काठमाडौं - शिक्षा विधेयक माथि सुझाव दिन गठित उपसमितिले आफ्नो प्रतिवेदन समिति समक्ष बुझाएको छ । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदनमा विद्यालय शिक्षा विधेययकमा कक्षा चार देखि विषयगत शिक्षकको व्यवस्था गर्ने प्रावधान अघि सारेको छ ।
कक्षा चार देखि नै विषयगत शिक्षक हुने गरी कानुन बनाउन प्रतिवेदनमा सुझाव छ । यस अघि कक्षा ६ देखि मात्रै विषयत शिक्षक राख्ने गरिएको थियो । सरकारले पनि ६ कक्षादेखि नै विषयगत शिक्षकको प्रस्ताव गरेकोमा उपसमितिले आइतबार समितिलाई बुझाएको प्रतिवेदनमा कक्षा चार देखि नै विषयगत शिक्षक हुनु पर्ने गरी कानुन बनाउन चाहेको हो ।
कक्षा तीनसम्म अध्ययन गराउने शिक्षकलाई कक्षागत शिक्षकको रुपमा परिभाषित गर्न खोजिएको छ । त्यस्तै यो ऐन जारी हुनु भन्दा अघि प्राथमिक शिक्षकको रुपमा कार्यरत शिक्षकले कक्षा पाँच सम्म अध्ययन गराउन बाधा नपर्ने भएको छ । त्यस्तै प्राथमिक तहमा कार्यरत शिक्षकलाई प्रक्रिया अपनाएर कक्षागत र विषयत शिक्षकको रुपमा रुपान्तरण गर्नु पर्ने भनिएको छ ।
उपसमितिका संयोजक छविलाल विश्वकर्माले समिति सभापति अम्मर बहादुर थापालाई प्रतिवेदन बुझाएका हुन् । समितिको बैठकमा शिक्षा मन्त्री रघुजी पन्तको पनि उपस्थिती थियो ।
प्रतिक्रिया