एउटाका शिक्षक अर्कोमा पदाधिकारी हैन, खाँटी अभिभावकबाट सुधारौं विद्यालय


शिक्षण संस्था फष्टाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक बीच सुमधुर सक्रिय सहभागिता आवश्यक हुन्छ । अभिभावकको रेखदेख र सहयोग विद्यालय तहमा त झन् अपरिहार्य नै हुन्छ । अहिले निजी लगानीमा सञ्चालित विद्यालयको भन्दा राज्यको प्रत्यक्ष लगानी र निगरानीमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदाँे अवस्थामा छ । सामुदायिक विद्यालयमा हुँदा खाने र निजी विद्यालयमा हुने खानेका  छोराछोरी पढ्ने शिक्षण संस्थाको रुपमा व्याख्या गरिनु विडम्बना हो । सामुदायिक विद्यालयमा अभिभावकको सक्रिय सहभागिता जुटाउने तर्फ सरकार र सरोकार पक्षको खासै ध्यान गएको पाईंदैन ।

गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यालय प्रति अभिभावकको अपनत्व र स्वामित्व उत्साहजनक बनाउन सम्बन्धित निकायको चिन्ता र चासो बढाउन विलम्व भै सकेको छ ।

आश्रीतलाई पालनपोषण रेखदेख हेरविचार गरी संरक्षण गर्नेलाई सामान्य अर्थमा अभिभावक भनिन्छ । संरक्षकले आश्रीतको भरण पोषण शारीरिक मानसिक, सामाजिक लगायत चौतर्फि विकासको लागि उपयुक्त वातावरण बनाउने अभिभारा वहन गर्नुपर्छ । अतः आश्रीतको चौतर्फि विकासको लागि आवश्यक साधनस्रोत जुटाउने तीनिहरुको यथोचित सदुपयोग गर्ने कामको स्तरबाट मात्रै सफल अभिभावक मूल्यांकन हुनसक्छ ।

अभिभावक शब्दको ब्यापक प्रयोग शिक्षा क्षेत्रमा महत्वका साथ हुने गरेको पाईन्छ । वर्तमान शिक्षा ऐन, नियमले विद्यालयको व्यबस्थापकीय पक्षमा सेवाग्राहीको स्वामित्व स्थापना गर्ने हेतु व्यबस्थापन समितिको पदाधिकारी बन्न विद्यार्थीको अभिभावक हुनुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ । विद्यार्थीको पढाईसँग प्रत्यक्ष सरोकार राख्ने वर्ग अभिभावक वर्ग पनि हो । तर कतिपय विद्यालयमा काईते तरिकाबाट नक्कली अभिभावक बनेर विद्यालयमा आफ्नो हैकम जमाउने कुत्सीत नियत लिएर पनि प्रवेश गर्ने अपसंस्कृति हावी भएको पाईन्छ ।

विद्यार्थीका अभिभावकले वास्तवमा एक असल अभिभावकको भूमिका निर्वाह गरेका छन् त ? विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीमा खाँटी अभिभावक कतिका पुगेका छन् ? अनि व्यवस्थापन समितिले आफ्नो दायित्व पूरा गरेका होलान् ? विद्यालयको शैक्षिक गतिविधिमा विद्यार्थीको सहभागिता उत्साहजनक छ कि छैन ? यी र यस्तै खाले जिज्ञासा विद्यमान खस्कँदो शैक्षिक उपलब्धीले उब्जाएको छ ।

स्वघोषित नक्कली अभिभावकले विद्यार्थीको हीतको भन्दा आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिमा प्राथमिकता दिएको पाईन्छ । त्यस्तै अभिभावकहरुलाई घरमा बालवालिकाको पठनपाठन कसरी व्यवस्थित गर्न सकिन्छ ? विद्यालयको पठनपाठनलाई व्यवस्थित बनाउनको लागि के कस्तो योगदान पुर्याउन सकिन्छ ?  विद्यालय प्रति अपनत्वको भावना जगाउने खालको कार्यक्रमलाई प्रोत्साहन एवं कार्यान्वयन गर्नु आजको संगठित

अभिभावकहरुका प्राथमिकतामा पर्नु पर्दछ, नकि स्वघोषित पदीय ढोंगी हैसियत प्रर्दशन गर्दै आफ्नो निहित स्वार्थपूर्तिको लागि भजाउने काममा प्रेरीत हुनु !  

खाँटी अभिभावकहरुको व्यवस्थापन समिति गठन गर्ने नीति बनाई उनीहरुको सञ्जाल गठन गरी विद्यालयको शैक्षिक वातावरण गुणस्तरीय बनाउनु पर्दछ । आफ्नो ३ वर्षको कार्यकालका लागि गरिने विद्यालय सुधारको रणनीतिक कार्ययोजना भएको घोषणा पत्र सार्वजानिक गरी उम्मेद्वारी दिई आम अभिभावकबाट अनुमोदित गर्दै पदाधिकारी चयन गर्ने ब्यबस्था भएमा निहित स्वार्थका लागि समितिमा प्रवेश गर्ने दुस्प्रयासलाई निरुत्साहित गर्न टेवा पुग्न जान्छ । र विद्यालय सुधारमा टेवा पुग्छ ।

अर्कोतर्फ एउटा विद्यालयका शिक्षक अर्को विद्यालयको व्यवस्थापन पदाधिकारीमा वसी प्रधानाध्यापक तथा शिक्षकलाई कज्याउने अभिष्ट राख्ने व्यवस्थापन समितिको संख्यामा पनि कमी छैन । जसले आफू कार्यरत रहेको विद्यालयको दूरदशा स्वयंले सुधार्न सकेको हुँदैन । त्यस्ताले अर्को विद्यालयको व्यवस्थापनमा के सहयोग गर्ला !

जसलाई आफ्नो भविष्य नजान्ने तर अरुका भविष्य बारे सुझाव अर्ति उपदेश दिने सडक पेटीमा बस्ने ज्योतिषका हैसियत सँग दाँज्दा अन्यथा नहोला । यस्तो गलत परम्परालाई निरुत्साहित गरिनु पर्दछ । बरु कतिपय अवस्थामा खासगरी मा.वि.को व्यवस्थापन समितिमा विद्यार्थीको प्रतिनिधित्व गराउन सके वढि व्याबहारिक होला कि ? किनकी वास्तविक सेवाग्राही भनेका विद्यार्थी हुन । विद्यार्थी वर्तमानका साझेदार र भविष्यका कर्णधार पनि हुन भन्न यथार्थतालाई विर्सन हुदैन ।

साथै बालवालिका र विद्यार्थीले केही जान्दैनन् भन्ने परम्परागत रुढीवादी मान्यताबाट मुक्त हुनुपर्दछ र कतिपय अवस्थामा धेरै कुराहरु उनीहरुबाट सिक्न सकिन्छ । विद्यालय सुधारका बारेमा उनीहरुसँग पनि केही उपाय हुन सक्छन् ।  तर खाँचो छ उनीहरुको सक्रीय सहभागिता हुन सक्ने वातावरणको । यसका लागि उनीहरुलाई प्रोत्साहन गरिनु पर्दछ ।

लोकतान्त्रिक संंस्कारको अभ्यास गर्ने थलोको रुपमा कक्षा र विद्यालय सञ्चालन गरिनु पर्दछ । शिक्षण संस्था, शिक्षाका सरकारी निकाय र पदाधिकारीको रोजगारीको श्रोत भनेकै विद्यार्थी हुन । अतः विद्यार्थीको कारणवाट विद्यालय खुल्छन् । शिक्षक र शिक्षा निकायका कर्मचारीले रोजगारी पाउँछन आय आर्जनको स्रोत हुन्छ र आफ्नो जीविका चलाउने अवसर पाउँछन् । यथार्थतामा सम्पूर्ण शिक्षाकर्मीको रोगजारदाता विद्यार्थी नै हुन । जागीरको सार्वभौमिकता विद्यार्थीको संख्यात्मक र गुणात्मक हैसियतमा अडेको हुन्छ भन्दा अन्यथा नहोला । शिक्षा क्षेत्रमा कार्यरत पेशाकर्मीहरुको अन्नदाता विद्यार्थी हुन् । विद्यार्थीलाई खुसी पार्न सकेमा मात्र रोजगार सुरक्षित हुने अन्तिम सत्य हो ।

यहाँ नेर अभिभावकले विर्सनै नहुने सत्य के हो भने, विद्यार्थी व्यवस्थापन समितिका पनि अभिभावक हुन् किनकी उनकै कारणवाट पदाधिकारी हुन पाएको यथार्थथतालाई विर्सन हुदैन । तसर्थ उनीहरुको चौतर्फि विकासलाई सर्वोपरी मानेर शैक्षिक गतिविधि सञ्चालन गरिनुपर्दछ । यो विकास भनेको विद्यालयका गतिविधि र शैक्षिक वातावरण सुधारमा अभिभावकको सहभागिता बाट मात्रै सम्भव हुन्छ ।

बालवालिका करिव ६ घण्टा मात्रै विद्यालयमा बस्ने बाँकी १८ घण्टा घर परिवारमा  हुर्कन्छन् । घर बालवालिकाको पहिलो विद्यालय भएकोले पठनपाठनको वातावरण निर्माणमा अभिभाकले घरैबाट धेरैकुरा प्रयोग गरिसकेको हुन्छ । घरको वातावरण शिक्षा आर्जन गर्ने खालको बनाउनको लागि उसले गरेको प्रयोग आफ्ना सन्तान पढ्ने विद्यालयमा पनि निर्माण गर्न अभिभावक सक्षम हुन्छन् भन्ने विश्वास र त्यस अनुसारको सहभागिताले शैक्षिक सुधार सम्भव बनाउँछ । विद्यालयको वातावरण चित्ताकर्षक रमणीय,बनाउन सके विद्यार्थी विद्यालयबाट भागेर घर जानुको साटो घरवाट भागेर  विद्यालय आउँछन् ।                                 

कार्की शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।