विलम्ब नगरौं कक्षा कोठाको विकल्प खोज्न


कोभिड - १९ का कारण सृजना भएको असहज र विषम अवस्थामा विद्यार्थीको शैक्षिक क्षतिबाट बचाउन र शैक्षिक सत्र खेर जान बाट जोगाउन भन्दै सरकारले वैकल्पिक शिक्षण सिकाइ सहजिकरण निर्देशिका जारी गरी गत असार १ गतेबाट लागू गरेको छ । विद्यालयमा विगत झैं कक्षा सञ्चालन हुने दिनको अनिश्चय बढिरहेको अवस्थामा अनलाईन कक्षा, कम्प्युटर, टिभि, रेडियो र प्रविधिसंगै अन्य उपायहरु सहित शैक्षिक गतिविधि सञ्चालनको प्रसंग आउनु स्वभाविक नै भन्नु पर्दछ । विद्यालय तथा विश्वविद्यालयका शिक्षक र प्राध्यापकहरुले भने गत वैशाखबाटै अनलाईन कक्षा अर्थात भर्चुअल शिक्षण विधिको अभ्यास गर्दै आफ्ना अनुभवहरु शेयरि¨ गरिरहेको स्थिति स्मरणीय छ । यसै सन्दर्भमा अनलाईन कक्षाहरुको बारेमा सकारात्मक र नकारात्मक दुबै टिप्पणीहरु सुन्न सकिन्छ । 

१. शिक्षकहरुको तयारी

यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । कोरोना भाईरसले नेपालमा पनि प्रवेश गर्दछ, शिक्षण संस्थाहरु सबै ठप्प हुनेछन्, कोभिड—१९ को कारणबाट स्थिति भयावह हुदैंछ भनेर शिक्षकहरु भर्चुअल एवम् अनलाईन कक्षाको तयारीमा थिएनन् । पछिल्ला वर्षहरुमा विशेषगरी नवप्रवेशी र केहि पुराना शिक्षकहरु समेतकाले भर्चुअल शिक्षण विधिबाट पेशागत आकर्षण वृद्धि गरेको पाईन्छ । शिक्षकको सीप संगै आवश्यक साधन र उपयुक्त वातावरण अर्को महत्वपूर्ण सवाल हो । सरकारी चासोमा कम्प्युटर ल्यावले धेरै विद्यालयमा सिमित अनुदान पाएकै हो । यद्यपि भनिए बमोजिमको संख्या र मापदण्डका सामाग्री नहुनु, भएकाको पनि प्रयोग गर्ने शिक्षक नहुनु, ईण्टरनेटको समस्या, विद्युत सेवामा अवरोध, जस्ता कारणबाट शिक्षामा प्रविधिको आवश्यक हस्तक्षेप र पहुँच पुग्न नसक्नु दुर्भाग्य नै हो । शिक्षक बन्न प्रविधिको न्यूनतम ज्ञान अनिवार्य गरिनु पर्दछ । हालको जस्तो वैकल्पिक विधिमा जान पर्ने अवस्था बारम्बार आईरहन सक्छ । कक्षा कोठाको विकल्प खोज्न विलम्व भैसकेको छ । 

२. विद्यार्थीमा तत्परता

विद्यालयमा गएर १० बजेदेखि ४ बजे सम्म कक्षा कोठामा बसे मात्र पढाई सिकाइ हुने अन्य विधिबाट सिक्ने स्थितिलाई सिकाइ नै नठान्ने मानसिकताबाट विद्यार्थी मात्र हैन अभिभावक पनि मुक्त हुनै पर्दछ । कुनै पनि उपायबाट मैले सिक्नु पर्छ भन्ने विचार विद्यार्थीमा आउनै पर्छ । सिकाइ प्रतिको तत्परता विद्यार्थीको पहिलो शर्त हो । जब विद्यार्थीमा सिक्ने जाँगर हुदैंन र घरमा अभिभावकको लागि अनि विद्यालयमा  शिक्षकहरुको लागि पढेको सिकेको देखाउने अवस्था भए सम्म शिक्षण सिकाइ प्रभावकारी बन्नै सक्दैन । सबै विद्यार्थीको समान क्षमता र रुची त पाईन्न नै । सिकाइ प्रतिको आकर्षण र लगनशीलता भएका विद्यार्थी न्यून हुन्छन् । सिकाइको लागि वाध्यात्मक वातावरणबाट शैक्षिक स्तरीयता हासिल कदापि हुन सक्दैन । उँटलाई डोर्याएर नदी सम्म लाने काम मान्छेले गर्छ तर पानी पिउने र  बचत गर्ने काम जुन उँटको जन्मजात कला हो त्यो उँट स्वयंले गर्नुपर्छ, अरुबाट सम्भव हुँदैंन । त्यस्तै विद्यार्थीले सिकाइ मेरै लागि हो, मैले नै सिक्नु पर्छ भन्ने ज्ञान स्वयंम्मा उब्जिनै पर्छ । सामुन्ने शिक्षक भए मात्र पढ्ने र शिक्षकले भने पछि मात्रै टास्क गर्ने अवस्थाबाट हाम्रा विद्यार्थी बिउँझिनै पर्छ ।

३. भर्चुअल वा अनलाईन मात्र वैकल्पिक विधिको भ्रम

यो युग प्रविधिको अधिकतम उयगोग गर्नेमा द्धिविधा छैन । अनलाईन प्रविधिले उच्चतम उपलब्धि हासिल गर्नमा अग्रस्थानबाट योगदान गर्न सक्छ वा गरिरहेको छ भन्नमा कञ्जुस्याई गर्नु हुँदैंन । यसो भनिररहँदा शिक्षण सिकाइको वैकल्पिक विधिमा भर्चुअल वा अनलाईन मात्र पर्छ भन्ने भ्रम हटाएर विश्लेषण गर्नु जरुरी छ । टिभि तथा रेडियोका कक्षाहरुको सहभागिता पनि भर्चुअल नै हुन् । प्रविधिको पहुँच नभएका वा विद्यूत सेवा नपुगेका विद्यार्थीको लागि अन्य वैकल्पिक विधिहरुबाट शिक्षण सिकाइ गर्न सकिन्छ र थप प्रभावकारी बन्न सक्छ भन्ने म्यासेज ओझेलमा परेकै हो । शिक्षकहरु कुनै न कुनै माध्यमबाट विद्यार्थीसंग पुग्नु र उनीहरुका समस्या हल गर्नमा सहयोगी बन्नु नै महत्वपूर्ण शिक्षण हो । यो सामग्री अर्थात किताब राम्रो संग अध्ययन गर अनि नबुझेका सवालहरु संकलन गरी हामीलाई सोध हामी स्पष्ट गर्न र सिकाउन तत्पर छौ भन्नु पनि त एउटा विकल्प हो । 
विद्यार्थीको घरमा पुगेर, चौरमा जम्मा भएर, चौतारीमा भेटेर, स्वास्थ्य सावधानी अपनाउँदै निश्चित कक्षाका विद्यार्थीलाई विद्यालयमा बोलाएर छलफल गर्न पनि सकिन्छ । टास्क दिने र आवश्यकता अनुसार करेक्शन गर्न सकिन्छ । सम्पर्क कक्षाको ब्यवस्थापन र प्रभावकारीता बारेमा स्थानीय तह र शिक्षा प्रशाशनले विद्यालयसंग सान्दर्भिक  समन्वय गर्न जरुरी देखिएको छ । 

४.  वैकल्पिक कि पूरक   

यो बहस नै गर्नुपर्ने वा खेल्नै पर्ने शब्दावली भने होईन । तै पनि कक्षा कोठाको विकल्पमा भर्चुअल क्लासहरु हुन कि पूरक शिक्षण हो भन्ने सुक्ष्म चर्चा बाहिर आएको छ । अनलाईन कक्षाहरु, ज्यmभ खष्कष्तष्लन, गृहकार्य दिन अभिभावक तथा विद्यार्थी बोलाउने, टिभि र रेडियोका शिक्षण तालिका जानकारी गर्ने, सम्पर्क कक्षा गर्ने जस्ता सबै क्रियाकलापहरु कक्षाकोठाको पूरक शिक्षण हुन् भन्दा थप शुद्धता देखिन्छ । यस प्रकारका विधिहरुबाट कक्षा कोेठा विस्थापित हुने कदापि होईन । हालको असहजता संग पनि विद्यार्थी तथा शिक्षकहरु निरन्तर संघर्ष गर्दा रहेछन् र सदैव शिक्षणमा जोडिएका छन् भन्ने सावित गरेको छ । लामो निद्रामा हो कि भन्ने भ्रम चिर्दै हामी निदाएका छैनौं र निरन्तर विद्यार्थीसंग छौं हर तरहले सिकाउनमै व्यस्त छौं भन्ने सन्देश प्रवाह गर्न शिक्षकहरु लागि परिरहेको देखिन्छ । शिक्षकका पेशागत संस्थाहरुले सांगठनिक तथा पेशागत विकासका तालिमहरु मार्फत विद्यार्थीसंग जोडिने विभिन्न शैक्षणिक क्रियाकलापहरुको निरन्तरता प्रदान गरिरहेका छन् ।      

५.  भर्चुअल विधिको वैधानिकता

प्राथमिकतामा अनलाईन कक्षा भनिएको छ । टिभि तथा रेडियोबाट औपचारिक कक्षाहरु भैरहेका छन् । यी बाहेक अन्य विधिहरुबाट पनि विद्यार्थीको सिकाइसंग शिक्षा प्रणाली जोडिएको स्थिति छ । यस बेलामा सरकारले शैक्षिक सत्रको निरन्तरताको सुनिश्चितता दिन जरुरी छ । अल्मल्याउन र रकम असुल्ने प्रयोजनका लागि मात्र यी चर्चा भएका छन् र सहि अर्थमा शिक्षण भएको छैन भन्ने विद्यार्थी, शिक्षक र अभिभावकमा ब्याप्त आशंका र अन्यौलतामा मलहम लगाउने अभिभारा सरकारकै हो । तिनै तहका सरकारको मूल चासोको विषय शैक्षिक क्षेत्र बन्नु पर्छ । भर्चुअल एवम् वैकल्पिक वा पूरक विधिको वैधानिकता अर्को महत्वपूर्ण शर्त हो । 

प्रत्येक शैक्षणिक गतिविधिमा स्थानीय सरकार र शैक्षिक प्रशासनिक संयन्त्रको प्रभावकारी समन्वय सहितको सिधा निगरानी एवम् सहयोगको अपेक्षा स्वभाविक भन्नु पर्दछ । भोलिका दिनमा कोरोनाको संकट अझ बढ्दै जाने स्थितिमा समेत हामी यहि पूरक विधिबाट शिक्षण गर्न मात्र नभै मूल्याङ्कन पनि गर्ने प्रणाली विकसित गर्छौं भन्ने दृढता शिक्षा मन्त्रालयले व्यक्त गर्न बिलम्व गर्नु हुँदैंन । अब शैक्षिक सरोकार वर्गबाट विद्यमान वैकल्पिक वा पूरक विधिले वैधानिकता प्राप्त गरेको वकालत गर्ने वातावरण बनाउनै पर्छ ।      

अन्तमा,  वैकल्पिक वा पूरक जे भनिए पनि कक्षा कोठाको बदलामा भए गरेका शैक्षणिक क्रियाकलापहरुको प्रभावकारिता आजको शैक्षिक बहस बन्नै पर्छ । छलफल एवम् विश्लेषणबाट अपेक्षित निकास आउन सक्छ । देशभर एउटै विधि अपनाउनै पर्ने  अवस्था पनि त छैन । 

कोभिड—१९ को न्यून संक्रमण, मध्य संक्रमण र ज्यादा संक्रमणका क्षेत्र हेरेर वा अवस्थाको उपयुक्त विश्लेषण गरेर शिक्षण विधिको छनौट गर्न पनि सकिन्छ । स्थान र परिस्थितिको ठोस र वस्तुगत विश्लेषणले उच्च महत्व राख्दछ । यसको लागि स्थानीय तह र शिक्षाको प्रशासनिक संयन्त्रको भूमिका जिम्मेवारपूर्ण हुनु पर्नेमा कतै विमति छैन । 

लामिछाने, मकवानपुर, हेटौंडा स्थित वंशगोपाल माविका प्रधानाध्यापक हुन् ।