जिशिकाको संरचना फेरेर नगरपालिका शिक्षा कार्यालय


स्थानीय सरकारका जनप्रतिनीधिले शिक्षा क्षेत्रको सुधारको लागि विभिन्न योजनाहरु सार्वजनिक गर्न थालिसकेका छन् । शिक्षाको सवालमा भक्तपुर नगरपालिका अलिक फरक छ । संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार ब्यवस्था गरे पनि भक्तपुरले यस अघि नै ख्वप कलेजक सञ्चालन र ब्यवस्थापन गर्दै आएको छ । अधिकार नहुँदा त अभ्यास थालेको भक्तपुरले संविधानबाटै अधिकार पाए पछि कसरी काम गर्छ त ? ख्वप कलेज सञ्चालक समिति सदस्यसमेत रहेका भक्तपुर नगरपालिकाको शिक्षा, संस्कृति र स्वास्थ्य समिति, सदस्य, तथा वडा नम्बर ९ का प्रमुख रवीन्द्र ज्याख्वसँग हरिसुन्दर छुकांले गरेको कुराकानी :

- शिक्षाको अधिकार स्थानीय तहमा आएको छ, यसलाई तपाइँले कसरी लिनु भएको छ ?

यसलाई मैले सकारात्मक रुपमा लिएको छु, किनभने अहिले विशेषगरी सरकारी विद्यालयहरु निकै खस्कँदो अवस्थामा रहेको, सरकारी विद्यालयप्रति स्थानीय जनताको अपनत्व नभइरहेको अवस्थामा यदि शिक्षालाई स्थानीय सरकार अन्तर्गत राखेको खण्डमा स्थानीय जनताबीच अपनत्व पनि रहन्छ, सरकारी विद्यलय संरक्षण गर्ने भावना पनि रहन्छ र हाम्रा विद्यालयहरु जुन छन् अहिले सरकारले संख्या पनि नबढाइरहेको अवस्था, भएको विद्यालयको स्तरोन्नतिको निम्ति नहेरिरहेको अवस्थामा स्थानीय सरकारको जिम्मामा रह्यो भने विद्यालय आवश्यकताअनुसार बढाउन पनि सकिने र त्यसको स्तरोन्नतिको निम्ति स्थानीय तहबाटै पनि प्रयासहरु र मेहनत गर्न सकिने देख्छु म ।

- त्यो अपनत्व र स्तरोन्नतिको लागि भक्तपुर नगरपालिकासँग त्यस्तो योजना र कार्यक्रम के छ  त ?

भक्तपुर नपामा अहिले प्रावि, निमावि र मावि गरेर एकसय वटा सरकारी विद्यालय छन् । ती विद्यालयहरुमध्ये मावि तहका अधिकांश विद्यालयहरुको अवस्था राम्रो छ । निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर कम छैन । निम्न माविहरु क्रमशः अघि बढिरहेको छ भने प्राविहरुको हकमा अलिकति समस्या छ । हामीले पनि अहिले भक्तपुरका केही प्रांविहरुमा अध्ययन गरिरहेका छौं ।

ती विद्यालयहरुमा विद्यार्थी न्यून रहने, अनि विद्यार्थीको स्तरमा केही समस्या देखिएको हामीले हेरिरहेका छौं । भक्तपुर नपा आफैले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । अहिले भक्तपुर नपाले ६ वटा शिशु स्याहार केन्द्र र ७ वटा कलेज स्थापन गरेर सञ्चालन गरिरहेको छ । शिशुस्याहार केन्द्रबाहेक प्लस टु देखि माष्टरसम्म पढाइ हुन्छ । यो पालिको बजेट करिब ३० करोड रुपियाँ शिक्षालाई परेको छ । यो हिसाबबाट हामीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छों । विद्यालय शिक्षाको हकमा अहिले जगैदेखि मजबुत बनाउनका लागि शिशु स्याहार केन्द्र वा प्रि स्कुललाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जिम्मेवारीको विषयमा व्यापक छलफल गरिरहेका छौं ।

- सामुदायिक विद्यालयको स्तरोन्नतिको लागि चुनौति पनि थुप्रै छन्, तपाईले चाँही के के चुनौति देख्नुभएको छ ?

अहिलेसम्म विद्यालय जिल्ला शिक्षा कार्यालयअन्तर्गत नै छ । त्यसको डिटेल जानकारी अनौपचारिक रुपमा पाइसक्यौं, औपचारिक रुपमा पाउन बाँकी नै छ । त्यसकारण प्रत्येक स्कुलमा के के समस्या छ र कसरी समाधान गर्न सकिन्छ  ? भन्ने विषयमा गृहकार्य गर्न बाँकी छ । त्यसपछि त्यो स्कुल जहाँ रहेको छ, त्यो ठाउँका स्थानीय जनताका बीच स्कुलको स्तरोन्नतिको निम्ति स्थानीय तवरबाट छलफल गर्नुपर्छ । त्यसपछि त्यहाँका शिक्षक, अभिभावक, विद्यार्थीहरुसँग पनि एकसरो छलफल गर्छौं । र, पर्टिकुलर स्कुको पर्टिकुलर समस्यालाई लिएर समाधान गर्नतिर लािगरेहका छौं ।

हामी अहिले भक्तपुर नपाका १० वटै वडाका वडाध्यक्षहरुले आआफ्नो कार्यक्षेत्रमा रहेका विद्यालयहरुको व्यवस्थापन समितिमा रहेर हामीले काम सुरु गरिसकेका छौं, अध्ययन गरिसकेका छौं, त्यहाँको रिपोर्ट अहिले नपामा क्रमश: आउँदैछ, त्यो आधारमा नपाले आवश्यक सुधारका स्टेपहरु अघि बढाउँछ ।

- विद्यालय राम्रो बनाउँछु भनेर मात्र हुन्न होला, त्यसको लागि स्रोत पनि चाहिन्छ, त्यसको व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ त ?

अहिले नेपाल सरकारले स्थानीय तह या नगर, गाउँपालिकाहरुलाई विद्यमान रुपमा हेरिरहेको जिशिकाको संरचना परिवर्तन गरेर नगरपालिका शिक्षा कार्यालय बनाइँदैछ र त्यसको स्रोत साधनहरु, कर्मचारीहरुलाई क्रमशः नगरपालिकामा पठाउने तयारी भैरहेको छ । यो नपामा पनि त्यो सूचना प्राप्त भईसकेको छ । त्यसकारण सशर्त रुपमा नेपाल सरकारले शिक्षाको निम्ति छुट्याउने जुन बजेट त, त्यो बजेट पूर्णत ः प्रभावकारी ढंगबाट सम्बन्धित स्कुल, सम्बन्धित शिक्षकहरुमा पुर्याउने प्रयास गर्छौ. पहिलो । त्यो बाहेक पनि नपाको पनि दायित्व हो, आफ्नो कार्यक्षेत्र भित्रका स्कुलहरुको स्तर विकास गर्ने । त्यो विकासका लागि नपाले विशेष बजेटको बन्दोबस्त गर्ने तयारी गरिरहेका छौं ।

- माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा आइसकेपछि शिक्षकहरु जनप्रतिनिधिले हामीलाई पेल्ने हो कि भन्ने मानसिकतामा छन्, यस्तो अवस्थामा शिक्षकका विषयमा के नीति छ ?

पेल्ने शब्दलाई मैले नकारात्मक रुपमा ब्याख्या गर्न चाहिँन । हरेक शिक्षकको आफ्नो दायित्व हुन्छ, सरकारी शिक्षक हुनुहुन्छ, सरकारको भनेको जनताको करबाट उहाँहरु तलब खानुहुन्छ भनेपछि जनताप्रति उत्तरदायी हुनैपर्छ । हिजोसम्मको समयमा सबै शिक्षकलाई त भन्न मिल्दैन तर केही शिक्षकहरु विद्यालय समयमा पनि फरक ठाउँमा काम गर्ने, आफ्नो जिम्मेवारीलाई पूर्णतः बहन नगर्ने, विद्यालयको स्तरोन्नतिको लागि आफूले भूमिका नखेल्ने केही समस्याहरु थिए । ती शिक्षकहरु तर्सन्छन्, सायद् । किनभने अब नपा भनेपछि नजिकको स्थानीय सरकार आएको छ । उसलाई निरन्तर रुपमा त्यो स्कुलको प्रगतिको विषयमा, त्यो स्कुलको विषयमा वाच गरिरहने छ ।

त्यहाँ भैरहेका केही विसंगतिहरु, केही अप्mठ्यारापनाहरु छन्, शिक्षकहरुको अनुपस्थिति नियमित छैनन्, भने त्यसलाई सच्याउन नपाले पहल गर्नेछ । यसबाट तर्सिनुलाई नेगेटिभ्ली हेर्दिन । म पोजेटिभ्ली हेर्छु, तर्सिनुको अर्थ उहाँहरु सचेत रहनु हो । अब मलाई नजिकबाट सरकारले हेर्दैछ, त्यसकारण म समयमा स्कुल जानुपर्छ, मेरो स्कुलको प्रगतिको जिम्मा मेरो हो, म आफूले सकेसम्म स्कुललाई अगाडि बढाउँछु, त्यहाँको विद्यार्थीको भविष्य उज्ज्वल बनाउनको निम्ति मेहनत गर्छु भन्ने सकारात्मक सन्देश जान्छ भन्ने मलाई लाग्छ ।

- भक्तपुर नगरपालिका भन्ने बित्तिक्कै शिक्षा क्षेत्रमा फड्को मारेको नपाको रुपमा बुझिन्छ, तर, हाम्रो शिक्षा बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा चिनिएको सन्दर्भमा उत्पादित जनशक्तिको व्यवस्थापनको योजना के छ ?

यो राष्ट्रिय शिक्षा नीतिको समस्या हो । सरकारले अहिले पनि शिक्षालाई उत्पादन श्रमसँग जोडेको छैन । सरकारले मात्र सर्टिफिकेट बाँडिरहेको छ । यो हाम्रो देशको समग्र शिक्षा नीतिको समस्या हो । पूजँविादी शिक्षा नीति हो । त्यसकारणले गर्दा शिक्षा किन्न सक्नेले किन्छ, किनिसकेपछि आफूले सकेअनुसारको काम आफैंले खोज्छ भन्ने अवधारणा सरकारको छ । तर हाम्रो अवधारणा राज्यको दायित्व हुनुपर्छ । शिक्षा पाउने नागरिककको नैसर्गिक अधिकार, राज्यको दायित्व नागरिकलाई शिक्षित बनाउने ।

यतिमात्र होइन, शिक्षित भएसँगै उसको सीपलाई राज्यले विकास गर्ने, उपयोग गर्ने हाम्रो अवधारणा हो । त्यही आधारमा भक्तपुर नपाले विभिन्न विद्यालयमा स्थानीय स्रोत साधन, स्थानीय सीपलाई बढावा दिने उद्देश्यले केही स्थानीय पाठ्यक्रम तयार गर्ने क्रममा वुद्धिजीवीहरुसँग, शिक्षकहरुसँग छलफल पनि गरिरहेका छौं । भक्तपुरमा विशेष यहाँमात्र पाइने विशेष सीपहरु छन्, यहाँमात्र पाइने विशेष उत्पादनहरु छन् ।

जस्तै, जुजुधौ, हाकुप्रासी, कालोटोपी । यहाँ विभिन्न ढंगबाट फर्मन्टेशन गर्ने, डिष्टिलेशन गर्ने, विभिन्न वैज्ञानिक प्रक्रियाहरु यहाँमात्र चलाइने गरेका छन् । यो क्षेत्र कृषिका हिसाबले पनि महत्वपूर्ण ठाउँ हो । त्यस हिसाबले यहाँको नीड बेसमा, यहाँको प्रडक्टलाई देशभर चिनाउने हिसाबले, लोकल पाठ्यक्रममा समेट्नुपर्छ भनेर  हामीले सुझाव पाइरहेका छौं । यसलाई हामी व्यवस्थित गर्ने अभ्यासमा छौं ।

योसँगै कलेजहरुमा हामीले पोलिटेक्निक इन्ष्टिच्युटहरुमा ईञ्जिनियरिङ पढाइरहेका छौं, स्टाफ नर्स पढाइरहेका छौं, बीइअन्तर्गत पनि विभिन्न किसिमका इञ्जिनियरिङ विषय पढाइरहेका छौं । त्यसलाई पनि  हामी विद्यार्थीको क्षमता, विद्यार्थीको क्वालिफिकेशन र विद्यार्थीको चाहनाको आधारमा नगरपालिका आफैले सक्ने हिसाबले, नजिकका नपा र राज्यसँग पनि समन्वय गरेर हाम्रो विद्यार्थीलाई देश र समाजको प्रगतिका लागि कहाँनिर फिट गराउन सक्छौं ? उसको शिक्षालाई समाजको प्रगतिको निम्ति कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं, योजना बनाइरहेका छौं, कम्तीमा भक्तपुर नपाका शैक्षिक संस्थाबाट उत्पादित जनतालाई विभिन्न रोजगार श्रममा लगाउने, उनीहरुलाई स्वावालम्बी बनाउने, स्वरोजगार बनाउने उद्देश्य र योजनासहित हामी अघि बढिरहेका छौं । हेरौं, यसको रिजल्ट कस्तो हुन्छ, हामी कहाँसम्म सफल हुन्छौं ? यसको समीक्षा गर्दै अघि बढ्नेछौं ।

- पाँच वर्षपछि भक्तपुर नगरको शिक्षाको चित्र कस्तो बन्ला त ?

हामीले भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउन खोजिरहेका छौं । देशभरका जनताहरु, विद्यार्थीहरु शिक्षाका निम्ति कहाँ जाने ? भन्दा भक्तपुर नगर जाने भन्ने होस् भन्ने चाहिरहेका छौं । दोस्रो भक्तपुर नगर वा जिल्लावासीहरु प्रिस्कुलदेखि विश्वविद्यालयसम्मको शिक्षाको हरेक विषय अध्ययन गर्नका लागि भक्तपुरभन्दा बाहि जान नपरोस् यो चाहना पनि हामीले गरेका छौं । घोषणापत्रमा पनि यही कुरा राखेका छौं । शैक्षिक उत्कृष्ट गन्तव्यस्थल बनाउने हामीले उल्लेख गरेका छौं, यसैले पाँच वर्षमा हामी क्रमशः यो वर्ष यो काम गर्छौं, त्यो वर्ष यो काम गर्छौं भनेर पञ्चवर्षीय योजनाको तयारीमा छौं । यसमा भक्तपुर नपावासीले साथ दिइरहेका छन् । पाँच वर्षभित्र यहाँको शैक्षिक स्तरलाई देशकै नमूना बनाउने प्रयत्न गरिरहेका छौं ।

यो पनि पढ्नुहोस् : स्थानीय सरकारलाई सुझाव : शिक्षकलाई जिम्मेवार बनाऊ, नियमित पढाऊ

How should local bodies handle public schools ?