Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

अस्थायीको ठाउँमा को ? जसको जुँगा बलियो उसैले नियुक्ति गर्ने हो ?

शनिबार, २२ मंसिर २०७५

हामीसँग कस्ता शिक्षक रहेछन् भन्ने कुरा शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको जारी नतिजा प्रकाशनले देखाईरहेको छ । हिजो समुदायले नियुक्ति गरेको, प्रधानाध्यापकले नियुक्ति गरेको, ब्यवस्थापन समितिको अध्यक्षले नियुक्ति गरेका शिक्षकहरु न्यूनतम ४० अँक समेत नल्याएर फेल भईरहेका छन् ! २०५२ साल यता नियुक्ति भएका शिक्षकहरुको नतिजा हेर्दै जाँदा केही विषय बाहेक अधिकाँश विषयमा पास मार्क पनि नल्याएर शिक्षक उत्तीर्ण हुनु भएन । मतलब यस्ता शिक्षकलाई हामीले भर्ति गरेछौं ।

गएको पाँच बर्ष यता सम्म पनि हामीले शिक्षाका बारेमा चिन्ता गरेका रहेनछौं भन्ने कुरा ईसीडिको संयसेवकको नियुक्तिले पनि देखाईरहेको छ । कक्षा आठको योग्यतालाई बढाएर कक्षा १२ पुर्याउने भन्ने कुरा सुन्दै छु । पाँच सात बर्ष अघि सम्म पनि हाम्रो होस खुलेको रहेनछ । मेरो समुदाय वरीपरी अहिले सम्म बालविकासमा भएका अधिकाँश कार्यकर्ता भनेका ठालुका बुहारीहरु छन् । यति भन्दै गर्दा म सबै शिक्षकलाई अपहेलित गर्न चाहन्न । एकदमै परिश्रमी योग्य शिक्षक पनि हुनुहुन्छ ।

फेरी अस्थायी शिक्षककै कुरा । अस्थायी शिक्षकको परीक्षामा फेल भएका शिक्षकहरुलाई नतिजा ननिस्कउञ्जेल सम्म पर्ख भनेको छ । त्यो नतिजा निस्केको भोली पल्ट कक्षामा को जाने ? खै ब्यवस्थापन गरेको ? पैसा लिएर विदा हुने शिक्षकको ठाउँमा जाने शिक्षक खै ?

महाश्रम शर्माको समितिको प्रतिवेदनले ६० हजार शिक्षक चाहिने भन्यो भन्ने कुरा त परको कुरा हो, अस्थायी शिक्षक घर फर्के पछि कक्षामा जाने शिक्षक को हो ?

मेरै विद्यालयको एक जना सर हुनुहुन्छ । उहाँ भन्नु हुन्छ मेरो त नाम निस्कदैंन होला, मेरो जागिर गईसकेको छ, मलाई बरु एक महिनाको तलब कम भए पनि हुन्छ रिजल्ट भएको भोली पल्ट छाडिदिन्छु भन्नु भएको छ ।

त्यसो हो भने भोली पल्ट कक्षामा जाने शिक्षक को त ? के जसको जुँगा बलियो छ उसैले नियुक्ति गर्ने हो ?

आज भन्दा ५ महिना अघि विज्ञानको शिक्षक नियुक्ति गर्दै गर्दाको घटना सुनाउँछु । जसको नियुक्तिका लागि स्वार्थ थियो त्यसलाई जति नम्बर थपे पनि पास नहुने अवस्था आयो । वडाध्यक्ष र ब्यवस्थापन समितिको अध्यक्ष बीच विवाद भयो, अब पनि यस्तै विवादलाई विद्यालयमा राखिराख्ने हो ? 

अहिले के सुनिन्छ भने अब पालो राहतको सबैलाई स्थायी गर । उनीहरुको नियुक्ति, क्षमता, आवश्यकता जस्ता सकारात्मक र नकारात्मक कुरा केही होलान् नी त्यसको कुनै चर्चा छैन सिधै स्थायी गर भन्न सुहाउँछ ?

मेरै विद्यालयको उदाहरण दिन्छु – हाम्रो विद्यालयमा एक जना एसएलसी पास शिक्षक हुनुहुन्छ जो आयोग पास हुन्न होला भन्नु भएको छ, उहाँले २०५४ साल देखि माविको एकाउण्ट पढाउनु हुन्छ, एक जना विद्यार्थी फेल छैन, समय अनुसार उहाँले विषयमा आफूलाई अपग्रेट गर्नु भएको छ भने त्यस्ता शिक्षकलाई त अपमानित गर्नु भएन नी !

अब आयोग परीक्षा पास गरेका शिक्षकलाई दिने तालिमको कुरा गरौं । अन्य सेवाका कर्मचारीलाई अनेकन तालिम दिएर मात्रै टेवलमा बसाईन्छ । शिक्षकको सवालमा जुन तहको भए पनि एक दिन कक्षामा लगेर विद्यार्थीको मनोभावना बुझ्ने गरी पढाउँछ की पढाउँदैन भनेर हेरिन्न । अरु कर्मचारीलाई दिने जस्तो एक बर्षको तालिम त धेरै परको कुरा भयो ।

आज सम्म भएका हेडसर त विषयगत शिक्षक हुन् नी उनीहरु विभिन्न कारणले प्रअ भएका हुन् । ती कक्षामा जाने शिक्षकलाई कक्षामा जानु अघि एक दिन कक्षा लिएर भित्र छिराउने मानसिकता हामीले बनाएनौं । एक बर्षको तालिम प्रअहरुलाई छुट्टै ब्यवस्था भन्ने त परको कुरा भयो ।

यो पिडा सामुदायिक विद्यालयमा बच्चा पढाउने अभिभावकले बुझ्छ, की हामी जस्ता विद्यालय ब्यवस्थापन समितिमा रहेर काम गरेका हरुले बुझ्ने हो तर विडम्बना हामी  जस्ता मान्छे नीतिगत निर्णय हुने ठाउँमा पुग्न पाउँदैनौ । तपाईहरु आयोगका सदस्यहरुले हाम्रा कुरा राख्नु होला, खास गरी एक महिना अघि कक्षामा कसरी शिक्षक लाने र आयोग पास गरेकालाई पनि कक्षाकोठामा पढाउने प्रभावकारी तालिम सहित पठाउन सकियो भने मात्रै सामुदायिक शिक्षा सुधार हुन्छ, नत्र कुरा त जति गरे पनि भै हाल्यो ।

थापा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित सिद्धि गणेश माविका ब्यवस्थापन समिति अध्यक्ष हुन् । प्रस्तुत आलेख बदलिदोँ समयमा शिक्षक व्यवस्थापनका बारेमा एडुखबर डट कम र शिक्षा नीति तथा अभ्यास केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीद्धारा व्यक्त विचारको मुख्य अँश हो । 

उक्त कार्यक्रम बारेका अन्य सामग्री पढ्नुहोस् :

शिक्षकको ग्रेड थप्न अभिभावक र विद्यार्थीको मतको प्रस्ताव, अस्थायी नराख्न सुझाव

जहाँ विद्यार्थी छैनन् त्यहीँका शिक्षकको प्रमोशन !

प्रतिक्रिया