Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

शिक्षक आयोगको परीक्षा तयारी : केही टिप्स

बुधबार, २३ साउन २०७५
यो आलेख शिक्षक सेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीलाई लक्षित गरी तयार गरिएको हो । यसमा मुख्य गरी वस्तुगत प्रश्नको तयारी गर्ने केही तरिकाहरुलाई प्रस्तुत गरिएको छ । यो आलेख प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहँदाका केही व्यक्तिगत अनुभव र केही सहजीकरणका अनुभवका आधारमा तयार गरिएको छ । हरेक व्यक्तिका पढ्ने शैली आ आफ्नै त हुन्छन् नै तर विषयवस्तुलाई कसरी तयारी गर्ने भन्ने सन्दर्भमा मात्र यसलाई जोड्न खोजिएको छ । 
 
यसलाई विज्ञताको दृष्टिमा भन्दा अनुभवको सन्दर्भमा प्रस्तुत गरिएको छ र पाठकले पनि त्यसरी नै लिनुहुनेछ भन्ने विश्वास लिएको छु । 
 
- परीक्षाको तयारी गरिरहँदा आफुले पढ्नै पर्ने कुरा के हो भन्ने जान्नु अत्यन्तै आवश्यक हुन्छ । मेरो सम्पर्कमा रहेका प्राथमिक तथा निमाविका केही परीक्षार्थीले संविधानको भाग १ देखि नै पढिरहेका छन् । शिक्षा आयोगको प्रतिवेदन २०११ र २०१८ पनि पढ्दै गरेको पाएको छु । निमाविको तयारी गरिरहेकाहरुले सार्क र अन्य देशको संरचना, प्राविकाहरुले नासा प्रतिवेदन र केन्द्रीकरण तथा विकेन्द्रीकरणको सामग्री खोजेको पाइएको छ । त्यसैले आयोगले निर्धारण गरेको पाठ्यक्रम अनुसार आफुले पढ्नुपर्ने विषयवस्तु के हो र कति हो भन्ने छुट्टाउनु ज्यादै महत्वपूर्ण र आवश्यक हुन्छ । प्रावि तहमा विभिन्न ५१ वटा, निमावि तहमा ७१ वटा र मावि तहमा ९१ वटा विभिन्न शीर्षकमा तयारी गर्नुपर्ने भएकाले विषयवस्तुमा बढी केन्द्रित हुनु पर्ने देखिन्छ । 
 
- विषयवस्तुको आधारभूत ज्ञान नभई त्यस विषयको गहिराईमा गएर तयारी गर्नु जरुरी हुँदैन । अधिकांश परीक्षार्थीले नयाँ कुरा भेटना साथ त्यसलाई पढ्न हतार गर्ने तर त्यही भेटेर पढेको कुरालाई अर्को पटक द्धिविधामा नपर्ने गरी निश्चित गरेर पढ्ने गरेको पाइँदैन । कुनै पनि कुरा पढ्दै छौँ भने त्यसलाई एक पटक राम्रोसँग नबिर्सने गरी पढौँ, टिपौँ ताकि एउटै विषयवस्तुलाई पटक पटक उत्तीकै समय दिन नपरोस् । 
 
उदाहरणको लागि नाम परिवर्तन भएको मन्त्रालयको नाम ठ्याक्कै के हो भनेर भन्न सक्ने अवस्था हुँदैन तर मन्त्रालयमा सचिव को छ ? महाशाखा र शाखा कति छन् ? त्यसका नाम के हो भन्नेमा अत्यन्त चासो दिएको देखिन्छ । जिल्ला शिक्षा कार्यालय खारेज भएको निर्णय नेपाल सरकार मन्त्रीपरिषद्ले २०७४।१२।२७ मा गरेको हो र यसको सट्टा जिल्ला प्रशासन कार्यालयको मातहत शिक्षा विकास तथा समन्वय इकाइ स्थापना गरेको हो । अहिले पनि थुप्रै परीक्षार्थी यसको नाम ठ्याक्कै यही भन्न सक्ने अवस्थामा भेटिदैनन् । कसैले जिल्ला जोड्छन्, कसैले समिति थप्छन् ! परीक्षाको फारम भरेर भौचरमा आफैले लेखेको शिक्षा विकास तथा समन्वय इकाई हो भन्ने सुनिश्चित भएको छैन । त्यसैले जुन कुरा पढ्दै छौँ त्यसलाई निश्चित गरेर पढ्दा प्रतिस्पर्धामा सहयोग पुग्छ । 
 
- कतिपय परीक्षार्थी राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ र शिक्षा ऐन २०२८ भन्दा अलमलमा परेको पनि पाइन्छ । शिक्षा नियमावली र शिक्षक सेवा आयोग नियमावली फरक फरक हुन् भन्नेमा पनि द्धिविधा देखिन्छ । त्यसैले कुनै पनि कुरा पढ्दा आफूले के पढ्दैछु र त्यही कुरा अर्को कुनै विषयवस्तुसँग कसरी सम्बन्धित छ वा कसरी असम्बन्धित छ भनेर पनि हेर्नुपर्छ । शिक्षा ऐन २०२८ र राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएको मिति र जिल्ला एउटै हो, तर शिक्षा ऐन कानुन हो र अहिले पनि छ, भने योजना लागू भयो र त्यस पछि शैक्षिक व्यवस्थामा थुप्रै परिवर्तन आए भनेर फरक के हो ? भन्ने छुट्टाउन सक्नु पर्छ ।
 
- पढ्ने विषवस्तुलाई यति हो भनेर भन्न सकिने अवस्था छैन । प्रश्न सोध्नेले शीर्षक देखे पछि जताबाट सोध्न सक्छ तर त्यसो भनेर परीक्षाको तयारी गरिरहँदा सबैकुरा कण्ठ पार्न सकिदैन र संभव पनि हुँदैन । आयोगको पाठयक्रम र प्रश्नको ढाँचाले कण्ठ पार्ने ज्ञान खोजेको देखिन्छ । परीक्षार्थीले कण्ठ त पार्नै पर्ने छ तर थोरै समयमा अरु धेरै कुरा बुझ्न सकिन्छ भनेर हेर्नुपर्छ । उदाहरणको लागि १९९६ को इस्तिहार र २०२८ को संरचना एउटै छ भने एउटा मात्र संरचना पढ्ने र त्यसलाई कण्ठ पार्ने अनि दुईवटा एउटै हुन भनेर बुझ्ने । २०४९ को कक्षा १० सम्मको संरचना र २०२८ भन्दा अगाडिको संरचना एउटै हो भने त्यसलाई पनि एउटा मात्र पढ्ने र यो संरचना यता र यसरी मिल्छ भनेर विषयवस्तुको सम्बन्ध स्थापित गरिदिनुपर्छ । शिक्षाका राष्ट्रिय उद्धेश्य पढ्दै हुनुहुन्छ भने २०४९ का ७ वटा उद्धेश्य मध्ये पाँचवटा उद्धेश्य अहिले पनि मिल्छन् भने कुन कुन उद्धेश्य मिल्छन् भनेर हेर्नु पर्छ । यसरी हेर्दा अहिलेका १२ वटा पढेकै ज्ञानले २०४९ को पाँचवटा जान्न सकिन्छ । 
 
- माध्यमिक तहका परीक्षार्थीले २०११ देखि २०५८ सम्मका ६ वटा शिक्षा आयोगका प्रतिवेदनहरु पढ्नुपर्छ । त्यसमा अध्यक्ष, सदस्य, गठन मिति र प्रतिवेदन बुझाएको मितिलाई तुलना गरेर पढ्ने हो भने ६ वटा प्रतिवेदन मध्ये एउटामा अध्यक्ष, सदस्य, गठन मिति केही छैन । बाँकी पाँचवटा आयोगहरु गठन भएका महिनाहरु जम्मा चारवटा छन् भने प्रतिवेदन बुझाएको मिति एउटाको फागुन र अरु सबैको असार छ । असार पनि १३, १४ र १५ गते मात्र छ । यति कुरा मात्र बुझ्ने हो भने परीक्षामा आउने प्रश्नबाट विकल्प छनौट गर्न कण्ठै गरेको हुनु पर्दैन । 
 
- बहुवैकल्पिक प्रश्नको विशेषता भनेकै सबै उत्तर मिल्दो र सबैभन्दा मिल्दो एउटा हो, त्यसैले बहुवैकल्पिक प्रश्नको तयारी प्रश्न पढेर होइन, विषयवस्तुबाट तयारी गर्नुपर्छ । प्रश्न पढ्दा सोही प्रश्न परीक्षामा आयो र विकल्प पनि पढेकै अनुसार आयो भने त मिलाउन सकिन्छ तर त्यस्तो संभावना कमै हुन्छ । प्रश्न त्यही आए पनि विकल्प फरक हुन्छन् । परीक्षाको प्रश्न बनाउनेले बनाउने विकल्प र कुनै पुस्तकका लागि बनाउने प्रश्नको विकल्प फरक हुन्छन् । विषयवस्तु राम्रोसँग पढेर केही प्रश्नहरुमा हरेक हप्ता वा तीन दिनको अन्तरालमा अभ्यास गर्नु उपयुक्त हुन्छ । 
 
- इतिहास लगायतका कतिपय तथ्य तथ्याङक्हरुमा विभिन्न द्धिविधा र विरोधाभासहरु पनि पाइन्छ् । अहिले आएर सय वर्ष अगाडिको कुनै तथ्यलाई आफ्नै ढंगले व्याख्या गर्न त सकिदैन । यदि इतिहासका तथ्यहरुमै फरक छ भने कहिलेकाँही त्यसमा धेरै समय खेर नफालेर अगाडि बढ्ने हो । जुन कुराको अन्तिम तथ्य आउँदैन त्यसको पछि लाग्ने समयमा अन्य धेरै कुरा पढ्न सकिन्छ । 
 
अहिले पहिलो परीक्षा नियन्त्रक को भन्नेमा दुइथरी विचार छन्  र दुवैथरीका उत्तिकै सान्दर्भिक तर्कहरु पनि छन् । यसको समाधान खोज्छु भनेर लागेर परीक्षार्थीले त्यसको समाधान भेटिदैन भने त्यसको पछाडि किन लाग्नु र ? यसको सट्टा किन दुइवटा भनियो भनेर मात्र हेर्ने हो । परीक्षा नियन्त्रण कार्यालयले हालसम्मका परीक्षा नियन्त्रकहरुको नाम नामेसी तयार गर्दा अभिलेख अनुसार भनेर हरमणी आचार्य लेखेको छ । शैक्षिक इतिहासको बढी प्रयोग हुने स्रोत गोपीनाथ शर्माका किताबमा नन्दराम उप्रेती लेखिएको छ । यस्तो अवस्थामा अलमल हुनु स्वभाविक हो । यसको उत्तर सबैले आफ्नै तरिकाले देलान् । आयोगको प्रश्न बनाउनेले के बनाउँछ मुख्य कुरा त त्यो भयो । यदि विकल्पमा एउटा मात्र आयो भने जो आए पनि समस्या भएन, यदि दुइवटै आयो भने एक पटक प्रश्न राम्रोसँग पढ्नुपर्छ । अभिलेखहरु अनुसार, परीक्षा नियन्त्रण कार्यालयका अनुसार भन्ने आसय आउने गरी प्रश्न सोधिएको छ भने हरमणी होला भने सिधै को थिए, अथवा कसलाई भनिन्छ भनेर सोध्यो भने त्यतिखेर नन्दराम उप्रेती होला । यो एउटा उदाहरण हो । यस्ता धेरै विवादास्पद तथ्यहरु इतिहासमा छन् । यतिवेला आाधारभूत कुरा पढ्ने हो र प्रश्न बनाउनेले पनि यस्ता विवादास्पद कुरा र विवादास्पद उत्तर हुने गरी नबनाउलान् भनेर आफूलाई विश्वस्त पार्ने हो । त्यसको पछि लाग्नुभन्दा त्यही समयमा अरु धेरै तयार गर्नु श्रेयस्कर हुन्छ ।
 
- तथ्याङ्क पढ्न धेरै कठिन हुन्छ भन्ने गरिन्छ । यो स्वभाविक पनि हो तर तथ्याङ्कलाई पनि एउटा कुनै निश्चित विन्दुमा बसरे पढियो भने त्यो सहज र एउटा कुनै निश्चित ठाउँमा पढेको तथ्याङ्कले अन्य धेरैतिर सहयोग गर्छ । 
 
उदाहरणको लागि सबैका लागि शिक्षाका सन् २०१५ सम्मका लक्ष्य पढ्दै गर्दा त्यही सबैका लागि शिक्षाकै लक्ष्यसँग मिल्ने विद्यालय क्षेत्र सुधार योजनाका लक्ष्यहरुलाई राखेर एउटा तालिका बनाउन सकिन्छ । अथवा विद्यालय क्षेत्र विकास योजनाको आधार वर्षको तथ्याङ्क पढ्दा सबैका लागि शिक्षाको सन् २०१५ सम्मको प्रगति कति भएको रहेछ भनेर हेर्न सकिन्छ । २०७४ को तथ्याङ्क पढ्दै हुनुहुन्छ भने अहिले भएको तथ्याङ्क दुई वर्ष अगाडि कति थियो होला भन्न र चार वर्ष पछाडिको विद्यालय क्षेत्र विकास योजनाको लक्ष्य कति होला भनेर भन्न सकिन्छ । तर यसका लागि एकपटक तुलना गरेर हेर्नुपर्छ । जुन जुन तथ्याङक र सूचक मिल्छन् त्यसलाई ठूलो तालिकाबाट निकालेर साना साना तालिका बनाउन सकिन्छ । प्रारम्भिक बालविकासको तथ्याङ्कलाई मात्र अलग गरेर एउटा तालिका बनाउने । अझ संभव भए एकै ठाउँमा यस्ता तालिका नबनाई विषय अनुसार ठाउँ ठाउँमा बनाउने । प्रारम्भिक बालशिक्षा भन्ने कुनै शीर्षक छ भने, त्यसको परिभाषा, त्यसका सक्षमता र त्योसँग सम्बन्धित हाल कति केन्द्र छन्, भर्ना दर कति छ, सन् २०१५ को लक्ष्य कति थियो ? विद्यालय क्षेत्र विकास योजनाले के भन्छ भनेर विषयवस्तुलाई एकिकृत गरेर हेर्दा एकातिर तथ्याङ्कको तालिका सानो बन्छ अर्कातिर विषयवस्तुलाई एकिकृत गरेर हेर्न सकिन्छ ।
 
- ऐन नियमावलीमा भएका विभिन्न संशोधनका मितिहरु भन्दा जारी मिति र पछिल्लो संशोधन महत्वपूर्ण हुन्छन् । बीचमा भएका सबै संशोधनका मितिहरु कण्ठ पार्नु भन्दा पहिला ऐन नियममा भएका व्यवस्थाहरु जान्नु महत्वपूर्ण हुन्छ । मिति नै पढ्न मन लागे पनि त्यसलाई तीन चार कक्षाका विद्यार्थीले गुणन तालिका पढे जस्तो गरी कण्ठ नगरी कुन कुन वर्षमा संशोधन भएको छ ? कति औँ संशोधन कति वर्ष पछि भएको छ ? संशोधनका महिनाहरु कुन कुन रहेछन् भनेर मात्र पनि समिक्षा गर्न सकिन्छ । यसो गर्दा कण्ठै नपारे पनि सही उत्तर अनुमान लगाउन सकिन्छ । 
 
शिक्षक सेवा आयोग नियमावली २०५७ को संशोधन भएका वर्षमात्र पढ्न केही तर्क विकास गर्न सकिन्छ । उदाहरणको लागि जारी भएको दुई वर्षमा एकपटक, त्यस पछिको १ वर्षमा दुई पटक र तेस्रो संशोधन भएको ६ वषर््ामा चौथो संशोधन अनि क्रमश ७१ सम्म हरेक वर्ष भनियो भने संशोधन भएका नौ वर्ष थाहा हुन्छ । यस्तो अवस्थामा कुनै पनि संशोधन सोध्यो भने वर्ष त विग्रदैँन । विकल्पमा विभिन्न कतिपय वर्षहरु दिएको छ भने उत्तर नै मिलाउन सकिन्छ । मितिहरु आफैसँग मिल्छन् भने त्यसलाई जोडेर पढ्नु पर्छ । कसैले २०५८ मा एसएलसी दिएको हो भने मैले एसएलसी दिएको वर्ष के के भएको रहेछ भनेर पनि हेर्न सकिन्छ । कोही २०३८ मा जन्मनु भएको छ भने म जन्मेको वर्ष पाठ्यक्रम कार्यान्वयन योजना लागू भएको रहेछ, २०२८ को संरचना परिवर्तन भएको रहेछ र ग्रामीण विकासका निम्ति शिक्षा परीयोजना (सेती) शुरु भएको रहेछ भन्न सकिन्छ । 
 
- शिक्षा ऐन नियमावलीका मुख्य प्रावधानलाई तालिका वा तुलनात्मक चार्ट बनाएर हेर्न सकिन्छ । ऐनमा भएको राष्ट्रिय शिक्षा परिषद् र नियमावलीमा भएका अन्य सबै परिषद्को अध्यक्ष मन्त्री वा राज्य मन्त्री हुन्छन् भनेर पढ्न सकिन्छ । शिक्षा नियमावली अनुसार जिल्ला स्तरमा गठन हुने जम्मा चार वटा समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुन्छन् भनेर छुट्टाउन सकिन्छ । सबै समितिका मनोनित सदस्यको पदावधि २ वर्ष, ३ वर्ष र ४ वर्ष छ तर धेरैको ३ वर्ष छ । यस्तो अवस्थामा ३ वर्ष हुने धेरै नपढी २ र ४ हुने कुन कुन हुन भनेर अलग गर्न सकिएला । 
 
- पाठ्यक्रम ढाँचा पढिरहँदा मुख्य विषय नेपाली, अङ्ग्रेजी, गणित विज्ञान कक्षा १ देखि १० सम्मै छ भने नेपाली र गणितको पाठ्यभार प्राथमिक तहको फरक छ भनेर पढ्दा पुग्छ । कक्षा ६ देखि ८ का विषयमा पूर्णाङ्क र पाठ्यभार पढ्दा फरक भएको नैतिक र स्वास्थ्य शारीरिकको फरक के हो भन्ने मात्र पढेर अरु सबै विषयको एउटै छ भन्न सकिन्छ । माध्यमिक तहमा पनि मुख्य विषयहरु अरु संस्कृतमा, धार्मिक शिक्षामा पनि एउटै छ भनेर बुझ्न सकिन्छ । अक्षराङ्कन पद्धतिमा ग्रेड प्वाइन्टमा ०.८ बाट शुरु भएर हरेकमा ०.४ का दरले बढ्दै जान्छ भनेर बुझ्ने हो भने धेरै पढ्नै पर्दैन । 
 
परीक्षा पास गर्न पढ्न त पढनै पर्छ । शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम र सोधिएका प्रश्नहरु हेर्दा जति सक्छौ घोक हैँँ भन्न खोजेको देखिन्छ । तर तुलना गरेर, केही फरक र समानता छुट्टाएर, विषयवस्तुलाई एकीकृत गरेर खास तरिकाले पढ्नु आवश्यक हुन्छ । प्रश्नको पाठ्यभार अनुसार विषयवस्तुलाई ध्यान दिनुपर्छ । धेरै प्रश्न आउने विषयवस्तु र थोरै आउने छुट्टाएर त्यही अनुसार समय विभाजन गर्नुपर्छ । कुनै कुरा पढ्दै गरेको छ भने त्यसलाई निश्चित भएर पढ्नु पर्छ । 
समय छोटिदैँछ, समय व्यवस्थापन र विषयवस्तुको व्यवस्थापन पनि महत्वपूर्ण हुन्छ ।
 
यस बारेमा हेक्का गर्न सक्नेले पक्कै राम्रो नतिजा ल्याउने छ । शुभकामना ।
 
(आचार्य, शिक्षक सेवा आयोगको तयारीमा रहेका परीक्षार्थीलाई लक्षित गरी तीनै तहका वस्तुगत प्रश्न सेट र विषयवस्तु सहितको पुस्तक बौद्धिक मञ्चका लेखक पनि हुन् ।) 

प्रतिक्रिया