Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

भाइ ‘A, B,C,D ’, म ‘क, ख, ग, घ ’!

शनिबार, ०५ चैत्र २०७३

दुष्यन्त भट्टराई- झापाको दुहागढी ४, चारआलीका दुष्यन्त भट्टराई हाल लर्डबर्न युकेमा छन् । भू–गर्भ बिज्ञानमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी युकेमै जागिर गर्छन् । बाल्यकालदेखि नै छिट्पुट् कविता लेख्न शुरु गरेका उनले कक्षा ६ मा पहिलोपल्ट विद्यालयमा कविता वाचन गरेर साहित्यम रस बसाएका उनका झापा, धरान, काठमाडौं तथा लण्डनबाट निस्कने बिभिन्न पत्र–पत्रिकामा कविता, कथा तथा लेख रचना प्रकाशित छन् । साथै निकट समयमै एकिलएको मन कविता संग्रह प्रकाशनको तयारीमा रहेका उनको एउटा कविता ‘म छोरी हुनुमा मेरो के दोष ?’ साताको शिक्षा साहित्यमा ।

सानैदेखि,
जब देखिको कुरा म सम्झिन्छु,
भाई र म जुम्ल्याहा ।
जब भाइ र म सँगै खेल्थ्यौं ,
आमा भन्नुहुन्थ्यो
‘त्यो भाइलाई लडाउलीस्, राम्ररी खेल ।’
भाइलाई बजारबाट नयाँ
बोल्ने, कुद्ने खेलौंना आउँथे ।
म फाटेको सारीको टुक्राबाट पुतली बनाउँथें ।
भाइको खेलौंना छुन खोज्यो भने
भाइ रुन्थ्यो,
म रुवाइन्थें ।
भाइ खुच्चिङ भन्थ्यो ,
सबै हाँस्थे ।
आमा,
तिमीले नै जन्माएको होइन ?
फेरि भाइ र ममा किन यति फरक ?

जब स्कूल हाली दियौ,
भाइ ‘नर्सरीमा’,
म ‘शिशु’ मा ।
भाइ A, B,C,D ’
म ‘क, ख, ग, घ ’
भाइको A for APPLE
दिनमा एउटा,
भाइको B for BALL
स्कूल जानु अगाडि पनि,
स्कूलबाट फर्केपछि पनि ,
खेल्न कुनै रोकटोक थिएन ।
मेरो क बाट कछुवा,
म त्यसै गरि बिस्तारै हिड्ने भएँ ।
मेरो ख बाट खरायो भएन ,
म खरायो जस्तो उफ्रिन पाईंन ।
मेरो त ख बाट खटन भयो ,
स्कूलबाट आउनसाथ
ग बाट गाली खाँदै
घ बाट घाँस काट्न जानु पर्ने ।
भाइको C for Chocolate
दिनैपिच्छे,
उसको D for DIet पनि बेग्लै ,
मेरा त नामै थिए
ज बाट जगल्टे,
अ बाट अलच्छिनी ।
आमा भन न ,
तिमीले नै जन्माएको होइन र ?
फेरि ममात्र कसरी अलच्छिनी ?

म कहिल्यै फेल भईंन,
तर आमा
तिम्रा बोलीमा मेरो लागि प्रसंसाका दुईटा शब्द अटेनन् ।
भाइ प्रायः उत्तरीत हुन्थ्यो ,
फेल भयो भने बोर्डिङ नै सारिन्थ्यो ।
उसको नाममा सायद गालीका शब्द बनेकै थिएनन् ।
उ रोयो भने ,
उसको लागी चक्लेट र खेलौंना ,
म रोएँ भने
चुप लाग् , चेपारो नपार !!
भाई हाँस्यो भने आमा धपक्क,
म हाँसे भने उत्ताउली ।
भन त आमा
तिमीले नै होइन जन्माएकी ?
फेरि किन यति असमानता ?

बल्ल तल्ल  एसएलसी पास गरेको भाइ
पढ्न सहर ,
म फ्रस्ट डिभिजन ल्याउँदा पनि
पढाइ रोकेर बिहे ।
किन आमा ?
पढ्न पाउनु भाइको मात्र अधिकार थियो र ?

भाइ सहरमै घरजम गर्छ,
कहिल्यै तिमीलाई भेट्न आउँदैन ।
तिमी दुख्दा,
तिम्रो हरेक आँशुको साक्षी मै हुँ ।
तर पनि किन तिमीलाई भाइसँग कुनै गुनासो छैन ?
किन उसका सारा गल्ती ढाकछोप गर्छ्यौ ?
किन तिमीलाई मसँग मात्र गुनासो छ ?
किन मेरा नगरेका गल्ती पनि तिम्रा बोलीमा बाँड बन्छन् ?
भन न आमा
के साँच्चै भाइ र म तिम्रै सन्तान हौं ?

दाईजोको नाममा
सासु र नन्दको गाली र कुटाई,
जड्याहा लोग्नेको रातोदिनको भकुन्डो खेलाई,
बोक्सीको नाममा
गाउँ समाजको दुव्र्यवहार सहन नसकेर
यदि म माईत आएँ भने
किन तिमी मेरा विलौंना सुन्दिनौ आमा ?
किन तिमीलाई आफ्नै छोरी झूठी लाग्छ आमा ?
किन फेरि
‘पाले पुन्य मारे पाप, तेरो जीवन ज्वाईंको हात’
भन्दै उतै पठाउँछ्यौ ?
भन त आमा
के तिम्रै कोखले पाएको हो मलाई ?

आमा,
मैले जन्मिन पाउँ भनेर
छोरी नै भएर जन्मीउँ भनेर
निवेदन त हालेकी थिईंन नि ।
फेरि भाइभन्दा
५ मिनेटमात्र अगाडि जन्मेकी म ,
अनि ५ मिनेटपछि जन्मेको भाइमा
के फरक छ र ?
सिवाय एउटा लिंग बाहेक !!
सोनोग्राफीमा
मसँग भाइ नदेखेको भए ?
सायद म पनि मेरो अघिका ३ दिदीहरू जस्तै
फालिने थिएँ होला ।
भन त आमा,
तिमीले भन्नै पर्छ ,
त्यो लिंगमा के छ त्यस्तो ?
र यस्तो विभेद गर्छ्यौ ?

 

प्रतिक्रिया