दुईसय नहुँदा प्रअलाई चिठ्ठी लेख्ने विद्यार्थीको एमपीएच सम्मको यात्रा


‘तिमी सुर्खेतमै साइन्स पढ भन्नुहुन्थ्यो बुवाले, तर मैले त्यही बेला जिद्दी कसेँ, ‘हैन, बुवा म टेक्निकल विषय नै पढ्छु ।’ मैले जिद्दी नछाडेपछि बाध्य भएर ‘बुवाले पढाउनका लागि पैसा छैन’ भन्नुभयो । २०६५ सालमा गाउँकै मालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि प्राविधिक विषय पढ्नका लागि कम्मर कसेका टेकबहादुर थापा (वर्ष २६) ९ वर्षअघिको कुरा सम्झिए ।

गाउँकै स्कुलमा आठ कक्षा पढिरहेकै बेला प्राविधिक विषय पढ्नुपर्छ भन्ने उनलाई लागिसकेको थियो । गाउँको परिवेश, बाटोघाटोको नाममा पहरा फोरेर बनाइएका गोरटा र घोडेडाहरु । त्यस्तो बाटो भएर जानुपथ्र्यो बजार, हेल्थपोष्ट । गाउँमा स्वास्थ्यको अवस्था निकै नाजुक थियो, स्वास्थ्य समस्या भए के गर्ने र कहाँ लाने भन्ने झीनो चेतना पुगे पनि बाटोघाटो नहुँदा डोकोमा बोकेर लग्नुपथ्र्यो बिरामीलाई । ‘स्वास्थ्य चौकी पुग्न पनि एकदिन पूरा हिँड्नुपथ्र्यो ।’ उनले सम्झिए ।

त्यो क्रममा बीचमै कतिले अकाल मृत्यु मर्नुपथ्र्यो सम्झदा पनि कहाली लाग्छ, गाउँमा औषधिको नाममा सिटामोलसम्म पुगेको थिएन ।

यही परिवेश देखेर, भोगेर हुर्केका थापाले स्वास्थ्य विषय लिएर पढ्ने मन त गरे तर घरबाट पढाउन नसक्ने भन्ने जनाउ घण्टी बज्यो । घरबाट पटकपटक छिमेकी जिल्ला सुर्खेतकै कुनै क्याम्पसमा विज्ञान विषय पढ्न कर गरे तर उनको रहर अघि परिवारको करले केही अर्थ लागेन ।

उनले एसएलसी दिएकै सालमा ढुंगामाटो जोडेर बनाएको घर भत्केको थियो । बस्नका लागि घर नबनाइ भएको थिएन, त्यही भएर पनि घरका सदस्यहरु पैसा खर्च हुने विषय पढाउन चाहँदैनथे, अझ काठमाडौं बसेर पढ्दा धेरै खर्च हुनेबाट परिवारजन तर्सेका थिए ।

‘बुवाले पैसा छैन भनेपछि म आफै पैसा खोज्न हिँडे’, एकदिन लगाएर घरबाट राकम कर्णालीमा रहेका काका (हस्त) कहाँ पुगेको उनलाई अझै पनि याद छ । उनले काकालाई सबै कुरा बताएपछि काकाले थमाएको तीसवटा हजारका नोट बोकेर थापा २०६६ साल साउन १४ गते काठमाडौं आएका थिए ।

काठमाडौं आएपछि अझ नयाँ परिवेश, कहाँ बस्ने, कहाँ पढ्ने भन्ने टुुंगो नलागेसम्म उनी आफन्तकोमा बसे । त्यसपछि अम्बिका हेल्थ ट्रेनिङ स्कुलमा सीएमए पढ्न थाले । पढिरहेको बखत उनले एकपटक पनि घरको अनुहार हेर्न पाएन, यतिसम्म कि पढाइको एक वर्षान्त सकिने बेला (साउन ६ गत) बाजेको मृत्यु हुँदा पनि जान पाएनन् । ‘कारण, घर आउँदा–जाँदा धेरै खर्च हुन्छ, त्यो खर्च कहाँबाट ल्याउने भन्ने चिन्ता थियो, यसैले घरै नगइ पढाइ पूरा गरेँ ।

सिएमए पढ्दा ओजेटी गर्नुपर्छ । ओजेटी सकारएको भोलिपल्टै उनले एउटा मेडिकलमा काम पनि पाए । ‘काठमाडौंमा काम पाएको क्षण निक्कै रमाएको थिएँ, मैले बोकेको सपना पूरा गर्न सहज हुने भो भन्नेमा म ढुक्क भएँ ।’ उनले त्यो क्षण सम्झदै भने ।

त्यसपछि उनी शारदा क्याम्पसमा प्लस टुमा भर्ना भए, शिक्षा संकायतर्फ स्वास्थ्य विषय लिएका उनलाई उच्च माध्यमिक शिक्षा परिषद्(उमाशिप) बाट पूर्ण छात्रवृत्ति पनि मिल्यो । छात्रवृत्ति त मिल्यो तर काम पनि सुरु गरेकोले कलेज जाने समय पनि भएन उनलाई । ‘कलेजै नगई कोठामै बसेर पढेँ, दिनभरी मेडिकलमा काम गर्ने अनि राती पढ्ने गरेँ ।’ त्यसैगरी उनले कक्षा ११÷१२ पनि सजिलै कटाए ।

दुईसय रुपियाँ नहुँदा प्रअलाई चिठ्ठी

उमाशिपको छात्रवृत्तिमा पढ्न पाए पनि पोशाक र इक्ज्याम फी भने तिर्नुपथ्र्यो । इन्ट्रान्स कार्डबिना कलेजको आन्तरिक परीक्षामा सामेल गराइने थिएन । परीक्षामा सामेल नभए स्कलरसिपमा पनि समस्या हुने थियो । कोठामा बस्नुपर्ने अवस्था । घरबाट मागिरहन पनि मुश्किल, काम त थालेँ तर धेरै भएको थिएन, कसरी पैसा चाहियो भन्ने । यस्तो बेला उनको परीक्षा परेको थियो ।

परीक्षा आइतबार हुने भइसकेको थियो, शुक्रबार साँझ भइसक्दा पनि उसँग इन्ट्रमान्स कार्ड लिने पैसा थिएन । के गर्ने, कसो गर्ने ? भन्ने भयो । ‘त्यसपछि मैले आफ्नो प्रिन्सिपललाई सबै अवस्था जानकारी गराएर चिठ्ठी लेखेँ ।’ चिठ्ठी प्रिन्सिपललाई दिए । प्रिन्सिपलले अवस्था बुझ्नु भयो, ‘मलाई इन्ट्रान्स कार्ड उपलब्धि गराए ।’

१२ पढिरहँदा साथीहरुले उनलाई एमपीएच (माष्टर इन पब्लिक हेल्थ) पढ्नुपर्छ भन्ने सुझाव दिए । तर कसरी पढ्ने ? बिपिएचबाट जाँदा त ७÷८ लाख लाग्छ । त्यत्रो पैसा कहाँबाट ल्याउने होला भन्ने भयो । त्यसपछि सानोठिमीमा स्नातकमा स्वास्थ्य पढ्नका लागि भर्ना भएँ ।

स्नातक पढिरहेकै बेला इभेन्ट परियोजनाले डेण्टल तालिमका लािग दरखास्त माग्यो, त्यसमा पनि उनी छानिए । हिमाल डेण्टल हस्पिटलमा गएर कक्षा लिए उनले । यता डेण्टलको कक्षा पनि पूरा भयो, बीएड पनि सकियो ।

त्यसपछि एमपीएच पढ्नका लागि बाटो खुल्यो । तर कसरी पढ्ने, धेरै पैसा लाग्ने कुरा थाहा पाए । घरमा जानकारी दिँए, उही आर्थिक समस्या थियो । त्यसपछि फेरि राकम कर्णालीकै काका (हस्त थापा) कोमा पुगे । त्यो बेला उनका माहिलो भाइ हेमराज पनि कामका लागि कतार पुगेका थिए । काका र भाइले सहयोग गर्ने ढाडस दिएपछि उनी एमपीएच(माष्टर इन पब्लिक हेल्थ) पढ्ने चाँजोपाँजो मिलाए ।

पढ्नका लागि कहाँ जाने भन्ने थाहा थिएन । त्यही क्रममा उनको सम्पर्क बंगलादेश गइरहेका गाउँका साथीसँग फेसबुक मार्फत सम्पर्क भयो । ‘साथीले मलाई त्यहाँको एक कलेजको मेल आइडी दिएर सहयोग गरे, मैले सोही कलेजको मेल आइडीमा आफूले पढ्न चाहेको कुरा लेखेर मेल गरेँ । मेल गरेपछि डकुमेण्ट मागे । डकुमेण्ट पठाएपछि एक महिनामै मलाई अफर लेटर पठाए । त्यसपछि एप्लाइ गरेँ, मलाई भिषा पनि दियो । भिषा दिएपछि गत बैशाष २२ गते पढ्नका लागि बंगलादेश गएँ ।’ उनी भन्छन् ।

उनी अहिले बंगलादेशको ढाकाको बसुन्धरास्थित नर्थसाउथ युनिभर्सिटीमा पढिरहेका छन् । (जुन युनिभर्सिटी बंगलादेशको पहिलो निजी युनिभर्सिटी र बंगलादेशको टप सेकेण्डमा परेको युनिभर्सिटी हो) उनले थर्ड सेमेष्टर सकाइसकेका छन् । अब एउटा समेष्टर बाँकी छ । अबको तीन महिनामा उनको सबै पढाइ पूरा हुन्छ । प्रपोजल, थेसिस र पढाइ सँगसँगै गर्दा एक वर्षमै कोर्ष पूरा हुन्छ । हुन त त्यहाँको नियमाअनुसार चारवटा विषयभन्दा अरु विषय लिनै पाइँदैन तर उनलाई एक वर्षभित्रै, निश्चित खर्चमा कोर्स सकाउनुछ । त्यही भएर उनले युनिभर्सिटी पुग्ने बित्तिक्कै कलेजमा चिठ्ठी लेखे । चिठ्ठी लेखेर जानकारी दिँदा एक वर्षमै कोर्स सकाउनका लागि ६ वटा विषय अध्ययन गर्न पाउने व्यवस्था छ ।

उक्त युनिभर्सिटीमा अहिले २२ हजार विद्यार्थी छन् । नेपालीहरु भने जम्मा ६/७ जनामात्र । उनीसँगै पढ्ने नेपाली झन् तीन जनामात्र । ‘कक्षा नियमित हुन्छ, कक्षामा उपस्थित भएकोको पनि नम्बर दिने चलन छ । यहाँ(नेपाल)को र त्यहाँ(बंगलादेश)को पढाइमा धेरै भिन्नता छ । जस्तो यहाँ मैले कलेज नै नगइकन ११ देखि स्नातकसम्म सकाएँ तर त्यहाँ त कक्षामा हाजिरी नगरी हुन्न । हाजिरीको मात्र १० अंक आउँछ । त्यसपछि पहिलो एसाइन्मेण्ट, दोस्रो एसाइन्मेण्ट हुन्छ ।’ उनले भने ।

त्यहाँ सबै पढाइ पावर प्वाइण्टमा हुन्छ । कक्षामा भोलि पढाइ हुने कुराहरुको सफ्ट कपी हामीलाई मेल गरिदिनुहुन्छ । त्यही डाउनलोड गर्ने र पढ्ने गर्छौं । भोलि त्यही पावर प्वाइण्टमा पढाइ हुन्छ, त्यसैको एसाइन्मेण्ट हुन्छ । युनिटवाइज परीक्षा हुन्छ । हामीकहाँ भए एकैपटक १०० पूर्णाङ्कमा परीक्षा हुन्छ भने त्यहाँ २०/२० माक्र्सको परीक्षा हुन्छ । एउटा मात्र परीक्षा छुट्यो भने पनि समस्या हुन्छ,दिन पाइँदैन । म अन्तिमको परीक्षा एउटा दिन्छु भनेर पाइँदैन ।

सुरुमा पढाइको सन्दर्भका अलिकति गा¥हो हुन्छ किनभने हामीलाई कप्युटरको विषयमा त्यति धेरे थाहा हुन्न। त्यहाँ सूचना तथा प्रविधिको प्रयोग गरी पढाइ हुन्छ । एसाइन्मेन्ट, रिपोर्ट बनाउनुपर्छ, त्यसको लािग टाइप आफैले गर्नुपर्छ, प्रिन्ट आफैंले गर्नुपर्छ । एसाइन्मेन्ट, रिपोर्टको प्रिन्ट गर्नुपर्छ । प्रत्येक सेमेष्टरमा भएका कामहरुको प्रिन्ट गर्दा २ सय पेजको पैसा लाग्दैन । २ सय पेजभन्दा बढी प्रिण्ट गर्नुपर्यो भने प्रति पेज एक रुपियाँ लाग्छ ।

पहिला त बंगलादेश पुग्छु भन्ने लागेको थिएन । तर जब प्लस टु पास गरेँ । त्यो बेला कतै, न कतै स्कलरसिपमा भए जान्छु, या म ऋण गरेरै भए पनि जान्छु, म जसरी भए पनि एमपीएच गरेरै छाड्छु । भन्ने दृढ थियो । त्यही दृढताले कहाँ जाने भनेर खोज्ने क्रममा धेरैबाट बंगलादेश राम्रो भन्ने थाहा पाएँ ।

एमपीएच पढिसकेपछि जनस्वास्थ्य क्षेत्रमा काम गर्न पाइन्छ । लोक सेवा आयोगमा नाम निकालेँ भने म जनस्वास्थ्य अधिकृत हुन्छु । विभिन्न प्राजेक्टमा काम गर्न पाउँछु । सिएमए, स्टाफ नर्सलाई पढाउन पनि सकिने छ ।

रकमको हिसाबले नेशनल र इण्टरनेशनल स्कुलाई एउटै शुल्क छ । बंगलादेशमा नेशनल भन्दा इण्टरनेशनल विद्यार्थी धेरै पढिरहेका छन् । किनभने त्यो कलेजमा दुबैलाई एउटै शुल्क छ । यसको लागि शुल्क नै तीनहजार डलर लाग्छ । त्यसमा फेरि लाइब्रेरी फि लाग्छ । त्यहाँ अन्य देशका विद्यार्थीलाई भन्दा नेपालीलाई बढी माया गर्छन् शिक्षकहरु । किनभने नेपालीहरु अन्य देशका भन्दा बढी मिहिनेती र पढ्नमा पनि अगाडि नै रहेको कारणले नेपालीहरुलाई माया गर्छन् । पढाइ अंग्रेजी माध्यमबाट हुन्छ । कलेजमा कुनै भेद्भाव छैन, तर बाहिर बजारतिर भने नेपाली विद्यार्थीमाथि भेद्भाव हुन्छ । त्यहाँँ हिन्दूलाई भनेपछि अलिकति हेय दृष्टिले हेर्ने गरेको छ ।

कक्षाकोठामा ४० जना विद्यार्थी अट्छन् । तर एउटा कक्षामा २५६ जनाभन्दा बढी छैनन् । विद्यार्थीले शिक्षक रोज्न पाउने व्यवस्था छ । आफू कुन सेक्सनमा पढ्ने ? भनेर शिक्षक रोज्न पाइन्छ । एउटै विषय पढाउने तीनदेखि चारजनासम्म शिक्षक हुन्छन्, तिनीहरुमध्ये आफूलाई जुन शिक्षक चित्त बुझ्छ उनको कक्षामा गएर पढ्न पाइन्छ । त्यहाँ सोमालिया, नाइजेरिया, चाइना, अस्ट्रियालगायत गरी १९ वटा देशका विद्यार्थीहरुसँग पढिरहेको छन् उनी । ‘उनीहरुले नेपाललाई सुन्दर देशको रुपमा बुझेका छन् । शान्तिक्षेत्र भनेर बुझेका छन्, तर नेपालको अवस्था भने.... ।’ उनले टुङ्ग्याए ।

हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित