गुनासे अभिभावक, जागिरे शिक्षक चेपुवामा विद्यार्थी


अहिलेका बच्चाहरु टेक्नोलोजीमा निक्कै अगाडि छन् । अभिभावकहरु ‘मेरो बच्चा त पढ्नमा मात्र कमजोर छ, मोबाइल दियो भने त सब एप्स डाउनलोड गर्नेदेखि लिएर अरु अनेकथरी काम गर्छ, त्यसमा त मेरो बच्चा स्मार्ट छ’ भन्नुहुन्छ । बढ्दो टेक्नोलोजी र विज्ञानका सामग्रीसँगै अघि बढेका बच्चालाई हामीले कसरी हुर्काउने ? ‘खोई त हामीसित शिक्षण विधि ?’ यो प्रश्न धेरै अभिभावकको मनमा खेलिरहेको प्रश्न पनि हो ।

अभिभावकले भनेको बच्चाले मानेन ।

गाली ! गाली गर्दा मानेन ।

पिटाइ ! झन् भएन ।

घुर्क्याउने ! तर्साउने ! धम्क्याउने !

यी बाहेक अर्को उपाय हामीसँग छैन, बिकल्प के हुन सक्ला त्यसबारेमा हामीले सोचकै छैनौं । बच्चाको भावनालाई हामीले महत्व नै दिएनौं, उसको कामलाई हामीले कहिले पनि प्राथमिकतामा राखेनौं । उसको आवश्यकतामा हाम्रो ध्यान गएको छैन, त्यो हाम्रो कमजोरी हो भन्ने पनि हामीले जानेनौं । यो समस्या हेर्दा सानो लाग्छ कुरा भने निक्कै गहन छ । त्यसलाई हामीले मनन् गर्नुपर्छ ।

धेरै अभिभावकहरुको गुनासो छ, ‘केटाकेटीलाई हामीले अपेक्षा गरेअनुसारको बनाउन सकेनौं, हामीले भनेको अनुसारको बाटोमा डोहोर्याउन सकेनौं, हामीले सम्हाल्न सकेनौं ।’

सोचेको जस्तो बनाउन नसकेको अधिकांशको गुनासो छ । हो, अहिलेको बच्चालाई खेल्नुपरेको छ, हातमा बल छ, गाडी छ, एउटा खेलौनाले नपुग्ने भइसकेको छ बच्चाहरुलाई । धेरै किसिमको खेलौना चाहिएको छ । त्यति मात्र होइन, बच्चाको हातमा किताव पनि हुन्छ, पढ्नु पनि छ । यी सबै कुरालाई कसरी तालमेल मिलाउने होला ? भन्ने चिन्ता पनि अभिभावकसँग छ । त्यसैले बच्चा हुर्काउने कुरामा थुप्रै कठिनाइहरु आएका छन् ।

अझ अभिभावकहरु के चाहन्छन् भने बच्चा स्कुल गएपछि ‘पटापट लेख्ने होस्, जान्ने होस्, र ऊ फष्ट नै होस्’ भन्ने चाहन्छ । उसलाई खेल्नलाई अहिले मोबाइल, ट्याबलेट चाहिएको छ, त्यति पनि नभए टिभी । त्यो साधन भएन भने बच्चा हुर्काउनै सकिँदैन कि जस्तो अवस्था पनि भएको छ ।

ध्यान दिएको की नदिएको !

उमेर नपुगी बच्चालाई हामी स्कुल पठाउँछौं । उमेर नपुगीकन जाँदा के–के असर बच्चामा आउँछ भन्ने कुरा सायदै मात्र अभिभावकलाई थाहा छ । त्यो बच्चाप्रति हामीले कति ध्यान दिएका हुन्छौं त ? वास्तवमा बच्चाप्रति हामीले ध्यानै दिएका हुँदैनौं । हामीले मात्र के बुझेका छौं भने ‘स्कुल चाँडै पठाउनुपर्छ, स्कुलमा टिचरले हेर्दिहाल्छ , हामीलाई फुर्सद हुन्छ, अनि आफ्नो काम गर्न पाउँछौं ।’ कस्को पक्षमा हामीले आफ्नो बच्चालाई स्कुलमा चाँडै पठाउने रहेछौं ? कुरा स्पष्ट छ ।

अहिलेका अभिभावकहरु निक्कै व्यस्त छन्, फुर्सदै छैन, काम छ, काममा जानुपर्यो । खेत छ, खेतमा जानुपर्यो, त्यो पनि भएन, घरको काम गर्नुपर्यो । त्यो पनि भएन, सबैजना मिलेर गफ गर्नुप¥यो । कुरा काट्नुपर्यो, त्यो पनि एउटा काम हो, त्यो नगरे त छटपट होइन्छ । त्यस्तै–त्यस्तै काममा हामी समय बिताइरहेका छौं । स्कुल पठाउने बित्तिक्कै हामी अभिभावकलाई के हुन्छ भने मेरो बच्चा एकदम राम्रो होस्, जसरी पनि राम्रो होस््, स्कुल जानासाथै खरर इंग्लिस बोलोस्, केही नभए पनि घरमा आएर बच्चाले एस मम भनिदेओस् भन्ने चाहना छ ।

छोरा/छोरीले त्यसरी एस मम भन्यो भने अभिभावक त फुरुङ्ग !

अनि बच्चाहरु युज्ड टु हुन्छ । स्कुलको बानी लागेपछि घरमा पनि मे आइ गो टु ट्वाइलेट ? भनेपछि त अभिभावक त मक्ख ! मेरो बच्चाले इंग्लिस बोल्यो अब भनेर मक्ख । सानै उमेरमा स्कुल लाने, स्कुल लाने बित्तिक्कै फटाफट लेख्न थालोस्, दिएको होमवर्क गरोस्, चकचक नगरोस्, दुःख नदेओस्, टिभी धेरै नहेरोस्, र हाम्रो इच्छाअनुसार एकदम राम्रो हुनुपर्छ भन्ने अपेक्षा अभिभावकको ठूलो छ ।

अभिभावकको हाइ एक्सपेक्टेशन (उच्च अपेक्षा) को सिकारमा बालबालिकाहरु परिरहेका छन् । यस्ता विषयलाई कसरी ध्यान दिनुपर्छ भन्ने अभिभावकहरुले ख्याल गरेका छैनन् ।

अर्को, बल्ल बल्ल त बोली फुटेको छ, हिँडन्. सुरु गरेको छ । स्कुलमा गएपछि बच्चाले मसिनो पेन्सिलले लेख्नुपर्छ । त्यो जस्तो ठूलो सजायँ के हुन्छ ? यो बारेमा कसले सोचेको छ ? न त अभिभावकले सोचेको छ, न त शिक्षकले नै ?

बच्चालाई एउटा रुमभित्र राखेको छ । हल्ला गर्न पाउँदैन, चल्न पाउँदैन, शिक्षकले नियन्त्रित वातावरणमा राखेको हुन्छ । शिक्षकलाई मन पर्यो विभिन्न खेलौनाहरु दियो । यसरी हामी बच्चालाई सजाय दिइरहेका छौं । बच्चा त त्यसरी बस्न सक्तैन भन्ने सम्मको जानकारीसम्म पनि शिक्षकले बुझ्न सकेको छैन । शिक्षकहरु पनि मात्र औपचारिकता निभाउने खालका छन्, शिक्षणलाई जागिरै मात्र ठान्ने स्वभावका छन् । त्यस्तो भएपछि त कहाँ बच्चाले सिक्न सक्छ र ? बच्चाको मानसिकता नपढीकन पढाउने, लेखाउने शिक्षकले वास्तवमा आफैंलाई छलिरहेको हुन्छ । यो शिक्षकले बुझ्नु जरुरी छ ।

बच्चाको उमेर त उफ्रने, चल्ने, खेल्ने, प्रश्न गर्ने नै हुन्छ । स्कुलकोे वातावरणमा आएपछि उसलाई पढ्नैपर्ने, पेन्सिल समाउनै पर्ने हुन्छ । अझ, स्कुलले उसलाई कपीमा लेखाएको छैन भने त सबैभन्दा पहिला कम्प्लेन नै अभिभावकको आउँछ । ‘खै, त्यत्रो दिन भइसक्यो स्कुल पठाएको, बच्चाले केही लेखेकै छैन ।’ भनेर अभिभावकहरु चाँडै तात्छन् । त्यही तताइको मारमा साना बालबच्चाहरु परिरहेका छन् । यो विडम्वनाको कुरा हो ।  

जानकारी नै छैन, भए पनि गुपचुप

स्कुलको वातावरण चाइल्ड फ्रेन्डली (बालमैत्री) भएन । यसैले बच्चाको उमेरअनुसार के–के क्रियाकलाप गराउनुपर्ने हो, कस्तो कस्तो गराउनुपर्छ, बच्चासँग कसरी डिल गर्ने ? यो विषयमा हामीकहाँ धेरैलाई जानकारी नै छैन । अझ थाहा भए पनि कतिपय शिक्षक, प्रिन्सिपलहरु अभिभावकलाई बताउँदैनन् । स्ुकलहरुले अहिलेसम्म गतिलो तरिकाले अभिभावक शिक्षालाई नियमित कार्यक्रममा राख्न सकेका छैनन् । स्कुलले समय समयमा अभिभावक शिक्षा सञ्चालन गरे पो अभिभावकहरुले स्कुलप्रतिको दायित्व र कर्तव्य बुझ्छन्, आफ्ना सन्तानको पढाइको विषयमा ध्यान दिने तरिका सिक्छन् । अभिभावकले सिकेपछि स्कुलमा बच्चालाई सिकाउन पनि सजिलो हुन्छ भन्ने स्कुल परिवारले बुझेको अवस्था छैन ।

यतिमात्र होइन, हामीकहाँ चाइल्ड फ्रेन्डली पर्सनालिटीको शिक्षकको पनि अभाव छ, यसको असर बच्चाको स्कुललिङमा परिरहेको छ । यसैले स्कुलका कक्षा पिच्छे, अझ बच्चापिच्छे फरक फरक समस्याहरु छन् । त्यो समस्यालाई शिक्षकले पहिचानै गर्न सक्ने अवस्था छैन । कारण शिक्षकलाई बाल मनोविज्ञानको ज्ञान छैन । स्कुलमा बच्चासँग कसरी डिल गर्ने, कसरी कुरा गर्ने ? भन्ने समेत थाहा नभएका शिक्षकले कसरी पढाएको होलान् ?

यो विषय गम्भीर विषय हो । स्कुलमा शिक्षकले बालबच्चाको लागि कुन वातावरण दिएको छ ? टिचर र बच्चाबीचको सम्बन्ध कस्तो छ ? त्यसले पनि पढाइमा फरक पार्ने भएकोले प्रत्येक शिक्षक विद्यार्थीमैत्री कसरी बन्ने भन्ने विषयमा सजग हुनैपर्छ । बच्चालाई कस्तो पेन्सिल दिनुपर्छ, कुन पेपरमा लेखाउनुपर्छ ? बच्चाको आँखा, कानलाई, छालालाई कसरी ती सामग्रीले प्रभाव पार्छ भन्ने कुरा शिक्षकलाई थाहा हुनुपर्छ ।

‘ए वान’ कै पछि कुदाकुद  

अभिभावकहरु ‘मेरो बच्चा खेलमा पनि, पढाइमा पनि, लेखाइमा पनि फ्रष्ट होस्, शिक्षकले पनि मेरै सन्तानको तारिफ गरोस्, साथीभाइहरुले पनि तिम्रो बच्चा त कति राम्रो भन्दिओस्, जेमा पनि ‘ए वान’ होस्’ भन्ने चाहन्छन् ।

तर त्यस्तो हुन्छ त ? अभिभावकले आफैले आफैलाई एकपटक प्रश्न सोध्नु आवश्यक छ कारण हामी आफैं त छैनौं भने बच्चा कसरी हुन्छ ? त्यस्तै अभिभावकहरु ‘उसको यो राम्रो, हेर उ कति राम्रो, उ कति ज्ञानी, तँ चाहिँ यस्तो ?’ भनेर तुलना गर्छौं । ‘ऊ अस्तिमात्र स्कुल गएको यस्तो भैसक्यो, तँ तीन वर्ष भैसक्यो, केही भएको छैन’ भनेर तुलना गरिहाल्छौं । बच्चाहरुको पढाइ, लेखाइ, बानीव्यहोरा आदिको तुलनाले पनि विद्यार्थीको पठनपाठनमा फरक पर्छ । यो गल्ती अभिभावकहरुले मात्र नभएर शिक्षकहरुले पनि पटकटक गरिरहेको देखिन्छ । त्यसरी तुलना गर्दा विद्यार्थीले आफूलाई बेवास्ता गरेको सम्झने कुराले पछिसम्म प्रभाव पर्छ । यो गम्भीर विषयमा निक्कै ख्याल गर्नु जरुरी छ ।

त्यस्तै बच्चाकै अगाडि आमाबुवा झगडा गर्ने, परिवारका सदस्य झगडा गर्ने, अफिसको कुरालाई लिएर घरमा किचकिच गर्ने, घरायसी अभावका विषयमा जति धेरै कुरा बच्चाले सुन्छ, त्यति त्यो बच्चा एक ठाउँमा चुप लाएर बस्न सक्तैन, सोच्न सक्तैन । उसको मनभित्र एउटा त्रास, भय, चिन्ताको विकास हुन्छ । किनभने बच्चाको लागि सबैभन्दा ठूलो त आमाबुवा नै हो । आमाबुवा नै एकदमै चिन्तित हुनुहुन्छ, छट्पटेको हुनुहुन्छ, डराउनु हुन्छ, रुनुहुन्छ भने त्यो बच्चा त खत्तम भएन र ? आमाबुवा नै यस्तो, के भएछ ? मनमा उसको अनेकौं प्रश्नहरु खेल्न थाल्छ, सोच्न थाल्छ, चिन्तित हुन्छ, कक्षामा ध्यान केन्द्रित गर्न सक्तैन । उ कताकता हराइरहेको हुन्छ । आफ्नो दुःख पीडा बच्चाको अघि गर्नुहुन्न ।

हामी बाल मनोविज्ञान बुझ्दैनौं । बच्चा किन रोयो, बच्चा आज खुसी छैन, बच्चा आज किन स्कुल जान मानेन, बच्चा घरमा भन्दा साथीहरुसँग बढी हिँड्छ, टिनएजमा आएका बच्चाहरु किन रिसाउँछन् भन्ने हामीले बुझेका छैनौं । यसको लागि अध्ययन आवश्यक छ, साथीहरु, छिमेकीसँग कुरा गर्दा यस्ता विषयहरुबारेमा कुरा गर्नुपर्यो । तपाइँले बच्चालाई कसरी हुर्काउनुभयो, बच्चा रिसायो भने के गरी फकाउनुहुन्छ ? म त यस्तो गर्छु भन्ने कुरा शेयर गरे अनुभवबाटै पनि मनोविज्ञानबारे जानकारी हुन्छ ।

हामी कस्तो भयौं भने हामी व्यस्त हुनुपरेको खण्डमा बच्चा अल्मल्याउनलाई ‘जा, जा, टिभी हेर, भन्छौं, भिडियो गेम, मोबाइल गेम भन्यो भने दिन्छौं । हामी अनि नाक फुलाउँछांै कि मेरो बच्चाले यति छिटो गेम खेल्न सक्छ भनेर । तर, बच्चाले इलेक्ट्रोनिक्स डिभाइसहरु दिनमा कति हेर्नुपर्छ भन्ने हामीलाई थाहा छैन । सानो बच्चा (१० वर्षभन्दा मुनि) ले ४५ मिनेटभन्दा बढी हेर्नैहुन्न तर त्यो लागू भएकै छैन । त्यस्तो बच्चालाई मोबाइल, आइप्याड, ल्यापटप वा कुनै पनि इलेक्ट्रोनिक्स डिभाइस दिएको खण्डमा सबै कुरामा अघि तर पढाइ लेखाइमा पछि पर्ने हुन्छ । बरु मोबाइल दिनुको सट्टा क्रियटिभ गेममा इन्भल्भ गराउन सक्यौं भने मस्तिष्कको सोच्ने क्षमता बढ्छ ।

त्यो भन्दा बढीको बच्चा अथवा ८, ९ र १० मा पढ्ने विद्यार्थीलाई डेढघण्टा भन्दा बढी इलेक्ट्रोनिक्स डिभाइसमा ध्यान दिन लगाउनु हुन्न । तिनीहरुमा पनि लर्निङ ड्राउजेज सिन्ड्रोम (सबै कुरामा एक्टिभ तर पढ्न, लेख्नमा कमजोर) हुन्छ । कक्षामा ४५ मिनेट मात्र राख्नुको मतलब पनि हाम्रो मस्तिष्कले त्यो भन्दा बढी एउटै विषयमा केन्द्रित हुन सक्तैन भन्ने हो ।

गाली, आलोचना कम, प्रशंसा धेरै

यी सारा समस्यालाई समाधान गर्न कम्तीमा बच्चाले गरेको कुरालाई हामी प्रशंसा गरौं । गाली, आलोचना कम गरौं । अभिभावकहरु नै रोलमोडल बनौं ।

यदि बच्चाहरुलाई नरिसाउने, शान्त हुने बनाउनु छ भने अर्काकोे कुरा नकाटौं, अरुको कुरा सुनेर बच्चाको अघि रिसाउनु हुन्न । हामी उदाहरणीय बन्नु आवश्यक छ । धैर्य बन्नुपर्छ । हामीभन्दा बढी रिसाउँछ, त्यसैले बच्चाको अघि रिसाउनु भएन ।

सकारात्मक अभिभावक बनौं । शिक्षकले पनि सकारात्मक अभिभावक बनाउने उपायहरु के के हुन सक्छन् ? त्यो खोजौं ।

(पाठक मनोविद् हुन्, राजधानीको एक विद्यालयमा आयोजित कार्यक्रममा उनले व्यक्त गरेको विचारको सार )