Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शिक्षकहरु स्टुडियोमा, विद्यार्थी रेडियो सेट अघिल्तिर

आइतबार, १४ मंसिर २०७७

सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड - १९) को संक्रमण सँगै बालबालिकाको सिकाइ नराम्ररी खलबलिएको छ । लामो समय देखि शिक्षक र विद्यार्थीको सम्बन्ध टुटेको छ । सामुदायिक विद्यायलयका अधिकाँश शिक्षक बालबालिकाको अघिल्तिर उभिए पछि मात्रै सिकाइ शुरु हुन्छ भन्ने भ्रममा अडिग छन् । विद्यालय खोल्ने विषय महामारीको अवस्थाले निर्धारण गर्छ, तर शैक्षिक गतिविधि शुरु गर्ने काम शिक्षकको सकृयताले तत्काल गर्न सकिन्छ । जहाँ जसरी सकिन्छ त्यही शैलीमा सिकाइ जारी राख्नुको विकल्प छैन । महामारीको वहानामा सिकाइ रोक्नु हुन्न भन्ने सोच सहित जुटेका केही शिक्षक, विद्यालय र स्थानीय सरकारका अभ्यास स्तुत्य छन् । निकै पहिला गर्नु पर्ने भएर पनि संघीय शिक्षा मन्त्रालयले हालै मात्रै जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा सँगै साविककै शैलीमा विद्यालय खोल्ने लहर शुरु भएको छ, तर ध्यान दिनु पर्ने कुरा के छ भने महामारीको अवस्था विश्लेषण विना हुने कामले दुर्घटना निम्त्याउन सक्छ । कतिपय स्थानमा खुलेका विद्यालय बन्द हुन थालेका खबर पनि सार्वजनिक हुँदै छन् । फेरी तिनै घटनालाई वहाना बनाएर विगत सात महिनाको जस्तै चुपचाप बस्ने शैलीमा रुपान्तरित गर्न ईच्छुक शिक्षकहरुको संख्या उल्लेख्य छ । फरक शैली अवलम्बन गरे पनि सिकाइ हुन्छ भन्ने धारणा शिक्षक र स्थानीय सरकारमा विकास हुनु अहिलेको जरुरी कुरा हो । तसर्थ यस पटक हामीले विद्यालय खोल्न नसक्दा पनि बालबालिकाको सिकाइ अवरुद्ध नहुने विकल्प देखाउन यो सामग्री प्रकाशन गरेका हौं ...

काठमाडौं - हरेक उमेर र कक्षाका विद्यार्थीका लागि कक्षा चढ्ने समय उत्साहको हुन्छ । नयाँ पुस्तक, नयाँ कक्षा कोठा, केही नयाँ शिक्षक र केही नयाँ साथी पनि !

तर, बेग्लै ढँगले आएको चालु शैक्षिक सत्रमा विद्यार्थीले यस्ता उत्साह र भोगाईको अनुभूति नै गर्न पाएनन् ! 

कोरोना भाईरस (कोभिड - १९) महामारी नियन्त्रण गर्न सरकारले अपनाएको सुरक्षा सावधानीका कारण गत बर्ष चैत देखि नै अस्तव्यस्त बनेको जीवनशैली २०७७ साल वैशाखबाट शुरु हुने नयाँ शैक्षिक सत्रमा पनि उस्तै निर्ममता पूर्वक आईलाग्यो ।  

बाँकेको खजुरास्थित धौलागिरी माध्यामिक विद्यालयमा अध्ययनरत राजेश चमारको भोगाई पनि निराशाका वरीपरी केन्द्रित रह्यो । साविककै शैलीमा विद्यालय जान नपाएर कक्षा ८ उक्लिएको खुसी साथीभाईसँग बाँड्न नपाएका चमारको शैक्षिक सत्र उत्साह विहीन रुपमा शुरु भयो । विद्यालय कहिले देखि जान पाईन्छ ? कसरी पढ्ने ? नयाँ कक्षा प्रवेश गरेसँगै अधिल्तिर आईलागेका यस्ता अन्योलपूर्ण प्रश्नको उत्तर सहज थिएनन् ।   

विद्यालय जान नपाएर पढाई रोकिए सँगै अलमलमा परेका विद्यार्थीलाई लक्षित गर्दै स्थानीय रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जले रेडियोबाटै कक्षा शुरु गर्ने खबर सुनेपछि आफू निक्कै खुसी भएको चमार सम्झन्छन् । 

यो बर्ष पढाई के हुुने हो ? कसो हुने हो ? कुनै भेऊ नमिलिरहेका बेला घरमै बसेर शिक्षकले पढाएको कक्षा लिन पाइने खबर साँच्चै नै उत्साह दिने खालको थियो ।  

नेपालगञ्जको कृष्णसार एफएमले नयाँ शैक्षिक सत्रको दोश्रो साता अर्थात् वैशाख १४ गते देखि नै देशमै पहिलो पल्ट रेडियो मार्फत् विद्यालय तहको पढाई सुरु गरेको थियो । यो पहल संगै शिक्षकहरु स्टुडियो छिर्न थाले भने विद्यार्थी रेडियो सेट नजिक बसेर पढ्न थाले । नेपालगञ्ज उपमहानगरपालिकासंगको साझेदारीमा रेडियो स्कुल सुरु गरिएको थियो । चैत ११ गते लकडाउन सुरु भए लगत्तै देखि प्रयास गरिए पनि वैशाखको दोस्रो साता देखि मात्रै कक्षा सञ्चालन सुरु गर्न सकिएको नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर बताउँछिन् ।  

नेपालगञ्जको जस्तै अभ्यास विस्तारै अन्य जिल्लाहरुमा पनि सुरु भयो । पूर्वको झापामा दमक स्थित सप्तरङ्गी एफएमले असार २१ गते देखि रेडियोबाट कक्षा सञ्चालन सुरु गर्यो । ईलामको चुलाचुली गाउँपालिकासंगको सहकार्यमा सुरु रेडियो कक्षाका लागि विद्यार्थीले गाउँटोलमा समूह बनाएर रेडियो सुन्ने गरेको चुलाचुली २ स्थित पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कटुवाल बताउँछन् ।  

नेपाली समाजका लागि रेडियो खबर सुनाउने सबै भन्दा पहुँच भएको माध्यम हो । विपद, ठूल्ठूला राष्ट्रिय अभियान वा उत्सवमा रेडियो सबैको प्रिय र अत्यावश्यक साधन बन्दै आएको छ । आमचुनाव, महाभुकम्प जस्ता सबै नेपालीका चासोका सवालमा नेपालमा एफएम रेडियोहरु जसरी लोकप्रिय र प्रभावकारी देखिए कोरोना कहरमा पनि उत्तिकै सक्रिय र प्रभावकारी देखिएको मिडिया सर्वेक्षण गरिरहने संस्था सेयरकाष्ट इनिसियटिभको एक सर्वेक्षणको तथ्यले पनि देखाएको छ । 

यस अघिका सर्वेक्षणमा ५० प्रतिशत हाराहारी रेडियोका स्रोता संख्या देखिन्थ्यो । तर, पछिल्लो अध्ययनले स्रोता संख्या ८० प्रतिशत हाराहारी देखाएको छ । सेयरकाष्टका भूमि चापागाईंको भनाई अनुसार कोरोनाकालमा रेडियोको लोकप्रियता गजब देखियो । 

खासगरी पत्रिका बन्द जस्तै र टिभीले रंग गुमाए जस्तो अवस्थामा पनि एफएम रेडियोहरुले सचेतना र सूचना प्रवाह संगै शिक्षा क्षेत्रमा गरेको ‘इमरजेन्सी रेस्पोन्स’ प्रयासले स्रोता र प्रभाव दुवै चुलिएको सम्बद्धहरुको भनाई छ । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा कोरोना कालमा विद्यार्थीको कक्षा कोठा एफएम रेडियो सेटमा सरेको बताउँछन् । 

यकिन तथ्य संकलित नभए पनि देशभर रेडियो मार्फत् उल्लेख्य संख्यामा पढाईको प्रयास भएको उनको दावी छ । संघले शैक्षिक कार्यक्रमका बारेमा गरेको पछिल्लो सर्वे अनुसार सर्वेमा सहभागि २ सय २४ रेडियो मध्ये ८० प्रतिशतले आफ्नै पहलमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । सामुदायिक मात्रै हैन व्यवसायिक रेडियो स्टेशनहरुले पनि स्थानीय सरकार, गैह्र सरकारी संघ संस्था र आ-आफ्नै पहलमा पनि यस्ता कक्षा सञ्चालन जारी राखेको देखिन्छ ।   

नेपालमा १२ कक्षासम्मका विद्यालय तहका करीव ८१ लाख, विश्वविद्यालय तहका करिव ७ लाख र प्राविधिक तथा व्यवसायिक शिक्षाका करिव ९२ हजार विद्यार्थी कोरोना त्रास सुरु भएको यो वर्षको सुरुवात देखि नै शिक्षालयमा भौतिक रुपमा उपस्थित भएर पढ्नबाट बञ्चित भए पछि तत्काल उपलव्ध विकल्पका आधारमा रेडियोबाटै पठनपाठनको प्रयास सुरु भएको हो । 
कतै शिक्षक घरघरमै गएर पढाउन थाले भने कहिं चौतारो र सार्वजनिक स्थलमा नजिकका बालबालिकालाई पढाइमा जोडियो । कतै शिक्षकले गृहकार्य दिने र जाच्ने अभ्यास शुरु भयो । कतै फेसवुक ग्रुप बनाएर शिक्षक विद्यार्थी सम्बाद पहल गरियो । कतै मोवाइलमा मिसकल गर्ने विद्यार्थीलाई शिक्षकले फोन गरेर पढाई सहजीकरण गर्ने प्रयास भयो । 

शहर बजार केन्द्रित नीजि विद्यालयले वैशाखको पहिलो सातादेखि नै अनलाइन कक्षा सञ्चालन गरे । ईण्टरनेटमा सहज पहुँच नभएका अधिकाँश सामुदायिक विद्यालयका बालबालिकालाई लक्षित गर्दै स्थानीय रेडियोहरुले स्थानीय सरकार र गैससको साझेदारीमा एफएम रेडियो मार्फत् रेडियो स्कुल पनि वैशाखै देखि नै सुरु गरे । आधिकारिक तथ्यांक नभए पनि झण्डै एक सय बढि एफएम रेडियोहरुले शिक्षकहरुलाई लाइभ रेडियो स्टुडियोमा राखेर कक्षागत स्कुले पढाई सञ्चालन गरेको अनुमान छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेका पाठ्य सामग्री रेडियो नेपाल र सामुदायिक सूचना नेटवर्क सीआइएनबाट पनि प्रसारण गरिए । विस्तारै देशभर विभिन्न रेडियोहरुले स्थानीय सरकार र गैससको साझेदारीमा एफएम रेडियो मार्फत् पढाउन सुरु गरे । यसले एकैपटक हजारौं विद्यार्थीलाई कक्षा कोठाको अनुभूति दिलाउन सक्यो । 

नेपालगञ्जको रेडियो स्कुलका बारेमा विश्व वैंकको वेभसाइटमा छापिएको एउटा 'व्लग'मा स्थानीय सरकार, गैसस र एफएम रेडियोको साझेदारीमा कोभिडमा शिक्षा क्षेत्रको ‘इमरजेन्सी रेस्पोन्स’को उदाहरणीय पहल भनिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, शिक्षक महासंघ र कृष्णसार एफएमको पहलमा केही गैह्र सरकारी संस्थाको सहयोगमा रेडियो स्कुल सुरु भएको थियो । तर, रेडियो स्कुलको प्रभावकारिता संगै बाँकेका खजुरा, बैजनाथ, डुडुवा, नरैनापुर लगायतका गाउँपालिकाले पनि रेडियो स्कुलमा साझेदारी गरेको रेडियो स्कुल कार्यक्रम समन्वय समितिका संयोजक तथा उपमहानगरका शिक्षा शाखा प्रमुख गोरख थापा बताउँछन् ।

उनका अनुसार स्थानीय सरकारको संयोजनमा एफएम रेडियोले प्राविधिक सहयोग, शिक्षक महासंघले शिक्षक सहयोग र गैससहरुले आर्थिक सहयोग गर्ने गरी नियमित तयारी बैठकहरु गरेर रेडियो स्कुल सञ्चालन गरिएको हो । यो अभियानमा सेभ द चिल्ड्रेन, प्लान, स्याक, एसडीएफ जस्ता संस्थाले आर्थिक सहयोग गरेका थिए । 

रेडियो स्कुलमा अभिभावकलाई सचेत बनाउन, छुटेका विद्यार्थीलाई समेट्न र असजिलो भएमा सहजीकरण गर्न जिम्मेवारी तोकिएको थियो । यो काममा शिक्षक, जनप्रतिनिधि समेत परिचालन भएको खजुरा गाउँपालिकाका शिक्षा समितिको बैठक बाटै रेडियो स्कुल सञ्चालन गर्ने निर्णय पारित गरेको अध्यक्ष किस्मतकुमार कक्षपतीले जानकारी दिए ।  

विस्तारै बर्दिया, सल्यान, डोटी, तनहुँ, झापा जस्ता कैयौं जिल्लामा रेडियो मार्फत् पढाउन सुरु गरियो । बालबालिकाहरुले रेडियो मार्फत् कक्षा लिने, वादविवाद, वक्तृत्वकला जस्ता सिर्जनात्मक कार्यक्रममा सहभागी हुने जस्ता अवसर पाए । रेडियो स्कुल कार्यक्रमले विद्यार्थीलाई अध्ययनमा फेरि सक्रिय बनाएको बाँकेको ज्ञानोदय मावि खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा बताउँछन् । रेडियोबाट सञ्चालन हुने कक्षा मार्फत् विद्यार्थीले पढ्ने गरे नगरेको कुरा गाउँघरमा रहेका शिक्षकहरुबाट र बिद्यार्थीबाट समेत प्रतिक्रिया आउने गरेको उनको भनाई छ । रेडियो सबैको पहुँचमा रहेको सञ्चार साधन भएकाले विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउन कार्यक्रमको निरन्तरताका लागि आफुहरु पनि प्रयासमा जुटेको उनी स्मरण गर्छन् ।  

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला विपदमा जहाँ जे जसरी गर्न सकिन्छ गर्नु पर्ने भन्दै उपलव्ध नेपाली विकल्पमा रेडियो निःशुल्क, सहज र पहुँच बढि भएको बताउँछन् । तर, रेडियोको स्टुडियो नपुगेका शिक्षकहरुले जहाँ छन् त्यहिँबाट नै रेडियो कक्षाको प्रभाव बढाउन सक्रियता देखाउन चुकेको उनको भनाई छ । स्वतःस्फुर्त केहि शिक्षकले सकेको पहल गरे पनि योजनावद्ध र देशव्यापी पहल हुन नसकेको उनी टिप्पणी गर्छन् ।  

रेडियो नेपालले तीन दशक अघि शिक्षक तालिमका निम्ति नेपालमा दूर शिक्षा कार्यक्रम प्रसारण सुरु गरेको थियो । अनलाइन जस्तो दोहोरो अन्तक्र्रियात्मक नभए पनि अहिलेको महामारीमा पठनपाठन गराउन रेडियोलाई एक भरपर्दाे विकल्प मानिएको छ । नेपालमा सबैभन्दा बढि नागरिकसम्म सूचना पुर्याउने सञ्चार माध्यम एफएम रेडियो स्टेशनहरु हुन् भनेर राष्ट्रिय आमसञ्चार नीति –२०७३ को विषय प्रवेशमैं भनिएको छ । 

नीति भन्छ – ‘एफएम रेडियोको देशव्यापी विस्तारसँगै मुलुकको जनसंख्याको ठूलो हिस्साले सुसूचित हुने अवसर प्राप्त गरेका छन् ।’ 

बैशाखदेखि सुरु भएका रेडियो कक्षाहरु अधिकांश जसो चार्डवार्ड सँगै रोकिएका छन् । पछिल्लो समय शिक्षा मन्त्रालयले स्थानीय तहले जिल्ला प्रकोप व्यवस्थापन समितिसंग समन्वय गरेर कोरोनाका कारण बन्द रहेका विद्यालय खोल्न सक्ने बाटो खुलाएपछि केही अन्योल देखिएको छ । जहाँ जे सकिन्छ त्यही गर्न स्थानीय सरकारलाई बाटो खुलाउने काम शिक्षा मन्त्रालयले गत जेठ असारमै गर्नु पर्ने थियो । एउटा लयमा अघि बढेको सिकाइ शैलीलाई कार्यढाँचाले केही अन्योल बनाएको स्थानीय सरकारका जनप्रतिनिधिहरु बताउँछन् । अब, विद्यालय खोल्ने कि नखोल्ने तयारी गर्न नेपालगञ्ज जस्तै देशभरका स्थानीय तहहरु गृहकार्यमा जुटेका छन् । 

तर, जाडो मौषम सुरु हुन लागेको समयमा बालबालिकालाई विद्यालय पठाउन अभिभावक त्यति धेरै उत्साही देखिएका छ्रैनन् । चिसोका कारण रुघाखोकी लाग्ने समय भएकाले त्यसै पनि जोखिमको समय हुनाले कम्तिमा फागुन अघि विद्यालय खोल्न नहुने भन्दै अभिभावकहरुले सामाजिक सञ्जाल मार्फत् सचेत गराइरहेका छन् । हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङ स्थित महाबौद्ध माध्यमिक विद्यालयका ३२ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए पछि  जिल्लाभरका शैक्षिक संस्था फेरि बन्द गरिएका छन् । यो उदाहरण हेर्दा अहिले विद्यालय खोल्न हतारिनु भन्दा पनि तत्काल वैकल्पिक माध्यम नै सहि विकल्प हुन सक्ने देखिएको छ । महामारी संकट कहिले र कसरी सकिन्छ यकिन छैन । यस्तोमा संकट सकिएला र सिकाइ शुरु गरौंला भन्ने कुरा बालबालिका माथि अन्याय हो । त्यसैले प्रत्यक्ष रुपमा विद्यालय सञ्चालन भन्दा महत्वपूर्ण रेडियो कक्षा, बालबालिका भएका ठाउँमा स्वास्थ्य सावधानी अपनाएर शिक्षक पुग्ने शैली, सानो समूहमा बालबालिकालाई आलोपाले विद्यालय वा पायक पर्ने स्थानमा बोलाउने लगायतका पहललाई प्रभावकारी बनाउन थप अन्तकृयात्मक कार्य गर्न जरुरी छ । यसमा सबै भन्दा महत्वपूर्ण घरै बसेका शिक्षकको परिचालन हो । विद्यालय खोल्ने कुरा भन्दा अघि शैक्षिक गतिविधि सञ्चालन तर्फ शिक्षकलाई केन्द्रित गर्न जरुरी छ ।  

खासगरी निशुल्क, सहज र एउटै रेडियो सेट वा मोवाइल मार्फत् पनि एक भन्दा बढि विद्यार्थी घरै बसेर पढ्न सक्ने सुविधा भएका कारण रेडियो स्कुल प्रभावकारी भएको अभिभावकहरुको अनुभव छ । लगातार स्कृन अघि बस्नु पर्ने टीभी वा अनलाइन शिक्षा भन्दा रेडियो बालबालिकाको स्वास्थ्यका हिसावले पनि लाभकारी भएको नेपालगञ्जका अभिभावक ऋचा लुईंटेलको भनाई छ । श्रवण शक्ति कमजोर भएका बालबालिकाहरुका लागि शिक्षकले वेग्लै प्रयास गर्नु पर्ने भए पनि त्यस  बाहेक अन्य बालबालिकाहरुका लागि रेडियो कक्षा सरल र प्रभावकारी देखिएको शिक्षकहरु स्वयं बताउँछन् ।  

त्यसै पनि नेपालमा आम अभिभावक र विद्यार्थीको पहुंच टिभी र अनलाइनका तुलनामा रेडियो मिडियामा बढि छ । नेपालका सबै ७७ जिल्लामा एक भन्दा बढि रेडियो छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क (फ्ल्यास १, २०१९–२०) अनुसार १३ प्रतिशत विद्यालयहरुको ईण्टरनेटमा पहुँच छ भने ५५ प्रतिशत घर–परिवार ईण्टरनेटको पहुँचमा छन् । जब की स्कूल जाने बालबालिका मध्ये ८८ प्रतिशतको घर–परिवारमा मोवाइल फोन छ । तथ्याङ्क भन्छ– ५१ प्रतिशत विद्यार्थीको रेडियो र टिभिमा पहुँच छ । मोवाइलबाट पनि रेडियो सुन्नेको संख्या उल्लेख्य छ । 

२०६८ को जनगणना अनुसार पनि ५२ प्रतिशत जनता संग रेडियो सेट थियो । तीन वर्र्ष अघि सरकारले जारी गरेको आर्थिक सर्वेक्षणका अनुसार नेपालको जनसंख्या भन्दा बढि अर्थात् झण्डै तीन करोड २८ लाख मोवाइल फोन नेपालीले उपयोग गरिरहेका छन् । सेयरकाष्ट इनिसियटिभले गरेको सर्वेले पनि ९० प्रतिशत नेपाली संग मोवाइल सेट भएको देखाएको छ । यी तथ्यले रेडियोको पहुंच स्थापित गर्छन् । 

नीजि र स्थानीय पहल अघि बढि सकेपछि संघीय सरकारले पनि आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ‘कोभिड–१९ का कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवं रेडियो मार्फत् नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाइने’ उल्लेख गरेको थियो । 

स्थानीय सरकार, मिडिया र गैससको साझेदारी सुरु भएको महिनौं पछि मात्र शिक्षा मन्त्रालयले २०७७ जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरी अनलाइन भरर्चुअल सिकाइ, रेडियो÷टेलिभिजन लगायतका माध्यमबाट दिइने दूर शिक्षाका विधि तथा प्रावधानहरुलाई वैधानिकताको प्रयास गर्यो । यो निर्देशिकालाई २०७७ साल असार १ गतेबाट कार्यान्वयन गर्न÷गराउन सरकारले आव्हान गरेको थियो । 

महामारीसँगै विद्यालय भवनका कक्षा कोठाको चौघेरा भित्रै सिक्ने परम्परागत शिक्षण पद्धती हल्लिएको छ । तर, बदलिएको चाँहि छैन । 

प्रतिक्रिया