Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

रेवती सरको गणित कक्षा

मंगलबार, १० मंसिर २०७६

दाङ् - माध्यमिक विद्यालय भित्री सक्रामको कक्षा ५ मा रेवती सर छिर्ने वित्तिकै दुबै पंति तिरका विद्यार्थी जुरुक्क उठे ।

‘गुडमर्निङ् क्लास’

‘गुडमर्निङ सर ।’ 

गुड मर्निङ शब्द कक्षामा गुञ्जिदै फैलियो ।

‘बस बस । सबै जना बस ।’ रेवती सरले भने ।

कक्षामा उपस्थित २० जना विद्यार्थी आआफ्नो ठाउँमा बसे ।

‘सर होमवर्क ।’

‘सर मेरो पनि होमवर्क ।’

विद्यार्थी सामु पुगेर रेवती प्रसाद बस्नेतले पालै पालो विद्यार्थीका कापीहरु बटुले । झण्डै ६० प्रतिशत विद्यार्थीले होमवर्क सरलाई बुझाए । कतिले ठिक गरे होलान् ?

सरले फुर्सदको घण्टीमा होमवर्क चेक गर्नको लागि कापीहरु कक्षाको अघिल्तिरको पोडियममा राखे । 

सेतो रंगको । सानो चिटिक्कको । नेपाली कपडाले बनेको छड्के झोला । झोलाबाट एउटा कागज निकाले । झोला विद्यालयले प्रदान गरेको रहेछ, शैक्षिक सामग्री राख्नको लागि ।

‘सबै जनाले एउटा खाली पाना निकाल ।’ शिक्षक आफ्नो हातको कागज देखाउँदै थिए ।

‘सर हेर्नु त  मैले निकालेँ ।’

‘सर मैले पनि ।’ कापीबाट एक एक पन्ना सबै विद्यार्थीले झिके ।

‘सर अब के गर्ने ?’

पन्ना झिके पछि विद्यार्थी आफ्नो मर्जिले बटार्न खोज्दै थिए ।

‘मैले जे जे भन्छु गर्दै जाने । सबै रेडी हो ?’ शिक्षकले भने ।

‘विद्यार्थी खुसीले चिच्याउँदै हो सर !’ पन्ना देखाउँदै हात आकाश तिर उठाए ।

‘ल त्यसो भए म भन्दै जान्छु तिमीहरु गर्दै जाऊ ।’

‘पहिला पानालाई ठाडो बनाऊ । अब पानालाई ठिक आधा पार्ने ।’ शिक्षकले आफ्नो हातको कागजलाई आधा भाँचेर पट्याए । देखाए । कागज अलि सानो भयो ।

‘आधा भयो सर । अब के गर्ने?’

‘फेरि आधा बनाउने ।’

शिक्षकले भन्दै गए । सिङ्गोलाई आधा । आधाको आधा । गर्दै ४ पटक सम्म खाली कागज सबै विद्यार्थीले पट्याए । अघि फैलिएको कागजको आकार निकै सानो भयो । एक धर्को भयो ।

‘अब सबै जनाले पट्याएको कागजलाई फुकाउने ।’ सरले भने ।

मानौं जिन्दगीका गाँठाहरु फुकाएझैं विद्यार्थीले खुसीले कागजलाई फुकाए । फरर...।

‘अब के गर्ने सर ?’

‘अघि कागजलाई कसरी समातेका थियौं ?’

‘ठाडो सर।’

‘अब कागजलाई तेर्सो समात्ने । अनि अघि पट्याए जस्तै गरि पट्याउँदै जाने ।’

विद्यार्थी रमाइलो मान्दै फटाफट सरले भनेको अनुरुप गरिरहेका थिए र कागजसँग खेलिरहेका थिए । कागज आज्ञाकारी र लचिलो हुँदै विद्यार्थीको औंलाको ईशारामा पट्टी रहेको थियो ।

‘अब सबैले कागज फुकाउने । आफ्नो कागजमा कस्ता रेखाहरु बने हेर्ने है त !’ शिक्षकले भने ।

आहा ! कोठै कोठा बने सर । सर हेर्नु त !’ केहीले ठुल्ठुला आँखा बनाउँदै आश्चर्य एक आपसमा व्यक्त गरिरहेका थिए ।

‘कोठा मात्रै होइन । पाना भरी रेखै रेखा छन् त आहै !’ कक्षा कोठामा आहै ! लै लै गुञ्जियो ।

‘उस्को भन्दा मेरो अलि सिधा छ ।’

‘मेरा त ठुला कोठा बने ।’

यस्तै यस्तै विद्यार्थी आफ्नो देखाउँदै अरुको हेर्न थाले । मानौं विद्यार्थीले कुनै नुतन कुराको आविष्कार गरेको महशुस गर्दै थिए ।

‘अब सबै जनाले सिसा कलम र स्केल निकाल ।’ सरले भने ।

कागजमा बनेका रेखाहरुलाई कोर्न लगाए । पाना भरी कसैका आयतकार त कसैका वर्गाकार कोठाहरु बने । कसैलाई झ्याल जस्तै लाग्यो होला  । कसै लाई आयतकार जालि । कसै लाई बाबाले बुन्दै गरेको डोकाको वर्गाकार फेद । कसैलाई लाग्यो होला घरको ढोकामा बिछाइएको कोठै कोठा भएको आयतकार डोरम्याट । आफ्नै हातले कोरेको सुन्दर कोठै कोठाले भरिएको कागज देखेर विद्यार्थी दंग थिए । चञ्चल थिए । लाग्थ्यो शिक्षकको हातमा लट्टाई थियो । विद्यार्थी चंगा जस्तै विचरण गरिरहेका थिए ।

‘खेल अझै सकिएको छैन है !’ सरले फेरी विद्यार्थीको ध्यानआर्कषण गरे । 

‘अब के गर्ने सर ?’

‘अब आफ्नो कागजमा कति वटा कोठाहरु बने त ? सबैले आफ्नो कागजमा बनेका कोठाहरु गनेर कापीमा लेख ।’

घारमा मौरीले भुनभुन । भ्वाँभ्वाँ गरेको आवाज जस्तै कपषा कोठा विद्यार्थीले गन्ति गरिरहेको आवाजले भरियो ।

१, २, ३, ४,५,........,३५,...,६४,..। 

शिक्षक विद्यार्थीको छेउ छेउमा विद्यार्थीको गन्ती कस्तो हुदैछ । चेक गर्दै थिए ।

कसैले सजिलै गने । कोही गन्दा गन्दै अलमलिए । अलमलिनेको छेउमै पुगेर फेरी गन्न लगाए । 

कहि समयमै भ्वाँभ्वाँ र भुँभुँ रोकियो । आफुले बनाएका कोठाहरु सबैले गने । कागजमा लेखे ।

‘सर मेरोमा ६४ वटा कोठा छन् ।’

‘सर मेरोमा ११२ वटा ।’

‘सर मेरोमा ३५ वटा ।’
.....

‘सर उस्को ३५ वटा । मेरो किन ११२ वटा भयो नि ? फरक फरक आयो त सर ? 

दायाँ तिरको लहरको विद्यार्थीले चिन्तित मुद्रामा जिज्ञासा राखे ।

‘किन होला?’ शिक्षकले प्रतिप्रश्न गरे ।

‘कसैको कोठा ठुला छन् कसैका साना । त्यसैले हो कि सर ?’

‘हो । ठिक हो । कागजको साइज कसैको सानो छ । कसैको ठुलो पाना छ । अनि कसैको कोठाहरु साना छन् कसैका ठुला । त्यसैले फरक फरक भएको हो । आत्तिनु पर्दैन । आफ्नो गनेको चाहिँ ठिक हुनुपर्छ ।’

शिक्षकको कुरा सुनेर जिज्ञासा राख्ने विद्यार्थीको अनुहार चम्किलो भयो । खुसीले जिब्रो टोके ।

‘अब कागजको लम्बाई तिर कति वटा कोठाहरु छन् गन र कापीमा लेख । त्यस्तै चौडाई तिर कति छन् गन र लेख ।’

‘सर लेख्यौं सर।’

‘मेरो त लम्बाई तिर ८ वटा कोठा छन् सर ।’

‘चौडाई तिर पनि ८ छन् सर ।’

शिक्षकले के पढाउन लागेका हुन् ? अझै स्पष्ट भइसकेको थिएन । विद्यार्थीले चौरमा डण्डी बियो अथवा चुंगी खेले झैं रमाइलो मानिकन  सहभागी भइरहेका थिए । सरले हरेक विद्यार्थीलाई समय दिदै थिए । कक्षा सलल खोला बगेझैं बगिरहेको थियो । 

‘अब लम्बाई र चौडाई लाई गुणन गरौं न त ?’

‘कति आउँछ हेरौं है !’

कक्षा कोठा फेरी भरी माहुरीको घार गुञ्जिए झैं गुञ्जियो ।

‘८×८ = ६४ आयो ।’
‘सर ७×५ = ३५ आयो ।’

........

‘अघि गन्ती गर्दा कति आएको थियो नि ?’

‘सर गन्ती गर्दा र गुणन गर्दा बराबर आयो सर ।’

‘गन्ती गर्दा छिटो भयो कि लम्बाई चौडाई गुणन गर्दा ?’

‘गन्ती भन्दा त गुणन गर्दा छिटो भयो सर ।’ धेरैले भने ।

‘यसरी गुणन गरेर कुनै पनि वस्तु कागज, कापी, किताब, कक्षा कोठाको भुँइ, चौर आदिको क्षेत्रफल निकाल्न सक्छौं । आज हामीले क्षेत्रफल निकाल्न सिक्यौं ।’

‘लम्बाई र चौडाई थाहा भयो भने गुणन गरे पछि उक्त वस्तुको क्षेत्रफल आउँछ । यसलाई सुत्रमा पनि लेख्न सकिन्छ ।’ शिक्षकले आफ्नो पानामा भएका कोठाको संख्या लेखे । लम्बाई र चौडाई गनेर लेखे । अनि सुत्रको प्रयोग गरी क्षेत्रफल निकाले । 

‘अब किताबको अभ्यासमा दिएको आयतको क्षेत्रफल निकालौं है त’ भन्दै अभ्यासमा प्रवेश गरे । 

लम्बाई चौडाई गुणन पछि क्षेत्रफल आउने रहेछ । झण्डै ८० प्रतिशतले बुझे ।

‘आफ्नो कापी तथा किताबको लम्बाई र चौडाई स्केलले नापि क्षेत्रफल निकालेर सबैले ल्याउने है त !’ भन्दै शिक्षक कक्षाबाट निस्किए ।

....

४५ मिनेट बितेको पत्तै भएन । समय कम । सिकाइ ज्यादा भए जस्तो महशुस भयो ।

बच्चाको लागि बच्चा जस्तै भएर सिकाउने हो भने बच्चाले चाँडो सिक्छन् ।

साँच्चिकै शिक्षकहरु सृजनशिल हुने हो भने गणित विषय विद्यार्थीको लागि फलामको चिउरा शायदै हुन्थ्यो होला । बेलायति न्युरो साइकोलोजिष्ट वटर वर्थका अनुसार बच्चाहरु जन्मदै गणितज्ञ हुन्छन् । कतै हामीले गणितज्ञहरुलाई सिकाउने नाममा सृजनशीलता मारिरहेका त छैनौं ? 

रेवती सरले झैं गणितको अवधारणा स्पष्ट पारे पछि मात्रै अभ्यासमा प्रवेश गर्ने शिक्षक भ एभने विद्यार्थीले सजिलै 

सिक्न सक्छन् भन्ने प्रमाणित भएको छ । 

बस्नेत सरले कक्षा ३,४ र ५ मा गणित शिक्षण गर्छन् । यही बर्षबाट उक्त विद्यालयलाई नमुना विद्यालय निर्माण गर्ने गरी तुलसीपुर उपमहानगरपालिकाले योजना बनाएको छ । उक्त योजना सफल बनाउन रेवती सर जस्तै विद्यालयका अन्य शिक्षकहरु पनि आ-आफ्नो विषयमा यसै गरी सृजशील सिकाइ गर्न खटिईरहेका छन् । 

प्रतिक्रिया