Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

रद्द गरौं एसईई, परीक्षा प्रणाली सुधार्ने मौका

आइतबार, २१ बैशाख २०७७

चीनको वुहानबाट शुरु भएको कोरोना भाईरस कोभिड १९ को महामारीका कारण नेपाल पनि प्रभावित भएको छ । रोगको जोखिम न्यूनिकरणका लागि भन्दै सरकारले लकडाउन गरेको पनि ५ साता सकियो । लकडाउनसँगै देशको आर्थिक सामाजिक गतिविधि शुन्य छ । यसको दुरगामी असर धेरै बर्ष सम्म भोग्नु पर्ने निश्चित छ । संसार नै आक्रान्त बनेको बेला हामी मात्रै हैन क्यारे भनेर चित्त बुझाउनु एउटा कुरा हो, तर यसबाट पर्ने प्रभाव र त्यसको उचित समाधानका बारेमा समयमै ध्यान नदिनु भनेको खेलाँचि हो । यसका कारण शिक्षा क्षेत्रमा परेको प्रभाव र यो समाधानका सन्दर्भमा आलेखलाई केन्द्रित गरिएको छ ।  

महिना र साविकको तालिका अनुसार विद्यालय तहको नयाँ शैक्षिक सत्र शुरु भईसकेको छ । अहिलेको अन्योलको अवस्थामा शैक्षिक सत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सरकारको स्पष्ट खाका आएको छैन । सरकारको ध्यान विद्यालय तथा विश्वविद्यालय अन्र्तगत विभिन्न कक्षाका अनिश्चित भएका परीक्षा सञ्चालनमा केन्द्रित भएको देखिन्छ । औपचारिक निर्णय त सार्वजनिक गरिएको छैन, तर सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार शिक्षा मन्त्रालय लकडाउन खुल्ने वितिकै रोकिएका विद्यालय तहका परीक्षा गर्ने अठोटमा रहेको बुझिन्छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल जसरी पनि परीक्षा सञ्चालन गर्ने सोचमा अडिग रहेको हालै सार्वजनिक उहाँको धारणाबाट प्रष्ट हुन्छ ।

अहिलेको परिस्थितीमा शिक्षाका विषयलाई कसरी सम्बोधन गर्ने र कसरी निकाश निकाल्ने भनेर मन्त्रालयले पूर्व मन्त्री गणेश शाहको नेतृत्वमा समिति बनाएर अध्ययन शुरु गरेको खबर पनि सार्वजनिक भएको छ । उक्त समिति अन्र्तगत रहने गरी बनाईएका विभिन्न उपसमिति मध्ये राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल नेतृत्वको समितिले रोकिएका परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्दै गरेको खबर पनि सार्वजनिक भईरहेको छ । निजी विद्यालय सञ्चालकहरु आवद्ध संस्था प्याब्सनले पनि लकडाउन खुलेको १० दिन पछि कक्षा १० को अन्तिममा लिईने परीक्षा गर्न सकिने राय दिएको छ ।
यी सबै कार्यले के देखाउँछ भने परीक्षा गर्न पर्छ भनर सम्बद्ध सबै अठोटका साथ लागि रहेका छन् ।

यही सन्दर्भमा फरक ढंगले सोच्नु जरुरी छ ।

विद्यमान संकट र अन्योलको अवस्थामा पनि सामान्य अवस्थामै जस्तो राष्ट्रिय स्तरमा गरिने परीक्षा प्रणाली जारी राख्नु जरुरी छ ?

परीक्षाका नाममा यति ठूलो धनराशी खर्च गर्नु उचित छ ?

के यस्ता खाले परीक्षा पद्धतिमा यति धेरै मेहेनत तथा स्रोत साधन खन्याउनुको कुनै विकल्प छैन ?

के यो राष्ट्रिय स्तरको परीक्षा प्रणालीले विद्यार्थीको तहगत क्षमताको साच्चिकै मुल्यांकन गरीदै छ त ?

के स्तर मापन तथा सिकाइ क्षमता मापनको लागि विशेष उपाय व्यवस्थापन गर्न सकिंदैन ?

यस्ता प्रश्नहरू माथि पनि गम्भिर रुपमा मनन गर्नु पर्ने देखिन्छ ।

संसारका विभिन्न देशले आन्तरिक मूल्यांकनकै आधारमा नतिजा घोषणा गर्ने सकिने उपाय अपनाउँदै आएका छन् ।

विद्यार्थीलाई सम्बन्धित विषय शिक्षकहरूले जति अरुले बुझेका हुँदैनन्, यो सत्य हो, प्याब्सनका अध्यक्ष टीकाराम पुरी पनि यो कुरामा सहमत त हुनुहुन्छ तर, उहाँको डर यो छ कि, “तर हरेक विद्यालयले आफ्नो धेरै विद्यार्थी राम्रो ग्रेडमा पास भएको देखाउन चाहने पो हुन् कि ? विश्वासको वातावरण छैन ।”

यो कुराले के प्रष्ट पार्छ भने हामी बिचमा अविश्वासको माहोल भयावह रुपमा देखिन्छ । शिक्षकले विद्यार्थीलाई विश्वास नगर्ने, विद्यार्थीले शिक्षकलाई विश्वास नगर्ने । यही प्रवृत्ति अन्य क्षेत्रमा पनि झ्याङ्गिएको देखिन्छ । महान व्यक्तिहरू अरूको मूल्य बढाउन र अरूलाई निर्माण गर्न र विश्वास गर्न अभ्यस्त हुन्छन् ।  अविश्वास र अरूको अवमूल्यन गर्ने काम मूल्यहीनहरूलाई नै छोड्नु राम्रो हुन्छ ।

माछा र बाँदरलाई सँगै राखेर रुख चढ्न लगाएमा माछाले आफूलाई सधैँ नै कमजोर महसुस गर्दछ – आईन्सटाइनको एउटा विचारको सार ।

यो सन्दर्भ हाम्रा लागि विद्यमान परीक्षा प्रणालीमा व्यापक परिवर्तन गर्ने मौका पनि हो । आफ्नो भोगाइबाट मैले यो विचारलाई मेरो जीवनमा नजिकबाट महसुस गरेको छु र विश्वास गर्छु कि नेपालले पनि विद्यार्थीको मूल्याँकनको नयाँ विधि अपनाउने यो सुनौलो अवसर हो ।

पहिलो कुरोः शिक्षाको गुणस्तरलाई बढाउनु पर्छ,

दोस्रो कुरोः परिक्षामा चिट चोर्ने प्रवृत्ति पूरै बन्द गर्नुपर्छ,

तेस्रो कुरोः सबै शिक्षण संस्थानहरूले मुख धेरै चलाउने गफाडिहरू होइन, हात धेरै चलाउने सिपालुहरू उत्पादन गर्ने लक्ष्य बोक्नुपर्छ ।

चौथो कुरोः अविभावक तथा देशले नतिजा मुखी शिक्षा होइन, प्रक्रियामुखी शिक्षा पद्धतिलाई अंगाल्नुपर्छ ।

यस छोटो लेखमा माथिका चारवटा बुँदाहरूमध्ये परीक्षामा चिट चोर्ने प्रवृत्ति बन्द गर्ने बारेमा छोटो मन्थन गर्न चाहन्छु । नेपालको उन्नति हुनु छ भने परीक्षामा चिट चोर्ने प्रवृति पूरै बन्द गर्नुपर्छ । किनकि  चिट चोरेर प्रमाणपत्र बोकेको जागिरेलाई घूस खानु पानी पिउनु बराबर हुन्छ । तापनि अहिलेको ८, १०, १२ सम्मकै सबै केन्द्रीय परीक्षा प्रणालीले चिट मौलाउने मौसम बनाइ रहेको देखिन्छ । विद्यार्थी, शिक्षक, शिक्षक संस्था सबैलाई चिट धन्दा तिर धकेलिरहेको देखिन्छ ।

विद्या दिने गुरूलाई बाहिरको दबाव विना विद्यार्थीको स्वच्छ मूल्याङ्कन गर्ने वातावरण नबनेसम्म शिक्षाको गुणस्तरमा प्रगति हुँदैन र परीक्षा प्रणाली उचित ज्वरो नाप्न नसक्ने थर्मोमीटर बनिराख्छ । नेपालको परीक्षा प्रणाली र बिग्रेको थर्मोमीटरमा धेरै सामनता पाइन्छ । यो परीक्षा प्रणालीमा गेसपेपर घोक्ने मौसम मौलाएको छ र जीवनोपयोगी सीप सिक्ने मौसममा खडेरी परेको छ । यसले वास्तविक विद्यार्थीको खूवी नाप्न चुकिरहेको देखिन्छ । 

यो मौसममा परिवर्तन ल्याउनको लागि पहिलो कुरोः विद्यालयहरूले निरन्तर मूल्याङ्कन पद्धति ( Continuous Assessment System - CAS) लाई उच्च प्राथमिकतासाथ लागू गर्नु पर्ने देखिन्छ । यसको लागि उचित प्रशिक्षण, स्रोत साधनको विकास र तालिमको जरूरी देखिन्छ ।

दोस्रो कुरोः विद्यालय, शिक्षक, अविभावक सबैले प्रमाणपत्रको नतीजा होइन जीवन उपयोगी सीप सिक्ने वातावरण बनाउनु पर्ने देखिन्छ र विषय शिक्षकलाई बाहिरी दबाव विना आफ्नो विद्यार्थीको स्वच्छ मुल्याङ्कन गर्ने वातावरण मिलाउनु पर्ने देखिन्छ । यसको लागि विश्वासको वातावरण सृजना गर्नुपर्ने देखिन्छ ।

तेस्रो कुरोः ८, १०, ११, र १२ मा यसरी ताम झामका साथ परीक्षा गर्नु पर्ने बाध्यतालाई छोडेर विद्यालयहरूलाई कक्षा १२ सम्म आन्तरिक मूल्याङ्कन गर्ने अधिकार दिनु पर्ने देखिन्छ । यसको लागि उचित मार्ग निर्देशन तयार पार्नेु पर्ने देखिन्छ ।

चौथो कुरोः नेपाल परीक्षा बोर्डले १२ कक्षा पाससँगै कलेज तयारीको लागि एउटा कलेज तयारी परीक्षाको तय गर्नु पर्ने देखिन्छ । कलेज तयारी परीक्षा वार्षिक रूपमा एक पटक नभएर वर्षमा ३ देखि ६ वटासम्म लिने व्यवस्था गर्नु असल हुन्छ ।

अन्तमा अहिले रोगको महामारीको चपेटामा रहेको बेलामा कक्षा १० को अन्तिममा लिईने परीक्षालाई रद्द गरेर विद्यालयले लिएका परीक्षाको नतिजाको आधारमा कक्षा ११ मा जाने व्यवस्था सबै भन्दा उचित देखिन्छ । किन भने अहिलेको अवस्था कुनै दलले गरेको हड्ताल जस्तो त्यो फिर्ता भएको भोलिपल्ट विद्यालय खुलेको जस्तो हैन । विद्यार्थीको भत्किएको मनस्थिती ठिक ठाउँमा ल्याएर उनीहरुलाई परीक्षाका लागि तयार गर्नु चानचुने गृहकार्यले पुग्दैन ।

परीक्षा गर्ने भनेर मुख चलाउन सजिलो हुन्छ, तर जसका लागि परीक्षा हो त्यो समुहलाई मानसिक रुपमा तयार गर्ने काम ज्यादै चुनौतीपूर्ण छ । कोरोनाको त्रासदी चाँडैनै पूर्ण रुपमा समाधान नहुने विश्व स्वास्थ्य संगठनले बताईरहेको छ । रोग नियन्त्रणको मुख्य साधन लकडाउन मात्रै ठानिएका वर्तमान अवस्थामा कोही पनि अभिभावक आफ्ना सन्तालाई परीक्षा केन्द्र सम्म लैजान तयार छन् भन्न सक्ने अवस्था छैन ।

कोरोनाले धेरै समस्या ल्याएपनि नेपालको परीक्षा प्रणाली र विद्यार्थीको मूल्याँकन सुधारका लाग गम्भिर भएर सोच्न र सो अनुसार कार्य गर्ने मौका लिएर आएको छ । त्यसैले नेपालको परीक्षा प्रणालीलाई ठीक तापक्रम ननाप्ने थर्मोमीटर होइन, फेल नखाने आधुनिक थर्मोमीटर बनाउने तर्फ नीति निर्माण तहमा रहेका सम्बद्ध निकाय र व्यक्तिहरु सचेत हुने छन् भन्ने अपेक्षा गरिएको छ ।

सन् २०११ देखि अमेरिकामा अध्ययन गरी ३ बर्ष अघि नेपाल फर्केर ललितपुरको एक नीजि विद्यालयमा आवद्ध लामा, विद्यावारिधि शोध समेत गर्दै छन् ।

प्रतिक्रिया