Edukhabar
विहीबार, १५ चैत्र २०८०
विचार / विमर्श

मानव मस्तिष्क कार्य प्रणाली र मिथकीय अध्यनन

मंगलबार, १० पुस २०७५

मस्तिष्क के हो ? के ले बनेको हुुन्छ ? भन्ने धेरै जसो कुराहरुको सत्य तथ्य बाहिर आइसकेको भए पनि मस्तिष्कले कसरी काम गर्छ भन्ने कुराको यथार्थ बाहिर आउन नसकेकोले यो रुपकमै मात्र सीमित रहेको फेडरिक वार्टलेटको सन १९३२ को रिमेम्बरिङ, टिमन रोसको सन २००५ को फ्यूचर अफ द बेर्न, जर्ज जार्काडाकिस को सन २०१५ को इन आवर ओन इमेज, सेबिना गोलका, एण्डयू विल्सन, एपस्टिन जस्ता मनोवैज्ञानिक, डाक्टर र विशेषज्ञहरुले आफ्ना पुस्तकहरुमा जोडदारसँग उल्लेख गरेका छन ।

वर्तमान वैज्ञानिक जगत भने सन १९४० देखि मानव मष्तिस्कको कार्यप्रणालीको व्याख्या कम्प्यूटर सूचना प्रशोधन नमूनाबाट गर्न व्यस्त छ । खगोल विज्ञानका विख्यात स्टेफन हकिङ, भविष्यवेत्ता कुर्जवाइल, स्नायू विशेषज्ञ याडलकिन, मनोवैज्ञानिक जर्ज मिलर आदिले मानव चेतना कम्प्युटर चेतना जस्तै भएको भन्ने कुरामा जोड दिएका छन् । धेरथोर रुपककै रुपमा रहेको यो नमूनाले मस्तिष्क कार्यप्रणालीको व्याख्यामा थप जटिलता थपिदिएको छ । यो अत्यन्तै जटिल, हेर्दा हो जस्तो लाग्ने भ्रामक र पत्याउन सकिने भएकाले यसले कति समय लिन्छ, एकिन साथ भन्न सकिन्न । यो पंक्तिकार डाक्टर, स्नायु विज्ञ, वैज्ञानिक, मस्तिष्क शोधकर्ता केही होइन । मस्तिष्क सम्बन्धी रुचि राख्ने पंक्तिकारले मस्तिष्क कार्यप्रणाली सम्बन्धी हालसम्मका रुपकहरुलाई सकेसम्म क्रमबद्ध रुपमा प्रस्तुत गर्न प्रयास गरेको छ । आउनुहोस, तिनीहरुलाई हेरौँ ।

१.करिब ५००० बर्ष पहिले लेखिएको हिन्दुहरुको पवित्र धर्मग्रन्थ भागवत गीताका अनुसार पाँच देवता – पञ्च तत्व : पवन, अग्नि, बरुण, पृथ्वी र आकाशको प्रभावबाट शरीर निर्माण हुन्छ । त्यसमा ईश्वरले आत्माको प्रविष्ट गराउँछन् । मानिसका इन्द्रियहरुबाट ज्ञान प्राप्त हुन्छ । इन्द्रियहरुलाई मनले नियन्त्रण गर्छ, मनको नियन्त्रण वुद्धिले गर्छ, बुद्धिलाई आत्माले कार्यमा लगाउँदछ भन्ने मान्यता भागवत गीतामा छ ।

२.हिन्दु धर्मशास्त्रमा ईश्वर, धर्ती, वायु, स्वर्ग र ध्यानले वुद्धिलाई तेज, शक्तिशाली र उर्जावान बनाउँछ र त्यही अनुसार मस्तिष्कले कार्य गर्छ भन्ने विश्वास छ ।

३.करिब दुई शताब्दी तिर माटोबाट श्रृष्टि भएको मानिसमा ईश्वरले आफ्नो आत्मा प्रविष्ट गराए । अन्ततः बाइवलमा स्थापित हुन गएको उक्त रुपकले भन्छ– त्यही आत्मा हाम्रो बुद्धिमत्ताको स्रोत र सञ्चालन केन्द्र हो, त्यही अनुसार कर्म हुन्छ ।

४.वैद्धिक दर्शन अनुसार शान्तिले दिमागलाई प्रेम, रचना, एकता र केन्द्रिकृत गर्दछ भने अन्तरदृष्टिले हेर्ने, बुझ्ने, अन्वेषण गर्ने क्षमता दिन्छ । तसर्थ शान्ति र अन्तरदृष्टिको विकासले नै मस्तिष्कलाई क्रियाशील र उर्जावान बनाउँछ र त्यही अनुसार कार्य गर्दछ ।

५.प्लेटो ( ४२८– ३४८ इशापूर्व ) को अनुसरण गर्दै परम्परावादी दार्शनिकहरुले मानव मस्तिष्कमा सत्य निहित भन्ने कुरा बताए । मानव मस्तिष्कबाट सोचाइ पहिले आउँछ र उक्त सोचाइलाई परीक्षण वा निश्चय गर्न अवलोकन गर्नुपर्छ भन्ने मान्यताले लामो समय लियो तथापि टिकिरहन सकेन ।

६.इशा पूर्व तेस्रो शताब्दीमा हाइड्रोलिक मोडल अनुसार शरीरमा विभन्न द्रव्यहरुको प्रवाहका आधारमा शारीरिक र मानसिक दुबै कामको व्याख्या गरियो जसले १६०० वर्षसम्म चिकित्सा कार्यलाई निकम्मा बनायो ।

७.दार्शनिक डेस्कार्टेस, स्पिनोजा, कान्ट र हेगेलका अनुसार मानिसको विचार सर्वश्रेष्ठ हुन्छ, विचार बुद्धिबाट आउँछ, बुद्धिलाई आत्मा र सत्यले निर्देशित गर्दछ । चेतनाको निर्देशनमा  दिमागले कार्य गर्दछ । करिब १५०० तिर स्प्रिङ र गियरबाट चल्ने स्वचालित उपकरण र अन्य उपकरणहरु आविष्कार पछि १७ औँ शताब्दी तिर त्यसबाट प्रेरणा लिद रेने डेकार्टसले मानिस एक जटिल मेसिन भएको मस्तिष्कले अगाडि जे देख्छ त्यो नै विचार हो भन्ने तर्क अघि सारे । जोन लंकले पनि मस्तिष्क अगाडिको तथ्यांक स्नायु हो जसले हेराइ, सुनाइ, बोलाइका अनुभुतिहरु दिन्छ भन्ने कुरा अघि सारे । त्यस्तै दार्शनिक थोमस हब्सले मस्तिष्क भित्र हुने स–साना यान्त्रिक गतिहरुको परिणाम नै सोचाइ हो भन्ने व्याख्या प्रस्तुत गरे । यसले पनि मानिसलाई अल्मल्याउने काम मात्र गर्यो ।

८.सत्रौँ शताब्दीमा वैज्ञानिक विधिका पिता फ्रान्सिस बेकन ( १५६१– १६२६ ) ले प्रकृतिको साबधानीपूर्वक गरिएको अवलोकनबाट मात्र सत्य पत्ता लाग्छ र उक्त सत्य मानव मस्तिष्कमा प्रवाहित हुन्छ र त्यसैबाट मस्तिष्क कार्य हुन्छ भन्ने व्याख्या प्रस्तुत गरे जुन प्लेटोको अवधारणाको ठीक उल्टो थियो ।

९.सिग्मण्ड फ्रायड (१८५६ ) ले मस्तिष्कलाई चेतन, अर्धचेतन र अचेतन गरी तीन भागमा बाँडेका छन् । आन्तरिक र बाह्य वातावरणहरुको प्राप्त मदतबाट अर्धचेतन मस्तिष्कले सूचना भण्डारण गर्ने, अर्धचेतनको मुनि रहेको अचेतन (unconscious) ले पूरा नभएका इच्छा, दमित आकांक्षा चाहनाहरु सम्बन्धी कार्यहरु गर्दछन् भन्ने व्याख्या प्रस्तुत गरी संसारलाई चकित पारे तथापि यो पूर्ण व्याख्या हुन सकेन, पुष्टि हुन बाँकी रहे । यो पनि थोर बहुत निरर्थक नै बन्यो ।

१०.अठारौँ शताब्दिमा मानव मस्तिष्कमा उत्पादन हुने विद्युतीय रासायनिक पदार्थले मानव मस्तिष्कको कार्य प्रणालीको व्याख्या गर्ने नयाँ सिद्धान्त आयो तर यो पनि धेर थोर रुपककै रुपमा रह्यो । अठारौँ शताब्दी मै हर्मन फान हेमहोरजले टेलिग्रामको कार्य सँगै मस्तिष्कको कार्यलाई तुलना गरी व्याख्या गरे । त्यो पनि उही एउटा रुपक बन्यो । यसले ध्यान खिच्यो तर त्यो पनि टिकेन ।

११.सन् १९०६ को नोवेल पुरस्कार विजेता डा. क्यामिल्यो मुल्मीले एउटा स्नायु कोषमा १० हजार जति डेन्ड्राइट्सहरुले विभिन्न रसायनहरुको मदतबाट विचार सूचना आदान प्रदान गर्दछन् भन्ने पत्ता लगाए । उनका अनुसार विचार अनुसार रसायन पैदा हुन्छ, जस्तो सकारात्मक विचारले सेरेटोनिन ( शक्ति, जोस, उर्जा र क्षमता ) पैदा हुन्छ भने नकारात्मक सोचले कार्टिजोन ( थकान ,अल्छी ) पैदा हुन्छ र सोही अनुसार कार्य हुन्छ ।

१२.आधुनिक स्नायु विज्ञानका प्रतिपादक प्रसिद्ध वैज्ञानिक डा. मेराइन डायमण्ड (१९२६ – २०१७) ले अभ्यासबाट अतिरिक्त  स्नायू कोष र डेण्ड्राइट्स को संख्यामा वृद्धि हुन्छ र उक्त अतिरिक्त स्नायुकोष अनुसार नै मस्तिष्कको कार्यप्रणालीको थप प्रभाकारिता निर्धारण हुन्छ भन्ने कुरा पत्ता लगाइन् र उनको न्यूरोप्लास्टिसिटीको सिद्धान्तलाई पुष्टि गरिन् । उनले सन् २००९ मा मुसामा गरेको परीक्षणलाई डा. एलिजोवथ र इवेनले बाँदरमा परीक्षण गरी पुष्टि गरियो । उनले आइन्स्टाइनको दिमागी क्षमता पनि अतिरिक्त स्नायुकोषको कारण भएको पुष्टि गरिन् । धेरै थोरै यो पनि एक प्रकारको मिथक नै भयो । कहाँ मूसा, कहाँ बाँदर, कहाँ मान्छे, के मस्तिष्क कार्यप्रणाली एकै हुन्छ र ?

१३. एसियाका प्रसिद्ध न्यूरोलोजिस्ट स्व. डा. उपेन्द्र देवकोटाका आत्माले दिमागलाई नियन्त्रण गर्दछ, दिमागले मस्तिष्कलाई नियन्त्रण गर्दछ र मस्तिष्कले सम्पूर्ण शरीरलाई नियन्त्रण गर्दछ भन्ने मत राख्थे । अर्थात् अहिले विज्ञान यो विन्दुमा आइपुगेको छ ।

१४. जब सन् १९४० मा कम्प्युटरको विकास भयो, मानव मस्तिष्कलाई कम्प्युटरसँग तुलना गर्न थालियो । सन् १९५८ मा गणितज्ञ जोन भानको पुस्तक “कम्प्यूटर एण्ड द ब्रेन” मा मानव तन्त्रिकको कार्य डिजिटल हो भनी व्याख्या गरियो र त्यस पछि मानव मस्तिष्कको कार्यलाई कम्प्युटरको कार्यसँग तुलना गर्न बल मिल्यो । रे कुर्जवाइनले मानव मस्तिष्कमा एल्गोरिदम सूचना र तथ्याङ्कलाई कसरी प्रोसेसिङ अनि मस्तिष्कले सतही संरचना इन्टिग्रेटिड सर्किटसँग मिल्छ भनी व्याख्या गरे । त्यस बेला देखि आजसम्म पनि मानव मस्तिष्कले कम्प्युटरले झैँ सूचना प्राप्ती, भण्डारण, पुन प्राप्ती र प्रोसेसिङ गर्छ भन्ने मान्यताको विकास भएको छ । यसैलाई मानव वुद्धिमत्ताको इन्फर्मेसन प्रसेसिङ (IP) रुपक भनिन्छ ।

जसरी हाइड्रोलिक र यान्त्रिक रुपकहरुलाई हिजो आज हामीलाई हावादारी र वाहियात लाग्छ त्यसरी नै यो आइ.पी. रुपक पनि एकदिन हुन के बेर ? हाम्रो दिमागी भ्रम न छरेको छ, अर्को आए पछि यो हटिहाल्छ  र हामी त्यसैको पछि कुद्छौ ।  अब अर्को रुपक मुुक्त धारणामा जानुको कुनै विकल्प छैन । त्यसको लागि हामीले हाम्रो दिमागी सोचलाई बदल्नु जरुरी छ । यस तर्फ धेरै वैज्ञानिक, स्नायु विज्ञ, विशेषज्ञहरुले कार्य पनि गरिरहेका छन् ।

वैज्ञानिक तथा विशेषज्ञहरुद्वारा प्रस्तुत रुपक मुक्त बोधले भन्छ– अनुभव र अनुभूतिले सगैँ सुसंगत वा अनुकूल हुने गरी दिमागी संरचना बदलिएर मस्तिष्कले कार्य गर्छ । प्रत्येक मस्तिष्क अलग र अनौठो छ । एउटै अनुभवले कुनै दुई मानिसमा एकै किसिमको परिवर्तन हुन्छ भन्ने छैन किनकी ती परिवर्तनहरु पहिले देखि नै विद्यमान अनौठो तन्त्रिका संरचनामा निर्मित हुन्छन् र ती जीवनभरका अनौठा अनुभवका आधारमा मात्र विकसित हुन्छ । अनौठो मस्तिष्कमा व्यक्तिको वंशाणुगत मात्र होइन सामाजिक परिवेश समेत गडेर रहेको हुन्छ । न त त्यसको सुचना खोजेर पाइन्छ, न त औषतमा व्याख्या गर्नै सकिन्छ, न त मिल्छ नै ।

त्यसैले हामीले वास्तवमा अब एउटै बुझाइमा अल्झिरहनु पर्छ भन्ने छैन । खुल्ला हुने बेला आएको छ । अब हामी मस्तिष्कको कम्प्यूटर आइ.पी. कार्य प्रणालीकै मात्र पुष्टि गर्न पट्टि लाग्ने हो भने नराम्ररी फस्छौँ । तसर्थ सोच्ने बेला आएको छ । त्यसैले रुपक मुक्त बोध तर्फ गई विकल्पहरुको छनोट गरी परीक्षण,  प्रयोग र पुष्टि गर्ने बेला आइसकेको छ । नत्र पछि धेरै ढिलो हुन सक्छ । हामी समयमा नै रहस्योद्घाटन गर्नबाट बञ्चित हुन सक्छौँ । विशेषज्ञ भनाउँदाहरुबाट अल्मलिन सक्छौ । त्यसैले खुल्ला भएर अलग तरिकाले सोच्ने बेला आएको छ ।

डा. आइज्याक आसिमोभका अनुसार – “यो ब्रह्माण्डमा भएका र हामीले थाहा पाएका सम्पूर्ण वस्तुहरु मध्ये मानिसको खोपडी भित्र हुने करिब तीन पौण्ड (१ पौण्ड.४५४ ग्राम) गिदी नै संसारमा सबैभन्दा जटिल र व्यवस्थित छ” । मस्तिष्क कार्य प्रणालीलाई संसारकै जटिल र व्यवस्थित कार्य प्रणाली मानिन्छ । त्यसैले पनि हाल सम्म यसरी यसले कसरी कार्य गर्छ भनेर एकिन गर्न सकिएको छैन । जे जति भनियो ती सबै रुपकमै सीमित रहे । अब चाहिँ  वैज्ञानिकहरुको रुपक मुक्त धारणामा जाने कि ?

पाण्डे मोरङको मंगलबारे स्थित सुनपकुवा माध्यमिक विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया