Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

साना नानीहरूसँग गन्थन : बन्दुकको नालमा निप्पल लगाइदिएर मम्मीहरू एम्बुस रोप्न

शनिबार, २६ चैत्र २०७३

शैक्षिक क्षेत्रमा राम्रो दख्खल राख्ने कविताको समीक्षात्मक लेख यो साताको शिक्षा साहित्यमा :

सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका, रूपनगरमा स्थायी बसोबास गर्ने एक अभिभावक छन् । उनको सरकारी जागिर पनि छ । जागिरकै क्रममा सन्तानलाई साथै राखेर देशका कुनाकाप्चा पुगे । खै, के के अनुभव बटुले कुन्नि !

बातचितका क्रममा पनि बाङ्गा–बाङ्गा कुरा निकालेर हँसाउनुसम्म हँसाउँछन् । यद्यपि हाँस्ताहाँस्तै रुने पनि बनाउँछन् । सुरुआतमा हँसाउँदा मज्जै लाग्छ, निष्कर्षमा पुग्दा कटुसत्य व्यक्त भइसकेको हुन्छ । र, गहभरि आँसु बनाउन वाध्य हुनुपर्छ । उनले ‘चित्त दुखेको ओखती’ नामक कविता सङ्ग्रह प्रकाशन गरेका छन् । त्यसै सङ्ग्रह भित्रको ‘साना नानीहरूसँग’ शीर्षकको कविताले तमाम अभिभावकहरूको मनमस्तिष्कलाई झङ्क्रित पार्ने सामथ्र्य राख्ने महसुस गरी यहाँ विश्लेष्य रूपमा प्रस्तुत छ -

उनी हुन्– भोजराज रेग्मी अर्थात् मुखाले रेग्मी ।जीवनका उकाली चढ्दै र ओराली झर्दै सरकारी जागिरे भए । देशका कुनाकन्दरासम्म पुगे । अनुभवले खारिएको व्यक्तित्व विकास गर्दै गए । एक पटक राजधानीमा समेत छिरे । केही वर्षकै दौडानमा राजधानी भित्रका सूक्ष्म कुराहरूको जानिफकार बने । राजनीतिका नाममा देश र जनतालाई चपाएको देखे । समाजसेवाको नाममा समाजलाई नै ठगेर वैयक्तिक महल ठड्याएको भेटे । जनसेवकको नाममा कर्मचारीतन्त्रले नै देश बन्धकमा राखेको अनुभूत गरे । महङ्गीले उठिबास लगाएको दुर्दशा नजिकैबाट भोगे । रहँदाबस्दा अनेक थरी विकृत पाटाहरूको साक्षी भए । भित्री दिलैदेखि विकृति पाटाका विरुद्ध विषवमन गर्ने चाह पलाएर आयो ।

उनी अरू त के गर्न सक्थे, खुरुखुरु डायरीका पाना भरेर चित्त बुझाउन थाले !

उनले ‘साना नानीहरूसँग’ कवितामा नानी–बाबुलाई फुल्याउँदै बन्दुकको नालमा निप्पल लगाइदिएर मम्मीहरू एम्बुस रोप्न गएका कुरा गरेका छन् । भकुण्डो खेल्न कोक्रामै बम राखिदिएको स्मरण गराएका छन् । टायम पास गर्दै गर्नू भनेर सल्लाह पनि दिन चुकेका छैनन् । अझ बाबाहरू सपना मार्न गएका कुरा गरेका छन् । काका, मामा र दादा–दिदीहरू चाहिँ प्रजातन्त्रको कोठेबारीमा हिटलर फलाउँनै व्यस्त भएको कुरा गरेर सानी नानीहरू फकाउने चेष्टा गरेका छन् ।

त्यसैले, धैर्य गरेर केही काल पर्खन लगाएका छन् । अझ हामी सबै प्रलयको चौतारामा भेला भएर चिहानको चुल्हो बनाई देश उसिन्नुपर्छ÷भुट्नुपर्छ । र, नानाथरी परिकार बनाउनुपर्छ भनेका छन् । अन्ततः मर्नेहरूका नाममाथि बाँच्नेहरूले पलेँटी कसेर अन्तिम भोज गलगिध्द खानुपर्छ भनेर फुल्याएका छन् । किनभने केही पाउनलाई केही त गुमाउनैपर्छ, नगुमाईकन पाउन सक्ने रीति नै बनेको छैन भनेर तमाम अग्रजहरूको बेहोसी चालाप्रति लक्षित गरी व्यङ्ग्य प्रहार गरेका छन् ।

उनको ‘साना नानीहरूसँग’ शीर्षकको कविता बोल्छ -

नरोऊ नानी ! नरोऊ
नरोऊ बाबु ! नरोऊ
बन्दुकको नालमा निप्पल लगाइदिएर
मम्मीहरू एम्बुस रोप्न गएका छन् ।
भकुण्डो खेल्न
कोक्रामै बम राख्द्या होला
टायम पास गर्दै गर्नू ।

बाबाहरू सपना मार्न गएका छन्
काका, मामा र दादा–दिदीहरू
प्रजातन्त्रको कोठेबारीमा
हिटलर फलाउँदै छन्
त्यसैले, धैर्य गर !
केही काल पर्ख मात्र
प्रलयको चौतारामा भेला भएर
चिहानको चुल्हो बनाएर
देश उसिन्नुपर्छ÷भुट्नुपर्छ ।
र, नानाथरी परिकार बनाउनुपर्छ ।
अनि...
मर्नेहरूका नाममाथि
बाँच्नेहरूले पलेँटी कसेर
अन्तिम भोज गलगिध्द खानुपर्छ
त्यसैले...
नरोऊ बा, नरोऊ !
केही पाउनलाई केही ता गुमाउनैपर्छ !!!

उनको चित्त कहाँ, कहाँ दुख्यो भन्ने वारे ‘चित्त दुखेको ओखती’ कविता कृतिको भूमिकामा स्वयम्ले लेखेका छन्– ‘जब विश्वविद्यालयमा ‘विद्या’ बौलाउँछ र बबाल मच्चाउँछ, जब अस्पताल आफैँ अस्वस्थ भएर बिरामीसँगै बसेर रूवाबासी गर्छ, जब चितुवा र ब्वाँसाहरू मिडियामा ‘कण्ठी’ बाँध्छन् र भित्रभित्रै सिकार खेल्छन्, जब नेताहरू अभिनय र अभिनेताहरू राजनीति गर्न थाल्छन्, जब वायुमण्डलमा अक्सिजनभन्दा बढी खुरापाती चल्छ, जब राजनीति कुहेर डुङ्डुङ्ती गन्हाउँछ, जब संसद्मा सनक र स्वाङहरू सुसेला पार्छन्, जब धर्म, कानुन र प्रेममा हरिया झिँगा भन्किएर औँसा पार्छ, जब कर्तव्य र दायित्व ‘देखाउने दाँत’ हु्न्छ, जब कुनै परदेशी जादुगरले गोडामा ढोग्न लगाएर गालामा चाटीचाटी नाकमा ‘कालो’ र निधारमा ‘चुना’ लगाइदिएर जान्छ, जब सिंहदरबार बजेटको हुक्का तान्दै म्यारिज खेलेर समय विताउँछ, जब सडकमा स्वार्थहरूको सलह कुद्छ, जब पुख्यौली संस्कृति सतीदेवीको अङ्गझैँ पतन हुँदै जान्छ, जब ‘दल’ बहादुरहरू दलाली गरेर सधैँ ‘दर’ खान्छन्, जब नागरिक समाज आँखा चिम्लिएर सुकेलुतो कन्याउँदै बस्छ, जब भगवान्हरू फूलपाती र भेटी ओडेर बर्षौं वर्षसम्म निदाउँछन्, जब जब खपिनसक्नु भएर चित्त दुख्छ र ओखती खोज्दै मेरा कविताको ज्वालामुखी निस्कन्छ ।’

उनी देखेका, भोगेका, चित्तमा छाप राखेका र अनुभूतिले भिजाएका कुराहरू लेख्तै गए । आफ्नै ओथारामा ओथारो बसेर पोथीले चल्ला कोरलेझैँ कोरल्दै गए । लोकजन जगाउने कुरा लेखे पनि लोकले थाहा नपाउने गरी लेखिरहँदा स्वयम्ले आफ्नो लेखनको साहित्यिक मूल्य कम देखे । शुभचिन्तक मित्रजन र आफन्तजनले उनमा विराट् साहित्यिक सम्भावना देखको कुरा बताइदिए । अझ बेलामौकामा पनि नबास्ने भालेको काम हुन्न भने पछि भने उनी झसङ्ग भए । पर्दा बाहिर आउने उत्तिसाह्रो मन नहुँदा नहुँदै पनि शुभेच्छुकहरूको शुभेक्छालाई कदर गर्दै उनी पर्दा बाहिर निस्कन थाले ।

उनका कविता पढ्दा लेखकीय अभिष्ट नै समाज सुधार्नु हो भन्ने स्पष्ट झलक मिल्दछ । हाँस्यव्यङ्ग्यलाई मूल मेरुदण्ड बनाएर धेरैभन्दा धेरै झर्रा शब्दहरूलाई स्थान दिएका छन् । कवितामार्फत लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाउनेहरूलाई उनले कसिलो थप्पड हानेका छन् । चित्त नबुझेका ठाउँमा व्यङ्ग्यवाण प्रहार गरेका छन् । उनका कवितामा कसिलो अभिव्यक्ति सशक्तरूपमा पाइन्छ । कवितामा दमदार साङ्गीतिक लयात्मकता भेटिन्छ । मुलतः उनी स्थिर राजनीतिका पक्षमा छन् । उज्ज्वल भविष्यको चाहना र कामनामै उनका कविताका हरेक हरफहरू निर्मित भएका छन् भन्दा अतिशयोक्ति नहोला ।

कृति : चित्त दुखेको ओखती
विधा : कविता
कवि : मुखाले रेग्मी
संस्करण : प्रथम, २०७१
प्रकाशक : नेपाल स्रष्टा समाज, काठमाडौँ
प्रकाशन प्रति  : ११०० प्रति
मूल्य : व्यक्तिगत रु. १११/– संस्थागत रु.२०१/– मात्र

(आचार्य श्री जनसेवा माध्यमिक विद्यालय, कर्जन्हा–४, सिरहाका शिक्षक हुन्)

[email protected]

प्रतिक्रिया