Edukhabar
विहीबार, २६ भदौ २०८२
विचार / विमर्श

भूगोलको परिभाषा

शनिबार, २३ मंसिर २०७४

एउटा कवि हुनुको अर्थ, एउटा इमान्दार सत्यसित सम्बद्ध हुनु हो, कवि विजयराज भट्टराईका कविताहरु  विशेष सत्यसित समाहित हुने गर्छन् ।  यही सत्य नै मानिसको सब भन्दा ठूलो अभिष्ट भएकोले कवि भट्टराई त्यो अभिष्टप्रति संधै प्रतिवद्ध हुनुहुन्छ – भट्टराइका बारेमा कवि ईश्वरवल्लभको धारणा ।

मानवीय मनको अनुभूतीको चरम उत्कर्ष खुसी र पीडाको स्पन्दन हो भने त्यही स्पन्दनको भावपूर्ण कलात्मक सूत्रात्मक अभिव्यक्ति कविता हो – भट्टराई ।

समालोचक र कवि स्वयंको धारणाबाट बुझ्न सकिन्छ भट्टराई मानवीय संवेदनालाई कविताको भाषामा सहज रुपान्तरण गर्ने कवि हुन् । २००५ सालमा तनहुँको चुँदीमा जन्मेका भट्टराईले कवितामा विशिष्ट सोच र शैलीको सामञ्जस्य स्थापित गरेका छन् । नेपाल सरकारको प्रशासनिक निकायमा कार्य गरेर सचिबबाट निवृत्त भएका भट्टराईको २०५९ सालमा प्रकाशित कविता सँग्रह प्रस्तरस्तम्भमा समेटिएको कविता भूगोलको परिभाषा यो साताको शिक्षा साहित्यमा :

यो पृथिवी किन कतै मैदान हुन्छ

–    किन कतै पहाड हुन्छ

–    किन कतै हिमाल हुन्छ

–    किन कतै समुद्र हुन्छ

–    किन कतै ज्वालामुखी हुन्छ

म केटाकेटीमा गुरुसित प्रश्न गर्थें
र गुरु संझाउँदै भन्नु हुन्थ्यो

यो पृथिवी –
जहाँ हामी बसोवास गर्छौ
यस भित्र थुर्पै थुर्पै पदार्थहरु

–    प्लेटहरु

नित्य चलायमान भइरहन्छन्
र घुम्दा घुम्दै कतै अचानक
एक आपसमा ठक्कर खाएर
यस भित्रका उत्तेजक तत्वहरु
कतै भूँइचालो बनेर निस्कन्छन्
कतै ज्वालामुखी भएर उम्लिन्छन्
कतै अर्कै प्रलय बनेर
सृष्टि–संरचना नै उलट पुलट बनाइ दिन्छन्
यिनै भूगर्भका बाहक तत्वहरु

–    अज्ञात पदार्थहरु

आ–आफ्नो नियमित यात्राक्रममा
एक आपसमा टकराएर
कहिले कतै मैदानहरु
पहाड बनेर अग्लिँदै उठ्छन्
कहिले कतै पहाडहरु पग्लिँदै
मैदा बनेर लमतन्न सुत्छन्
कहिले कतै समुद्रहरु
हिमाल बनेर चुलिदैं उठ्छन्
कहिले कतै हिमालहरु
समुद्रमा रुपान्तर हुन्छन्
म गुरुले पढाउने भूगोल
कता कता अधुरो देखिरहेछु
कता कता त्रुटीपूर्ण पाइरहेछु
शायद मान्छे पनि पृथिवी नै रहेछ
नत्र किन उसकै अनन्त आकाङक्षाभित्र

–    लोलुपताभित्र

एउटा न एउटा हलचल भइरहन्छ
र थुर्पै थुर्पै कुराहरु

–    पदार्थहरु

के के खोज्दै चलिरहन्छन्
के के सोच्दै घुमिरहन्छन्
र आपसको ठक्करमा मित्रता–सद्भाव पनि
अहंकारका हिमाल बनेर चुलिँदा रहेछन्
घमण्डका पहाड बनेर उठ्दा रहेछन्
इमानका सुन्दर फाँटहरु
एकाएक स्वार्थका टाकुरा भएर बढ्दा रहेछन्
चरित्रका हिमालहरु
थाहै नपाई मैदान बन्दा रहेछन्
शालीनताका पहाडहरु पग्लिँदा रहेछन्
आज म पृथिवीको भूगोलमात्र होइन
मान्छेको भूगोल पनि पढिरहेछु
राजनीतिको भूगोल पनि भोगिरहेछु
म भूगोलको परिभाषा संशोधन गरिरहेछु ।

प्रतिक्रिया