Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

ज्ञानेन्द्र शाहलाई स्मरण गर्दै प्रधानमन्त्रीलाई सम्बोधन, नशा कसैले तर्साएर उत्रिदैंन !

सोमबार, २५ असार २०७५

चिकित्सा शिक्षा विधेयकको अन्र्तवस्तुका बारेमा विधेयक प्रस्तुत हुने बेलामा निश्चय पनि छलफल हुने नै छ । म अहिले डा. गोविन्द केसीको जीवन रक्षाको विषयमा केन्द्रित हुन चाहन्छु । 

गोविन्द केसीको मागको विषयलाई लिएर चिकित्सक संघका साथीहरु सम्माननीय प्रधानमन्त्री ज्यूलाई भेट्न गएका रहेछन् ।

प्रधानमन्त्री जीले भन्नु भएछ – एउटा ब्यक्तिले भनेर डराउने मान्छे म हैन । स्वास्थ्य क्षेत्रमा के गर्दा हुन्छ कसैले मलाई सिकाउनु पर्दैन । 

२०५९ सालमा महाराज ज्ञानेन्द्रले शासन लिई बक्स्यो । रत्नपार्कमा केही मानिसहरु संसदको पुर्नस्थापनाको माग राखेर सडकमा बसेका रहेछन्, महाराजको शुभचिन्तकले गएर महाराजलाई भनेछन् रत्नपार्कमा केही मानिसहरु कराईरहेछन् ।

के भनिरहेका छन् ? महाराजले सोधिबक्सेछ । 

उनीहरुले भनेछन् – महाराजले गरेको कामले देशको भलो हुँदैन । 

महाराजले भनिबस्केछ – पृथ्वी नारायण शाहको वंशज म ज्ञानेन्द्र शाहलाई सिकाउने ? सिकाउने मानिसहरु को हुन् ? 

उनले भनेछन् गिरिजाप्रसाद, माधव नेपाल, भरतविमल यादव, नारायणकाजि श्रेष्ठ (नारायणमान विजुक्छे हुनु पर्नेमा उनले श्रेष्ठको नाम लिए - सं.) लगायतका केही मानिसहरु ४–५ सय मान्छेहरु लिएर बसेका छन् । 

४–५ सय मान्छेको झुण्डले महाराजलाई सिकाउने ? 

आज समय बदलिएको छ । पात्रहरु बदलिएको छ । 

कर्णालीमा एउटा चिकित्सक अनसन बसेका छन् । 

केही शुभ चिन्तकहरु सम्माननीय प्रधानमन्त्रीलाई भन्न गएछन्, ती डाक्टर भन्दै छन् – यसो गर्यो भने देशको स्वास्थ्य क्षेत्रको भलो हुँदैन । 

सम्माननीय प्रधानमन्त्री जीले भन्नु भएछ – दुई तिहाई संख्या र समर्थन भएको प्रधानमन्त्रीलाई एउटा चिकित्सकले सिकाउने ? देशको भलो के गर्दा हुन्छ भनेर ? 

उनको समर्थनमा को छ ? 

भनेछन् – केही थान काँग्रेसहरु संसदमा हल्ला गर्दैछन्, अनी केही थान मानिसहरु माईतिघर मण्डलामा हल्ला गर्दैछन् । 

ए ! केही थान मानिसहरुको भरमा दुई तिहाई शक्ति भएको प्रधानमन्त्रीलाई सिकाउने ? 

मलाई बडो दुख लागेको छ सम्माननीय सभामुख महोदय, मलाई चिन्ता पनि लागेको छ । 

महाराज झुकिबक्स्यो, संख्या हेरेर टाउको गनेर ।

सत्यको पक्षमा उभिदैं गर्दा, फगत एक जना भए पनि पुग्छ । 

आज डाक्टर गोविन्द केसी सत्यको पक्षमा उभिनु भएको छ । त्यो उभिदैं गर्दा खेरी, मान्छे कति छन् नहेर्नुस् सम्माननीय प्रधानमन्त्री ज्यू, टाउको कति छन् नहेर्नुहोस् । सदनको टाउको पनि नगन्नुस् । 
म यो बेलामा सम्माननीय प्रधानमन्त्री ज्यूलाई शुभकामना दिन चाहन्छु, म चिन्ता ब्यक्त गर्न चाहन्छु ।

मैले आज मात्रै बुझ्ने प्रयास गरेँ, डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिती विग्रिएको छ । म विनित भएर आग्रह गर्दछु – उहाँलाई चिन्नुहोस् । 

कुनै झण्डा उहाँ सँग छैन, कुनै लो भछैन, स्वार्थ छैन केवल नशा छ, त्यो नशा नेपालको चिकित्सा शिक्षा सुधार्ने नशा छ । 

त्यो नशा कसैले नजरअन्दाज गरेर उत्रिदैंन, कसैले तर्साएर पनि उत्रदैंन । 

उहाँको माग सम्बाधेन गरौं नेपाली काँग्रेस सरकारसँग मिलेर काम गर्न तयार छ । यसलाई हाम्रो विचको छलफलको विषय नबनाउँ हामी पनि भन्छौं । 

चिकित्सा शिक्षा विधेयक हिजो हामी सँगै बसेर ल्याएको विधेयक । यसका एउटा एउटा अन्र्तवस्तुमा हामीहरु छलफल गर्न तयार छौं । चिकित्सा शिक्षा विधेयक आज सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय शिक्षा मन्त्री ज्यूले एउटा दुईटा ब्यक्तिको स्वार्थको कुरालाई छाडेर मात्रै हेर्ने हो भने, हामी संगै बसेर डाक्टर गोविन्द केसीको अनसनलाई सम्बोधन गरेर एक ठाउँमा उभिएर पारित गर्ने अवस्था छ । 

(चिकित्सा शिक्षा सुधार तथा डा. गोविन्द केसीको अनसनका सन्दर्भमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुद्धारा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रति काँग्रेसका सांसद थापा द्धारा ब्यक्त विचार) 

फाईल फोटो

प्रतिक्रिया