Edukhabar
आइतबार, ०४ साउन २०८२
खबर/फिचर

प्रधानमन्त्रीको सम्बोधन - ‘भूकम्पले भत्केका शैक्षिक संस्थाको पुनर्निर्माण’

मंगलबार, ३० चैत्र २०७२

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्ष बैशाख १२ को भूकम्पबाट भत्किएका शैक्षिक संस्थाको पुनर्निर्माण गरिने बताएका छन् । मंगलबार बर्षको अन्तिम दिन राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

संविधान घोषणा, विकास निर्माण, राजनीतिक र कुटनीतिक विषयमै बढी समय खर्चिएका प्रधानमन्त्रीले आगामी वैशाख १२ गतेदेखि निजी आवास पुनर्निर्माण कार्य सुरु हुने भन्दै काठमाडौं उपत्यका सहित भूकम्पबाट प्रभावित अन्य १७ जिल्लामा सर्वेक्षणको काम पनि गरिने दाबी गरे । 

‘भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदाहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य चौकीहरु, सरकारी भवनहरु लगायतको पुनर्निर्माण प्रकृयालाई तत्काल अघि बढाइनेछ’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा भने ‘तत्काल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र कार्यान्वयन निकायलाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी संस्थागत संरचनालाई पूर्णता दिइनेछ ।’

प्राधिकरणको सिइओ नियुक्तिमै भएको विवाद र अख्तियारले समेत घेरा हालेपछि पूनर्निर्माण प्राधिकरणले अहिलेसम्म पनि काम अगाडी बढाउन सकेको छैन् । भूकम्प गएको ६ महिनापछि मात्रै विभिन्न गैरसरकारी संस्थालाई विद्यालय भवन बनाउन आफ्नै ‘डिजाइन’ प्रयोग गर्न अनुमति दिएको शिक्षा विभागको काम कछुवाकै गतीमा छ । 

गत बैशाख १२ र २९ गते गएको भूकम्पले अति प्रभावित १४ जिल्लामा पाँच हजार बढी विद्यालय भवन भत्किएका छन् । विद्यालय भवन नबन्दा विद्यार्थी अस्थायी सिकाई केन्द्र (टीएलसी)मा पढ्न बाध्य भइरहेको अवस्थालाई भने प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा समेटेनन् ।  तराई मधेस आन्दोलनले ब्युँताएको समस्या र सो समस्याप्रति आफ्नो राजनीतिक अडानलाई नै बढी व्याख्या गरेका प्रधानमन्त्री ओलीले मधेस आन्दोलन र नाकाबन्दीले विद्यार्थीको पढाईमा पुगेको असरबारे पनि बोलेनन् । 

मधेस आन्दोलन र नाकाबन्दीले गर्दा तराई मधेसका धेरैजसो विद्यालय करिब तीन महिनासम्म बन्दै भएका थिए । शैक्षिक सरोकारवाला र अन्तराष्ट्रिय दबाबपछि विद्यालय बन्द रहेको १ सय ३ दिन पछि विहानी सत्रमा विद्यालय सञ्चालनलाई मधेसी मोर्चाले खुकुलो पारेको थियो । राजनीतिक समाधानका लागी दीर्घकालिन उपायभन्दा पनि आफ्नै दाबीलाई कडा रुपमा प्रस्तुत गरेका ओलीले २०७३ जेठ महिनाभित्रमा सम्पन्न गर्ने गरी पुनर्निर्माण प्रकृयालाई अघि बढाउनकै लागी गाउँगाउँमा पुनर्निर्माण सामुदायिक समिति गठन गरिने पनि बताएका छन् । 

शैक्षिक संस्थासंगै भूकम्पले भत्किएका अन्य आवास निर्माणका लागी प्रत्येक जिल्लामा कम्तीमा दुई स्थानमा स्रोतकेन्द्रहरु स्थापना गरी प्रत्येक गाविसमा एक जना इन्जिनियर, एक जना सामाजिक परिचालक र एकजना तालिम प्राप्त निर्माण कर्मीको व्यवस्था गरिने प्रधानमन्त्री ओलीको सम्बोधन उल्लेख गरेका छन् । मानिसका तीन अवस्था, बाल्य, युवा र बृद्धमध्ये पहिलो बाल्यकाललाई प्रधानमन्त्री ओलीले सर्वकालिक सामाजिक सुरक्षाको माध्यमबाट शिक्षा र स्वास्थ्यमा समान हक दिइने बताएका छन् । 

‘आयुको हिसाबले मानिसलाई ३ खण्डमा विभक्त गर्न सकिन्छ – बाल्यकाल, सक्रिय उमेर र वार्धक्य । पहिलोलाई सर्वकालिक सामाजिक सुरक्षाको माध्यमबाट शिक्षा र स्वास्थ्यमा समान हक दिनुपर्छ’ सम्बोधनको अन्त्यतिर प्रधानमन्त्री ओलीले भने ‘यसले सक्रिय उमेर समूहमा रोजगारीमा सामेल हुन सहज गर्छ । उचित ज्याला र उच्च उत्पादकत्वको माध्यमबाट क्रियाशील युवा उमेरलाई सम्मानजनक श्रम र सुखी जीवन दिन सकिन्छ ।’

प्रकाशित मिति २०७३ बैशाख १ गते । 

प्रतिक्रिया