Edukhabar
शनिबार, २९ बैशाख २०८१
विचार / विमर्श

घरमै घायल बालबालिकाको सिर्जनशीलता शिक्षकको ब्यवहारले ठहरै !

शनिबार, ०८ मंसिर २०७५

हरेक बालबालिकामा कुनै न कुनै क्षमता र प्रतिभा हुन्छ । त्यस्तो प्रतिभाको प्रष्फुटनमा सघाउन र त्यसमा सार्थकता प्रदान गर्ने काम शिक्षाले गर्दछ । तर हामी मध्ये अधिकाँशमा बालबालिकाको त्यस्ता विशेष क्षमताहरु प्रति ध्यान नै हुँदैन । कतिपय शिक्षक अभिभावकलाई त बालबालिकामा खास क्षमता र प्रतिभा हुन्छ भन्ने समेत विश्वास नै लाग्दैन । यसो हुुनुको मुख्य कारण हाम्रो शिक्षा प्रणालीबाटै खोज्नु जरुरी छ । अर्थात् शिक्षा प्रदान गर्ने मुख्य पक्ष अभिभावक, शिक्षक, विद्यालय र समाजले बालबालिकाको क्षमता पहिचान र प्रयोगको साटो उनीहरुको सिर्जनात्मक क्षमतालाइ जानी नजानी दवाउने वा खतम पार्ने कार्यहरु त गरीरहेका छैनन् ? एकपटक गम्भीर भएर सोच्न जरुरी छ ।

पाब्लो पिकासोले भनेका छ्न “हरेक बालबालिका जन्मदै सर्जक भएर आउँछन त्यो सिर्जनशील क्षमता उमेर बढे सँगै कायम राख्न गार्हो हुन्छ किनकी हामी उनीहरुको सिर्जनशील क्षमता पत्ता लगाउन पट्टी लाग्दैनौ ।" 

हो,बालबालिकाको क्षमता पहिचान र रुचि तथा चाहनाको सम्मान नगर्दा उनीहरुले चाहे जस्तो बन्न पाउँदैन । परिणाम स्वरूप सिर्जनशीलता गुमाउँछन् र  जबर्जस्त कार्यमा बेचैन र असफलता प्राप्त हुन्छ ।

बालबालिकाको सिर्जनशीलताको मल जल गर्ने सबैभन्दा पहिलो आधारभूत एकाइ अभिभावक हो । तर अभिभावकले उनीहरु प्रती गर्ने ब्यवहारहरु तिम्रो कारण  म निराश भएँ, तिमी पढदैनौ, गृहकार्य गर्दैनौ, राम्रो छैनौ, छोरा छोरी भन्न लायक छैनौ, फलानो बच्चा जस्तो जान्ने छैनौ, अनुशाशित छैनौ, गरि खादैनौ, रुन बन्द गर जस्ता कुराहरु बारम्बार भन्दा उनीहरुमा डर, घृणा, ग्लानी र निराशा पैदा हुन जान्छ । जसबाट गम्भीर मनावैज्ञानिक असर पर्ने गरेको छ । यसरी घरमै हाम्रा बालबालिकाहरु घायल छन् ।

विद्यालयमा शिक्षकले तिम्रो दिमाग छैन, यति पनि जान्दैनौ अरु त कति जान्ने छन्, तिमि त पढेर गरि खाँदैनौ, मुर्ख छौ, हल्ला नगर, आजको पाठ गार्हो  छ, तिमी सँधै गल्ती मात्र गर्छौ, मेरो विद्यार्थी भन्न योग्य भएनौ तिमीलाइ अन्तिम चेतावनी दिँदैछु जस्ता बालमनोबैज्ञानिक विपरितका शब्दको प्रगोग र व्यवहारले बालबालिकाको कलिलो मस्तिष्कमा गम्भीर आघात पुग्न गएको छ । त्यसैले उसलाई आत्माग्ल्नी ,पश्चाताप र वितृष्णा पैदा भइ विचलित हुने, भएका क्षमताहरु पनि हराउने र केही गर्ने उत्साह बोकेको मनै मर्ने हुन पुग्छ । अर्थात् घरमै घायल भएका बालबालिका विद्यालयमा शिक्षकको ब्यवहारले ठहरै हुन पुग्छ ।

विद्यालयको  अनावश्यक कडा अनुशासन, अनावश्यक ढर्रा, डर, त्रास र धम्कीले बालमनोबिज्ञानमा असर परी विद्यालय प्रती बालबालिकाको नकारात्मक धारणा तथा विचार पैदा हुन्छ । परिणाममा विद्यालय बालबालिकाको लागि सब भन्दा ठूलो बोझ र दुख बन्न पुग्छ । अनि उनीहरुले आफ्नो स्वतन्त्रता रहर र सिक्ने चाहना सकिएकोे महशुस गर्छ । बालबालिकाको यो भोगाइको नकारात्मक प्रभाव सिधै राष्ट्रको विकासमा पर्छ । जुन अहिले हाम्रो विद्यालय र परिवेशले सिर्जना गरिरहेको प्रतीत हुन्छ । अर्थात् घरमै घायल भएको उनीहरुको सिर्जनशीलता विद्यालयमा शिक्षकको ब्यवहारले ठहरै हुन पुग्छ !

घरमा होस् या विद्यालयमा बालबालिकाको उत्सुकताको अक्सर सम्बोधन हुँदैनन् । उसले सोधेका के ? किन ? कसरी ? जस्ता प्रश्नको जवाफ पाउनुको साटो हप्काइ, दप्काइ, कुटाइ, पिटाइ, आँखा तराइ, तँलाई किन चाहियो ? जस्ता प्रतिक्रियाले विस्तारै उनीहरुको उत्सुकतामा पूर्णविराम लाग्न पुग्छ ।

अभिभावक र शिक्षकले बालबालिकालाई आफुले चाहे जस्तै बनाउन पट्टी लाग्नु सिर्जनशीलताको सबै भन्दा ठुलो बाधक हो । जबकी उनीहरुसँग के क्षमता छ ? के बन्न चाहन्छ ? त्यस्को कुनै कदर सम्मान र मद्दत हुँदैन भने उ के बन्छ ? के  हुन्छ ? उसका जिज्ञासाहरुबाट दबाएर उ बाटै खास अपेक्षा गर्नु मुर्खता सिवाय अरु केही हुनै सक्दैन ।

बालबालिकाले अभिभावकले भनेको मान्नै पर्ने उपदेश सुन्नै पर्ने भोगाइ खोज र अनुभवबाट बिस्तारै बञ्चित गरिदिने सुनेको देखेको र पढेको भरमा मात्र सिक्नु पर्ने अनि स्मृतिलाई र त्यसैको प्रतिफल ग्रेडसिटलाई आधार मान्ने अरुलाइ बढी महत्व दिने आफुलाइ गौण ठान्ने गल्ती गर्न नपाउने गरेमा पिटाइ खानुपर्ने जस्ता सोच र व्यबहारबाट मुक्त नभए सम्म सिर्जनशील क्षमताको विकासको परिकल्पना कसरी गर्न सकिन्छ ? र यो कसले बुझ्ने ?

बालबालिकाहरुलाइ प्रविधिबाट टाढा राख्ने, अभिभावक र शिक्षकले न्यू पेडागोजी नजान्ने र बालमनोबैज्ञानिक  व्यबहार नगर्ने परिवर्तित ज्ञानको सादर्भिक शिक्षा नदिने, रुचि अनुसारको खुराक उपलब्ध नगराउने हो भने कसरी बालकमा सिर्जनशील क्षमताको विकास हुन्छ ? अनि के गरि बालक भविष्यमा आत्मनिर्भर बन्न पुग्छ ?

खोइ बालबालिकाले पौष्टिक आहार खान पाएका ? हिजोआज शहरका बालबालिका चाउचाउ, मिसावट युक्त अखाद्य पदार्थ खाएर हुर्कन्छ । त्यो पनि पैसा हुनेहरुका नहुनेहरुका त कुरै छाडौँ । खोइ शुद्धता र प्राकृतिक पन ? आज खेल्न पाएको छ बालकले ? एउटा कोठा उसको संसार ! न विद्यालयमा खेल्ने पर्याप्त ठाउँ छ, न घरमा ! चुनौतीहरुको सामना गर्न दिइएको छ उसलाई ? समस्याहरुसँग घण्टौं जुध्न पाउँछन् आजका शहरिया बालबालिका ? उसका लागि जुन दैनिकि तोकिएको छ यसबाट उसको सिर्जनशिलतालाई सघाएको छ ? के यस्तो दैनिकीमा उ खुसी छ ?

बालबालिकाको अनुहार हेर्दा लाग्छ उनीहरु बोझ बोकेर स्कुल जान्छन् र थप अरु बोझ बोकेर फर्कन्छन् । ऊ न रुन सकिरहेको छ न हाँस्न न त बाँच्न नै । अनि कसरी फूल्छ बालबालिकामा सिर्जनशिलता ? यस्तो वातारणले जन्मदै लिएर आएको कुनै न कुनै क्षमता र प्रतिभा उल्टै हराउँदै जान्छ ।

बालबालिकाको मष्तिस्क विकास गर्ने भन्दै मन्टेसरीका नाममा बर्ष दिन नपुगेका बालबालिका थुपार्ने ठाउँमा के सर्जनशीलताको ध्यान दिईएको छ ? की ब्यापार मात्रै ? यस तर्फ कसैको ध्यान पुगेको देखिदैंन ।
मुख्य कुरा कक्षा कोठा हो, त्यसको नायक शिक्षक मात्रै हुन् । शिक्षक सिर्जनशील नहुँदा सम्म विद्यार्थी सिर्जनशिल हुनै सक्दैन ।  

प्रयत्न र भूलको सिद्धान्त, व्यवहारपरक सिद्धान्त, बालमनोबैज्ञानिक सिद्धान्तबाट हाम्रा शिक्षकले कति सिक्नु भो र कति लागू गर्नुभो ? अनि आफ्नै आत्माको विद्यालयबाट सिकेका कुराहरु कति लागू गर्नु भो ? आत्म मुल्याङ्कन गर्नु पर्दैन ? व्यबहार  बदल्नु पर्दैन ? सिर्जनशील हुनु पर्दैन ? कि तपाईं चाहिँ सिर्जनशील नभए पनि हुन्छ भन्ने ठान्नु भएको हो ? बालबालिकाको सिर्जनात्मकतालाई बलियो बनाउन हरेक अभिभावकलाई तत्काल समाधान चाहिएको छ । तर अधिकाँश शिक्षकलाई खै के ले छेकेको छ ? के ले रोकेको छ ?

अल्छीले !

अहङकारले !

दम्भले !

अज्ञानले !

या अरुनै केहीले !

यी सबै अन्यौलताको उत्तर खोज्ने मुख्य काम शिक्षककै हो, अरु सरोकारवालाहरु त उनीहरुका सहयोगी मात्र हुन सक्छन् ।

पाण्डे मोरङको मंगलबारे स्थित सुनपकुवा माध्यमिक विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया