Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

सिर्जनशील विद्यालय : सामुदायिक शिक्षा सुधार गर्न चाहनेलाई

मंगलबार, १२ पुस २०७३

सामुदायिक विद्यालय सुधारको अभियानमा सकृय अर्जुन श्रेष्ठद्धारा लिखित पुस्तक 'सिर्जनशील विद्यालय' हालसालै सार्वजनिक भएको छ । उक्त पुस्तक सामुदायिक शिक्षा सुधार गर्न चाहने हरेकलाई उपयोगी हुने प्रतिकृया दिएका छन् शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले ।

विद्यालय वातावरण, बालमैत्री विद्यालय, शैक्षिक सामग्री निर्माण र प्रयोग, शिक्षण कला, भौतिक पूर्वाधार / श्रोत ब्यवस्थापन, स्वमूल्याँकन र मनन् गरौं गरी सात अध्यायमा विभक्त उक्त पुस्तकका हरेक अध्ययायलाई पुष्टि गर्न उप शिर्षक राखिएको छ । सूर्योदय शैक्षिक प्रतिष्ठान - 'शिक्षकले चाहेमा गर्न सक्छन् अभियान' द्धारा प्रकाशित पुस्तक प्रश्न उत्तर शैलीमा सरल भाषामा लेखिएको छ ।

लेखकले अनुभव र अवलोकनमा आधारित भएर प्रश्नको उत्तर दिएका छन् । अर्थात् स्थलगत रुपमै प्रयोग भएका अभ्यासहरुको अध्ययन गरेर पुस्तक तयार पारिएको छ । सोही पुस्तकको सातौं अध्यायमा समेटिएको विषय बस्तु – सं.

प्रधानाध्यापक र अभिभावकबीच कसरी सम्बन्ध राम्रो बनाउने ?

  • अभिभावको कुरा सुन्ने,
  • सबै अभिभावकबीच समान सम्बन्ध राख्ने र सबैलाई सम्मान गर्ने,
  • अभिभावक सक्रियता बढाउने र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गारउने र अपनत्वको भावना वृद्धि गराउने,
  • कुनै पनि निर्णय लिनुपूर्व अनिवार्य सूचना दिने र सहभागी हुन अनुरोध गर्ने,
  • विद्यार्थीको राम्रो पक्षका बारेमा बताउने –आफ्नो बालबालिकाको सिकाइस्तरका बारेमा चासो राख्छ भन्नेमा विश्वास दिलाउने),
  • आफू अभिभावक भएर सोच्ने,आदि ।

यदि सम्बन्ध राम्रो हुन नसके :

  • मिल्ने मुद्दाका आधारमा मेल खाने विषयमा सहकार्य गरेर जाने,
  • सिकाइस्तर सुधार र विद्यालय सुधारमा प्रतिबद्ध हुने कुरा होइन काम नै गरेर देखाउने,

प्रधानाध्यापक र व्यवस्थापन समितिमा सही काम गर्दा–गर्दै पनि असहयोग भएका :

  • समितिको बैठकमा विद्यार्थी र सही गलत छुट्याउने शिक्षकलाई आमन्त्रित सदस्यका रूपमा आमन्त्रित गर्ने,
  • विद्यार्थीलाई पनि विद्यालयको निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ,
  • राम्रो काम र निर्णयका लागि अन्य शिक्षक र विद्यार्थीले समर्थन सहयोग गर्छन् र अन्ततः गलत गर्नेहरू पछाडि पर्दै जान्छन्,
  • व्यवस्थापन समितिको बैठक निरन्तर बोलाउने, कम्तीमा महिनामा एकपटक बोलाउने (आवश्यक परेका बेला शिक्षकका लागि निर्णय गरिदिन मात्र बैठक बस्नुपर्छ भन्ने बुझाई अभिभावकमा आउन नदिने) आदि ।

विद्यालयमा विद्यार्थी नआए के गर्ने ? विद्यार्थी सङ्ख्या बढाउन के गर्न सकिन्छ ?

  • अभिभावकको घरमा नै शिक्षक पुगेरविद्यार्थी विद्यालय नगएको जानकारी गराउने,
  • अभिभावकले विद्यालय पठाएर पनि नआएको वा अभिभावकले नै नपठाएको हो यकिन गर्ने,
  • अभिभावकलाई सचेत बनाउने/बुझाउने,
  • एक दिन विद्यालय नगए के हुन्छ ? हामीले अभिभावकलाई बुझाउन सक्नुपर्छ ।
  • विद्यालय आउँ–आउँ हुने प्रकारको वातावरण निर्माण गर्ने ।

जस्तै : ज्ञानोदय माध्यमिक विद्यालय बाफलका शिक्षकले विद्यार्थी नआए घरदैलो गर्ने र जानकारी गराउने सँगै विद्यालयमा पछि विद्यार्थीकोपहिचान गरी विद्यालयमा आकर्षित गर्न विद्यार्थी रमाउने प्रकारको वातावरण सिर्जना गर्ने गरेको छ । जसकारण यहाँ कुनै पनि विद्यार्थी आकस्मिक अवस्थामा बाहेक अनुपस्थित हुँदैनन् ।

आर्थिक कारण वा घरको हेरचाह गर्नुपर्ने कारण आउन नसके, घरमा नै बसेर ज्ञानसँग जोडिएका विषयमा परियोजना कार्य (Project Work) दिने,

(विद्यार्थी कितावबाटमात्र होइन र विद्यालयमा मात्र सिक्छन् भन्ने होइन, उसले २० प्रतिशत कक्षाकोठामा र बाँकी ८० प्रतिशत कक्षाकोठा बाहिरबाटै सिक्छन् ।)

  • अभिभावकसँग अधिकतम सम्बन्ध बढाउने,विद्यार्थीका प्रगतिका बारेमा छलफल गरिरहने,
  • अभिभावकमा सिकाइस्तर/पढाइ राम्रो हुन्छ भन्ने विश्वास दिलाउने (निरन्तर प्रगति मूल्याङ्कन र प्रतिवेदन बुझाउने),
  • अनुशासनको ख्याल गराउने,
  • निरन्तर विद्यार्थीका प्रगतिका बारेमा बताउँदै प्रगतितर्फ अग्रसर भएका कुरा जानकारी गराइरहने,
  • विद्यालय आउन नसक्नुका अन्य कारणहरू खोजी गरी त्यसका निराकरणका उपायहरूको खोजी गर्ने आदि ।

विद्यालयमा निर्णय लिनुपर्दा कसरी लिने ?

  • निर्णय प्रक्रियामा आवश्यकताअनुसार सबै सरोकारवालाहरूलाई संलग्न गराउने,
  • सकेसम्म सर्वसम्मतिमा निर्णय गर्ने/गराउने,
  • बेला–बेला विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, बुद्धिजीवी, शिक्षाप्रेमीको संयुक्त बैठक गरेर सहमति निकाल्ने,
  • विद्यालयसँग सरोकार राख्ने सबै संस्था, शिक्षक, स्थानीय सरोकारको छलफल, अन्तरक्रिया र सुझावको आधारमा निर्णय लिने,
  • विद्यालयमा अध्ययनरत बालबालिका, बाल क्लब तथा हरेक कक्षामा आवश्यक छलफल र अन्तरक्रिया गरेर,
  • समाजका विभिन्न कार्यक्रममा समेत विद्यालयको गतिविधि र कार्यक्रमको विषयमा जानकारी गराएर,
  • विगतमा लिएका निर्णयको विश्लेषण गर्दै वर्तमान परिस्थितिको मूल्याङ्कन गरेर,
  • निर्णय लिनुपूर्व भविश्यमा आउने सकारात्मक तथा नकारात्मक परिणामको विश्लेषण एवम् आंकलन गर्दै सहि निर्णय लिने,
  • सबैको मनोभावना बुझेर निर्णयमा पुग्ने, यदि कसैको चित्त नबुझेमा निर्णय लिनै पर्नाका कारण बताएर सहमत गराउन पहल गर्ने,
  • निर्णय सर्वसम्मतिमा गर्ने आपसी समझदारीमा लिने र अग्रज र विषयमा दख्खल भएकासँग परामर्श लिएर निर्णय लिने ।

विद्यालयमा शिक्षक र विद्यार्थी अनुशासन कसरी कायम राख्न सकिन्छ ?

  • शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा विद्यार्थीबीच निरन्तर अन्तरक्रियाबाट नीति निर्माण र अनुगमन गर्ने,
  • शिक्षक स्वयम्ले व्यवहार परिवर्तन गरी अनुशरण गर्ने गरेर,
  • मूल्याङ्कन, आत्म मूल्याङ्कन र पृष्ठपोषणको माध्यमबाट,
  • आचारसंहिता निर्माण गरी निरन्तर पुनः स्मरण गराउँदै जाने,
  • हरेक राम्रो काममा प्रशंसा गर्ने,
  • उलङ्घन गर्ने विद्यार्थीलाई निरन्तर काउन्सिलिङ गर्ने,
  • अपनत्वको विकास गरेर/गराएर
  • हप्तामा एकपटक शिक्षक स्टाफबीच छलफल बसाउने/गर्ने,
  • पाक्षिक रूपमा बालक्लबको बैठक गराउने र छलफल गर्ने,
  • प्रत्येक दिन बिहान १० बजेको प्रार्थनाको अन्त्यमा अनुशासन सम्बन्धमा २ मिनेटको प्रवचन/काउन्सिलिङ गर्ने,
  • जिम्मेवारी बोध गर्ने गराउने र सकारात्मक सोचका साथ व्यवहार प्रदर्शन गर्ने/गराउने, आदि ।

अनुशासन कायम राख्न गरिएका केहि अभ्यासहरु :

विद्यालयमा अनुशासन कायम गर्ने सवालमा सुर्खेतको श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयले विद्यार्थी अनुशासन कायम गराउन सकारात्मक पक्षबाट विद्यार्थीलाई निरन्तर काउन्सिलिङ गर्ने, आफ्नो अध्ययनमा प्रतिबद्धता गराउने र विद्यार्थीको प्रगतिलाई अभिभावकलाई जानकारी गराउनेजस्ता पक्षले अनुशासन कायम गराउन/नैतिकताका सवालमा सचेत गराउन मद्दत पुगेको छ ।

यसैगरी प्रत्येक दिन बिहान १० बजेको प्रार्थनाको अन्त्यमा अनुशासन सम्बन्धमा छोटो प्रवचन/काउन्सिलिङले रामेछापको विष्णुजनज्योति माध्यमिक विद्यालयमा अनुशासन कायम गराउन सहयोग पुगेको छ ।
त्यस्तै अपनत्वको विकास गरेर/गराउने र शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा विद्यार्थीबीच निरन्तर अन्तरक्रिया तथा अनुगमनबाट काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले शिक्षक–विद्यार्थी अनुशासन कायम राख्न सक्षम बनेको छ ।

यस्तै उदाहरण डोटीको जैनोलीस्थिति गणेश माध्यमिक विद्यालयमा आत्म मूल्याङ्कन र पृष्ठपोषणको माध्यम एवम् आचारसंहिता निर्माण गरी निरन्तर पुनःस्मरण गराएर विद्यार्थी–शिक्षक अनुशासन व्यवस्थित गरेका उदाहरण छन् । हामीले किन नसक्ने चाहना जाग्यो भने असजिलो छैन ।

(श्रेष्ठ शिक्षकले चाहेमा गर्न सक्छन् अभियानमा आवद्ध छन् ।)

- - -

सामुदायिक विद्यालय खत्तम मात्रै छैनन् । कतिपय विद्यालयले राम्रो प्रगती गरेका छन् । कक्षामा पढाउने मात्रै हैन, विद्यालयको समग्र वातावरण सुधारलाई मेरो जिम्मेवारी हो भन्ने कुरा शिक्षकले बुझ्नासाथ विद्यालयहरु राम्रा भएका छन् । शिक्षकले आफ्नो पेशालाई निष्ठा र शैलीलाई विद्यालय तथा विद्यार्थी केन्द्रित गर्ना साथ परिवर्तन भएका छन् ।

पढ्नुहोस् : राम्रा कसरी राम्रा

प्रतिक्रिया