्यो जोडाउने सेतुको काम शिक्षक र विद्यालयले गर्नुपर्छ ।

पाण्डे, श्री सुनपकुवा माध्यमिक विद्यालय, उर्लाबारी -२, मोरङका शिक्षक हुन् । 

प्रतिक्रिया