Edukhabar
आइतबार, ०९ बैशाख २०८१
विचार / विमर्श

शैक्षिक प्रमाणपत्रहरुले किन सकेनन् शिक्षित वर्गलाई आयआर्जनमा सक्षम बनाउन ?

विभिन्न तहको जनशक्ति उत्पादनगरी आर्थिक विकासमा टेवा पुराउने कार्यमा शिक्षा नीति जरुरी

शुक्रबार, १९ साउन २०८०

देशका विभिन्न क्षेत्रहरुमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । आजको एक्काइसौं शताब्दिमा सैद्धान्तिक ज्ञानका अतिरिक्त आर्थिक आयआर्जन सर्न सक्ने व्यवसायिक सीप सहितको शिक्षा चाहिन्छ । राज्यले शिक्षामा ठूलो लगानी त गरेको छ तर शिक्षा क्षेत्रमा गरिएको लगानी बालुवामा पानी हाले सरह भएको छ । विश्वविद्यालय सम्मको प्रमाणपत्रहरुले शिक्षित वर्गलाई आय आर्जनका बाटा र पाटाहरुमा सक्षम बनाउन सकेको छैन । शिक्षितहरुलाई व्यवसाय खोज्ने, रोज्ने र टिकाउन सक्ने ज्ञान तथा व्यवसायिक सीप सहितको शिक्षालाई जीवन उपयोगी शिक्षा भन्नु पर्दछ । 

बिउ अनुसारको बोट र फल भए जस्तै कस्तो शिक्षा प्रणालीबाट कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपस्तक, शिक्षण सिकाइको उपलब्धीको आधारमा निर्धारण हुन्छ ।  
प्लेटो भन्छन्, “मानिसले प्राप्त गरेको शिक्षाले नै उसको भविष्यको दिशानिर्देश गरेको हुन्छ ।” 

उनको भनाईलाइ आधार मान्ने हो भने व्यक्तिले आर्जन गरेको ज्ञानले उसको भविष्यलाई दिशानिर्देश गर्न सक्ने शिक्षालाई जीवन उपयोगी शिक्षा भन्न सकिन्छ । 

व्यक्तिको दिमागलाई उत्पादकत्व बढाउने खालको पेशागत सीपमा आधारित ज्ञान र प्रविधि मैत्री शिक्षा नै जीवन उपयोगी शिक्षा हो । अहिले देशको शिक्षाले शिक्षितहरुलाई व्यवसायिक ज्ञान, सीप र दक्षता प्रदान गर्न नसकेको शिक्षाविद्हरुको भनाइ छ । स्वयं शिक्षित जनशक्तिको अनुभव छ । हरेक शिक्षित व्यक्तिलाई आफ्नो ईच्छा र चाहना अनुरुपको व्यवसाय खोज्ने र सफलता पूर्वक गर्नसक्ने क्षमताको कमीले गर्दा आज विश्वविद्यालयसम्मको अध्ययन पुरा गरीसके पछि पनि शिक्षित जनशक्ति प्रमाणपत्रहरु घरमा थन्क्याएर कामको खोजीमा विश्व बजारमा पलायन भईरहेको अवस्था छ । यसरी हेर्दा शिक्षित जनशक्तिले आप्mनै गाउँ ठाउँमा आय आर्जन सिर्जना गर्न सक्ने व्यवसायिक शिक्षा जीवन उपयोगी शिक्षाको एउटा महत्वपूर्ण पाटो हुन आउँछ । 

सामान्यतया  जीवनयापन गर्न उपयोग गर्न सकिने शिक्षा नै जीवन उपयोगी शिक्षा हो । हाम्रो जस्तो गाउँँ नै गाउँहरुले भरिएको कृषि प्रधान देशका शिक्षार्थीहरुलाई हलो, कुटो र कोदालो देखि कम्प्युटरसम्मको ज्ञान आवश्यक हुन्छ । कृषि गर्ने परम्परागत शैलीको ज्ञानलाई बदलेर कृषि उत्पादन र पशु पंछी पालनको क्षेत्रलाई आधुनिक तरिकाले उत्पादन प्रणालीमा रुपान्तरण गर्न तदनुरुपको ज्ञान र प्राविधिक सीपको खाँचो हुन्छ । जैविक विविधता अनुसारको कृषि उत्पादन र पशुपालन गर्न सक्ने सक्षम जनशक्ति नभएसम्म गाउँघरमा विकासले गति लिन सक्दैन । ग्रामिण अर्थतन्त्रको विकास हुन सक्दैन । स्वरोजगारको सिर्जना हुन सक्दैन । शिक्षित जनशक्तिले आपूm जन्मे हुर्केको गाउँठाउँमा त्यहाँको हावा, पानी, माटो र उत्पादनको संभावना अनुरुप कृषि उत्पादन तथा पशु पंछी पालनको क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकीकरण, व्यवसायीकरण र आयआर्जनको स्रोत बनाउन सक्ने शिक्षा नै हाम्रो जस्तो कृषि प्रधान देशको लागि जीवन उपयोगी शिक्षाको एउटा क्षेत्र हो । 

जैविक विविधताका दृष्टिले धनी हाम्रा देशमा ठाउँ अनुसारको विभिन्न खाद्यान्न, तरकारी, फलफूल, दूध, दही, घीउ आदि उत्पादन गर्न सकिन्छ । यसैगरी मौरी पालन, मत्स्यपालन, पशुपालन, कुखुरा पालन, हाँस पालन, पुष्प व्यवसाय, च्याउखेति, रेसमखेति, बाँस तथा निगालोबाट उत्पादन हुने सामाग्रीहरु, जडीबुटी, चिया, अलैंची, केरा, काबुनो, कागति, फलपूmल खेतिलाई बैज्ञानिकीकरण, यान्त्रीकीकरण, व्यवसायिकरण तथा बजारीकरण गर्नसक्ने ज्ञान तथा सीप भएको प्रविधिक शिक्षा आजको आवश्यकता हो । उल्लेखित क्षेत्रहरुलाई वैज्ञानिकीकरण गर्नसक्ने शिक्षा नै जीवन उपयोगी शिक्षा हो । जो जीवनमा उपयोग र उपभोग हुन सक्दछ । 

हाम्रो शिक्षाले मुलुकमा रहेको प्राकृतिक स्रोत र साधनको उपयोग गर्नसक्ने ज्ञान र सीप भएका जनशक्ति उत्पादन गर्न सकेको छैन । देशको भूगर्भमा पेट्रोलियम पदार्थ, सुन, चाँदी, युरेनियम जस्ता खानी तथा खजनाहरु हुन सक्छन् । यिनीहरुको खोज, अनुसन्धान, उत्खनन एवम् उपयोग हुन सकेको छैन । विज्ञानको आखाँले हेर्दा उल्लेखित क्षेत्रमा खोज, अनुसन्धान, उत्खनन् र प्रयोग गर्न सक्ने प्राविधि ज्ञान र सीप भएको शिक्षालाई जीवन उपयोगी शिक्षा भन्नु पर्दछ । यसैगरी हाम्रो देशमा प्रत्यक्ष आँखाले देख्न सकिने र अनुभव गर्न सकिने जल, जमिन, जडीबुटी र जंगल छ । ८३ हजार मेघावाट विद्युत उत्पादन गर्न सकिने पानी छ । पर्याप्त बिजुलीको उत्पादन छैन । देशमा पानी छ । खाने पानीको समस्या छ ।  सिंचाईको समस्या छ । यसरी देशमा भएको प्राकृतिक स्रोत र साधनको उपयोगवादी दृष्टिकोणबाट हेर्दा प्रकृतिमा रहेका अथाह खनिज पदार्थहरुको पहिचान, उत्खनन एवम् प्रयोगगर्न सक्ने वैज्ञानिक, खोजमुलक, प्रविधिमैत्री शिक्षालाई जीवन उपयोगी शिक्षाको एउटा क्षेत्र मान्नु पर्दछ ।  

 साधारण, व्यवसायिक तथा प्राविधिक क्षेत्रमा चाहिने विभिन्न तहको जनशक्ति उत्पादनगरी व्यक्तिको समृद्धि र देशको आर्थिक विकासमा टेवा पुराउने काम नै शिक्षाको आर्थिक कार्य हो । समाजमा आर्थिक अभाव र असमानता छ । असमानताको मुख्य कारण आयआर्जनको समान अवसर नहुनु हो । देशको शिक्षा प्रणाली रोजगारमैत्री एवम् उत्पादनमुखी नभएकोले पढे लेखेको दक्ष जनशक्ति पलायन भएको छ । देशमा भएको थोरै जनशक्तिले मात्र आयआर्जन गर्ने अवसर पाएको छ । शिक्षित जनशक्ति आय आर्जनको अवसरको अभावमा पिरोलिएको छ । ब्रेन्ड्रेन डरलाग्दो समस्याको रुपमा देखा परेको छ । म्याकीभेलीले सामाजिक विभेदीकरणको मुख्य कारण समाजमा रहेको आर्थिक असमानता हो, भन्ने छ । समाजमा रहेको आर्थिक असमानता हटाउनको लागि सबै व्यक्तिहरुमा आयआर्जन गर्न सक्ने व्यबसायिक शिक्षा चाहिन्छ । यसरी शिक्षालाई आयआर्जनसंग जोडर हेर्दा देशमा उलब्ध हुने स्रोत र साधनहरुको प्रयोगगरी रोजगारी सिर्जना गर्न सक्ने शिक्षा नै जीवन उपयोगी शिक्षा हो ।  

अन्त्यमा, जीवन उपयोगी शिक्षाको कुरा गर्दा डिजिटल शिक्षा पनि आजको आवश्यकता भएको छ । कम्प्युटर शिक्षा वा ई–शिक्षाको महत्व बढ्दै गएको छ । इण्टरनेट सँग जोडिएको विज्ञान, इञ्जिनियरिङ, वैकिङ्, वाणिज्य, कृषि, पशुपालन, व्यापार लगायतको क्षेत्रमा प्रयोग हुने डिजिटल शिक्षा अनिवार्य सर्त भएको छ । त्यसैले शिक्षालाई जीवन उपयोगी  बनाउनको लागि उल्लेखित क्षेत्रहरुलाई सम्बोधन गरी शिक्षा निति, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र शिक्षण सिकाइको माध्यमबाट शिक्षालाई जीवन उपयोगी बनाउनु पर्दछ । 

प्रतिक्रिया