Edukhabar
शनिबार, १२ साउन २०८१
अन्तर्वार्ता

स्कुलमै बसेर अर्को दिनको शिक्षण योजना बनाउँछन् क्यानडाका शिक्षक

मंगलबार, २२ फागुन २०७४

पछिल्लो  ७ बर्षदेखि क्यानाडा बस्दै आएका यम घिमिरे विगत ३ वर्षदेखि क्यानडाको एक सरकारी विद्यलायमा जुनियर हाइ (कक्षा १-९ सम्म) शिक्षण सहायकका रुपमा कार्यरत छन्। त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा स्नातकोत्तर घिमिरे नेपालमा पनि सामुदयिक विद्यालयमा अंग्रेजी शिक्षक थिए। क्यानाडाको म्याकइवान युनिभर्सिटीबाट डिसएबिलिटी स्टडिज र लिडरसिप एण्ड कम्युनिटी डिभेलपमेन्टमा डिप्लोमा गरेका उनी लेखक  पनि  हुन् । दुवै देशको सामुदायिक विद्यलायमा काम गरेको आधारमा उनले नेपाल र क्यानडाको शिक्षा व्यवस्था र शिक्षण शैलीको तुलनात्मक विश्लेषण गर्दै एडुखबरका प्रधान सम्पादक अनमोलमणिसित लामो कुराकानी गरेका थिए। कुराकानीको संपादित अंश

  • नेपालमा गाउँको सरकारी विद्यालयमा शिक्षण गर्नु भयो, क्यानडामा पनि केही वर्षदेखि शिक्षण सहायककै रुपमा काम गरिरहनु भएको छ । नेपालमा र क्यानडामा शिक्षक हुनु भनेको के रहेछ ?

शिक्षक हुनु भनेको कक्षा कोठामा गएर तोकिएको लक्ष्य र उदेश्य बिद्यार्थीमा हासिल गराउन पढाउनु हो नेपालमा पनि क्यानाडामा पनि। तर, कामप्रतिको लगाव, मेहनत, प्रेरणा, इमान्दारिता, पेसाप्रतिको प्रतिबद्धता र निष्ठाका हिसाबले नेपालमा शिक्षक हुनु र क्यानाडामा शिक्षक हुनुमा धेरै फरक रहेछ। पहिलो कुरा क्यानाडामा शिक्षक हुन्छु भन्नेले म शिक्षक हुनै जन्मेको हुँ भने जसरी आफूलाई प्रमाणित गर्नुपर्छ। मेरो शिक्षक हुनुपर्ने यीयी कारण, गुण, प्रेरणा र योग्यता छन्। नपत्याए मैले कक्षा कोठामा पढाएको, विद्यार्थीलाई गर्ने ब्यबहार र उनीहरुसँग मैले बनाउने सम्बन्धलाई पटकपटक हेर, जाँच, पर्गेल र दुईचार महिनालाई काम देऊ भनेर देखाउनु पर्छ। अनि फेरि कसी लगाऊ र निश्चित समयलाई करारमा लेऊ अनि अन्तिममा मैले शिक्षक भएर गरिखाने लक्षण देखेउ भने बल्ल स्थायी रुपमा जागिर देऊ भनेर आफूलाई खरो रुपमा प्रमाणित गर्नुपर्छ र बल्ल शिक्षक भइन्छ क्यानाडामा। मैले पद्धतिको कुरा गरेको हुँ, मानवीय र व्यक्तिगत गुण-दोष त विश्वव्यापी कुरा हुन् जुनसुकै समाज र पेसामा पनि हुन्छन्।

  • नेपालमा त शिक्षक हुनु सबैभन्दा सजिलो पेशा हो होइन ?

नेपालमा शिक्षकको कामलाई हल्काफुल्का रुपमा नै लिइन्छ। समाज र देस निर्माणका लागि चाहिने दिमाग, आचरण र सीपयुक्त हातपाखुरा तयार पार्ने यति महत्वपूर्ण र संवेदनशील पेसालाई न त शिक्षक आफैंले गम्भीर रुपले बुझेको छ र तदनुरूप गरेको छ न त समाजले नै त्यसरी बुझ्न नेत्र खोलेको छ।  हाम्रोमा शिक्षक हुन यति बिधि गहिराइको योग्यता र शिक्षक नै बन्छु भन्ने अन्तर-प्रेरणा पनि चाहिन्न। हाम्रोमा दुई किसिमले शिक्षक हुन्छन् मान्छे। पहिलो, विश्वविद्यालयको नयाँ ग्र्याजुएटले एउटा कोठामा बसेर तोकिएको समयमा शिक्षा सेवा आयोगको लिखित र मौखिक परीक्षा पास गरेर देखाउनु पर्छ र सोझै स्थायी शिक्षक भएर स्कुल छिर्छ। अब उसले जे जस्तो पढाए पनि उसलाई नम्बरी मास्टर स्विकार्नु पर्यो।  अर्को, पढेको कागज हातमा भएपछि स्थानीय र जिल्लाका नेताको, ठुला कर्मचारीको, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीको नातेदार वा हितचितको मान्छे हुनु र दरबन्दीमा छिर्न आबश्यकताअनुसार मारमुंग्री गर्न सक्नुलाई अस्थायी शिक्षक हुने योग्यता मानिन्छ हाम्रोमा। अस्थायी शिक्षक भइसकेपछि त टायर बालेरै स्थायी हुने योग्यता आर्जन गर्न खोजेको देखिएकै छ। धेरै पढ्न अल्छि लागे र केही कतै काम नपाए गाउँको तिकडम मिलाएर मास्टरी पेसामा छिर्ने चलन छ हाम्रोमा। नेपालमा यसरी शिक्षक भइसकेपछि अरुको खेताला गएको कामदार जस्तो जागिरे मानसिकताले पढाए पुग्छ। यहाँ क्यानाडामा आफ्नै बारीको बालीनालीमा खिप्ति गरेर नङ्ग्रा खियाएजस्तो नगरी सुखै छैन।

  • एउटा शिक्षकले एउटा विद्यार्थीको सिकाइका लागि कतिसम्मको मेहनत गर्नु पर्दो रहेछ ?

शिक्षक भइसकेपछि क्यानाडाका शिक्षकले मरिमेटेर काम गर्नुपर्छ। किन्डरगार्टनदेखि कक्षा ६ सम्म एउटा कोठामा एउटै शिक्षकले दिनभरि पढाउने चलन छ यहाँ। कक्षा ७ देखिमाथि मात्रै बिषयपिच्छेका शिक्षक हुन्छन्। त्यसो भएर ऊ गणीत, बिज्ञान, भाषिक कला, सामाजिक अध्ययन, कला, शारीरिक शिक्षा, स्वास्थ्य सबै बिषयमा भरपर्दो र निपुण ज्ञान भएको हुनुपर्यो। शिक्षक अति नै अध्ययनशील हुनुपर्छ यहाँ। आफूलाई अद्यावधिक नराख्ने हो भने हाँसका फौजमा बकुल्लो भैहाल्छ मास्टर यहाँ। हाम्रोमा जस्तो लाखार्लुखुर टालटुले पाराले राजाको काम कैले जाला घाम भन्ने चान्स नै छैन। अरुलाई ढाँटे पनि आफूलाई ढाँट्न सकिदैन भन्ने मूल्य-मनन् र यहाँको प्रणाली र प्रक्रियाले नै एउटा शिक्षकलाई लापरबाही गर्ने र गोबरल्वाँठ हुने छनौट नै दिदैन। बिहान ८ देखि दिउसो ३ बाजेसम्म पढाउने शिक्षक बेलुका अबेरसम्म स्कुलमै बसेर भोलिको योजना, पढाउने बिषयको खोज र तयारी, पुरक श्रोत-साधनको संकलन र निर्माणमा लागिरहेको देखिन्छ। त्यसमाथि क्याच्मेन्ट(श्रोतकेन्द्र)का सहपाठीसंगको मिटिंग, फरक सेक्सनमा पढाउने आफ्नै समकक्षीसँगको पठनपाठन, सामग्री निर्माण र मुल्यांकनलगायतका कुरामा गर्नुपर्ने तालमेलका मिटिंग, बिद्यार्थीको टर्म उपलब्धि विवरणप्रतिको जवाफदेहीता, अभिभावक र प्रिन्सिपलसँग गर्नुपर्ने सहकार्य र संयोजन आदि कामको भारले शिक्षक जतिखेरै ब्यस्त हुन्छ। शिक्षक बन्ने भए यसमा डुबेर लाग वा अर्को बाटो समाऊ भन्छ यहाँको प्रणालीले नै। नेपालमा शिक्षक भइसकेपछि यसरी धेरै पापड बेल्नु पर्दैन।

  • नेपालका शिक्षकलाई र नेपालमै शिक्षक हुँदा तपाइँलाई त्यो मेहनत गर्न के ले रोकेको थियो ?

नेपालमा शिक्षण जे जसरी गरिन्छ त्यसमा पनि मेहनत र श्रम त छ। तर मेहनतको कुरा गर्दा घोक्रो चर्किने गरी पढाएको, उकालो हिंडेर वा साइकल पेलेर गलेर भुतुक्क हुँदै स्कुल गएको, झरीबादल भन्न नपाएको, घरको काम छाडेर त्यत्रो कापी जाँचेको, पढाएरै कपाल फुलाएको जस्ता कुरा प्रधान भएर आउछन। जेलाई मेहनत भनिएको छ त्यो खास अर्थको लक्षित परिणाममुखी मेहनत नै होइन। यसको लागि शिक्षकले धेरै त्याग र सपर्पण देखाउनु पर्ने रहेछ। तोकिएका पुस्तकका पानामा लेखिएका कुरा पढेर अलिअलि कमन सेन्सको ज्ञान थपथाप गरेर ब्याख्या दियो अनि अर्को कक्षामा छिर्यो र बेलुका पारेर घर फर्कियो गर्नुलाई नेपालमा शिक्षण गर्नु भनिन्छ। मैले पनि गरेको त्यही हो। यसमा शिक्षकलाई मात्रै दोष दिएर पनि हुन्न। २००७ साल यता मात्रै हेर्ने हो भने पनि हामीले ६७ बर्षको शिक्षाको इतिहास बनाइसक्दा कक्षा कोठामा शिक्षकले पढाउनु भनेको गएर ज्ञानको सर्बोच्च श्रोतको रुपमा आफूलाई प्रश्तुत गर्दै एकतर्फी ब्याख्या दिनु हो भन्ने मात्रै बुझेका छौं। बिदेसी शिक्षाका कुरा पढेर, अध्ययन दल पठाएर दस्ताबेजमा जति नै राम्रा कुरा लेखिए पनि शिक्षकले कक्षाकोठामा पढाउन छिर्नपुर्ब धेरै अध्ययन, तयारी, खोज र योजनामा काम गर्नुपर्छ भन्ने संस्कार र ब्यबहार नै बिकास गरेनौ। यहाँ आएर देख्दा भोग्दा थाहा भयो जे कुरा पनि ब्यबहारसँग जोडेर, वास्ताविक जीवनका प्रसंगमा ढालेर, सिकारुका हात र दिमाग दुबैलाई सक्रिय गराएर सिकाउनु पर्ने रहेछ। सिकाइ बिद्यार्थी केन्द्रित(student centered) र गरेर सिक्ने(learning by doing) विधिबाट चल्नुपर्छ भन्दा पश्चिमाहरुको कोरा आदर्श भनेर पत्याएनछौं। सबैथोकको फुक्काफाल अव्यवस्थामा नै सबै रमायौं। राजनीतिको लहरो समातेर कसैले कसैलाई टेरेनौ।

  • भनेको शिक्षकको तलबले पनि शिक्षकले कति मेहनत गर्ने नगर्ने कुरामा अर्थ राख्छ ?

त्यसले अर्थ नराख्नु पर्ने हो। तर मेहनत गरेर मरिमेटेर पढाउन तलब पनि गतिलो हुनुपर्यो नि भन्ने तर्क सुनिएकै छ। प्रचलित सेवा सुबिधालाई स्वीकारेर पेसामा आएपछि यस्तो कुरा गर्नुको अर्थ राज्यलाई ठग्नु हो। कमाइ चित्त बुझेन भने पेसा बदल्ने स्वतन्त्रता भएको देस हो नेपाल। तलब बढाएर शिक्षकको जाँगर बढ्ने र शैली फेरिनेवाला छैन। शिक्षकलाई एउटा जाँगरिलो र सिर्जनशील अध्येता, आफ्नो कामको कुशल योजनाकार, ज्ञान र सूचनाप्रति जिज्ञासु, अपेक्षित परिणामप्रति जिम्बेवार र पेसाप्रति कर्तव्यनिष्ठ बनाउन पहिले संस्कार र पद्धतिमा सुधार गर्नुपर्छ तलबमा होइन। जे काम गर्नू भनेर तलब दिइएको छ त्यो त उपलब्ध छँदै छ। तर, काम जसरी गरिनु पर्ने हो त्यो भएको छैन। तलब त कालक्रमसंगै देसको बुताले भ्याएसम्म बढेकै छ नि। 

  • तपाइँलाई के लाग्छ अहिले शिक्षण गरिरहेका नेपालका शिक्षक प्रभावकारी शिक्षणको ल्याकत राख्छन् कि राददैनन ?

मैले नेपालमा सरकारी बिद्यालयका बिभिन्न जिल्लाका धेरै शिक्षक र हेडमास्टरहरुसँग संगत गरेको छु। म यिनै विद्यालयका शिक्षकको कुरा गरिरहेको छु जसमा राज्यको पैसाको खोलो बगेको छ र परिणाम अपेक्षाकृत सन्तोषजनक छैन। निजी विद्यालयका शिक्षकको कुरा अर्कै छ। घरमा स्वादे जिब्रो अल्छे तिघ्रो भएको छोरो अरब गएर ऐया आत्था नगरी काममा जोतिएजस्तो हो नेपालमा निजी क्षेत्रका शिक्षकको स्थिति। भलै पढाउने बिधि निजी स्कुलमा पनि शिक्षक केन्द्रित व्याख्यान बिधि नै किन नहोस। नेपालमा शिक्षक भनेको बिकसित देसमा जस्तो शिक्षक मात्रै होइन। ‘अल इन वन’ भन्ने छ नि त्यस्तै हो नेपालको शिक्षक भनेको। ऊ किसान पनि हो, किराना पसले पनि हो, पार्टीको नेता पनि हो, सानोतिनो ठुटे ठेकेदार पनि हो, एनजीओकर्मी पनि हो, युवा अरब पठाउने काठमान्डुका दलालको स्थानीय दूत पनि हो कतैकतै, सहकारीको नेता पनि हो। ऊ अनेकथोक हो मास्टरको अलावा। यस्तो खेलाँची भएपछि शिक्षकलाई जतिसुकै तालिम दिए पनि जतिसुकै बदल्न खोजेपनि केही हुनेवाला छैन। नेपालमा शिक्षकहरु आपसमा कसरी पेसागत क्षमता बिकास गर्ने भन्नेबारे कुरा फिटिक्क गर्दैनन्। बरु प्रचण्डले के आँटेको छ, देउवाको दाउ के हो, ओलीको बोलीका अर्थ केलाउन अरुले पालो पाउदैन शिक्षकका फुर्सदमा। यता शिक्षकहरु राजनीतिको ‘र’ पनि उच्चारण गर्दैनन्। उनलाई आफुलाई मन परेको पार्टीलाई भोटका दिन चुपचाप गएर भोट दिनु बाहेक राजनीति र नेतासँग कुनै लगाव र सरोकार छैन।

यहाँका शिक्षकलाई आफ्नो काममा र कहिले छुट्टी हुन्छ र बिदा मनाउन समुद्री तट जानु वा परिवारसँग समय बिताउन पाउनु भन्नेमा मात्रै ध्याउन्न हुन्छ। शिक्षक संगठनले बिशुद्द ढङ्गले पेसागत हित र क्षमता बढाउने र शिक्षाका नीति निर्माणमा राज्यलाई तथ्यमा आधारित सल्लाह सुझाब दिने गर्छन्। हाम्रोमा कुनै एउटा शिक्षक वा हेड मास्टरले केही फरक र राम्रो गर्न खोज्यो भने त्यसलाई पहिले राजनीतिक रुपले किताकाट गरिन्छ त्यसपछि के हुन्छ भन्नै परेन। शिक्षकका संघ संगठन पार्टीका भोट ब्यांक निर्माण गर्ने हतियार छन् हाम्रामा। दलै पिच्छेका शिक्ष्ँक संगठन र तिनका ठुटे ठुटे नेता शिक्ष्ँकनै छन् । क्यानडामा शिक्षकहरुको संगठन छ तर तल पिच्छेका शिक्षक संगठन छैनन् । शिक्षक झेले कार्यकर्ता होइनन् यहाँ ।

नेपालमा विद्यमान शिक्षकहरुले प्रभावकारी शिक्षण गर्न नसक्ने भन्ने त कुरै छैन तर कामचलाउ मानसिकताको संस्कार बदल्ने र शिक्षण पेसालाई राजनीतिबाट मुक्त बनाउने चुनौति छ। सबै शिक्षकलाई भन्न खोजेको होइन तर स्कुल क्याम्पसमा पढेका पुस्तकबाहेक थप पढ्न नरुचाउनेले पनि नेपालमा मास्टर जागिर पड्काउछ। बिएको जाँच मात्रै पास गरूँ न बाटामा भेटिने साइनबोड पनि अरुलाई नै पढ्न लाउछु भन्ने, र शिक्षक तालिमको मूल्यांकन परीक्षामा गाह्रो आउला भनेर सबै गाह्रोजति पढेर गइयो जाँचमा जम्मै सजिलो आइदियो। सजिलो पढेकै थिएन कहाँबाट पास हुनु तालिममा, फेल भइयो भन्ने जोक मास्टरका जोक हुन् नेपालमा।

  • शिक्षक प्रभावकारी नहुनुमा देशको भौगोलिक कारण, विद्यालयको भौतिक संरचना पनि हो भन्छन्, नेपालका विद्यालयको अहिलेको पूर्वाधारमा साँच्चै शिक्षकले केही गर्न सक्दैन ?

केही हदसम्म सही हो। भौगोलिक अवस्था हामीले बनाएको होइन । भौतिक संरचना भने हामी हाम्रै पहलमा सुधार्न सक्छौं ।मूल कुरा केही फरक र सिर्जनशील काम गरिहालूँ भन्ने जागरण मास्टरमा पुगे पो सुधार हुन्छ।    

हाम्रो देस गाउँ, विकटता, अशिक्षा, गरिबीमा छ सधैं। त्यसको प्रभाव हाम्रा शिक्षक, अभिभावक र बिद्यार्थीमा छैन भन्ने कुरै भएन। भौगोलिक विकटताले गर्दा सूचना, सेवा, श्रोतसाधन र कार्यक्रमहरु समयमा ठाउँमा पुर्याउन र त्यसको प्रभावकारी कार्यन्वयनका लागि चाहिने जनशक्तिको चाँजोपाँजो मिलाउन कठिन त हुन्छ। भौगोलिक विकटता भनेको बाटो नपुग्ने अक्कर मात्रै भनेर बुझ्नु हुँदैन। अहिले चलेको डोजर संस्कृतिले गर्दा बाटो त धुले नै सही प्राय गाउँमा पुगेको छ। तर आम मान्छेको काम गर्ने शैली, जीवन जगत र पेसा ब्यबसायलाई बुझ्ने र अपनाउने शैली अझै बिकट र पुरानै छ।

भौगोलिक अवस्था हाम्रो प्रतिकुल नै छ। भौतिक संरचना र साधनश्रोतको पनि चरम कमी छ। गाउँमा एउटा स्कुल उराठ लाग्दो रातमाटे डाँडामा एउटा बुढो बरको रुख र एउटा कुरूप ढिस्कोका आडमा हुन्छ। धुलोमैलो कक्षा कोठाभित्रै पुगेको हुन्छ। सौचालय कि हुदैहुदैन कि त भित्र पस्ने नसकिने हुन्छ। हेडसरको कोठामा एउटा स्टिलको दराज र एउटा टेबल कुर्सी हुन्छ फर्निचरको नाममा। भवन पनि गतिला बसेर पढूं पढ़ाऊँ भनेर मन तान्ने खालका छैनन्। यस्तो स्थितिमा जति नै सुधारका कुरा गरेपनि मान्छे लागिपर्न सुरु गरिहाल्न तत्पर हुनै सक्दैन। यस्तो भएपछि शिक्षकलाई पनि कतिबेला ४ बजाएर भुतबंगलाबाट निस्किनु भन्ने सोच हुन्छ। बिद्यार्थीको मनोविज्ञान पनि उस्तै हुन्छ। तर त्यसो भनेर अब पनि उम्किन खोज्ने हो भने हाम्रो रटन्ते शिक्षाले अल्पज्ञानी बेरोजगारहरुको भीड मात्रै उत्पादन गरिरहने भयो।  भौगोलिक संरचना अनुसारको समुदाय, स्थानीयस्रोत साधन उपयोग गरेर सुधार गर्ने जिम्मा शिक्षकको पनि त हो । तब न ऊ शिक्षक हुन्छ ।

  • त्यसो भए क्यानडाको सुविधा सम्पन्न कक्षा कोठा र शिक्षकको व्यवहारबाट नेपालका शिक्षकले के सिक्न सक्छन् भन्ने  तपाइँलाई लाग्छ ?

यहाँको कक्षा कोठामा २५ जना भन्दा बढी बिद्यार्थी राख्न अपबादबाहेक मिल्दैन। भौतिक हिसाबले हेर्दा क्यानाडामा कक्षा कोठा फराकिलो, प्रशस्त प्रकाश उपलब्ध भएको, हरेक बिद्यार्थीको आफ्नै डेस्क र कुर्सी भएको, कक्षा कोठाको आफ्नै सानो पुस्तकालय भएको र शैक्षिक सामग्रीले परिपूर्ण हुन्छ। हाम्रोमा तास खेल्नुलाई नराम्रो मानिन्छ तर यहाँ प्रत्येक बिद्यार्थीको डेस्कमा तासका बुंग दिएका छन् र त्यसलाई गणीत सिकाउने अनेक खेलमा प्रयोग गरिन्छ। यो एउटा उदाहरण भयो। शिक्षकले बिद्यार्थीलाई ठुलामान्छेलाई जस्तो आदरपुर्बक बोली बचन र ब्यबहार गर्नुपर्छ। बिद्यार्थीलाई सजायको भावले छुन पाइदैन। बिद्यार्थीका कुनै पनि सरसामान अनुमति नलिई छुन पाइदैन। ‘एभ्री चाइल्ड इज अ मिनिएचर एडल्ट’ (हरेक बालकमा एउटा बयस्कको गुण हुन्छ) भन्ने कुरालाई मनन् गरेर बच्चालाई व्यवहार गरिन्छ। बच्चाले शिक्षक रिसाएको, आफुलाई हेपेको, अपमान गरेको, माया गरेको, भेदभाव गरेको एउटा बयस्कले जसरी नै बुझ्नसक्छ त्यसैले असल नागरिक बनाउन उसलाई आजैदेखि नमुना ब्यबहार र आचरणले दिक्षित गर्न सुरु गर्नुपर्छ भन्ने दर्शन निकै बलशाली छ यहाँको कक्षाकोठामा। त्यसको अलावा शिक्षक निकै नै विनोदप्रीय पनि हुनुपर्छ यहाँ। बिना कुनै धक नाचेर, मुख बिगारेर, अभिनय गरेर, जोक सुनाएर, गीत गएर बिद्यार्थीलाई रमाइलो गराउन पनि उतिकै आवश्यक छ। गजक्क परेर बस्ने, रुखो बोल्ने, झम्टिने, बेवास्ता गर्ने, पढाउन अल्छी गर्ने, कक्षाको समय आलटाल गरेर बिताउने, विद्यार्थीलाई गन्तिमन्ति नगर्ने भयो भने कुरो बुझ्नुस् त्यो शिक्षक जागिरमा धेरै दिन टिकेन। अब तपाईं भन्नुस्, हाम्रा शिक्षकले यो सबबाट के सिक्ने ?      

  • क्यानडामा त तोकिएको पाठ्यपुस्तक पढाउने भन्दा पनि पाठ्यक्रमले तोकेको उद्देश्यअनुसारका  शिक्षण सामग्री शिक्षकले जुटाएर पढाउछन्, हाम्रोमा त पाठ्यक्रमबारे झन्डै शिक्षक बेखबरनै छन् । पढाउन पाठ्यपुस्तक जरुरी छ ?

यहाँ हाम्रोमा जस्तो योयो किताब पढाउने भनेर किटेर दिएको हुदैन। तर कक्षा ७/८ देखि माथि पाठ्यक्रमका निश्चित उदेश्य पुरा गर्ने पुस्तकका कुनै खण्ड वा पाठलाई तोकिएको भने हुन्छ। प्रत्येक युनिट वा पाठ पढाउनुको उदेश्य के हो भन्नेकुरा पाठ्यक्रममा तोकिएको हुन्छ त्यसको एक प्रति शिक्षकले राख्नु जरुरी छ। त्यो उदेश्यबमोजिम उसले पाठ्यसामग्री आफैं निर्माण गर्ने वा शिक्षा मन्त्रालयको पाठ्यक्रम मापदण्डमा निजी क्षेत्रले छापेका पुस्तकबाट उपयोगी सामग्रीको नक्कल झिकेर विद्यार्थीलाई ह्याण्ड आउट दिने र पढाउने शिक्षकको जिम्मा। पाठ्यक्रमको उदेश्यसंग मेल खाने डिजिटल नन-डिजिटल सामग्री खोजेर हुन्छ कि तयार पारेर हुन्छ शिक्षकले नै जुटाएर पढाउने हो यहाँ। जाँगरिलो शिक्षकलाई पढाउन पाठ्यपुस्तक नै चाहिने होइन पाठ्यक्रमको निर्देशिका भए पुग्ने हो। तर यसरी हाम्रोमा सोचिएको पनि छैन बिद्यालयस्तरमा। पाठ्यक्रम भनेको के हो भन्ने शिक्षकहरु धेरै भेटेको छु मैले आफैं। हाम्रो जस्तो आर्थिक-सामाजिक संस्कार र पठनपाठनको कम्जोर संस्कृति भएको देसमा शिक्षकले केही गर्न भ्याउदैन(सक्दैन?) भनेर योयो किताबमा भएको कुरा मात्र पढाउनु अर्थोकमा तिमीले टाउको दुखाउनु पर्दैन भनेर यताका शिक्षकको तुलनामा घीउभात खाएजस्तो सजिलो पारिदिएको छ र कुरो बिग्रेको छ।

  • नेपालका शिक्षक किन पाठ्यपुस्तक भएन भने पहाडै खस्छ पढाउनै सकिन्नजस्तो गर्छन् त ?

यसको सजिलो उतर हो उनलाई पनि उनका शिक्षकले पाठ्यपुस्तक बिना कहिले पढाएर नदेखाएकाले। मैले अघि भनेजस्तो शिक्षक प्रतिबद्धरुपले ब्यबसायिक हुनुको साटो ‘अल इन वन’ भएकोले यस्तो भएको हो।   

  • अनि एउटा शिक्षकलाई त्यतिको प्रभावकारी शिक्षक बनाउन हेडमास्टरको भूमिका कस्तो हुने रहेछ ?

यहाँको हेड मास्टर निक्कै सोची बिचारी चुनिएको व्यक्ति हुन्छ। जो कोहीले हेडमास्टर भइहाल्न पाए हुन्थ्यो पनि भन्दैन र सजिलै हुन पनि पाउदैन। शिक्षक र स्कुलप्रतिको नागरिक बुझाई नै फरक छ यहाँ। शिक्षकलाई हाम्रा छोराछोरीको भविष्य निर्माण गर्ने र जिम्मेवार र सक्षम नागरिक बनाउने महान काममा लागेका असल मान्छेहरु भनेर बुझिन्छ यहाँ। बिद्यालयलाई निक्कै नै संवेदनशील क्षेत्र मानिन्छ हरेक हिसाबले। बालबालिका जस्तो संवेदनशील क्षेत्र भएकोले, समाज र राष्ट्रको लागि शिक्षाको गहन उतरदायित्व बोक्ने संस्था भएकोले, अनेक परिवार र सामुदायको हीत, भविष्य र भावना जोडिएकोले एउटा स्कुल भनेको यहाँ ख्यालख्यालको बिषय नै होइन। यस्तो संस्थाको नेतृत्व गर्ने व्यक्तिले शिक्षक, बिद्यार्थी, परिवार, समाजको स्वाभाविक ताल, गति र मूल्यमान्यतालाई गडबड हुन नदिई अत्यन्तै सन्तुलित सुविचारित नेतृत्व दिएर शिक्षाको लक्ष्य हासिल गर्न सघाउनु पर्छ भन्ने रहेछ। हेडसर निक्कै अध्यनशील हुनुपर्छ यहाँ। यहाँका हेडमास्टरले पढाउनु पर्दैन। कसले कसरी पढाउदै छ, केके प्रगति विवरण छ, कुन शिक्षकले के कस्तो पेसागत सीप र क्षमता बिकासमा आफुलाई लगाएको छ, कसलाई कुन तालिम, परामर्श र के श्रोत साधनको खाँचो छ आदि कुरामा वाचडगको काम हेडसरले गर्छन् यहाँ। साथसाथै हेडमास्टरहरु रमाइला, फर्स्याइला, अति नै अनौपचारिक ब्यबहार गर्ने, हाकिमी शैली पटक्कै नदेखाउने साथी जस्ता हुन्छन्। तर अन्तर्यमा काम र नियम-कानुनका मामिलामा पटक्कै सम्झौता नगर्ने उच्च ब्यबसायिक गुण र आचरण गर्ने असल साथीको भूमिकामा हुन्छन् यताका हेड सर।       

  • पाठ्यसामग्री तयार गर्न शिक्षकले खर्च गर्छन् कि विद्यालयले त्यो रकम उपलब्ध गराउँछ ?

शिक्षकले सोधभर्ना लिन पाउछ तोकिएको खर्च सिमामा रहेर। तर, शिक्षकहरु आफ्नै खर्चमा पुस्तक लगायत धेरै शैक्षिक सामग्री किनेर कक्षामा प्रयोग गर्छन्। सोधभर्ना हतपत लिदैनन्। हाम्रोमा जस्तो नक्कली खर्चको नक्कली बिल बनाउन लाएर ठग्ने काम हुदैन।

  • अनि शिक्षकको त्यही शिक्षणका आधारमा विद्यार्थीको निरन्तर मूल्यांकन हुन्छ, नेपालमा निरन्तर मूल्यांकनलाई स्वत पास भन्ने बुझिएको छ, यताको विद्यार्थी निरन्तर मूल्यांकनमा एउटा शिक्षकले के के गर्नु पर्छ ?

यहाँको निरन्तर मुल्यांकन प्रणाली एउटा राम्रो पाटो हो। यहाँ बिद्यार्थी फेल गराएर कक्षा दोहोर्याउन लाउने भन्ने हुदैन। तर अभिभावकले नै बलजफ्ति चाह्यो भने कक्षा दोहोर्याउने हुन्छ रे जुन एकदम नगन्य हुन्छ। यहाँको पढाइमा पढाइको सेमेस्टर सकिंदा परीक्षा पनि सकिन्छ। नेपालमा जस्तो पठनपाठन सकेर परीक्षा लिने भन्ने हुन्न। प्रत्येक पाठको अन्त्यमा क्विज हुन्छ। कुनै पाठ बिशेषको अन्त्यमा केके जान्न जरुरी छ त्यसको ‘स्टडी गाइड’ क्विज हुनुभन्दा एक दुई दिनअघि घर पठाइन्छ। विद्यार्थी त्यही अनुरुप पढेर क्विजको लागि तयारी गर्छन् र जाँच दिन्छन्। हाम्रोमा जस्तो जाँचको भय-मनोविज्ञान विद्यार्थीले अनुभूति नै गर्न पाउदैनन्। जाँच लिँदा समय सीमालाई खुकुलो गरिएको हुन्छ यतिभित्रमा सक्नु पर्छ भन्ने छैन।

जाँचमा दयामाया र करुणाको गुन्जायस कतिपनि रहन्न। शिक्षकले विद्यार्थीलाई फेल गराउन जाँच लिने होइनन् यहाँ। शिक्षकले पढाएर जाँचमा उतर दिन सक्ने पारेपछि मात्रै जाँच लिने चलन छ यहाँ। आफुले पढाउने सबै बिषयको प्रश्नपत्र बनाउने शिक्षकले नै हो। सिकाइमा कति सक्रिय छ, सामुहिकता र सहकार्यमा कतिको योगदान गर्छयस्ता कुराको पनि मुल्यांकन हुन्छ। शिक्षकको प्रत्येक टर्मको प्रत्येक बिषयको प्रोग्रेस रिपोर्ट दिइन्छ बिद्यार्थीलाई।

कसरी पढाउने त त्यसरी भन्ने प्रश्न आउला। एउटा उदाहरण लिऊँ: मानौं कक्षा ४ मा सामाजिक अध्ययनमा पाठको शीर्षक ‘लिम्बू जाति र संस्कृति’ भन्ने छ। नेपालमा यो पाठ पढाउन तोकिएको किताबमा तोकिएको पाठ हुन्छ। पल्टायो ब्याख्या गर्दियो। बिद्यार्थी ट्वाँ परेर नबोली सुन्छन्। अलिअलि प्रश्नोतर गरायो सक्यो।

यहाँ यो पाठ पढाउनु पर्यो भने लिम्बू जाति र संस्कृति बारे लेखिएको कुनै पुस्तक वा त्यसको अंश शिक्षकले कतैबाट जुटाउछ र विद्यार्थीका हातहातमा दिन्छ। अब एउटा रिसर्च टेम्प्लेट दिइन्छ विद्यार्थीलाई जसमा लिम्बू जातिको बसोबास गर्ने ठाउँ, तिनले बोल्ने भाषा, जनसंख्या, खानपान, चाडपर्ब, भेषभुषा, गहनागुरिया आदिको तालिका हुन्छ र खाली ठाउँ राखिएको हुन्छ। विद्यार्थीलाई ३/४ जनाको समुहमा बाँडेर किताब पढ्ने र खाली ठाउँमा तथ्य कुराहरु समुहमा छलफल गरेर लेखेर टेम्प्लेट भर्न लगाइन्छ। विद्यार्थीले किताब पढेर लिम्बू जातिको ठाउँ, भाषा, जनसंख्या आदि सबै तालिकामा भरेर आफ्नो फोल्डरमा राख्छन्। अब शिक्षकले समुहबाट एउटा वा समुहका सबैजनालाई कक्षाको अघिल्तिर बोलाउछ प्रेजेन्टेसनको लागि। एउटा समुहले जनसंख्या बारे बतायो भने अर्कोले भेषभुषा र अर्कोले चाडपर्बबारे बताउँछ। प्रत्येक प्रेजेन्टेसनपछि प्रश्नोतरका लागि समय दिइन्छ। विद्यार्थीले नै प्रश्न गर्छन् विद्यार्थीले नै उतर दिन्छन्। अब शिक्षकले एकसरो फरर्र भन्छ। अब लिम्बू जाति संस्कृतिबारे छोटो भिडियो हेर्ने पालो आयो। अघि नै धेरै कुरा विद्यार्थीले जानिसकेका छन् त्यो पनि शिक्षकको ब्याख्या ट्वाँ परेर सुनेर होइन आफैं रिसर्च गरेर। अब भिडियो हेरेर उनीहरुले पाँचवटा आफूलाई मन परेका कुरा लेख्नु पर्छ र कक्षामा पालैपालो सबैलाई सुनाउनु पर्छ। त्यसमा थप चर्चा बहस र प्रस्नोतर चल्छ। त्यसपछि अब विद्यार्थीले ड्रइंग पेपरमा लिम्बू जाति र संस्कृति झल्काउने पोस्टर बनाउनु पर्छ समुहमा बाँडिएर। पोस्टरमा एउटा पहिरन, दुईटा खानेकुरा, नेपालको नक्सामा कहाँनेर बस्छन् लिम्बू जाति त्यो कुरा, केही जानकारीका बुँदा आदि समाबेस गरेर सकेसम्म आफुले सिकेका कुरा समेट्न सक्नु पर्छ। यो पाठ ३/४ दिन निरन्तर जानसक्छ। अब शिक्षकले यो पाठबारे केही सिकाउनु छ भने थप कुरा गर्छ। विद्यार्थीको प्रेजेन्टेसनको, पोस्टरको र अन्तिममा क्विजको मार्किंग हुन्छ र बिद्यार्थी सजिलै पास हुन्छन्। प्राप्त अंक हाम्रोतिर रिजल्ट भनिने उनीहरुको प्रोग्रेस रिपोर्टमा गनिन्छ। अब भन्नुस् शिक्षणको कुन बिधि तपाईंलाई मन पर्यो ?  

  • सिकाइ प्रभावकारी हुन शिक्षकमात्रै गतिलो हुनु पर्छ कि अभिभावक पनि ?

विद्यार्थीको सफल पढाइ/सिकाइ घर र बिद्यालयको साझेदारीमा मात्रै  सम्भव छ भन्ने मान्यता छ यहाँ। मेरो छोरा वा छोरीको हरेक कमजोरी, ब्यबहार र सिकाइको परिणामको जिम्मेवार स्कुल मात्रै हुनुपर्छ भन्ने हुदैन।

  • त्यसमा विद्यार्थीको भूमिकचाहिँ के हुन्छ ?

विद्यार्थीले एउटा अनुशासित जीवन जिउनुपर्छ स्कुलमा। ‘रेस्पेक्टफुल बिहेभियर टु एडल्ट एंड एभ्रिवन’ भन्ने मूलमन्त्र हो बिद्यार्थेको हकमा। बदमासी गर्ने उच्छट हुनेलाई नछोइकनै ठेगान लाउने विधि र संस्कार बसालिएको छ। यदि तिमीले सिक्न सकेनौ भने पहिले आफूलाई हेर कहाँकहाँ कमजोरी भयो भनेर भन्ने छ। बिद्यार्थीको अनुशासनको मामिला अभिभावकलाई एकैचोटी आक्रामक ढङ्गले भन्ने र निरास पार्ने भन्ने हुन्न यहाँ। अति नै सौहार्दपूर्ण रुपले अभिभावकलाई बोलाएर समस्या र समस्या समाधानमा गरिएका उपायबारे जानकारी गराइन्छ। अभिभावकले राम्रो सहयोग गर्छन् र समस्यालाई निराकरण गरिन्छ।

  • वर्ष यहाँको विद्यालयमा शिक्षण सहायक भएपछि शिक्षाले गर्नु पर्नेचाहिं के रहेछ भन्ने बुझ्नु भयो?

शिक्षाले मुलरुपमा आम मानिसमा सकारात्कम आचरण, कर्मशील, सिर्जनशील, उद्यमशील, धैर्यवान, सहिष्णु, खोज र अनुसन्धानमा आधारित बिचार र विवेक निर्माण गर्न र निष्ठावान जीवन जिउने प्रण भएको राष्ट्रिय चरित्र निर्माण गर्नु पर्ने रहेछ। शिक्षाका यी कामलाई आम शिक्षित मानिसले आ-आफ्नो जीवनशैली बनाउनु पर्ने रहेछ। शिक्षाले गर्नुपर्ने यो कामका लागि अहिलेकै उपलब्ध पूर्वाधारमा पनि यदि सबै जागरुक भएर गरिछाड्ने प्रण गर्यो भने गर्न प्रशस्तै सकिन्छ। शिक्षाको यो बृहतर लक्ष्य भने एउटा शिक्षकले कक्षाकोठामा एक्लैले गरेर प्राप्त हुने कुरा होइन। घुमिफिरी राजनीतिक कार्यक्रम र प्रतिबद्धता मै आएर थुरिन्छ मूल कुरा।  हाम्रोमा शिक्षाले माथि उल्लेखित गुण भएको नागरिकको राष्ट्रिय चरित्र नै कहिले निर्माण गर्न सकेन। युनिभर्सिटी डिग्री त लिएको छ तर जीवनचरित्र भने सधैं ढाँटछल, बदनियत, दाउपेच र सार्बजनिक जीवनका संहिता र कानुन नियमको बर्खिलाप हुने गरी आफ्नो दुनो सोझ्याउने खालको मात्रै छ। जसको फलस्वरूप एउटा पत्रकार जनताका, गरिब-दुखीका, कुनै निमुखा प्रतिभाका कुरा छाप्न मान्दैन वा घुस माग्छ, कर्मचारी टेबलमुनिबाट नखाई काम गर्न तयार हुँदैन, ब्यापारी ठगेर कमाउने ध्याउन्नमा मात्रै हुन्छ, शिक्षक, प्राध्यापक फगत जागिर खान्छ, नेता पैसा कमाउने र कानुन भत्काउने खेतिमा मात्रै लाग्छ, ठेकेदार सेटिंग मिलाएर गुणस्तरहीन काम गर्छ सजाय पाउदैन, अस्पतालमा चिनेका मान्छे र आफन्तको उपचार एक किसिमले हुन्छ कोही भनसुन चलाउन नसक्नेको अर्कै किसिमले हुन्छ। यो सब शिक्षाले मान्छेको दिमागभित्र गर्नुपर्ने खास काममा कसैको ध्यान नगएर यस्तो भएको हो।   

  • नेपालमा अहिले सरकारी स्कुलमा अंग्रेजी मध्यमबाट पढाइ गराउने फेसन बसेको छ र त्यसको खुब भाउ छ समाजमा। यसो गर्दा तपाईंले माथि भनेका सुधारका काम हुन्छन् ? यो कस्त्तो लाग्छ तपाईंलाई ?

शासकहरु बौलाएको एउटा राम्रो उदाहरण हो यो। हाम्रो देशलाई दुनियाँले तेसै हेपेको होइन। युरोप अमेरिकाका मिडियाले नेपालबारे लेख्नुपर्दा एसियाको सबैभन्दा गरिब, अति नै कंगाल, अशिक्षा र भ्रष्टचारले सकेको ‘हिमलाये कन्ट्री’ भन्न कहिले छुटाउदैन। हामी गरिब भौतिक असम्पन्नताले मात्रै होइनौ मानसिक सोचका दृष्टीले पनि तन्नम नै छौं भन्नेकुराको एउटा उदाहरण यो। हाम्रो आफ्नै नेपाली भाषा छ जुगौंदेखि। यसको व्याकरण छ, साहित्य छ, आम संचार, आम जनको दैनिक ब्यबहार, राजकाज सबै यही भाषामा चल्छ। शिक्षा-दिक्षा आजसम्म यही भाषामा चलेर आएको छ। यो भाषा समग्र नेपाल र नेपालीलाई जोड्ने र चिनाउने भाषा पनि हो। सरकारले त आफ्नो भाषाको बिकास गर्नेमा पो काम गर्नुपर्ने हो। यसरी आफ्नो राष्ट्रीय भाषाको हत्या गर्ने कुरालाई अनुमति दिएर निदाएर बस्ने होइन सरकारले।

सरकारी स्कुलमा अंग्रेजी माध्यममा पढाइ हुन थाल्नुको कारण हाम्रो मानव निर्यातमुखी अर्थतन्त्रले समाजमा ल्याएको नयाँ मूल्य र महत्व हो। अरुथोक अत्पादन गरेर बिदेस पठाऔं भने सियोदेखि फालीसम्म पारि भारतबाट आइहाल्छ हामीले केही गर्नै परेन। अब के पठाउने त भन्दा युवा बाहुबलीहरुलाई बाहिर पठाउने। त्यसको लागि अंग्रेजी भए जानेलाई पनि अलिक राम्रै हुने भो। हाम्रा स्कुल क्यामपस अब कस्ता हुँदैछन् भने नेपालको खर्चमा बिदेसीले आफ्ना जनशक्ति तयार पार्ने कारखाना जस्ता हुँदैछन्। हामीलाई चाहिने जनशक्ति तिमीहरु जन्माओ, आफ्नै खर्चमा हुर्काओ, आफ्नै खर्चमा तर हाम्रो भाषामा पढ़ाओ र योग्य बनाएर यता पठाइदेओ। हाम्रो काम गरेबापत हामी तिमेरका युवालाई खानलाउन दिऊँला। तिमीहरु सधैं कंगाल नै भएर बस भन्दैछन् बिदेसी र हाम्रा शासकहरु ‘हस’ भनेर लागेकाले स्कुलमा अंग्रेजी माध्यम भित्रिएको हो।      

हामी एउटा ठुलो हुस्सुपन र आइरोनीमा बाँचेका छौं सधैं। अहिले सुनिदैछ स्थानीय सरकारको कामकाजको भाषा पनि स्थानीय हुनुपर्छ रे। कीर्तिपुरले नेवारी भाषामा कामकाज सुरु गर्यो रे। धरानमा लिम्बू भाषामा राजकाज चलाउने कुरा हुदैछ रे। अनि हाम्रा बिद्यालयमा चाहिं अंग्रेजी भाषामा पढाइ नभए आकासै खस्ने रे। यो भन्दा पागलपन अरु केही हुन्छ ?

स्कुलमा त अंग्रेजी माध्यममा पढाइ सुरु भयोभयो। त्यसको छुट्टै रौनक र महत्व छ। अहिले आएर नेपाल सरकारले सवारी साधनका नम्बर प्लेटमा नेपाली भाषा हटाएर अंग्रेजी भाषा हाल्न अनिबार्य गर्ने भएपछि बजारमा देखिन थाले रे अंग्रेजीका ABCD र 1234। अरु देसका सरकारले यसरी आफ्नो भाषालाई बिस्थापित नै गरेर अर्को देसको भाषामा राज्य संचालन गर्नुपूर्ब दसचोटी सोच्छन होला सायद। देखासिकीमा अक्कल गुमाउनुलाई पनि शासकहरुको बहादुरी मान्नु पर्या छ। यो भाषाको बिषयमा गोबिन्द केसी जस्तो कुनै बहादुर निस्केन। अंग्रेजी पनि नसिकाइ अब हुन्न। त्यसको लागि अहिलेकै विद्यालयको पुर्बाधारमा विद्यमान जनशक्तिलाई नै प्रयोग गरेर सशुल्क ‘आफ्टर स्कुल इंगलिस ल्यांग्वेज प्रोग्राम’ चलाउन सकिन्छ जहाँ चार बजे स्कुल सकिएपछि खाजसाजा खाएर अंग्रेजी भाषा सिक्न सक्छन् विद्यार्थीले।

अब नेपाल निर्माण र सम्बृद्धिको युग सुरु भएको भनिदैछ। त्यसो हो भने नेपालमा काम गर्ने युवा तयार पार्न आफ्नो भाषालाई नै लज्जाजनक ढंगले बिस्थापित गरेर अंग्रेजीलाई स्कुल क्याम्पसमा हुल्नु पर्दैन। जापान, अहिलेको चिन, जर्मनी, फ्रान्सलाई हेरौं। आफ्नो भाषाको हत्या नगरी कसरी प्रगति गर्न सकिन्छ भन्नलाई। नागरिकलाई अंग्रेजी सिकाउने अरु विकल्प कति छन् कति।

  • यति धेरै बिचार र विश्लेषणका कुरा राख्नु भो, नेपालको शिक्षाको समस्या पत्तो लाग्यो, सुधार गर्ने कसरी थाहा भयो अनि अब नेपाल फर्केर शिक्षामा काम थाले हुँदैन तपाईंले आफैं ?

सामाजिक संजालमा छुसी गरेर बस्नेलाई राम्रो खुराक हुने प्रश्न गर्नु भयो। म खेतबारीमा काम गरेर परिवारको आहार र खर्च जुटाउने बाबुआमाको छोरो हुँ। मैले नेपाल गएर के गर्न सक्छु र। म नेपाल जानु वा नजानुले हाम्रो शिक्षा प्रणालीमा केही फरक पर्दैन तर मैले यहाँ बसेर देखेजानेको काम लाग्ने अनुभव सबैलाई बाँडे भने त बरु काम लाग्यो नि। म र मजस्ता कयौं नेपाल छोडेर बाहिर बस्नु पनि हाम्रै शिक्षादिक्षा र हामीले बनाएको सामाजिक मूल्यमान्यताकै प्रतिफल हो। अब यसलाई त स्वीकार गर्नु पर्यो नि।

प्रतिक्रिया