Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

‘उत्कृष्ट शिक्षक’ सम्मान

शनिबार, ०७ फागुन २०७३

- रामहरि आचार्य पेशाले शिक्षक हुन् । सामाजिक विषयका शिक्षक आचार्य समाजमा देखिएका विभिन्न विकृति, विसंगतिका विषयमा कविता, गीत, गजल र लघुकथा लेख्छन् । २०३६ साल फागुन १७ गते स्व. लोकनाथ आचार्य र जसुदा आचार्यका सन्तानका रुपमा कास्कीको अर्मलामा जन्मिएका उनी हाल स्याङ्जाको जनआर्दश मा वि. मा निमावि तहका शिक्षक हुन् । विभिन्न पत्र पत्रिकाहरुमा फुटकर साहित्यिक रचना प्रकाशन गरेका उनी अहिले एउटा गिति संग्रहको तयारीमा छन् । यो साताको शिक्षा सहित्यमा उनकै लघु कथा  : ‘उत्कृष्ट शिक्षक’ सम्मान

आज महेन्द्र मा वि को ४२ औ बार्षिक उत्सब हो । विद्यालय दुलहीको घरझैं सिंगारिएको छ । बर्ष दिनसम्म पनि सफा नगरिएका विद्यालयका कुना कुनाले सफा हुने अवसर पाएका छन् । सधै नाक थुनेर जानुपर्ने शौचालय आज चिटिक्क छ । अर्को अर्थमा भन्नुपर्दा विद्यालयको रुप फेरिएको छ ।

अघिपछि विद्यालयको कार्यक्रममा नगन्य मात्रमा उपस्थित हुने अभिभावकले र अथितिले विद्यालय खचाखच भरिएको छ । सायद प्रमुख अथितिका रुपमा अहिलेका जल्दाबल्दा मन्त्रिलाई आमन्त्रण गरिएको थियो ।
प्रमुख अतिथि आउन ढिला भएको त्यहाँको छटपटीले बुझिन्थ्यो ।

आज बर्षको उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने दिन पनि थियो । जुन पहिले देखिकै परम्परा थियो । शिक्षक केशबलाई आजको सम्मानको निकै चासो थियो । उक्त विद्यालयमा नियमितता, नियमको पालना, पाठयोजना र शैक्षिक सामाग्रिको प्रयोग गरेर शिक्षण गर्ने, विद्यार्थीका मनमुटुमा बस्ने शिक्षक मध्येका केशब पनि एक थिए । उनले पढाउन थालेको नौ बर्ष पुगेको थियो । जोश जागर लगनशीलता घटेको थिएन तर सम्मान हात पार्न सकेका थिएनन् ।

अन्य कार्यक्रममा झैं दुई बजेपछि प्रमूख अतिथि आए । उनको भब्य स्वागत गरियो । सायद, उनीबाट ठूलै आशा गरिएको थियो । विद्यार्थीले आफ्ना कार्यक्रम देखाएर खुबै प्रशंसा बटुले ।

मञ्चमा बोल्ने अतिथि र अभिभावकले आधा समय शिक्षकलाई गाली गरेर र आधा समय राजनिति कुरामा खर्चे ।

शिक्षकलाई दश बजेबाट चार बजेसम्म विद्यालयमा बस्दैनन् , बसे पनि पढाउदैनन्, कोही हाजिर गरेर भैंसीलाई घाँस हाल्न जान्छन्, कोही सराद्ध गर्न , कोही जन्ति त कोही राजनीति गर्छन् भन्ने आरोप लगाए ।
जुन केही हदसम्म त्यहाँका शिक्षकको व्यवहारसँग मेलखाने थियो ।

तर केशब फुरुङ्ग थियो किनकि त्यो वर्गिकरणमा ऊ परेको थिएन । सम्मानको पालो आयो । विद्यालयलाई विविध क्षेत्रबाट सहयोग गर्नेलाई सम्मान गरिसकेपछि यस बर्षको उत्कृष्ट शिक्षकको सम्मानको पालो आयो ।
शिक्षक केशब निकै चनाखो भएर सुनिरहेका थिए ।

मञ्चबाट नाम बोलाइयो – यस बर्षको उत्कृष्ट शिक्षक सोमप्रसादलाई सम्मानका लागि मञ्चमा बोलाउँछौ !

शिक्षक सोमप्रसाद शायद, दश बजेबाट चार बजेसम्म विद्यालयमा रहेको आज नै पहिलो दिन थियो । कक्षामा पन्ध्र मिनेट ढिलो गरी पस्ने र दश मिनेट छिटो निस्कने उनको छुट्टै रुटिङ थियो क्यारे ।

सबैभन्दा बढी विद्यालयमा अनुपस्थित भइकन पनि सबैभन्दा बढी दिन हाजिर हुने रेकर्ड उनकै नाममा थियो । यि सबै कुरा शिक्षक केशबको दिमागमा घुमिरहेको थियो । उता सोमप्रसाद मन्त्रिको हातबाट सम्मान पत्र ग्रहण गरिरहेका थिए तालीको आवाजसँगै । त्यहिबेला दुई अभिभाबक कानेखुसी गर्दै थिए, सोमप्रसाद त त्यहि मन्त्रिको पार्टीका हुन अरे नि त !

प्रतिक्रिया